20110625

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी : माओवादीमा प्रवेश गरेसँगै विलाउन पुगे राधाकृष्ण मैनाली, अमिक शेरचन, लीलामणि पोखरेल, एन. के. प्रसाईं, डा. डिल्लीराज खनालहरु !

राधाकृष्ण मैनाली, अमिक शेरचन, लीलामणि पोखरेल, एन .के. प्रसाईं, डा. डिल्लीराज खनाल लगायतका नामहरु नेपाली राजनीतिमा केही अगाडिसम्म चर्चित नामहरु हुन्। राजनीतिक वृत्तमा उनीहरुको नाम विभिन्न कारणले चर्चामा आएका थिए। तर, पछिल्लो समय ती नाम खासै चर्चामा छैनन्। ती व्यक्ति किन चर्चित हुन नसकेका होलान् भनी अलिहे पनि चासो राख्ने गरिएको छ। ती व्यक्ति राजनीतिबाटै हराएका त होइनन् भनी शंका गर्नेहरु पनि छन्। वर्तमान सरकारको प्रमुख घटक एकीकृत नेकपा (माओवादी) मा हुनासाथ कतिपय व्यक्ति एकाएक चर्चामा आएका छन्। तर, ती नाम सोही माओवादीमा प्रवेश
गरेसँगै विलाउन पुगेका छन्। दोस्रो जनआन्दोलनताका सात दलका नेतामध्येमा रहेका शेरचनले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बखत उपप्रधान सहित स्वास्थ्य मन्त्री हुने मौका पाएका थिए। १२ बुँदे सहमतिलगायतका बेलामा शेरचनको नाम नेपालको राजनीतिक वृत्तमा एकदमै चर्चित थियो। साना कदका रहेर पनि शेरचनको उचाइ एकदमै माथि पुगेको थियो। गिरिजाप्रसादको विश्वासिला व्यक्तिमध्येमा शेरचन पर्दथे। तर, उनको दल माओवादीमा एकीकरण भएपछि भने शेरचन राजनीतिक वृत्तमा ओझेलमा पर्न थालेका हुन्। उनी चितवनबाट संविधानसभा सदस्यमा निर्वाचित भएर पनि अहिले खासै चर्चामा छैनन्। यसैगरी भाषण गर्ने कला भएका लीलामणि पोखरेल पनि उनको दल माओवादीमा एकीकृत भएपछि छायामा परेका छन्। संविधानसभाको निर्वाचनमा सिन्धुलीबाट जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका पोखरेललाई सघाउने निर्णय माओवादीले गरेको थियो। दुई दलका बीचमा तालमेल भएपछि चुनाव जित्नेमा ढुक्क भएका पोखरेललाई माओवादीका तर्फबाट बनेका उम्मेदवारले समर्थन नगरी आफ्नो प्रचार–पसारलाई जारी राखिदिए। पछि निर्वाचन परिणाम माओवादी उम्मेदवारकै पक्षमा गएपछि 'माओवादीले धोका दियो' भन्ने पोखरेलको दल पछि माओवादीमै एकीकृत भयो। त्यसबाट माओवादी नेतामा रुपान्तरित भएका पोखरेलले आफ्नो पुरानो चर्चालाई कायमै राख्ने अनुमान गरिएको थियो। तार्किक कुरा गर्न सिपालु पोखरेल आफ्नो बोल्ने शैली र क्षमताका कारण दोस्रो जनआन्दोलनताका चर्चित नेतामै पर्थे। आफ्नी श्रीमती शशी श्रेष्ठलाई समेत राजनीतिमा सक्रिय राखेका पोखरेल माओवादी बनेदेखि राजनीतिक वृत्तमा खासै चर्चामा छैनन्। माओवादीभित्र झांगिएको गुटगत राजनीतिममा कसैको कित्तामा पर्न नसकेका पोखरेलको विगतको योगदान र क्षमतालाई माओवादीले बुझ्न नसकेको भनी टिप्पणी पनि हुने गरेकोे छ। दोस्रो जनआन्दोलनका बेला संयुक्त वाममोर्चाको नेतृत्वमा तहमा रही आफ्नो भूमिका देखाइसकेका एन.के. प्रसाईंलाई अहिले नचिन्नेहरुको जमात बढेको छ। यसरी उनको नाम सुन्दा 'को अरे?' भन्ने अवस्था पनि आएको छ। उनको दल माओवादीमा विलय भएपछि उनी माओवादीको केन्द्रीय तहमा ल्याइए। उनी केन्द्रीय तहमा आए पनि माओवादीको ठूलो जमातका बीचमा उनी स्वतः हराउन पुगेका छन्। यसअघि सांसद समेत बनिसकेका प्रसाईं अहिले माओवादी नेताहरुको समेत चिन्दैनन् कि भनने अवस्थामा पुगेका छन्। पञ्चायतकालदेखि नै चर्चित बनेको नाम हो राधाकृष्ण मैनाली। नेकपा (माले) को स्थापनादेखि सबै आन्दोलन गतिविधिमा सक्रिय रहेका मैनाली पञ्चायतकालमा लामो समय कारावास जीवन बिताई नेपाली राजनीतिमा उदाएका पात्रमध्ये उत्कृष्टको श्रेणीमा थिए। २०४६ सालको जनआन्दोलनको सफलतासँगै कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा बनेको अन्तरिम सरकारमा मन्त्री बनेका मैनाली त्यसपछि सधैंजसो चर्चामा रहे। २०५१ सालमा सफलताको शिखरमा पुगेको नेकपा (एमाले) को नेतृत्वमा रही पटक–पटक मन्त्री बन्न सफल मैनाली एमालेमा आएको विभाजनबाट बनेको नेकपा (माले) को नेतृत्वमा रहेका थियो। तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा शिक्षामन्त्री बने मैनाली त्यसपछि भने निष्कृय जस्तै बनेका थिए। राजनीतिक प्राणी भएकाले त्यसै खाली नबस्ने अपेक्षा गरिएका मैनाली एक वर्षअघि माओवादीमा प्रवेश गरेका थिए। माओवादीमा मैनालीको प्रवेशसँगै उनी राजनीतिमा फेरि सक्रिय रहने अपेक्षा गरिए पनि त्यसको साकार रुप लिन सकेन। माओवादीका अध्यक्ष–पुष्पकमल दाहालकै हातबाट टीका तथा सदस्यता ग्रहण गरेका मैनाली माओवादीमा प्रवेशसँगै हराउन पुगेका छन्। उनले कुनै जिम्मेदारी नपाएका मात्र होइनन् कि अहिले कुन दूलोमा लुकेका छन् सर्वसाधारणलाई जानकारीसम्म छैन। नेकपा (एमाले) मा बौद्धिक व्यक्तिहरुको खडेरी परेका बेलामा समेत एमालेमा सक्रिय रहेका डा. डिल्लीराज खनाल एमालेका तर्फबाट निर्वाचित पूर्व सांसद समेत हुन्। अर्थविद्का रुपमा आफ्नो पहिचान बनाएका खनाल माधवकुमार नेपाल प्रधानमन्त्री बनेको सरकारमा अर्थमन्त्री बन्ने चर्चा थियो। नेपालले उनलाई अर्थमन्त्री नबनाई सुरेन्द्र पाण्डेलाई बनाएपछि रुष्ट बनेका खनाल त्यसको लगत्तै माओवादीमा प्रवेश गरेका थिए। बौद्धिक व्यक्तिहरुको आवश्यकता माओवादीमा छ भन्ने ठानिएकाले खनालले राम्रै स्थान पाउने चर्चा थियो। तर, जनयुद्धमा होमिएका माओवादी नेताहरुलाई नै ठाउँ नपुगिरहेको अवस्थामा खनाल ओझेलमा पर्नुलाई आश्चर्यको रुपमा लिइएको छैन।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक