20110929

सत्तारुढ एकीकृत नेकपा माओवादी र प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक विवादमा नराम्ररी फसे, भट्टराईले भारत भ्रमण गर्ने !

शान्ति र संविधानको मूल दायित्व पूरा गर्न छाडेर सत्तारुढ एकीकृत नेकपा माओवादी र प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक विवादमा नराम्ररी फसेका छन्। ४५ दिनमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याने कार्ययोजना सहित प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराईले हतियार रहेका शिविरका कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने बाहेक कुनै उल्लेख्य काम गर्न सकेका छैनन्। शान्ति प्रक्रियाका सम्पूर्ण कार्य प्याकेजमै हुनुपर्ने नेपाली कांग्रेस र एमालेको अडानलाई मओवादीले अड्काइरहेको छ। साँचो विवादमा फसेको माओवादीले यही १३ गते केन्द्रीय समिति बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल र असन्तुष्ट मोहन
बैद्य समूह १३ गते देखि शुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा जुटेका छन्। बैठकको पूर्वसन्ध्यामा बैद्यले 'जाने विद्रोहमै हो, सके मिलेर नसके एक्लै' भनेर स्पष्ट बताइसकेका छन्। त्यसैगरी अध्यक्ष पुष्पकमल दाहालले पनि बैद्य पक्षलाई लक्षित गर्दै 'शान्ति र संविधान विरोधी शक्ति समाप्त हुने' बताएका छन्। माओवादीको जीवनमै सबैभन्दा जटिल मोडमा पुगेको विवाद वार पारको अवस्थामा रहेको माओवादी नेताहरू नै बताइरहेका छन्। संविधानसभाको म्याद २ महिना मात्र बाँकी रहेको र यसबीचमा संविधानसभाको सबभन्दा ठूलो दल तथा सरकारको नेतृत्व समेत गरेको दलले शान्तिको पक्षमा ठोस कदम चाल्न सकेन भने शान्ति प्रक्रिया टुंगिन सक्दैन। माओवादी नेतृत्वमा सरकार बने ४५ दिनमा शान्ति प्रक्रिया टुंग्याउने प्रतिवद्धता माओवादीले भदौ आठ गते ल्याएको थियो। माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि शान्ति प्रक्रिया पूरा गर्ने सवालमा प्रतिपक्षी दलभन्दा माओवादीकै बैद्य पक्ष बाधक बन्दै आएको छ। पार्टी विवादका कारण प्रम भट्टराईले आफ्नो प्रतिवद्धता अनुरुपका कुनै काम गर्न सकेका छैनन्। आगामी १३ गतेदेखि शुरु हुने माओवादी बैठकले शान्ति र संविधानका पक्षमा ठोस निर्णय गर्न सफल भए मात्रै प्रक्रिया अघि बढ्ने विश्लेषकहरू बताउँछन्। 
माओवादी नेतृत्वमा सरकार बनेपछि असन्तुष्ट बनेको बैद्य समूहले देश भरका कार्यकर्ताको भेला समेत गरिसकेको छ। उक्त भेलाले संयुक्त मधेशी मोर्चासँग सत्ता गठबन्धनका क्रममा भएको चार बुँदे सहमतिलाई राष्टघाती र सिक्कीमीकरणको शुरुवात भनेको छ। उक्त समूहले चार बुँदे सहमति खारेज गरी माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने माग पनि राखेको छ। बैद्य समूह आफ्नै पार्टी नेतृत्वको सरकारलाई 'र' र सीआइएको एजेन्ट भन्दै आरोप लगाइरहेको छ। सारमा शान्ति र संविधान कि विद्रोह र सत्ताकब्जा भन्ने दुई लाईन संघर्षमा माओवादी फसेको छ। यही दुई लाईन संघर्षको छिनोफानो नभएसम्म शान्ति प्रक्रिया अघि बढ्ने देखिदैन। माओवादी भित्रका शान्ति र संविधान पक्षधर भनेर चिनिएका डा. भट्टराई प्रधानमन्ी भएपछि शान्ति प्रक्रिया अघि बढ्छ कि भन्ने झिनो आशा पलाएको थियो। तर उनलाई आफ्नै पार्टीले असफल बनाउन प्रतिपक्षले भन्दा एक कदम अ िबढेर गतिविधि गरिरहेको छ। आफ्नै पार्टी नेतृत्वको सरकारलाई राष्ट्रघाती ठहर गर्दै बैद्य पक्ष सरकारमा समेत सामेल भएको छैन। बैद्य पक्ष सरकारमा समेत नहुँदा सरकारले पूर्णता पाउन सकेको छैन। सरकारलाई पूर्णता समेत दिन नसक्ने प्रम भट्टराईले शान्ति र संविधानको ऐतिहासिक कार्यभार कसरी पूरा गर्लान भन्ने प्रश्न पनि खडा भएको छ।

दुई साताअघि गोप्य सिलगुढी भ्रमणपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल मोहन बैद्य पक्षलाई कारबाही गरेर भएपनि शान्ति प्रक्रिया टुंग्याउने पक्षमा छन्। राष्ट्रिय स्वाधीनताको वहानामा चर्को भारतविरोधी पहिचान बनाएका अध्यक्ष पछिल्लो समय भारतका नजिकका शुभचिन्तकका रुपमा प्रस्तुत हुन थालेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्याक्रममा दाहालले १२ बुँदे सहमति गराउन जस्तै शान्ति र संविधान निर्माणमा पनि भारतीय पक्षको सहयोगको आवश्यकता रहेको बताए। बैद्य पक्षले दाहाल र भट्टराईलाई भारतीय दलालको आरोप लगाइरहेका बेला शान्ति र संविधानमा यसरी खुल्ला रुपले सहयोग माग्नु तथा सिलगुडी भ्रमणपछि दाहालको राजनीतिक रङ पूरै बदलिनुले सत्ताका लागि माओवादी विदेशी सामु कति सम्म झुक्न तयार हुन सक्दो रहेछ भन्ने पुष्टि भएको छ। साँचो विवादमा फसेको माओवादीका दुई पक्ष एक अर्कालाई कारबाही गर्ने बताइरहेका छन्। अध्यक्ष दाहाल सकेसम्म पार्टी विवाद मिलाउने पक्षमा रहे पनि उनी निकटका वर्षमान पुन, पोष्टबहादुर बोगटी, हरिवोल गजुरेल, लेखराज भट्ट र अग्नि सामकोटाको समूह बैद्य पक्षलाई कारबाही गर्नुपर्ने पक्षमा रहेको माओवादी स्रोतको दावी छ। त्यसैगरी बैद्य पक्षमा पनि सीपी गजुरेल, नेत्रविक्रम चन्द, देव गुरुङ आदिको समूह अध्यक्ष दाहालसामू आत्मसमर्पण गर्ने पक्षमा छैन। पार्टी विवाद चर्किरहेकै बेला गत साता अध्यक्ष दाहालले वरिष्ठ उपाध्यक्ष मोहन बैद्यलाई नयाँ बजार निवासमै बोलाएर स्पष्टीकरण समेत लिइसकेका छन्। स्पष्टीकरणका क्रममा रुखो जवाफ पाएपछि तनावमा परेका दाहालले आइतबार एक्कासी 'मुड फ्रेस' गर्न सिन्धुपाल्चोकको पर्यटकीयस्थल सुकुटे पुगेका थिए। सुकुटे पुगेर दाहालले बैद्य पक्षलाई गर्ने कारबाहीको रुपरेखा तयार गरेको माओवादी स्रोतले बतायो।

माओवादी शान्ति प्रक्रियामा आउने वित्तिकै हालको दुई लाइन संघर्षको विवाद शुरु भएको भए शान्ति र संविधानको प्रक्रिया यति धेरै लम्बिने थिएन। अहिलेसम्म शान्ति प्रक्रिया पूरा नहुनुमा एक मात्रै दोषी माओवादी हो। माओवादीले शान्ति प्रक्रिया अवरुद्ध पारेकै कारण संविधान निर्माणले पनि गति लिन सकेको छैन। ढिलै भए पनि बैद्य पक्ष शान्ति र संविधानको पक्षमा नरहेको पुष्टि भएको छ भने दाहाल र भट्टराईको ४५ दिनमा शान्ति प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धताको परीक्षा बाँकी दुई सातामै स्पष्ट हुनेछ। प्रम भट्टराई आफैले ४५ दिनमा शान्ति पक्रिया टुङ्ग्याउन नसके पदमा बसी नरहने बताइसकेका छन्। माओवादी भित्रको दुई लाईन संघर्ष एक्त पार्टीका लागि समस्या भए पनि राष्ट्रलाई निकास दिनका लागि भने आवश्यक रहेको एक राजनीतिक विश्लेषकले बताएका छन्। शान्ति प्रक्रियामा आएको साँढे पाँच वर्ष माओवादी शान्ति र विद्रोहका दुईवटा डुंगामा खुट्टामा राखेर कांग्रेस–एमालेलाई झुलाएर वितायो। जब पर्‍यो राती तब बूढी ताती भनेजस्तै संविधानसभाको म्याद सकिन लागेपछि मात्रै माओवादीको एउटा पक्ष शान्ति र संविधानको पक्षमा खुलेर आएको छ। अबको दुई महिनामा शान्ति प्रक्रिया टुंगिएर नयाँ संविधान निर्माण हुने आशा विस्तारै समाप्त हुँदै गएको छ। माओवादी बाहेकका सबै राजनीतिक दल शान्ति प्रक्रिया अवरुद्ध हुनुमा माओवादीलाई नै दोष दिइरहेका छन्। शान्ति प्रक्रिया टुंगिएर नयाँ संविधान निर्माण नभई संविधानसभा भंग भए त्यसको एकमात्र दोषी माओवादी हुनेछ।
एकीकृत माओवादीभित्रको विवादलाई बैठक बसेरभन्दा पनि सारेर निष्कर्ष खोज्ने निचोडमा अध्यक्ष प्रचण्ड पुग्नुभएको छ। पार्टीमा आफू अल्पमतमा पर्नसक्ने वा विवाद समाधान हुन नसक्ने स्पष्ट देखिएपछि बैठक स्थगित गर्ने परम्परालाई निरन्तरता दिँदै अध्यक्ष प्रचण्ड असोज १३ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक सार्ने निचोडमा पुग्नुभएको हो। सूत्रका अनुसार पार्टीभित्रको विवाद तत्काल समाधान हुन नसक्ने बरु उल्टै थप विवाद निम्त्याउन सक्ने खतरा औंल्याउँदै प्रचण्डले बैठक सार्न लाग्नुभएको हो। बैठक सार्नेबारेमा प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष बाबुराम भट्टराईसँग मंगलबार बिहान छलफलसमेत गरिसक्नुभएको छ। उहाँले दसैँअघि बस्ने बैठकले विवाद समाधान गर्ने सम्भावना अत्यन्तै कम छ, थप गृहकार्य गरेर दसैँपछि बैठक बस्दा राम्रो हुने भन्दै बैठक सार्ने इच्छा गर्नुभएको प्रचण्डनिवास सूत्रले बतायो। सूत्रका अनुसार बैठक सार्ने विषयमा बाबुराम सकारात्मक भए पनि फेरि बैठक कहिले बस्ने भन्नेबारे निष्कर्षमा पुगिएको छैन। बैठक सार्नुपरेको कारण पदाधिकारी बैठकमा राखौँ र त्यही बैठकबाट कसरी अघि बढ्ने र कहिले राख्ने भन्ने निर्णय गर्नुपर्ने प्रस्ताव बाबुरामले प्रचण्डसँग राख्नुभएको थियो। '१३ असोजको बैठक सार्नका लागि उपयुक्त बहाना मिल्न जाने भएकोले यसलाई सदुपयोग गर्दै पार्टी नेताहरूबीच थप छलफल गरी दसैँपछि बैठक बस्नुपर्छ,' प्रचण्डको भनाइ थियो। बैठक बोलाउँदै सार्दै गरेपछि अन्ततः वैद्य थाक्नेछन् र यही अवधिमा धेरै मानिसलाई सत्ताको आडमा आफूतर्फ आकर्षित गर्न सकिन्छ भन्ने विश्वास प्रचण्डमा रहेको देखिन्छ। वैद्यलाई थकाउने र सके लाइनमा ल्याउने नभए पार्टी छोडेर जाने स्थितिमा पुर्याूउने योजनामा प्रचण्ड रहनुभएको छ। 
बैठक सार्ने विषयमा प्रचण्ड निश्चिन्त रहे पनि यसबारे औपचारिक घोषणा भने गरिएको छैन। उहाँले आफूनिकटका केन्द्रीय नेताहरूबाट त्यसप्रकारको सन्देश वैद्य पक्षका नेताहरूसमक्ष पठाउनुभएको हो। आफ्नोअनुकूल कुटिल चाल चल्दै आउनुभएका प्रचण्डले वैद्य पक्षबाट आउन सक्ने प्रतिक्रियाका आधारमा निर्णय गर्ने योजना बनेको बताइएको छ। प्रचण्ड बैठकको मिति सारिरहेर वैद्य पक्षको आक्रोशलाई मत्थर गर्ने र अन्ततः आफ्नो निर्णय लागू गराइछाड्ने सोचाइमा हुनुहुन्छ। एमाले अध्यक्ष झलनाथ खनालले पनि आफूलाई अप्ठ्यारो पर्दा गत वर्ष यसरी नै बैठक बोलाउने र सार्ने गर्दै आउनुभएको थियो। सूत्रका अनुसार उपाध्यक्ष मोहन वैद्यले आत्मालोचना गर्ने अवस्था सिर्जना गर्ने अवस्था
नआएसम्म प्रचण्ड केन्द्रीय समितिको बैठक बोलाउने पक्षमा हुनुहुन्न। मधेसकेन्द्रित दलका मोर्चासँग गरिएको चारबुँदे सम्झौता तथा हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाइएको भन्दै वैद्य अध्यक्ष प्रचण्डविरुद्ध एक वक्तव्य जारी गर्दै सडक आन्दोलमा उत्रनुभएको थियो।
उता उपाध्यक्ष वैद्य भने बैठक सार्न नहुने र १३ असोजबाट नै बैठक बस्नुपर्ने अडानमा हुनुहुन्छ। 'अध्यक्ष प्रचण्ड बैठक सार्ने पक्षमा रहनुभएको जानकारी मैले पाएको छु, यदि बैठक सार्नुभयो भने पार्टीका लागि त्यो ठूलो घात हुनेछ, त्यसैले हामी बैठक सार्न दिने पक्षमा छैनौँ,' उपाध्यक्ष मोहन वैद्यले भन्नुभयो। 'अध्यक्षले आफैंले त मसँग बैठक सार्ने विषयमा कुनै प्रस्ताव गर्नुभएको छैन, तर उहाँका नजिकका मानिसले चाहिँ त्यस्ता प्रस्ताव ल्याएका छन्,' मंगलबार वैद्यले भन्नुभयो। 'विमतिका लागि नभई सहमति र मिलनका लागि हाम्रो दबाब र पहलमा केन्द्रीय समिति बैठक बोलाउन लागिएको हो,' वैद्यले भन्नुभयो, 'बैठक सारेर भाग्न खोजे पार्टीभित्रको समस्या समाधान हुन सक्दैन। अध्यक्षले यस्तो सोच्नुभएको छ भने यो महाभूल हुनेछ।'
वैद्य पक्षका अर्का नेता सीपी गजुरेलले पनि अध्यक्षले घुमाउरो ढङ्गबाट बैठक सार्ने प्रस्ताव अघि सारिरहेको बताउनुभयो। प्रचण्डले सीधै बैठक सार्ने भनेर हामीसँग भन्नुभएको छैन, तर, उहाँनिकट मानिसका अनुसार अध्यक्ष बैठक बोलाउने पक्षमा देखिनुभएको छैन। 'बैठकमा पार्टीभित्रका सबैखाले विवादलाई बैठकमा राखी समाधानको उपाय खोज्नुको सट्टा भागेर हिँड्नु कतिसम्म जायज कुरा हो,' गजुरेलको भनाइ थियो। माधेसकेन्द्रित दलका मोर्चासँग गरिएको चारबुँदे सम्झौता तथा हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएको विषयलाई लिएर सडक आन्दोलनमा उत्रिएको वैद्य पक्ष उक्त बैठकले बेग्लै कार्यपत्र प्रस्तुत गर्ने तयारीमा रहेको बुझिएको छ। वैद्यले यसका लागि मुलुकभरका नेता तथा कार्यकर्ताको भावनालाई पनि समेट्नुभएको उहाँनिकट नेताको भनाइ छ। ती नेताले भन्नुभयो, 'केन्द्रीय कमिटीबाट पार्टीको मुल भावनाअनुसार नेतृत्वलाई हिँडाउने कोसिस गर्ने छौँ र हिँड्न नमान्नेलाई छाडिदिन्छौँ।'
यसैबीच अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको बैठक सार्ने विषयमा प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग परामर्श गर्नुभएको छ। उहाँले बैठकको गृहकार्य बढी गर्नुपर्ने, दसैँ पनि आइसकेकाले पार्टीभित्र उठेका विषयमा छलफल गर्न समय नभएकाले बैठक सार्नुपर्ने प्रस्ताव गरेको नयाँ बजार स्रोतले बतायो। प्रचण्डको प्रस्तावप्रति समर्थन जनाउँदै जवाफमा बाबुरामले बैठकबाटै उपयुक्त निकास खोजिनुपर्ने तर, त्यसका लागि पूर्ण गृहकार्यको खाँचो औंल्याउनुभएको थियो। 'पार्टीभित्रका सबै विवादको आपसी छलफलबाट निकास निकाल्नुपर्छ, त्यसका लागि हामी सबैले पहल गर्नुपर्छ, बाबुरामको भनाइ थियो,'
पहिलो विदेश भ्रमण अमेरिका गरेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो दोस्रो भ्रणम गर्ने भएका छन्। राष्ट्रसंघको महासभामा भाग लिने क्रममा भारतीय समकक्षी डा. मनमोहन सिंहसंगको भेटपछि भट्टराईको भारत भ्रमणको टुंगो लागेको हो। कहिले भारत भ्रमण गर्ने भन्ने मिति भने टुंगो लागिसकेको छैन। प्रधानमन्त्री भट्टराईले आगामी महिना भारत भ्रमण गर्ने जानकारी पनि दिइसकेका छन्। भातरपछि भट्टराई उत्तरको छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने बताइएको छ।   
राष्ट्रसंघीय महासभामा भाग लिने क्रममा न्यूयोकर्कमा प्रधानमन्त्री भट्टराईले भारतीय समकक्षी डाक्टर मनमोहन सिंहसँग करिब ४० मिनेट भेटवार्ता गरेका थिए। भारतीय प्रधानमन्त्रीसँग नेपालमा जारी शान्तिप्रक्रिया र संविधान लेखनमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्री भट्टराईले नेपाली सञ्चारकर्मीलाई जानकारी दिए। भेटवार्तामा भारतीय प्रधानमन्त्रीले वर्तमान सरकारलाई आवश्यक सबै सहयोग गर्ने बचन दिनुभएको भट्टराईको भनाइ थियो।
 वर्तमान सरकारले नै शान्तिप्रक्रिया र संविधान लेखनको कामलाई टुंगोमा पुर्‍याउने विश्वास भारतीय प्रधानमन्त्रीले व्यक्त गरेका थिए। वार्तामा माओवादी नेताहरूविरुद्ध पटना अदालतले सुनाएको कैद र जरिवाना सम्बन्धी विषय पनि कुराकानी भएको थियो। प्रतिउत्तरमा सक्दो सहयोग गर्ने वचन सिंहले दिएको समाचार स्रोतले बताएको छ।
यस्तै प्रधानमन्त्री बाबुराम भट्टराईले महासभामा सहभागी चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख एवं विदेशमन्त्री याङ झिङछिसँग पनि भेटवार्ता गरे। भेटका क्रममा विदेशमन्त्री झिङछिले भट्टराईलाई औपचारिकरुपमा चीन भ्रमण्ँको निम्तो दिएका थिए। भट्टराईले भारतपछि चीन जाने जानकारी दिए। चीनसँगको द्विपक्षीय वार्तामा आर्थिक विकासको पक्ष केन्द्रित भएको प्रधानमन्त्रीको भनाइ थियो। चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक विकासका लागि सहयोग बढाउने जनाएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक