20110106

खप्परमा त लिएरै आएका रहेछन माधव कुमार नेपालले !

हेर्दै जाउँ अझ के के देख्न पर्नेहो नेपाली जनताले ! दुबै ठाउँमा चुनाव हारेपनी प्रधानमन्त्री बनेका माधव नेपाल छ महिना भन्दा बढी काम चलाऊ सरकार चलाएर मात्र होइन अब अर्को विश्व रेकर्ड कायम गर्ने तरखरमा !     
प्रधानमन्त्री बनेदेखि नै एकपछि अर्को कीर्तिमान बनाउँदै आएका प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएर पनि पुनः विश्वासको मत लिएर अर्को कीर्तिमान बनाउने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ। प्रधानमन्त्री नेपालले राजीनामा दिएको पुस १६ गते ठीक ६ महिना पुगिसकेको छ। नेपालको इतिहासमै सबैभन्दा लामो समय कामचलाउ सरकार चलाएर कीर्तिमान बनाएका प्रधानमन्त्री नेपाल अब बढीमा एक महिनाभन्दा नकुर्ने मनस्थितिमा पुगेको उनी निकटस्थ स्रोतले जनाएको छ। पुस २५ गतेबाट शुरु हुने संसद अधिवेशनले पनि नयाँ प्रधानमन्त्री दिन नसकेमा माधव नेपालकै सरकारलाई संसदबाट विश्वासको मत दिलाई, राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन लगाउनका लागि संवैधानिक तथा कानुनी परामर्श...
समेत शुरु भएको छ।
​ 'व्यवस्थापिका संसदले ६ महिनासम्म पनि प्रधानमन्त्री चयन गर्न नसकेको, दलहरु सहमति कायम गर्न पनि असफल भएको र मुलुकलाई काम चलाउ सरकारका भरमा अनिश्चितकालसम्म राख्न नमिल्ने कुरालाई मुख्य आधार बनाएर, संसदले नयाँ सरकार गठन नगरेसम्म यही सरकारलाई विश्वासको मतका आधारमा निरन्तरता दिने कुरा उठेको छ' प्रधानमन्त्री निकट सूत्रले बतायो। कामचलाउ सरकारले नीतिगत निर्णयहरु गर्न नमिल्ने र शान्ति सुरक्षा तथा कर्मचारीतन्त्रमा समेत असर पर्ने भएकाले यस्तो उपायका बारेमा परामर्श शुरु भएको कुरा एक सभासद्ले स्वीकार गरे। 'संसद अधिवेशनबाट बजेट पारित भएपछि यो सरकार बहुमतमा रहेको पुष्टि हुने र त्यही आधारमा विश्वासको मत लिएर माधव नेपालको सरकारलाई अघि बढाउने सम्भावना बढेको छ।' प्रधानमन्त्री नेपालका एक सहयोगीले साँघुसँग भने। ​ संसद अधिवेशनमा रामचन्द्र पौडेलको उम्मेदवारी के हुने भन्ने अन्योलता अझै कायमै छ। यदि पौडेलको उम्मेदवारी कायमै राखेमा पहिलो दिनमै प्रधानमन्त्रीको चुनावको मिति घोषणा हुनेछ। त्यो अवस्थामा एमाओवादी र एमाले सहितका दलहरुले पौडेलको विपक्षमा मतदान गर्नेछन्। बहुमतले प्रस्ताव अस्वीकृत भएपछि सभामुख सुवास नेम्वाङका सामु विशेषाधिकार प्रयोग गर्ने बाहेक अन्य उपाय हुनेछैन। प्रधानमन्त्रीको नयाँ चुनावमा गए पनि दलहरुबीच कसले सरकारको नेतृत्व गर्ने भन्ने विवाद टुंगिएको छैन। अहिलेसम्मको अवस्था हेर्दा नयाँं सरकार गठन भएमात्र त्यसको नेतृत्व एमाले अध्यक्ष झलनाथ खनालले गर्ने सम्भावना देखिएको छ। सेना समायोजन नभएसम्म एमाओवादीको नेतृत्व कांग्रेस र एमाले दुवैले अस्वीकार गरिसकेको अवस्था छ। एमाओवादीले कांग्रेसको नेतृत्वमा सरकार बन्न नदिने स्पष्ट पारिसकेको छ। एमालेको पनि संस्थापन पक्ष कांग्रेसलाई नदिने पक्षमा रहेको छ। ​ प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी ओली रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा देखिए पनि त्यो पार्टीको संस्थागत निर्णयको विपरीत छ। किन कि केन्द्रीय कमिटीको २०६७ पुस १ गते बसेको पाँचौ बैठकले ''प्रधानमन्त्री निर्वाचनको चालु प्रक्रिया अन्त्य गर्नुपर्ने र यो प्रक्रिया चालु रहुञ्ज्याल हामी निर्वाचन प्रक्रियामा सहभागी हुन नसक्ने तथ्य स्पष्ट पार्दै नेपाली काङ्ग्रेसका तर्फबाट प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेललाई आ136नो उम्मेदवारी फिर्ता लिन नेकपा (एमाले) ले यसअघि नै आह्वान गरिसकेको हो। यस कुरामा पुनः जोड दिंदै नेपाली काङ्ग्रेसलाई उम्मेदवारी फिर्ता लिन र निर्वाचनको नयाँ प्रक्रियामा प्रवेश गर्न नेकपा (एमाले) आग्रह गर्दछ। उम्मेदवारी फिर्ता नलिएको खण्डमा पार्टीले विपक्षमा मतदान गर्ने कुरा पनि स्पष्ट गर्दछ।'' भन्ने निर्णय गरेको छ। कांग्रेसले रामचन्द्रको उम्मेदवारी फिर्ता नलिए, विपक्षमा मतदान गरेर प्रस्ताव असफल बनाउने निर्णय एमाले गरिसकेको अवस्थामा नेताहरुले पौडेलको पक्षमा बोल्नु पार्टी निर्णयविपरीत हुने एमाले नेताहरु बताउँछन्। पार्टी निर्णयलाई चुनौती दिनेगरी पौडेललाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेकै कारण अनुशासन आयोगले प्रधानमन्त्री एवं वरिष्ठ नेता नेपाललाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको थियो। तर प्रधानमन्त्री नेपालले आयोगका अध्यक्ष अमृत बोहरालाई आफूले पौडेललाइ प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुको कारण स्पष्ट पारेपछि स्पष्टीकरण रोकिएको एमाले स्रोतले जनाएको छ। ​ एमाओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानन्त्री नबने अध्यक्ष खनाललाई समर्थन जनाउने आश्वासन दिएका छन्। तर एमाओवादीले पनि संस्थागत रुपमा यसबारेमा कुनै निर्णय लिएको छैन र बाबुराम भट्टराई तथा मोहन वैद्यहरु खनाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने पक्षमा देखिएका छैनन्। अध्यक्ष खनालले भने आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेको भन्दै दलभित्र र बाहिर छलफल अघि बढाएका छन्। उनलाई एमाओवादीको धेरै भर नपर्न र एमाओवादीसँग बाहिर र भित्र अलग अलग व्यवहार नगर्न निकटस्थ युवा नेताहरुले पनि सुझाव दिएका छन्। ​ दलहरुबीच सहमतिको आधार चक्रीय प्रणाली हुनसक्छ। गोकर्ण रिसोर्टमा भएको सहमति अनुसार चक्रीय प्रणाली अनुसार सबैभन्दा पहिले कांग्रेसका रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने, त्यसपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र अन्तिममा संसदीय चुनाव गराउने सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष झलनाथ खनाल हुने भनिएको हो। तर चक्रीय प्रणाली पनि अहिले विवादमा छ। एमाले बाहेक अरुले चक्रीय प्रणालीको बचाउ गरेका छैनन्। यस्तो अन्योलता बढ्दै गएमा कामचलाउ सरकारलाई नै विश्वासको मतमार्फत् पुनः कार्यकारी बनाउने उपायको खोजी अहिले तीब्र भएको छ। यदि यसो भएमा माधव नेपालले अर्को कीर्तिमान कायम गर्नेछन्। दुई ठाउँमा चुनाव हारेर पनि देशको प्रधानमन्त्री बनेर पहिलो कीर्तिमान कायम गरेका नेपालले नेपालमा अहिलेसम्म सबैभन्दा लामो समय टिक्ने पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको कीर्तिमानी पनि बनाउँदैछन्। त्यस्तै सबैभन्दा लामो समय कामचलाउ सरकार बनाउने कीर्तिमान पनि उनले कामय गरिसकेका छन्। -साँघु

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक