20110118

"मूल्यमान्यताहरूको पनि ठाडो उल्लंघन र आन्तरिक जनवादमाथि दमन भएको हुनाले त्यसको विरोधस्वरूप मैले प्रशिक्षण बहिष्कार गरेको हुँ"

-माओवादी उपाध्यक्ष बाबुराम भट्टराई
सोमबारदेखि सुरु भएको माओवादीको प्रशिक्षण बहिष्कार गर्नुभयो ? त्यसो किन गर्नुभयो ?
हाम्रो पार्टीको अन्तरिम विधानको धारा-२ (६)को (ख) अनुसार केन्द्रीय समिति र पोलिटब्युरोमा राखिएका मतहरूलाई तलसम्म राख्ने अधिकार हुनेछ भन्ने प्रष्ट प्रावधान छ । त्यसपछि हालसालैको हाम्रो केन्द्रीय समितिले फरक विचारहरूलाई यो प्रशिक्षणका क्रममा पनि तलसम्म लान दिने तर कामकारबाहीमा एक भएर जाने भन्ने निर्णय गरेको थियो । त्यसको विपरीत सोमबारदेखि सुरु भएको हाम्रो पार्टीको प्रशिक्षणमा हामीले राखेको भिन्न मतलाई त्यहाँ राख्न दिइएन । जबकि प्रशिक्षणका क्रममा त्यो राख्न दिइने भन्ने कुरा पहिले नै भइसकेको थियो । हाम्रो पार्टी विधान र केन्द्रीय समितिको निर्णयको उल्लंघन, अन्तरिम जनवादसम्बन्धी सर्वहारा मूल्यमान्यताहरूको पनि ठाडो उल्लंघन र आन्तरिक जनवादमाथि दमन भएको हुनाले त्यसको विरोधस्वरूप मैले प्रशिक्षण बहिष्कार गरेको हुँ । र, पछि कतिपय साथीहरूले पनि बहिष्कार गर्नुभयो भन्ने सुनें तपाईको मत त 'विचारधारा'पत्रिकामा मात्रै प्रकाशित गर्ने भन्ने निर्णय मात्रै भएको हो रे नि ?
हाम्रो पार्टी विधान र केन्द्रीय समितिको पछिल्लो निर्णयमा भिन्न मतलाई तलसम्म प्रवाहित गर्ने.... भन्ने कुरा स्पष्ट उल्लेख छ । केन्द्रीय समितिको निर्णय पनि त्यही हो । हालसालै गरिएका निर्णयसमेतलाई उल्लंघन गर्दै आज फेरि विचार राख्नु नदिनु सरासर गलत हो । पार्टी मूल्यमान्यता विपरीत हो । अनुशासनको उल्लंघन हो । कसैले पनि अनुशासन नतोडून् भनेर त्यस्तो प्रावधान राखिएको हो । तर पार्टी नेतृत्व तहबाटै पार्टी विधान र निर्णय उल्लंघन गरियो, त्यसको विरोध गर्नु हाम्रो कर्तव्य थियो, त्यो पूरा गरिएको हो । तर पार्टीलाई एकढिक्का राख्ने कुरामा हामी प्रतिबद्ध छौं । यसलाई कसैले पनि फरक हिसाबले अर्थ नलगाऊन्े ।

यसको अर्थ यसपछि हुने सबै प्रशिक्षणहरूलाई तपाई बहिष्कार गर्नुहुन्छ ? 
हामी पार्टीको पोलिटब्युरो वा केन्द्रीय समितिको बैठक माग गर्छौं । त्यसपछि मात्रै यससम्बन्धी निर्णय लिन्छौं ।

यसबाट त तपाईलाई अराजकता फैलाएको आरोप लाग्ला नि ? 
पार्टी विधान र निर्णयको उल्लंघन गर्नु अराजकता हो कि त्यसको पक्षमा लड्नु अराजकता हो, त्यो इतिहासले र आम कार्यकर्ताले निर्णय गर्ने कुरा हो । 

तपाईहरूको यो विवादले पार्टीका अन्य काममा असर पार्ला नि ? 
यसले हाम्रो पार्टीको कुनै पनि गतिविधिलाई असर गर्दैन । हाम्रो पार्टीको जनवादी केन्द्रीयतासम्बन्धी नीति लागु गर्ने सवाल मात्रै हो । यसले अन्य पार्टीसँगको सम्बन्धमा पनि कुनै असर पार्दैन । पार्टीलाई हामी एकढिक्का बनाउने प्रयास गर्छौं दमन सहँदैनौं ।

अनमिन गएपछिको राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ ?
अनमिनले शान्तिप्रक्रिया यहाँसम्म ल्याउन सकारात्मक भूमिका निर्वाह गरेको छ । यो प्रक्रिया नटुंगिऊञ्जेलसम्म अनमिन रहनु राम्रो हुन्थ्यो भन्ने हाम्रो पार्टीको धारणा हो र अन्तिमसम्म त्यही अडान कायम रहृयो । अनमिनलाई बिदाइ गर्ने निर्णय भइसकेपछि सेना र हतियारको अनुगमनको वैकल्पिक व्यवस्था गर्नु अनिवार्य हुन्थ्यो । त्यसैका निम्ति हाम्रो पार्टीले सरकारसँग नयाँ सहमति गर्‍यो । आगामी दिनमा दलहरूबीचका वैचारिक राजनीतिक मतभिन्नताहरूले गर्दा चुनौतीहरू पक्कै छन् । अनमिनको बहिर्गमनको स्थितिमा अब हामी नेपालीले आफै शान्तिप्रक्रिया टुंग्याउन सक्नुपर्छ । 

राष्ट्रपतिले दिएको समयसीमाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ला ? नबनेमा एकीकृत नेकपा -माओवादी) कसरी अगाडि जान्छ ? 
अढाइ सयवर्षको राजतन्त्रको अन्त्य गर्दै जनताको गणतन्त्रको स्थापना गर्ने हाम्रो जुन लक्ष्य हो, त्यसमा महत्वपूर्ण सफलता हाम्रै पार्टीको नेतृत्वमा भएका संघर्षबाट प्राप्त गरेका छौं । ६० वर्षदेखि संविधानसभा प्राप्तिको संघर्ष पनि हाम्रै पार्टीको नेतृत्वमा सफल भयो र त्यो प्राप्त पनि भयो । त्यसो भएको हुनाले यतिबेला संविधानसभा, गणतन्त्र, संघीयता नरुचाउने प्रतिगामी यथास्थितिवादीहरूले विभिन्न बहानामा संविधानसभा भङ्ग गर्ने, गणतन्त्र नष्ट गर्ने र संघीयता, धर्मनिरपेक्षताजस्ता कुराहरू हुन नदिने जुन दुस्प्रयास गर्दैछन्, त्यसका विरुद्ध माओवादीले यी उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्ने बाटो लिनुपर्छ । त्यसका लागि राष्ट्रिय संयुक्त सरकार निर्माण गरेर जानुपर्छ । त्यसको नेतृत्व हाम्रो पार्टीले नै गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसले नै शान्ति र संविधानको प्रक्रिया अगाडि बढाउन सक्छ । यो नै तत्कालीन कार्यभार हुन्छ । हामीले नै बलिदान गरेर प्राप्त गरेका उपलब्धि हामीले नै जोगाउनुपर्छ । 

सरकारको नेतृत्व अरु पार्टीले गर्दा तपाईहरू त्यसमा जानुहुन्छ कि हुँदैन ?
हाम्रो नेतृत्वमा नै राष्ट्रिय सहमतिको सरकारमा जान्छौं । तर राष्ट्रिय सहमतिमा हाम्रो नेतृत्व अरुलाई स्वीकार्य हुँदैन भने सहमति नभाँड्न हामीलाई स्वीकार्य हुने अर्को पार्टीको नेतृत्वमा सरकार बनोस् भन्ने चाहन्छौं । तर बहुमतीयमा जानुपर्‍यो भने हामी हाम्रै पार्टीको नेतृत्वमा जान्छौं । अरुको नेतृत्वमा जानुभन्दा प्रतिपक्षमा बस्छौं ।

तपाईको पछिल्लो मुम्बई भ्रमणको उद्देश्य के थियो ? 
म अनुराधा गान्धी मेमोरियल फाउण्डेसनको निमन्त्रणामा 'अनुराधा गान्धी मेमोरियल लेक्चर' दिनका लागि मुम्बइ गएको थिएँ । अनुराधा गान्धी भारतीय कम्युनिष्ट पार्टी (माओवादी)की केन्द्रीय सदस्य तथा भारतीय कम्युनिष्ट आन्दोलनकी अग्रणी क्रान्तिकारी नेतृ हुनुहुन्थ्यो । दुई वर्ष पहिले क्रान्तिको कामको सिलसिलामा घातक मलेरिया रोगका कारण उहाँको निधन भएको थियो । त्यसपछि वरिष्ठ वामपन्थी बुद्धिजीवीहरूको अगुवाइमा त्यो फाउण्डेसनको निर्माण गरियो । प्रत्येक वर्ष विश्वका प्रसिद्ध वामपन्थी बुद्धिजीवीहरूलाई बोलाएर स्मृति व्याख्यान कार्यक्रम राखिने गरिन्छ । त्यस सन्दर्भमा पहिलो वर्ष स्वीडेनका प्रख्यात वामपन्थी बुद्धिजीवी जान मिडेललाई बोलाइएको थियो । दोस्रो वर्ष अमेरिकाका चर्चित वामपन्थी बुद्धिजीवी तथा लेखक समीर अमिनलाई बोलाइएको थियो । तेस्रो वर्ष नेपालबाट मलाई बोलाइयो । म त्यही व्याख्यान दिन मुम्बइ गएको थिएँ । त्यहाँ भारतका वामपन्थी बुद्धिजीवीहरूको ठूलो उपस्थिति थियो । साथै ठूलो मात्रामा नेपालका मजदुरहरूको पनि उपस्थिति थियो । 

उहाँहरूसँग छुट्टै अन्तरक्रिया भयो कि ? 
यसैक्रममा नेपाली जनवादी आन्दोलनका बारेमा उहाँहरूमा भएका थुप्रै भ्रमहरू मेटाउने काम भयो । मेरो औपचारिक व्याख्यान सकिएपछि मौलिकताका साथ चलिरहेको नेपाली जनवादी आन्दोलनबाट सिक्नुपर्ने धेरै कुराहरू रहेछन् भन्ने प्रतिक्रिया उहाँहरूबाट मैले सुनें । यसर्थमा दुई हप्ता पहिलेको मेरो दिल्ली भ्रमण र यो मुम्बइ भ्रमण दुवै आ-आफ्नै हिसाबले महत्वपूर्ण रहे । 

मुम्बइमा तपाईले आफ्नो व्याख्यानका क्रममा खास के-कस्ता विषयवस्तु राख्नुभयो ? 
मेरो व्याख्यानको मुख्य विषय 'नेपालमा जनवादी आन्दोलनः समस्या र चुनौतीहरू' भन्ने थियो । त्यसमा मैले जनवादको मुख्य विषय के हो, माक्र्सवादले जनवादलाई कसरी बुझ्छ भन्ने सैद्धान्तिक अवधारणा पहिले प्रस्तुत गरें । त्यसपछि नेपालको जनवादी आन्दोलनका मौलिकताहरू के-के रहेका छन् भन्ने कुरा राखें । खासगरी यहाँ वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, दलित प्रसंगलाई पनि समेटेर हामीले संघर्ष अगाडि बढायौं । त्यसका साथै निरंकुश राजतन्त्रका विरुद्ध हामी कम्युनिस्ट क्रान्तिकारीहरूले अग्रस्थानमा रहेर भूमिका निर्वाह गरेकाले जनयुद्धलाई उत्कर्षमा पुर्‍याएर यहाँसम्म ल्यायौं । त्यसैले जनवादी एजेन्डालाई प्रमुखता दिएका नेपालका क्रान्तिकारी कम्युनिस्टलाई नेपालका जनताले एक नम्बरको लोकपि्रय राजनीतिक शक्ति बनाएका हुन् भन्ने कुरा राखें । 

नेपाली जनवादी आन्दोलनका चुनौती र सम्भावनाको यहाँले आफ्ना कस्ता धारणा अघि सार्नुभयो ?
नेपाली क्रान्ति आफ्नै मोलिकतामा पूरा हुने सम्भावना छ, हामी क्रान्तिकारीहरू क्रान्तिकै बाटोमा दृढतापूर्वक लागेका छौं । तर कुनै पनि देशको क्रान्ति अन्यत्र कतैको जस्तो हुबहु दोहोरिंदैन । हामी आफ्नै मौलिकताका साथ अघि बढ्नुपर्छ र जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ । त्यसका केही चुनौती छन्, तर राम्रा सम्भावना पनि छन् भन्ने कुरा हामीले प्रस्तुत गर्‍यौं । 

अनुराधा गान्धी भारतीय माओवादी पार्टीकी केन्द्रीय सदस्य हुनुहुन्थ्यो । भारतीय माओवादीहरू हाल नेपालमा तपाईहरूले अपनाइरहेको बाटोप्रति आलोचक छन् । तपाईको त्यो व्याख्यानबाट उहाँहरूलाई कुनै सन्देश त पुग्यो होला नि ? 
निश्चित रूपमा त्यो कार्यक्रममा हामीले व्यक्त गरेको विचारबाट उहाँहरूलाई सकारात्मक सन्देश पुग्यो होला । हामी खुला भएर आएपछि उहाँहरूसँग खुला विचार आदानप्रदान प्रक्रिया सुरु भएको थिएन । त्यसैले त्यहाँका वामपन्थी समर्थक जनता र बुद्धिजीवीहरूमा नेपालको आन्दोलनबारे भ्रम थियो । सर्वहारावादी क्रान्तिका सार्वभौम नियम पनि हुन्छन् तर सबै देशका आ-आफ्ना मौलिकता पनि हुन्छन् । हामीले सार्वभौम सिद्धान्तमा टेकेर मौलिकतासहितको क्रान्ति गर्नुपर्छ भन्ने कुरा अगाडि सार्‍यौं । नेपालमा हामीले जे प्रयोग गरिरहेका छौं त्यो सार्वभौम सिद्धान्तको मौलिक प्रयोग यहाँ भइरहेको छ । त्यसैले भारतमा त्यहाँका जनताले आफ्नो मौलिकतासहित अघि बढ्नुपर्छ । यहाँ हामी हाम्रो मौलिकतासहित अघि बढ्दै छौं । त्यसैगरी अरु देशका क्रान्तिकारीहरू पनि उहाँहरूको देशको मौलिकताअनुसार अगाडि बढिरहेका छन् । यही नै मालेमावादी सिद्धान्त हो भन्ने कुरा मैले राखें । त्यसले सकारात्मक सन्देश दिएको त्यहाँका विश्लेषकहरूले बताए । 

तपाईको अघिल्लो दिल्ली भ्रमणलाई लिएर यहाँ काठमाडौंमा निकै चर्चा भयो, त्यो भ्रमणको खास उद्देश्य र उपलब्धि के रह्यो ? 
मैले मेरो दुवै भ्रमणबारे भर्खरै हाम्रो पार्टीमा रिपोर्ट गरें । त्यस रिपोर्टपछि हाम्रो समग्र पार्टीको सहमति छ कि दिल्लीको भ्रमण कूटनीतिक सम्पर्क विस्तार गर्न महत्वपूर्ण रहृयो भने मुम्बइ भ्रमण वैचारिक राजनीतिक सम्पर्क र सम्बन्ध बढाउन महत्वपूर्ण रहृयो । दिल्ली भ्रमणमा प्रायः भारतीय संस्थापन र शासकवर्गका प्रतिनिधिहरूसँग छलफल, अन्तरक्रिया र कूटनीतिक कुराकानीमा केन्दि्रत रहृयो भने मुम्बईको भ्रमण भारतीय मुक्तिकामी जनतासँगको सम्पर्क स्थापना गर्न महत्वपूर्ण रहृयो कूटनीतिक सम्पर्क र राजनीतिक सम्पर्कको सन्तुलन मिलाएर अगाडि बढ्नुपर्ने अहिलेको विश्वको आवश्यकता छ । हामीले खासगरी भारतसँगको कुरा गर्ने हो भने त्यहाँका शासकवर्गसँग कूटनीतिक सम्पर्क र कूटनीतिक संघर्ष अगाडि बढाउनुपर्ने आवश्यकता छ भने त्यहाँका क्रान्तिकारी जनसमुदायसँग वैचारिक राजनीतिक सम्पर्क वा संघर्ष अगाडि बढाउनुपर्ने आवश्यकता छ । त्यसअर्थमा यी दुई भ्रमण यस कुरामा परिपूरक रहे र नेपाली क्रान्तिका लागि सहयोगी भए । 

तपाईको भारत भ्रमण त आफ्नो व्यक्तिगत सम्बन्ध विस्तार गर्नमा मात्रै सीमित भयो भन्नेहरू पनि छन् नि ? 
घटिया चिन्तन र अराजनीतिक सोच राख्नेहरूको भनाइलाई महत्व दिनुको कुनै अर्थ छैन । तर आम नेपाली जनता, यहाँका बुद्धिजीवी र हाम्रो पार्टीको मूल्यांकन के हो भने हामीले जुन किसिमको राजनीतिक संघर्ष अगाडि बढाइरहेका छौं, त्यसका लागि अन्तर्राष्ट्रिय शक्ति सम्बन्धलाई पनि ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसलाई मध्यनजर गर्दै पार्टीको उपाध्यक्षको हैसियतले मैले गरेको भ्रमणलाई निजी र व्यक्तिगत सम्बन्ध सुधारका रूपमा लिनु गलत मात्रै होइन त्यो दुराशयपूर्ण पनि हुन्छ । 

त्यसो भए तपाईको यो भ्रमणबाट पार्टी र भारतबीच सम्बन्ध राम्रो भएको हो ? 
दुवै भ्रमणलाई जोडेर हेर्दा एकातिर त्यहाँका शासकवर्गसँग हाम्रो कूटनीतिक सम्बन्ध बिग्रिएको छ र त्यहाँका क्रान्तिकारी जनतासँग पनि वैचारिक सम्बन्ध बिगि्रएको छ । यी दुवैलाई सन्तुलित बनाउन यी भ्रमणहरू सफल भए । हाम्रो पार्टी सत्ताको निकट भएको राष्ट्रिय शक्ति भएकाले छिमेकीसँग (चीन, भारत, अमेरिका) कूटनीतिक सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यात्मक अवस्था छ । त्यसैले हामीले भारतीय शासकवर्गसँग सुगौली सन्धियताको लामो संघर्षको इतिहास छँदाछँदै पनि ठीक यही समय कूटनीतिक सम्बन्धको पनि आवश्यकता थियो । हाम्रो भ्रमणले त्यस दिशामा सकारात्मक पहल सुरु भएको छ । तर एउटै भ्रमण र कुराकानीबाट सबै समस्या सुल्झिए भन्न सकिंदैन । समस्याहरू समाधानका लागि उच्च तहमा वार्ताहरू सुरु भएको छ भन्न सकिन्छ । त्यस्तै मुम्बई भ्रमणमा त्यहाँका वामपन्थी बुद्धिजीवीमार्फत भारतीय क्रान्तिकारी जनता र दलहरूसँग भएको छलफल र अन्तरक्रियाले उहाँहरूसँग हाम्रो पार्टी र देशको सम्बन्ध विस्तार हुने काममा सहयोग पुग्ने देखिन्छ ।प्रस्तुति : मनऋषि धिताल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक