(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20110908

कुनै चमत्कारीक दुर्घटना नभए माओवादी पार्टी फुटेको घोषणा गरिदै, प्रचन्ड, बाबुराम लाई आउट गरेर आफै अध्यक्ष हुने तयारीमा बैद्य !

‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा वैद्य र उहाँका र्समर्थकलाई पुग्न नदिन डा. बाबुरामको भूमिका महत्त्वपूर्ण
माओवादीलाई वैचारिक अगुवाइ गर्नुहुने पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण माओवादी पार्टीलाई ‘पुनर्गठन’ गर्ने निष्कर्षमा पुग्नुभएको जानकारी प्राप्त भएको छ । अध्यक्ष प्रचण्ड र अर्का उपाध्यक्ष बाबुराम भट्टराई पार्टी र क्रान्तिविरुद्ध लागेको ठहरसहित वैद्य पार्टी पुनर्गठनको निष्कर्षमा पुग्नुभएको बताइएको छ । पुनर्गठित पार्टीको अध्यक्षमा वैद्य स्वयम् रहनुहुने र पार्टीका देशभक्त एवम् क्रान्तिकारीहरूलाई सङ्गठित गर्ने योजना नेता वैद्यले बनाउनुभएको निकटवर्तीहरूले बताएका छन् । क्रान्तियात्रामा वैधानिकताको पाटो गौण हुन्छ भन्ने धारणा राख्नुहुने उहाँले तत्कालै सशस्त्र विद्रोहमा जाने सोच भने नबनाउनुभएको बताइन्छ । त्यसैले पार्टीबाट ‘क्रान्तिविरोधी’ र ‘गद्दार’ नेताहरूलाई निष्कासन गरी पार्टीलाई नयाँ स्वरूप दिने, संसदीय दलमा नयाँ नेता चुनी नयाँ सत्ता समीकरण बनाउनेसम्मको सोच वैद्यले
बनाउनुभएको छ । तत्काल विद्रोहमा नगई त्यसको निम्ति वातावरण बनाउने र आवश्यक भौतिक तयारी मात्र गर्ने योजनामा रहेको वैद्य खेमाले प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठहरू एकै ठाउँमा उभिँदा पनि आफ्नो पक्षमा एक सय बढी सभासद् हुने विश्वास गरेको छ । वैधानिक रूपले पार्टीको मान्यता पाउन वैद्यलाई आफ्नो पक्षमा कम्तीमा चौरानब्बे (९४) सभासद् या पार्टी केन्द्रीय समितिका अन्ठाउन्न ? ५८) सदस्यको र्समर्थन आवश्यक पर्छ । केन्द्रीय समितिमा वैद्य पक्षका त्रिपन्न (५३) सदस्य रहेका, तर स्वनामलगायतका अन्य आठ नेता वैद्यका पक्षमा उभिने भएपछि साठीभन्दा बढी केन्द्रीय सदस्यको र्समर्थन वैद्यलाई प्राप्त हुने विश्वास सम्बद्ध नेताहरूको छ । आफ्नो पक्षमा कम्तीमा ‘चालीस प्रतिशत’ सदस्य लिएर पार्टीलाई वैधानिक मान्यता दिलाउने योजनामा रहेको वैद्य खेमाले आगामी असोज १ गते हुने पार्टी केन्द्रीय समितिको बैठकसम्म भने प्रतीक्षा गर्ने जनाएको छ ।
हतियारको कन्टेनरको साँचो ‘विशेष समिति’लाई बुझाउने निर्णय कार्यान्वयन हुन थालेपछि वैद्य पक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईसँग तीव्र असन्तुष्टि प्रकट गर्दै उक्त निर्णयका विरुद्ध सडकमै उत्रिएपछि माओवादीभित्रको द्वन्द्व उत्कर्षमा पुगेको छ । गत आइतबार बसेको माओवादी स्थायी समितिको बैठक यसै विषयमा केन्द्रित रहेको र निकै तनावपूर्ण वातावरणमा सम्पन्न बैठकमा प्रचण्ड पक्षले वैद्यलगायतका नेताहरूमाथि ‘कारबाही’ गर्ने प्रयास गरेका थिए । वैद्य पक्षले भने साँचो बुझाउने निर्णयको प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै प्रचण्ड पक्षले आत्मालोचना गर्नुपर्ने धारणा राखेको थियो । चर्काचर्कीबीच उत्पन्न विवादको टुङ्गो केन्द्रीय समितिबाट लगाउने स्थायी समितिको बैठकले निर्णय गर्‍यो । निर्णयअनुसार आगामी असोज १ गते माओवादी केन्द्रीय समितिको बैठक बस्नेछ । उक्त बैठक ऐतिहासिक दृष्टिले निकै महत्त्वपूर्ण हुनसक्ने देखिएको छ । बैठकमा प्रचण्डले सके वैद्यलगायतका नेताहरूलाई कारबाही गर्ने र वैद्यले सके प्रचण्डलगायतलाई आत्मालोचना गराउने प्रयास गर्ने निश्चितप्रायः छ । यदि १ गतेको बैठकअगावै दुई पक्षबीच एकताको विश्वासिलो सूत्रको खोजी गर्ने सफलता नेतृत्वलाई प्राप्त भएन भने माओवादी पार्टीको विभाजन हुनसक्ने सम्भावना छ । वैद्य पक्षले साँचो हस्तान्तरणलाई क्रान्तिविरुद्धको षड्यन्त्रका रूपमा परिभाषित गर्न चाहेको छ भने सत्तारुढ हुने क्रममा बाबुराम-प्रचण्डले मधेसकेन्द्रित दलहरूसँग गरेको सम्झौताले चाहिँ राष्ट्रियतामा धक्का पुर्‍याउने ठानेको छ । यही तरिकाले बाबुराम-प्रचण्ड अघि बढ्ने हो भने उनीहरू सँगसँगै जान नसक्ने ठहर वैद्य पक्षले गरिसकेको छ । केन्द्रीय समितिको बैठकले आन्तरिक विवादको ठोस र उपयुक्त निकास दिन सकेन भने वैद्य पक्षले प्रचण्ड र बाबुरामलाई हटाएर पार्टी ‘पुनर्गठन’ गर्ने र सत्ता ? समीकरण बदल्ने निधो गरिसकेको छ । विगत केही महिनायता एउटा मोर्चाको रूपमा रहेको माओवादी पार्टीको नेतृत्वमा उत्पन्न विवाद अन्ततः विभाजनसम्म पुगेर मात्र टुङ्िगने सम्भावना बढेको छ । भनिन्छ, वैद्य पक्षले क्रान्ति र ठिवद्रोहको निम्ति आफ्नो बेग्लै तयारी पनि गरिरहेको छ ।

वैद्यलाई जोगाऊ बाबुराम 

-देवप्रकाश त्रिपाठी

माओवादी आन्दोलनमा विचारको स्रोतपुञ्ज मानिनुहुने मोहन वैद्य किरण आफ्नै पार्टीभित्र रक्षात्मक अवस्थामा पुग्नुभएको छ । प्रचण्डलाई अघि सारेर देशमा जनवादी क्रान्ति सम्पन्न गर्ने सपना देख्नुभएका किरण अन्ततः प्रचण्डकै कोपभाजनमा पर्नुभएको छ र अब उहाँले आफ्नै राजनीतिक भविष्यको रक्षा गर्न हम्मेहम्मे पर्ने स्थिति बनेको छ । बाइस वर्षअघि पार्टी-सत्ताको साँचो प्रचण्डलाई बुझाउँदा सम्भवतः उहाँले ‘आजको दिन’ देख्नुपर्ने कल्पना गर्नुभएको थिएन । ‘प्रचण्डको नेतृत्वमा हिंसात्मक सङ्घर्ष र त्यसपछि र्सवहारा वर्गको अधिनायकत्वमा जनवादी राज्यसत्ता’ किरणको मार्गचित्र यही थियो । तर, जनवादी सङ्घर्ष विभिन्न चरणमा विभिन्न आकार -प्रकारका मोर्चाहरूसँग सम्झौता गर्दै अघि बढ्दा क्रान्तियात्रा मात्र बिथोलिएन, आफैंले नेता बनाएका पात्रहरूसमेत पुरानो पहिचान नै मेटिनेगरी बेग्लिएका छन् । जन्मनेबित्तिकै बच्चाहरूले आफैंलाई सिकार बनाउँदै गरेको माकुराको नियति सायद यतिबेला किरण व्यहोर्दै हुनुहुन्छ । लोकतन्त्र स्थापनापछि प्रचण्डका नौरङ्गी भूमिकाबाट हैरान हुनुभएका उहाँले पार्टी सत्ताबाट प्रचण्डलाई च्यूत गर्नुपर्ने आवश्यकता बोध गर्नुभएको जानकारी सबैले पाएका हुन् । एक्लै लडेर प्रचण्डलाई साइजमा ल्याउन नसकिने भएपछि विचारको दूरी ज्यादा फराकिलो भए पनि डा. बाबुराम भट्टराई र नारायणकाजीहरूलाई समेत मोर्चाबद्ध गर्न वैद्य बाध्य हुनुभएको पनि सबैले बुझेका हुन् । प्रचण्डलाई एक्ल्याउने र शक्तिहीन तुल्याउने क्रममा धेरै नेतालाई आफ्नो मोर्चामा समेट्न वैद्य सफल हुनुभएको पनि हो । तर, डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभएपछि वैद्यको मोर्चा बालुवाको घरझैं हुन पुगेको छ, प्रचण्ड आफ्नो गुमेको शक्ति पुनः आर्जन गर्न सफल हुने सङ्केतहरू देखिएका छन् । आफ्नै पार्टीको सत्तामा वर्चश्व गुमाउने स्थितिमा पुग्नुभएका किरणका निम्ति जनवादी राज्यसत्ता फेरि पनि आकाशको फल बनेको महसुस गरिँदै छ । माक्र्सवादको शास्त्रीय अभ्यास गर्दै माओको शैलीमा क्रान्ति सम्पन्न गर्न वैद्यबाट भएका प्रयासहरू एकपटक फेरि चरम सङ्कटमा पर्ने सम्भावना देखिएको छ । तर, यसो भन्दैमा किरणलाई दुर्बल, रुग्ण र कमजोर ठान्नु महाभूल हुनेछ । वि.सं. ०५२ सालअघि पनि वैद्य यही विचारसहित साम्यवादी आन्दोलनमा क्रियाशील हुनुहुन्थ्यो । त्यसताक वैद्यका विचारको धेरैले खिल्ली उडाउँथे र त्यस्ता विचारवाहकहरूलाई ‘दिउँसै तारा देख्ने प्रयास’ भनी होच्याइन्थ्यो । तत्कालीन मशाल समूहलाई यसरी होच्याइन्थ्यो कि ०४८ सालको संसदीय निर्वाचनमा जम्मा नौ स्थानमा विजय हासिल गर्नुलाई पनि मानिसले ठूलै उपलब्धि हासिल गरेको ठानेका थिए । त्यसअघि ०४६ को जनआन्दोलनमा दुर्बल ठानिएकै कारण काङ्ग्रेस र वाममोर्चाले राजासँगको संवाद र सम्झौतामा पनि वैद्य विचारमा आबद्ध समूह ? जसलाई त्यसबेला ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ को रूपमा चिनिन्थ्यो) लाई समावेश गरिरहनुपर्ने ठानेन । न कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा नै उक्त समूहलाई सामेल गराउन प्रयास गरियो । त्यसरी ‘अन्डरमाइन्ड’ गरिएको समूह दुई दशकभित्रै मुलुकको प्रमुख राजनीतिक दलको हैसियतमा पुगेको छ । हिजो तिनलाई ‘अन्डरमाइन्ड’ गर्नेहरूको हैसियत कसरी खस्कियो, हाम्रोसामु तथ्य स्पष्ट छ । त्यसैले सङ्ख्या या वैधानिक र राजनीतिक हैसियतका आधारमा मात्र वैद्य र उहाँको विचार समूहलाई बुझनु गम्भीर भूल हुन सक्दछ । माओवादी पार्टीमा प्रचण्ड र बाबुराम एकातिर भइदिँदा वैद्य पक्ष कमजोर देखिन सक्छ र कमजोर देखिनु स्वाभाविक छ । तर, त्यसप्रकारको विचार -समूह अस्तित्वमा रहँदासम्म कुनै पनि नाम – थरका ‘प्रचण्ड’हरूको उदय हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । ०५२ सालताक सिङ्गो माओवादी पार्टीको भन्दा आज वैद्य समूहको एकल हैसियत मजबुत देखिन्छ । त्योभन्दा पनि विचारणीय पक्ष के छ भने त्यसबेला राज्यसत्ता, राजनीतिक प्रणाली र राजनीतिकर्मीहरूप्रतिको वितृष्णाको ‘स्केल’ वर्तमानमा जस्तो उच्च थिएन । मानिसमा प्रजातन्त्रप्रतिको आस्था मजबुत थियो र जनता राजनीतिक क्षेत्रप्रति आशावादी थिए । स्थिति सामान्य रहँदारहँदै माओवादीले जबर्जस्ती हिंसात्मक युद्धको थालनी गरेर तरङ्ग पैदा गरेको थियो । अहिले जनअसन्तुष्टिको चाप पहिलेको तुलनामा निकै उच्च छ । राज्यले आफ्नो प्रभाव र प्रभावकारिता गुमाएको छ । राजनीतिक दल, तिनको नेतृत्व र यिनले खडा गरेका सोचको संरचनाप्रति जनतामा तीव्र असन्तुष्टि र आक्रोश छ । हिजो एउटा माओवादीले हतियार उठाएको थियो, आज मौका पाउँदा हतियार उठाउन सयौँ समूह तम्तयार देखिन्छन् । हिंसा र बल प्रयोगद्वारा मात्र आफ्नो अभीष्ट पूरा हुनसक्छ भन्ने मान्यता स्थापित भइसकेको यस पृष्ठभूमिमा दर्जनौँ समूह हिंसात्मक सङ्घर्षमा उत्रिए भने त्यसको अन्त्य देशको विघटनपश्चात् मात्र हुनसक्ने यथार्थलाई जिम्मेवार पक्षले आजै देख्न सक्नुपर्छ । ‘वैद्यहरू जङ्गल युद्धमा जान्छन् भने जाऊन्, उनीहरू त्यसरी गए भने सकिन्छन्’ भनेर माओवादीकै नेताहरूले समेत भनेको सुन्दा आश्चर्य लाग्छ । ०५२ सालमा यिनै बाबुराम ? प्रचण्डहरू युद्धमा गएको या जाने कुरा सुन्दा सुन्नेहरूले त्यसलाई महत्त्व दिने गर्दैनथे । प्रहरी ? प्रशासन र सेनाले सबैलाई भौतिक रूपमै सिध्याइदिने आशा, कल्पना र विश्वास त्यसबेला धेरैले गर्थे । कालान्तरमा त्यसबेलाका आशा र अनुमान गलत प्रमाणित भइसकेको छ । हिजो प्रचण्डहरूलाई एकप्रकारका अदृश्य शक्तिहरूबाट साथ मिलिरहेको थियो भने अब वैद्यहरूलाई अर्कै प्रकारका शक्तिले साथ, सहयोग र र्समर्थन दिन सक्छन् भन्ने भुल्नुहुँदैन । वैद्यहरू अब जङ्गल युद्धमा जाने छैनन्, कदाचित गए भने असन्तुष्टहरूको ठूलो कित्ताले उनीहरूलाई पछ्याउने निश्चित छ, त्यसैले अब फेरि युद्ध सुरु भएमा पहिलेको भन्दा भयावह हुने र त्यसले परिणाम पनि भयानक नै ल्याउने अनुमान सहजै गर्न सकिन्छ ।
मोहन वैद्य किरणको विचार – दर्शनसँग नेपाली जनताको ठूलो हिस्सा विमति राख्दछ । वैद्य पक्षको पछिल्ला विचार र व्यवहारलाई जनसाधारणले सकारात्मक रूपमा ग्रहण गरेका पनि छैनन् । तर, किरणको स्पष्ट विचार, निष्ठा, साधारण जीवनशैली र व्यवहारले प्रचण्डमाथि भने विजय हासिल गरेको छ । बाबुरामबिनाका प्रचण्ड कैयन अर्थमा विजय गच्छदारभन्दा भिन्न होइनन् । एउटा बाबुरामको व्यक्तित्वले मात्र दशवर्षो युद्धको औचित्य धानेको हो । अब उहाँ पनि प्रधानमन्त्री भइसक्नुभएको छ, प्रधानमन्त्रीका रूपमा भट्टराई सफल बन्न सक्नुभयो भने दशवर्षो हिंसात्मक युद्ध र त्यसपछि विभिन्न कालखण्डमा भए ? गरेका सम्झौताको औचित्य प्रमाणित पनि होला । कदाचित बाबुराम भट्टराईसमेत असफल हुनुभयो र मुस्किलले आफ्नो व्यक्तित्व मात्र जोगाएर सरकारबाट बाहिरिनुभयो भने जनतामा आशाको एउटा त्यान्द्रो पनि बाँकी रहने ठानिएको छैन । तर्सथ हिजो हिंसात्मक युद्धमा रहेको सम्पूर्ण माओवादीलाई जसरी शान्तिप्रक्रियामा ल्याइयो, जसरी उनीहरूलाई मूल राजनीतिक प्रवाहमा समाविष्ट गरियो, माओवादीलाई शान्तिमार्गमा ल्याउने सन्दर्भमा अन्य शक्तिले जे – जसरी ‘कर्ुवानी’ दिनुपरेको थियो, ठीक त्यही शैलीमा प्रचण्ड ? बाबुरामको व्यवहार प्रकट हुनुपर्ने अपरिहार्यता छ । प्रचण्डको अहंकारजन्य उन्मादमा वशीभूत भएर कम्तीमा डा. बाबुराम भट्टराईले व्यवहार गर्नुहुने छैन भन्ने जनताले ठानेका छन् ।
वैद्यप्रति प्रचण्डको रिस, इर्ष्या, द्वेष हुनसक्छ र त्यसको मूल कारण बाबुरामको वर्तमान ‘पोजिसन’ हो । प्रचण्ड पार्टीमा अर्को शक्तिकेन्द्र बन्न नसकोस् भन्नेमा सचेत हुनुहुन्थ्यो र बाबुराम प्रधानमन्त्री बनेको अवस्थामा एउटा नयाँ शक्तिकेन्द्रको विकास हुनसक्छ भन्ने यथार्थलाई उहाँले धेरै राम्रोसँग बुझनुभएको थियो । त्यसैले विगतमा प्रचण्डले बाबुरामलाई शक्तिहीन बनाउन र प्रधानमन्त्री बन्न नदिन पनि निकै कसरत गर्नुभएको हो । बाबुराम प्रधानमन्त्री बन्नुमा वैद्यको योगदान महत्त्वपूर्ण रहेको छ । अब प्रधानमन्त्री बनेका बाबुरामलाई हातमा लिएर वैद्यको सेखी झार्ने खेल प्रचण्ड खेल्दै हुनुहुन्छ । शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउने र लोकतान्त्रिक संविधान निर्माण गर्ने पवित्र उद्देश्यबाट भन्दा पनि वैद्यसँग बदला लिने मनसायबाट पे्ररित प्रचण्डका निर्णय, सुझाव र निर्देशनहरूप्रति बाबुराम पूर्णरूपले सचेत रहन आवश्यक देखिन्छ ।
माओवादी पार्टीभित्रको द्वन्द्व र तनावको परिणामका रूपमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुनुलाई लिइन्छ । देशका र्सवाधिक लोकप्रिय नेता बाबुराम हुन् भन्ने स्पष्ट हुँदाहुँदै पनि प्रचण्डको सेपमा उहाँले कसरी पहेँलिनुपरेको थियो हामी सबैले देखेका हौँ । पार्टीमा प्रचण्डकै वर्चश्व कायम रहिरहेको भए मुलुकले आज बाबुरामलाई प्रधानमन्त्रीका रूपमा पाउन सम्भव थिएन भन्ने पनि सबैले बुझेको सत्य हो । लोकप्रियतामा जुनसुकै स्तरको उचाइ प्राप्त गरेको भए पनि प्रधानमन्त्री बनाउने बेलामा वैद्यको भूमिकालाई निर्ण्ाायक ठान्नेहरू धेरै छन् । त्यसैले यतिबेला वैद्यले बाबुराम भट्टराईमाथि ‘खोला तरेपछि लौरो बिर्सिएको’ या आफूहरूलाई सत्तामा जान भर्‍याङ मात्र बनाएको भनी आरोप लगाउँदा बाबुरामकै शुभेच्छुकहरू पनि खिन्न भएका छन् । शुभचिन्तकहरूको दृष्टिमा बाबुराम त्यो उचाइका व्यक्ति हुनुहुन्छ जसमाथि सत्ताका लागि कुनै प्रकारको सम्झौता गरेको या कसैलाई प्रयोग/उपयोग गरेको सुन्ने धर्ैय पनि देखिँदैन । वैद्यसँग बिमति हुँदाहुँदै पनि उहाँलाई समेत विश्वासमा लिनसक्दा बाबुराममाथिको जनविश्वास अरू बढ्ने अपेक्षा गर्न सकिन्छ । प्रचण्ड वैद्यसँग बदला लिन चाहनुहुन्छ र ‘धोबीघाट मोर्चा’लाई तोडफोड गर्न प्रयत्नशील हुनुहुन्छ भन्ने नेपाली जनताले बुझेका छन् । बाबुरामको भूमिका प्रचण्डको झैं अहङ्कारपूर्ण र विभिन्न स्वार्थहरूबाट पे्ररित हुनेछैन भन्ने जनविश्वासलाई कायम राख्दै सन्तुलनकारी भूमिका निर्वाह गर्न उहाँ पे्ररित हुनुभयो भने देशले अर्को प्रकारको हिंसात्मक युद्धको सामना गर्नुपर्ने छैन । नारायणकाजी श्रेष्ठहरूप्रतिको जनधारणा बाबुरामप्रतिको भन्दा नितान्त भिन्न छ । श्रेष्ठजीहरूले मन्त्री आदि बन्नका निम्ति ‘यताउता’ गर्नुभयो भने पनि त्यसलाई अस्वाभाविक मानिँदैन । तर, बाबुराम भट्टराईमाथि प्रधानमन्त्री बनेपछि वैद्यलाई छोडेर प्रचण्डतिर लहस्सिएको भनी लागेको आरोप प्रमाणित हुँदै जाने स्थिति बन्यो भने त्यसबाट बाबुरामजीको व्यक्तित्वमा समेत आँच पुग्नेछ र अन्ततः त्यसको नकारात्मक परिणाम मुलुकलाई पनि प्राप्त हुनेछ । त्यसैले ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा वैद्य र उहाँका र्समर्थकलाई पुग्न नदिन डा. बाबुरामको भूमिका महत्त्वपूर्ण मात्र होइन निर्ण्ाायक हुन आवश्यक छ । आयाम थपिनेमा कुनै शङ्का गरिरहनु पर्नेछैन ।- devprakash9@hotmail.com

1 comment:

  1. I agree with you 100 percent Mr. Tripathiji. You are the my dear analyst in such political matter.
    Sometime it is really confusing to rate between Bijaya Kumar and Devprakash.
    Thanks to Nepal Mother.com for publishing such precious analytical comments.
    Mohan Baral
    mcbaral@live.com

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक