20110910

प्रचण्ड भूमिगत शैलीमा बेपत्ता, भारत तिर लागेको शँका !

Updated news ...............
शुक्रबार साँझदेखि सार्वजनिक सम्पर्कमा नरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतवार विराटनगर विमानस्थलमा सार्वजनिक भएका छन् । उनले आफु ब्यक्तिगत तथा पारिवारिक काममा आएको उल्लेख गर्दै थाहा पाउनु पर्नेले आफ्नो भ्रमणबारे जानकारी रहेको बताए । उनी कहाँ गएका थिए अझै खुलेको छैन ।
 **************
माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक सम्पर्कबाहिर छन् । शुक्रबार अपराह्न साढे ४ बजे विराटनगर विमानस्थलबाट पत्नी सीता, छोरा प्रकाश, स्वकीय सचिव समीर र माओवादी कोचिला राज्य समिति इन्चार्ज हरिबोल गजुरेलसाथ पूर्वतर्फ लागेका दाहाल कहाँ छन् भनेर शनिबार दिनभर खोजी भए पनि पत्तो लाग्न सकेको छैन । सुरक्षा निकाय र पार्टीका कार्यकर्ता तथा नेतालाई सुइँकोसम्म नदिई आएका दाहाल विमानस्थलको विशिष्ट कक्षमा समेत नगई साधारण यात्रु कक्षबाट बाहिरिएर गाडीमा चढेका थिए । त्यसबेला विमानस्थल सुरक्षामा खटेका प्रहरीले समेत थाहा पाएनन् । एयरलाइन्सका केही कर्मचारीले मात्र दाहाल परिवारलाई देखेका थिए ।
प्रहरी प्रशासन, पत्रकार तथा माओवादी पार्टीका जिल्लादेखि केन्द्रीय नेताले समेत दाहालको खोजी गरे तर खास कुरा भने पत्ता लाग्न सकेन । 'आज बिहानैदेखि अध्यक्षकै खोजीको फोन उठाउँदा-उठाउँदा हैरान भइसकें,' माओवादी मोरङ जिल्ला सेक्रेटरी गणेश उप्रेतीले भने, 'पार्टीका केन्द्रीय सदस्यदेखि पूर्वक्षेत्रका इन्चार्ज मात्र होइन, पत्रकार र
सर्वसाधारणले समेत सोधेका सोधै छन्, तर खै के भन्ने मलाई नै थाहा छैन,' उनले भने । पोलिटब्युरो सदस्य गजुरेल, छोरा प्रकाश, स्वकीय सचिव समीरका मोबाइल पनि सम्पर्कबाहिर छन् ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी, सशस्त्र प्रहरीदेखि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसमेत शनिबार दिनभर दाहालकै खोजीमा लागेका थिए । 'मैले सबैतिर खोजें, आउनुभएको छ भन्ने हाल्ला आयो तर कहाँ र किन भन्ने पत्ता लाग्न सकेन,' पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी सुरेन्द्रबहादुर शाहले भने ।
केहीले कांग्रेस सभापति सुशील कोइरालालाई भेट्न आएको अड्कल काटे । कोइराला दुई दिनदेखि सुनसरीमा छन् । केहीले माओवादी लडाकु शिविर गएको अनुमान गरे । तर यसको पनि आधिकारिक पुष्टि भएको छैन ।
माओवादीनिकट पत्रकार नवराज कट्टेल चुलाचुली तथा याङसिलास्थित शिविरबाट 'अध्यक्ष त्यहाँ आउनुभएको छ' भनी सोधेको बताउँदै तर केही पत्तो नलागेको सुनाउँछन् । उनका अनुसार इलामको चुलाचुलीस्थित प्रथम डिभिजनका कमान्डर यमबहादुर अधिकारी काठमाडौंमा छन् ।
माओवादी स्रोतका अनुसार दाहाल भारतको सिलिगुडीमा रहेकी कान्छी छोरीको घर गएका हुन् । 'शुक्रबार साँझ ८ बजे दाहाल चढेको गाडी झापाको दमक बजारबाट अघि लागेको थियो, साथ रहेका कोचिला राज्य समिति इन्चार्जको मोबाइलमा सम्पर्क हुन सकेको छैन,' जिल्ला नेता टंकी गिरीले भने, 'हरि दाइ (कोचिला राज्य समिति इन्चार्ज हरिबोल गजुरेल) ले शुक्रबार पूर्व जान्छु, शनिबार साँझसम्म र्फकन्छु भन्नुहुन्थ्यो ।'
माओवादी अध्यक्ष दाहाल पूर्व आएको खबरपछि शनिबार दिनभर झापाका सुरक्षाकर्मी र सञ्चारकर्मी पनि हैरान भए । विराटनगरबाट झापा हुँदै सिलिगुडी गएको चर्चा सुनेका पत्रकारहरू उनी र्फकने प्रतीक्षामा काँकडभिट्टा नाकामा बसेका थिए ।
दाहाल सिलिगुडी गएको खबर पाउनासाथ झापामा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । झापाका प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्साल भन्छन्, 'उहाँ झापा हुँदै गएको भन्ने हल्ला छ तर पुष्टि भएको छैन ।' उनले बिना जानकारी गएकै भए पनि सुरक्षा सतर्कता भने बढाएको जानकारी दिए ।
दाहाल आएको हल्लापछि इलाका प्रहरी काँकडभिट्टा, धुलाबारीलगायत माओवादीका जिल्लास्तरीय नेताहरूसमेत अनभिज्ञ थिए । धेरैले समाचार पढेर थाहा भएको बताएका थिए । तर माओवादीका एक क्षेत्रीय नेताले दाहालसहितको एक टोली बिहानै सिलिगुडी गएको दाबी गरेका छन् । उनले भने, 'कोचिला राज्य समितिका इन्चार्जसहित उहाँ सिलिगुडी जानु भएको खबर आएको छ ।' उनका अनुसार प्रचण्डको सिलिगुडी भ्रमण नितान्त निजी हो ।
भारत, सिलिगुडीका पत्रकारले पनि दाहालको सिलिगुडी भ्रमणबारे चासो व्यक्त गरेका थिए । पत्रकारहरू दिनभर दाहालकै खोजीमा व्यस्त भएको पत्रकार विजय रुचालले जानकारी दिए । उनले भने, 'प्रचण्ड सिलिगुडी आएको भन्ने सुनियो तर कहाँ र किन भन्ने पत्ता लाग्न सकेन ।'
उनका अनुसार दाहाल सिलिगुडीमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएको हल्ला छ । दाहालले सिलिगुडी जाँदाताका सधैंजसो भेट गर्ने डुवर्सको बाग्राकोटका कान्छा ज्वाइँ नारायणविक्रम प्रधानले दाहाल आएको जानकारी नभएको बताए ।
'उहाँ आएको भए मलाई थाहा हुन्थ्यो,' फोनमा प्रधानले भने, 'यताको व्यवस्था सबै मैले मिलाउँदै आएको थिएँ । प्रधानका अनुसार दाहाल सिलिगुडी आउँदा प्रधानलाई बोलाएर भेट गरेर मात्रै फर्कने गर्थे ।
- लीलाबल्लभ घिमिरे/पर्वत पोर्तेल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक