20110125

अब फेरी भागबन्डाकै राजनीति : पालैपालो प्रधानमन्त्री बन्न र लिन माओवादी, एमाले र कङ्रेस सहमत त भए, फेरी शुरु भयो को पहिला प्रधानमन्त्री बन्ने भन्ने बिबाद !

चक्रीय प्रणालीमा सरकारको नेतृत्व गर्न प्रमुख तीन दल सहमत भए पनि कसले पहिला नेतृत्व गर्ने भन्ने विषयमा सहमति कायम हुन नसकेपछि सोमबारको तीन दलको बैठक निष्कर्षमा पुग्न सकेन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चक्रीय प्रणालीमा पहिला आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने शर्त राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको हो। संविधानसभा निर्वाचनपछि माओवादी र एमालेले सरकारको नेतृत्व गरिसकेको कारण देखाउँदै अबको नेतृत्व आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरेको छ भने माओवादीले आफ्नो नियन्त्रणमा रहेको माओवादी लडाकूलाई विशेष समितिअन्तर्गत बुझाइसकेको र संविधानसभा निर्वाचनमा सबैभन्दा बढी सिट आफ्नो
पार्टीले प्राप्त गरेका कारण पनि आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको छ। विशेष समितिअन्तर्गत आइसकेका माओवादी लडाकूलाई समायोजन र पुनःस्थापनाका लागि आफ्नो नेतृत्वमा सरकार भए सजिलो हुने माओवादी भनाइ रहेको छ तर नेपाली कांग्रेसले सहमति कायम गरेर माओवादी लडाकूको पुनःस्थापना र समायोजन तथा शिविरमा रहेका हतियारको व्यवस्थापन गरिसकेपछि मात्रै माओवादीले नेतृत्व लिनु उचित हुने शर्तसहितको सुझाव राख्ने गरेको छ। एमाले अध्यक्ष झलनाथ खनालले माओवादी र कांग्रेसमा पहिला कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति हुन नसकेको अवस्थामा एमालेलाई पहिला नेतृत्व गर्न दिँदा दुवै पार्टी सरकारमा सहभागी हुन सक्ने दाबी गर्नुभएको छ। काठमाडौंको होटेल र्याडिसनमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा नयाँ सरकार भोलि बुधबारसम्ममा बनाउने विषयमा छलफल भए पनि नेतृत्वका बारेमा पूर्वअडान यथावत् रहेका कारण बैठक निष्कर्षमा नपुगी स्थगित भएको हो। ँनेतृत्वका बारेमा सबैको दाबी रहेकोले आज सहमति हुन सकेन’ -माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो। सहमतिको सरकार बनाउन सबै दल सहमत भएको भन्दै उहाँले चक्रीय प्रणालीमा समेत खुला छलफल सुरु भएको बताउनुभयो। एमाले अध्यक्ष खनालले भोलि बुधबारसम्ममा सहमतिको सरकार बनाउने भन्ने विषयमा तीनै दल सहमत भएको जानकारी दिँदै आन्तरिक र अन्य दलसँगको छलफल आवश्यक रहेकाले तत्काल निर्णय नभएको बताउनुभएको छ। सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले दोस्रो पटक समय थप गरिदिएपछि सहमतिका लागि भन्दै दलहरुले छलफल गर्दै आएका छन्। बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो।
सरकार गठनको आन्तरिक गृहकार्य र सत्तासमीकरणमा क्रियाशील माओवादी र कांग्रेस शीर्ष नेतृत्वबीच सोमबार गोप्य वार्ता भएको थियो। होटेल बैशालीमा सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालाबीच भएको वार्तामा सत्तासमीकरण र सरकारको नेतृत्वका विषयमा छलफल भएको थियो। सरकारको नेतृत्वका लागि दाबी गरिरहेका दुवै दलले निकासका एक-अर्कालाई सहयोग गर्न आग्रह गरेको बुझिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक