20110711

बाबुरामलाई चुना लगाउदै प्रचन्डको अर्कै भित्री खेल !

आफू प्रधानमन्त्री नबन्ने भनेर आफू निकट नेताहरूबाट प्रचार गराइरहेका बेला एनेकपा माओवादीका अध्यक्ष पुष्कपमल दाहालले पार्टी बाहिर भने प्रधानमन्त्री बन्ने माहौल सिर्जना गर्न खोजेको पुष्टि भएको छ। जुन बेला बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना थियो, त्यो बेला आफैं प्रधानमन्त्री बन्ने निर्णय गराएर बाबुरामको बाटो छेकेका प्रचण्डले यसपटक भने बाबुराम नबन्ने वातावरण बन्दै जाँदा भावी प्रधानमन्त्रीमा बाबुरामको नाम चर्चामा ल्याइदिएका छन्। वास्तविकता भने प्रचण्ड आफैं प्रधानमन्त्री बन्नेतर्फ खेल शुरु भएको छ। यस खेलमा कांग्रेस र एमालेका माधव नेपाल तथा तथा केपी ओलीहरूसमेत
सामेल भएको चर्चा चलेको छ। अमरेशकुमार सिंहदेखि राष्ट्रपति रामवरण यादवसम्मको सकारात्मक संकेत आएपछि प्रचण्डको प्रधानमन्त्री बन्ने चर्चा एकाएक चलेको छ। गएको सातामात्र (भारतीय संस्थापनले समेत
विश्वास गरेका भनिने) नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रचण्डलाई भेटेर प्रधानमन्त्री बन्न अन्तिम पटक प्रयास गर्न सुझाव दिएको स्रोतले जनाएको छ। त्यसो त प्रचण्डलाई प्रधानमन्त्री बन्न एमाले नेता माधव नेपाल र केपी ओलीले समेत सल्लाह दिएको सूत्रले दाबी गरेको छ। त्यसरी सुझाव दिनेमा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पनि छन्। शान्ति र संविधान निर्माणको कुरा माओवादीकै एजेन्डा भएको र त्यसलाई पूरा गर्न प्रचण्डले नै सरकारको नेतृत्व लिनुपर्ने दलिल उनीहरूले पेश गरेका छन्। पार्टी र संसदीय दुवै मोर्चामा अल्पमतमा परेर निराश भइरहेको बेला विपक्षीहरूले प्रधानमन्त्री बन्न दिएको सल्लाहले प्रचण्डलाई खुसी बनाउने काम गरेको छ। प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि माधव नेपालदेखि अमरेशकुुमार सिंह र रामचन्द्र पौडेलसमेत एउटै मोर्चामा कसरी आवद्ध भए र उनीहरूबीच मोर्चा बन्ने गराउन कसले भूमिका निर्वाह गर्योम भन्ने रहस्यको पर्दा भने खुलिसकेको छैन। तर अमरेशकुमार सिंहले भने प्रचण्डले निर्भयका (बोल्डी) साथ भारतका पक्षमा उभिने प्रतिबद्धता जाहेर गरेको अवस्थामा मात्र प्रधानमन्त्री बन्न आफूले भूमिका निर्वाह गर्नसक्ने जानकारी दिएको भनी सूत्रहरूले बताउने गरेका छन्। अमरेशकुमारको भनाइ सत्य भएमा प्रचण्डलाई प्रधानमन्त्री बन्न फेरि एकपटक भारतले ललीपप देखाएको प्रमाणित हुनेछ। हुन त प्रचण्डले औपचारिक एवं अनौपचारिक रुपमा बसेको पदाधिकारीहरूको बैठक तथा शीर्षनेताहरूबीचको बातचितको क्रममा माओवादीको नेतृत्वमा सरकार गठन हुने सम्भावनालाई लिएर पटक पटक तर्क अगाडि सार्ने गरेका छन्। यसले गर्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बन्न हिजो अवरोध गर्ने शक्तिले अहिले आशीर्वाद दिएको हुनसक्ने सम्भावना देखिएको छ। प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि कांग्रेस, माधव ओली तथा अन्य शक्तिहरूले मुख्यतः तीन शर्त अघि सारेका छन्। शान्ति प्रक्रिया टुंग्याउने, संविधान निर्माणमा सकारात्मक नेतृत्व गर्ने र राष्ट्रिय सहमतिको सरकार गठनमा भूमिका खेल्ने काम गरेमा प्रचण्डलाई सरकारको नेतृत्व दिन सकिने खालकेा प्रस्ताव राखेका छन्। प्रचण्ड इमान्दारीतासाथ लागेमा शान्ति प्रक्रिया र संविधान लेखनको काम पूरा हुने ठहरपछि यी शक्तिहरूले बाबुरामको ठाउँमा प्रचण्डलाई नै नेतृत्व दिन खोजेका हुन्। बाबुरामलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले अर्को शक्तिकेन्द्र खडा गरी बाबुरामलाई असफल पार्ने र शान्ति र संविधानको काम पूरा नहुने भएकाले प्रचण्डलाई उपयुक्त मानिएको हुनसक्छ। यसबीचमा कांग्रेसको संस्थापन पक्षले प्रधानमन्त्रीको राजीनामा नमाग्नु, प्रचण्डलाई शान्ति प्रक्रियाको आधारभूत काम पूरा गरेर सरकारको नेतृत्व गर भन्नु र एमालेको एउटा खेमा पनि त्यसमा सामेल हुनुले प्रचण्डको पल्ला भारी हुन लागेको अनुमान गर्न सकिन्छ। प्रधानमन्त्री बन्ने मूल्यमा प्रचण्ड तत्काल सेना समायोजनसहित शान्ति प्रक्रियालाई टुंग्याउन उदार बने पनि उनलाई पार्टीभित्रबाट चरम असहयोग शुरु भएको छ। यस मामिलामा बाबुराम र मोहन वैद्य समूह एक भएपछि प्रचण्डले चाहेर पनि शान्ति प्रक्रियालाई आफूले चाहेको मोडेलमा अघि बढाउन समर्थ छैनन्। यदि यो रोडम्याप बमोजिम प्रचण्डले काम अघि बढाएमा संविधान निर्माण र शान्ति प्रक्रिया टुंगिने अवधिसम्म प्रधानमन्त्री प्रचण्ड बन्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने प्रस्ताव आएको छ। चुनावी सरकारको नेतृत्व माओवादीले गर्दा निष्पक्ष चुनाव नहुने आशंका अरु दलहरूले गरेको, एमालेले यसअघि दुई पटक सरकारको नेतृत्व गरिसकेको हुनाले कांग्रेसले त्यो दावी गर्नुलाई स्वभाविक पनि मानिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक