(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20110930

कङ्रेसी नेता शेर बहादुर देउबा बेरोजगार भए पछीको समस्या !

– देवप्रकाश त्रिपाठी
मुलुकमा सहज सामाजिक जीवनका अनेक खतरामध्ये एउटा बेरोजगारीलाई मानिन्छ। बेकारी अर्थात् काम नहुनुलाई बेरोजगारीका रूपमा बुझिन्छ। समाजका कुनै पनि व्यक्ति बेरोजगार भए भने तिनले आफैंलाई बर्बाद गर्ने काम गर्न सक्छन्। कुलतमा फस्नु, आपराधिक क्रियाकलापमा लाग्नु या आत्महत्या गर्नु भनेको आफूलाई बर्बाद गर्नु हो। तर, राजनीतिमा लागेका मानिस बेरोजगारी भए भने आफूलाई होइन अरूलाई दुःख दिन थाल्छन्, अरूहरूलाई बर्बाद गर्न उनीहरू ज्यादा समय खर्च गर्छन्। राजनीतिकर्मीहरू पद, शक्ति र चर्चाका प्रति सधैं 'क्रेजी' हुन्छन्। उनीहरूको क्रियाकलाप पद प्राप्तिमा केन्द्रित किन हुने गर्छ भने पदले शक्ति दिन्छ र शक्तिशाली भएपछि स्वतः चर्चित होइन्छ भन्ने मनोविज्ञान राजनीतिकर्मीहरूको हुन्छ। पद प्राप्त हुन नसक्नुलाई
उनीहरू आफू बेरोजगार भएको ठान्छन्, अनि सुरु हुन्छ नकारात्मक क्रियाकलाप, अर्थात् पद र जिम्मेवारीमा रहेकाहरूलाई जसरी भए पनि असफल तुल्याउनु उनीहरूको एक मात्र ध्येय हुने गर्दछ। समकालीन राजनीतिमा त्यस्ता अनेक पात्र छन् जो पद नपाएका कारण आफू भूमिकाहीन भएको ठान्छन् र भूमिका स्थापित गर्न या मानिसहरूको ध्यानाकर्षण गर्न संस्थापन पक्षका क्रियाकलापमा अड्चन पैदा गर्ने गर्छन्। ठीक यतिबेला नेपाली काङ्गे्रसमा शेरबहादुर देउवा यस्तै एक उदाहरणीय भूमिका निर्वाह गर्दै हुनुहुन्छ। सभापति बन्ने रहर पूरा गर्न २०५९ सालमा काङ्गे्रस विभाजनको अगुवाइ गर्नुहुने देउवाले काङ्गे्रसमा फर्कनुभएयता पार्टी सभापति र संसदीय दलको नेता बन्न प्रजातान्त्रिक ढङ्गले नै प्रयास गर्नुभएको हो। तर, दुवै पदका निम्ति भएका निर्वाचनमा अस्वीकृत भएपछि देउवाले सायद आफू बेरोजगार बनेको ठान्नुभएको छ र भूमिका बढाउने या आफ्नो उपस्थिति देखाउने नाममा उहाँले पार्टी नेतृत्वले लिने हरेक निर्णयमा व्यवधान र विवाद पैदा गर्ने गर्नुभएको छ। सानो संसारमा रम्नुहुने भनी आलोचना खेप्दै आउनुभएका काङ्गे्रस सभापति सुशील कोइरालाको कार्यक्षमता एवम् शैलीले धेरैलाई निराश तुल्याउँदै लगेको एउटा स्थिति छ भने त्यसमा देउवाद्वारा सिर्जित विवादले अर्को चिन्ता थप्ने गरेको छ। कोइराला सभापति भएयता तीन महत्त्वपूर्ण निर्णय भएका छन्, तीनवटै निर्णयमा देउवाले बखेडा गर्नुभयो। पार्टीको उपसभापति र

महामन्त्री मनोनयनका क्रममा देउवाले अड्चन पैदा गरेपछि सभापतिको उक्त प्रयास महिनौँ कार्यान्वयन हुन सकेन। त्यसपश्चात् प्रधानमन्त्रीको उम्मेदवार चयन पनि सहज ढङ्गले हुन देउवाले दिनुभएन। तीनपटक प्रधानमन्त्री भइसक्नुभएका उहाँले रामचन्द्र पौडेलको बाटो छेक्न जे–जस्ता बखेडा झिक्नुभयो त्यसले पनि काङ्गे्रसको एकतामा चुनौती थपिदियो। यसपटक भ्रातृ संस्थाहरूको बारेमा पार्टीले चालेको कदममा पनि देउवा व्यवधान बनेर उभिनुभयो। काङ्गे्रसका भ्रातृ संस्थाहरू गति र प्रभावहीन भएको महसुस राजनीतिमा सामान्य चासो राख्ने हरेकले गर्दै आएका हुन्। म्याद नाघेको औषधिझैं निकम्मा भइसकेको नेतृत्व जसको कार्यकाल विधानतः धेरै पहिले नै समाप्त भइसकेको छ, त्यसलाई विघटन गरेर स्वतन्त्र ढङ्गले महाधिवेशन सम्पन्न गर्न तयारी समिति गठनका निम्ति पार्टी नेतृत्वले लिएको अग्रसरतामा विमति जनाउने ठाउँ कहीँनेर छ भने त्यो भ्रातृ संस्थाहरूलाई थप स्वायत्तता प्रदान गर्ने कि पार्टीको नियन्त्रण कायम राख्ने भन्ने प्रश्नमा मात्र छ। तर, यहाँ भ्रातृ संस्था सञ्चालन या परिचालनको सैद्धान्तिक या वैचारिक विषयमा विवाद सृष्टि भएको नभई भ्रातृ संस्थाहरूलाई गुटविशेषको कब्जामा राख्ने प्रयास गर्दा तनाव उत्पन्न भएको छ।

यसरी पार्टीले लिएका या लिनुपर्ने हरेक विषयमा व्यवधान पैदा गरेर शेरबहादुर देउवाले आफ्नो गुटविशेषको मन कति जित्नुभएको छ उहाँकै जानकारीमा होला, पार्टी र प्रजातान्त्रिक आन्दोलनप्रति समर्थन या सहानुभूति राख्ने आमजनसमुदायमा चाहिँ देउवाले निर्वाह गरिरहेको भूमिकाले नकारात्मक असर पारिरहेको छ। 'म्याद सकिएको भए पनि त्यही औषधि सेवन गरी रोग निदान गरिनुपर्छ' भन्ने शैलीको हठले देउवा काङ्गे्रस पार्टीका हितैषी हुन् या होइनन् भन्ने प्रश्न नै उठाएको छ। आमजनतालाई थाहा छ यतिबेला देउवा निर्णायक तहको भूमिकामा हुनुहुन्न। भूमिकाहीन भएपछि जनचासो र चर्चाको पात्र बन्न नसक्नु स्वाभाविक हो। तर, भूमिकाहीन भइयो या चर्चा बटुल्नुपर्योब भन्दैमा अवाञ्छित विवाद निम्त्याउनुलाई चाहिँ स्वाभाविक मान्न सकिँदैन, देउवा त्यस्तै अस्वाभाविक र अवाञ्छित विवादको बारम्बार सृष्टि गर्न इच्छुक र उत्सुक देखिँदै आउनुभएको छ। सकारात्मक भूमिकाद्वारा भन्दा नकारात्मक क्रियाकलापद्वारा आफ्नो उपस्थिति जनाउन सजिलो हुने भएकोले देउवाको प्राथमिकतामा यसप्रकारका गतिविधि परेका हुनसक्छन्। देउवाको प्रवृत्ति र क्रियाकलाप यस्तै प्रकारको रहिरहने हो भने त्यसले सुशील कोइरालालाई मात्र असफल तुल्याउने छैन, काङ्गे्रस पार्टीलाई नै निकम्मा बनाउने र अन्ततः नेपालको लोकतान्त्रिक आन्दोलनले नै क्षति व्यहोर्नुपर्ने हुन्छ। सुशील कोइराला स्वयम्को कार्यक्षमतामाथि प्रश्न उठिरहेको र सभापतिका रूपमा उहाँको एकवर्षे कार्यकाल उत्साहप्रद नरहेको सन्दर्भमा देउवाले बखेडा झिकेर बहादुरी गर्नुभएको छैन। सुशील कोइरालाभन्दा देउवा सक्षम र योग्य हुन्, त्यस्तो ठानिएको छैन। कोइरालाको स्वच्छ छवि, इमानदारी, स्पष्ट विचार, दृष्टिकोण र साधारण जीवनशैलीलाई देउवाको विलासी जीवन, अवसरवादी एवम् सम्झौतावादी सोच–व्यवहारले चुनौती दिन सकेको छैन र चुनौती दिनसक्ने सम्भावना पनि देखिँदैन। त्यस्तै, काङ्गे्रस पार्टीप्रतिको प्रतिबद्धता पनि देउवाले गुमाइसक्नुभएको छ, जब कि सुशील कोइराला प्रतिबद्धतामा अब्बल प्रमाणित भएको मानिनुहुन्छ। सुशीलमा गतिशीलता ९म्थलब्कष्क्क० र उदारताको कमी रहेको मूल्याङ्कन गर्ने गरिन्छ। सङ्कुचित एवम् सङ्कीर्ण संसार बदलेर फराकिलो संसारमा सुशील कोइरालाले विचरण गरेको हेर्ने इच्छा कोइरालाका समर्थक एवम् शुभचिन्तकहरूमा समेत देखिन्छ। तर, काङ्गे्रस पार्टी र प्रजातन्त्रलाई धोखा हुने कुनै पनि कर्म सुशीलबाट हुँदैन भन्ने आमविश्वास छ, जुन विश्वास शेरबहादुर देउवाले धेरै पहिले नै गुमाइसक्नुभएको छ। दक्षिणपन्थीहरूसँग गुप्त गठबन्धन गरेर काङ्गे्रस र प्रजातन्त्रको भविष्यमाथि अविष्मरणीय चोट पुर्याेउनुहुने देउवा यतिबेला अति वामपन्थीहरूको अप्राकृतिक गठबन्धनमा सामेल हुनुहुन्थ्यो र कुनै पनि बेला सामेल हुन सक्नुहुन्छ भन्ने पार्टीका आमकार्यकर्ता एवम् शुभेच्छुकको ठम्याइ छ। देउवाको वर्तमान हैसियत काङ्गे्रस पार्टीको देन हो, तर देउवा स्वयम्ले काङ्गे्रसलाई चाहिँ के दिनुभयो त भन्ने प्रश्नमा विचरण गर्ने हो भने निराश हुनुपर्ने स्थिति छ। सन्तनेता कृष्णप्रसाद भट्टराईले 'कुरा बुझेर' ब्रिटेन नपठाइदिएको भए देउवाको परिचय अहिले पूर्वपञ्चका रूपमा सीमित रहने निश्चित थियो। ०४६ को जनआन्दोलन जसको नेतृत्व नेपाली काङ्गे्रसले लिएको थियो, उक्त आन्दोलनमा देउवाको भूमिका शून्य रहेको कसैले पनि भुलेका छैनन्। तर, विडम्बना नै भन्नुपर्छ– ०४६ को राजनीतिक परिवर्तनपश्चात् सर्वाधिक लाभ हासिल गर्नेमा देउवा नै पर्नुभएको छ। कारणवश नेपाली काङ्गे्रसको सभापति बन्ने मौकाचाहिँ उहाँलाई प्राप्त हुन सकेन र उहाँलाई त्यस्तो अवसर भविष्यमा प्राप्त हुन पनि मुस्किल देखिँदै छ। सभापति बन्ने मौका नपाए पनि देउवा यतिबेला काङ्गे्रसमा सबैभन्दा बढी लाभ प्राप्त गर्ने व्यक्तिका रूपमा स्थापित हुनुहुन्छ। डडेलधुराका एक मामुली किसानका सुपुत्र जसले विद्यार्थीकाल र त्यसपछि पनि सङ्कट र सङ्घर्षका दिनहरू गुजार्नुपरेको थियो, आज अर्बौंको मालिक बन्ने सौभाग्य देउवाले पाउनुभएको छ। पटकपटक प्रधानमन्त्री र प्रजातन्त्र स्थापनापछिको प्रथम जननिर्वाचित गृहमन्त्री बन्ने मौका पनि उहाँले प्राप्त गर्नुभएको हो। उहाँको वर्तमान हैसियत बन्नुमा नेपाली काङ्गे्रसबाहेक अरू कसैको योगदान थियो भने पनि त्यो गणनायोग्य मानिँदैन। काङ्गे्रसले देउवालाई बनायो मात्र, जति भत्कनुभएको छ त्यो उहाँको आफ्नै वैयक्तिक स्वभाव, चरित्र र कारणले हो भन्न सकिन्छ। सत्ताका निम्ति प्राडो/पाजेरो र सांसद खरिद–बिक्रीको संस्कृति नभित्र्याएको भए देउवाको व्यक्तित्व अझै माथिको हुन सक्थ्यो। प्रधानमन्त्री पदका निम्ति दक्षिणपन्थीहरूसँग सौदाबाजी गरी नव तुल्सी गिरीको भूमिकामा देखानपरेको भए र प्रधानमन्त्री बन्नकै लागि अतिवामपन्थीहरूसँग समेत गुप्त गठबन्धन नगरेको भए देउवाको व्यक्तित्व यसरी भत्कने थिएन भन्ने अनुमान गर्न सकिन्छ। आफूलाई क्षतविक्षत हुनेगरी भत्काए पनि काङ्गे्रसले उहाँलाई सधैं बनाउन मात्र खोजेको हो। यतिबेला काङ्गे्रस पार्टी र नेपालको प्रजातान्त्रिक आन्दोलन चरम सङ्कटमा परिरहेका बेला देउवाको भूमिका शान्ति, लोकतन्त्र, संविधान र काङ्गे्रसको हित संरक्षणमा केन्द्रित हुन सकेको भए उहाँको व्यक्तित्व पुनः स्थापित हुन असम्भव थिएन। मुलुकका जटिल समस्या समाधानमा केन्द्रित हुनुपर्ने पार्टीलाई झिनामसिना कुरामा अल्झाएर देउवाले कुनै युद्ध जित्ने र बहादुरको पदवी प्राप्त गर्ने पनि होइन। बरु यस्तै क्रियाकलाप प्रस्तुत गरिरहेमा जीवनभर काङ्गे्रसबाट लिएर कालान्तरमा काङ्गे्रसलाई नै सिध्याउने खलनायकका रूपमा देउवाको परिचय स्थापित हुने निश्चित छ। त्यसैले देउवाका कोही शुभचिन्तक छन् भने तिनले देउवालाई 'मानिस पद लिएरभन्दा पद त्याग गरेर महान् भएका छन्' भन्ने स्मरण गराउन आवश्यक छ। भाँडभैलो रचेरभन्दा सकारात्मक भूमिकाले मात्र मानिसको आवश्यकता बोध गराउँछ भन्ने सन्देश देउवासम्म पुर्यााउनु उचित हुने देखिएको छ। सकारात्मक भूमिका निर्वाह गर्ने क्षमता देउवाले गुमाएकै हो भने उहाँको बहिर्गमनलाई स्वीकार गर्न नेपाली काङ्गे्रस पार्टी तयार हुनुको विकल्प देखिएको छैन। - घटना र विचार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक