20110201

संविधान बनाउन नसके सभासद् र नेताहरुको गालामा चड्कन हान्न जनतालाई छुटछ भन्ने कुरा हामीलाई लागिराख्याछ : माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराई

वार्ता असफल भएपछि अब उम्मेदवारी दिएर आफ्नो पक्षमा बहुमत पुर्याउन प्रमुख तीन दल लागि परे
माओवादी का उपाध्यक्ष डा.बाबुराम भट्टराईले जेठ १४ गतेसम्म पनि संविधान बनाउन नसके सभासद् र नेताहरुको गालामा चड्कन हान्न जनतालाई छुट भएको बताउनुभएको छ। बलिदान गरेर ल्याएको गणतन्त्र गुम्न सक्ने अवस्था भइरहेकाले जनताले थप्पड मात्र हान्ने होइन जे पनि गर्न पाउने उहाँले बताउनुभयो। धादिङको मैदीमा रहेको संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भट्टराईले शान्ति र संविधान मुखले मात्र भन्ने तर सरकार र प्रधानमन्त्रीको कुर्सीमा को बस्ने भन्ने खिचातानीका कारण समस्या समाधान हुन नसकेको बताउनुभयो। संविधानसभाको सबैभन्दा ठूलो दललाई सरकारकॊ नेतृत्व दिन हुन्न भन्ने केही दलको अडानका कारण सरकार बन्न नसकेको उहाँले बताउनुभयो। आगामी जेठ १४ मा संविधान नबने देश गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिँदै अब बन्ने सरकारको मुख्य काम भनेको शान्तिप्रक्रियालाई टुंग्याउनु र संविधान लेखनलाई पूरा गर्नु भएकाले त्यसका लागि राष्ट्रिय सरकारको आवश्यकता पर्ने बताउनुभयो। देशका मुख्य
दलहरु सम्मिलित सरकार बन्नुपर्छ भन्ने आफ्नो पार्टीको माग रहेको भन्दै उहाँले प्रचलित मान्यताअनुसार सरकारको नेतृत्व भने सबैभन्दा ठूलो दलले पाउनुपर्ने दाबी गर्नुभयो। भट्टराईले संविधानसभाको जननी माओवादी हो भन्दै माओवादी शान्तिप्रक्रिया र संविधान निर्माणमा जिम्मेवार छैन भन्ने कुरा झूटो भएको बताउनुभयो। एउटा प्रधानमन्त्रीको कुर्सीका लागि देशलाई पुनः प्रतिगमनतिर धकेल्न नहुने भन्दै भट्टराईले अब बाँकी तीन महिनामा पनि संविधान नबने जनताले आफूलगायत सम्पूर्ण नेतालाई जे पनि गर्न सक्ने भएकाले त्यसका लागि तयार हुनुपर्ने बताउनुभयो। शान्ति र संविधान सुनिश्चित नभए जनतालाई सडकमा आउन आग्रह गर्नुभएका भट्टराईले त्यसको नेतृत्व माओवादीले गर्ने बताउनुभयो। दलका नेताहरुले शान्ति र संविधानमा गम्भीरता नदेखाई देश बिगारेकाले उनीहरुलाई सुधार्नका लागि भन्दै सुनसरीका देवीप्रसाद रेग्मीले एमाले अध्यक्ष झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममै झापड हानेपछि अन्य नेताहरु पनि आफूमाथिसमेत त्यस किसिमका घटना हुन सक्नेतर्फ सचेत भएका छन्।
यता प्रधानमन्त्री निर्वाचनका लागि बहुमतीय प्रकि्रयाभित्र सहमति खोज्ने प्रमुख तीन दलको प्रयास असफल भएको छ। सहमतिका लागि भएका पटकपटकका वार्ता असफल भएपछि अब उम्मेदवारी दिएर आफ्नो पक्षमा बहुमत पुर्याउन प्रमुख तीन दल तीव्रताका साथ लागिपरेका छन्। तीनदलीय प्रयास असफल भएपछि अब भोलि बुधबार तीनै दलले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराउने भएका छन् भने अन्य दलले अझैसम्म उम्मेदवारी दिने घोषणा गरिसकेका छैनन्। प्रधानमन्त्री निर्वाचनसम्बन्धी नियमावली संशोधन गरेर निर्वाचनमा कुनै पनि दल वा सभासद् तटस्थ बस्न नपाउने व्यवस्था गरिएको भए पनि यो पटक पनि प्रधानमन्त्री निर्वाचित हुने सम्भावना न्यून रहेको शीर्षनेताहरुले नै बताइसकेका छन्। प्रधानमन्त्री निर्वाचन नियमावलीमा अब एक मात्र उम्मेदवार भए विश्वासको मत लिनुपर्ने दुई उम्मेदवार भए पहिलो निर्वाचनमा एक उम्मेदवारले बहुमत ल्याउनुपर्ने दुईभन्दा बढी उम्मेदवार भएर दुई चरणसम्मको निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसके तेस्रो चरणको निर्वाचनमा बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने व्यवस्था छ । तर अब दुई चरणसम्मको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसके तेस्रो चरणको निर्वाचनमा कुनै दलले सभामुखलाई जानकारी दिएर अनुपस्थित हुने वा सभासद्हरुले मत बदर गर्ने प्रबल सम्भावना देखिएको छ। बहुमतीयभित्र सहमति खोज्नका लागि सोमबार बसेको प्रमुख तीन दल माओवादी कांग्रेस र एमालेको बैठकमा कुनै सहमति नभएपछि अब बहुमतीय प्रकि्रयामा तीनै दल जाने भएका हुन्। तीनदलीय उम्मेदवार हुने भएपछि विगतमा जस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल उम्मेदवार हुने भएका छन्। माओवादीले यसअघि नै पार्टी अध्यक्ष प्रचण्ड उम्मेदवार हुने तय गरिसकेको छ भने एमालेले आज मंगलबार उम्मेदवार तय गर्न बैठक बोलाएको छ । बैठकले अध्यक्ष खनाललाई नै उम्मेदवार बनाउने निश्चितजस्तै छ। कांग्रेस नेता शेरबहादुर देउवाले उम्मेदवार हुन प्रयास गर्दै सोमबारसम्म आफ्नै निवास्ामा केन्द्रीय सदस्य र सभासद्हरु बोलाएर पहल गरे पनि पार्टी सभापति सुशील कोइरालाले केन्द्रीय समितिको बैठक नबोलाइदिएर पूर्वनिर्णयलाई कायम राख्नुभएको छ। नेता देउवाको निवासमा भएको भेलाले सभापति कोइरालाले केन्द्रीय समिति बैठक नबोलाए बैठक बोलाउन दबाब दिन हस्ताक्षर अभियान साचालन गर्ने निर्णय गरेको छ।
तीन दल बैठकमा सबैले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान दोहोर्याएकाले सहमति हुन सकेन र अब बहुमतीयमा सबैले प्रतिस्पर्धा गर्ने भन्दै बैठक समाप्त भयो’ -तीनदलीय बैठक असफल भएपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो। कांग्रेस र एमालेले माओवादी नेतृत्व स्वीकार गर्नका लागि माओवादी लडाकूको समायोजन र पुनःस्थापनाको कार्ययोजना बन्नुपर्ने सर्त राखेका कारण सो विषयलाई सम्बोधन गर्न सोमबार बसेको तीनदलीय बैठक एजेन्डामा समेत प्रवेश नगरी टुंगिएको थियो। शान्ति मन्त्रालयमा बसेको बैठकपछि साचारकर्मीसँग कुरा गर्दै माओवादी उपाध्यक्ष श्रेष्ठले अब राष्ट्रिय सहमतिका लागि तीन दलको बैठक नबस्ने जानकारी दिनुभयो। द्विपक्षीय छलफलमा सहमतिको संकेत देखापरे मात्र तीन दलको बैठक बस्ने उहाँले बताउनुभयो। कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति र संविधानका लागि राष्ट्रिय सहमति आवश्यक भन्ने भनाइ मिथ्या साबित भएको बताउँदै अन्य दलहरुले एजेन्डाभन्दा व्यक्तिलाई प्रधान बनाएकोले समस्या जहाँको तही रहेकॊ आरोप लगाउनुभयो। तीन दलीय बैठक असफल भएपछि आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासस्वरुप सोमबार नै एकीकृत माओवादी र एमालेबीच वार्ता भएको थियो। वार्तामा आ-आफ्नै अडान यथावत् रहेपछि दुई दलीय वार्ता पनि असफल भएको थियो।
माओवादी संसदीय दलको कार्यालयमा भएको वार्तामा नयाँ सरकार गठनका विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेन। छलफलमा माओवादी अध्यक्ष प्रचण्ड उपाध्यक्षत्रय डा. बाबुराम भट्टराई मोहन वैद्य र नारायणकाजी श्रेष्ठ तथा एमालेबाट अध्यक्ष खनाल भरतमोहन अधिकारीलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो।  - ने.स.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक