20110923

माओवादीको बैद्य पक्ष भन्छ "भट्टराई सरकार भारतको कठपुतली", भट्टराई पक्ष बैद्य पक्षलाई भन्छ "सडकमा आएर तमासा नदेखाउ"

कब्जा गरिएका घर सम्पत्ती फिर्ता गर्ने भन्दै माओवादीद्वारा एमाले पार्टीकै सम्पत्ती कब्जा, यस्तैछन आजका समाचारहरु पनि !

माओवादीका कार्यकर्ताले खोटाङ कुभिण्डे गाविस वडा नम्बर-४ स्थित कित्ता नम्बर २२८ मा रहेको एमालेको आठ आना जग्गा कब्जा गरेको छ। एमाओवादीका जिल्ला सदस्य रामबहादुर राईले नेकपा एमालेको नाममा रहेको उक्त जग्गा कब्जा गरेका हुन। कब्जा जग्गामा माओवादीले घर बनाउन थालेपछि नेकपा एमाले खोटाङले प्रशासन र मानव अधिकारसमक्ष निवेदन पेश गरेको छ। एमालेले कब्जा जग्गा फिर्ताको पहलका लागि भन्दै निवेदन दिएको छ। एमालेले २०५६ सालमा पार्टीको नाममा उक्त जग्गा खरिद गरेको एमाले जिल्ला उपसचिव रामप्रसाद दङ्गालले बताए। वाणिज्य तथा आपूर्ति मन्त्री एवम् माओवादी नेता लेखराज भट्टले पार्टीभित्र गुट बनाएर अराजकता मच्चाउने समूहलाई कुनै पनि हालतमा कारबाही गर्नैपर्ने बताएका छन्। पार्टीको विधान र अध्यक्ष नमान्नेले पार्टी छाड्नुपर्ने चेतावनी पनि उनले दिए। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा पार्टीको विधान नमान्ने कसैलाई पनि पार्टीमा बस्ने नैतिकता नभएको भन्दै मन्त्री भट्टले अध्यक्ष
पुष्पकमल दाहाल त्यसता अराजक समूहलाई कारबाही गर्न दह्रो ढङ्गले उभिनुपर्ने बताए। महाधिवेशनमा जान डराउने अनि अध्यक्षलाई रुपान्तरण गर्छौ भन्दै भुइँमा गाड्न खोज्ने यो अब पार्टीभित्र चल्दैन। पार्टीको विधान र अध्यक्षलाई मान्दिन भन्नेले पार्टी छाड्नुपर्छ- उनले भने।

पार्टीभित्र जनवाद र अर्न्तसङ्घर्षलाई अगाडि बढाउने विषयमा अराजकता उत्पन्न भएको भन्दै पार्टीभित्रको अनुशासन कायम गर्न पनि कारबाही गर्नैपर्ने बताए। उनले भने- हिजो पनि अराजकता मच्चाउनेलाई कारबाही भएको छ, अब पनि कारबाही हुनुपर्छ। त्यसका लागि अध्यक्षले दह्रो ढङ्गले खुट्टा टेक्नुपर्छ। मन्त्री भट्टले चार बुँदे सहमति घोषणा सभाको उद्‍घोषण स्वयम् देव गुरुङले गरेको र सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेललगायतका नेताहरुको प्रत्यक्ष उपस्थिति रहेको भन्दै अहिले सोही समूहले सम्झौतालाई राष्ट्रघाती भन्दा आफूहरुलाई आश्चर्य लागेको बताए। उनले पार्टीभित्र छलफल नै नगरी बाहिर विरोधलाई सार्वजनिक गर्दा नेताहरुको नियतमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताए। सेना समायोजनमा सङ्ख्यामा कुनै विवाद नभएको भन्दै मोडालिटीमा समस्या रहेकाले त्यसमा सहमति बन्नासाथ समायोजन कार्य अगाडि बढ्ने उनले जानकारी दिए।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पार्टीभित्र वैद्य पक्षले ४ बुँदे सहमतिको विरोध गर्नुको औचित्य नभएको बताएका छन् । बुटवलमा पत्रकारहरुसँग कुरा गर्दे मधेशी मोर्चासँग भएको सम्झौता राष्ट्रघाती नभएको उनले दाबी गरे । विभिन्न प्रकृयाद्धारा १० हजार मधेशी युवालाई सेनामा समावेश गर्ने कुरा मात्र भएकोले त्यसको विरोध गर्न नहुने उनले बताए ।
वैद्य पक्षले वर्तमान सरकार बनाउन दक्षिणी भारतको हात रहेको निष्कर्ष निकालेको छ। अरू धेरै नेताले सार्वजनिक रूपमा नबोले पनि सचिव सीपी गजुरेल र स्थायी समिति सदस्य देव गुरुङले सार्वजनिक रूपमै उक्त आरोप लगाइसकेका छन्। भारतकै इशारामा चल्ने आरोप लागेका तराई केन्द्रित दलहरूसँग गरिएको चार बुँदे सहमति नै यसको प्रमाण हो। एकाएक सम्झौता हुनु, वार्ताका क्रममा वार्ता समितिमा भएको वैद्य र गजुरेललाई कुनै जानकारी नदिनु, उनी उनीहरूले एकताबद्ध भएर भट्टराईका पक्षमा मतदान गर्नुले पर्दा पछाडि भारतकै निर्देशन मुताविक हिँडेको बैद्य पक्षको ठहर छ। बाबुराम सामूहिक नेतृत्व र संस्थागत परिपाटीअन्तर्गत चल्नेभन्दा पनि व्यक्तिगत रूपमा कसरी लोकप्रिय हुने भन्नेमा केन्द्रित रहने प्रवृत्तिको नेता भएको भन्दै वैद्य पक्षधर एक केन्द्रीय सदस्यले बताए। धोविघाट भेलाबाट बाबुरामलाई प्रधानमन्त्री बनाउन सफल बैद्यले बाबुरामबाट धोका भएको विश्लेषण गर्दै सरकारमा नजाने निर्णय मात्र गरनन् उनले भट्टराई नेतृत्वमा बनेको सरकारको तीब्र विरोधमा उत्रिएका छन्। विरोध गर्ने र आफ्नो पक्षमा कार्यकर्ता बटुल्ने अभियान संच्ालन गर्न मातहत कमिटीलाई निर्देशन दिँदै भेला बैठक र विभिन्न जिल्लामा समानान्तर कमिटीसमत गठन गर्दै गरेको समाचार प्राप्त भएको छ।

बहुमत कार्यकर्ता क्रान्तिकै पक्षमा रहेको आंकलन गर्दै बाबुराम नेतृत्वको सरकारलाई अपदस्त गरेर आफ्नो समूह एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण गर्नुपर्ने ठहर वैद्यले गरिसकेको उच्च सूत्रले बताएको छ। वैद्य पक्षले देशव्यापी रूपमा गरेको आंकलनअनुसार पार्टीको लडाकु शक्ति र कार्यकर्ता आफ्नो पक्षमा रहेको निष्कर्ष निकालेको छ। वैद्यले आफ्ना केन्द्रीय नेताहरूलाई खटाएर सूक्ष्म रूपमा स्थितिको आंकलन गरेको बुझिएको छ। नयाँ पार्टी बनाउनु पर्दा आफ्नो पक्षमा कति शक्ति रहन्छ भन्ने आधारमा भावी रणनीति तय गर्नका लागि भित्रभित्रै गृहकार्य गरिरहेको छ। केन्द्रीय समितिको बैठक अघि पनि विभिन्न तहका भेला, प्रशिक्षण र छलफलहरू जारी रहने बताइएको छ।

बैद्यले नेतृत्व आवेग र विवेकको संयोजन भएको उल्लेख गर्दै युद्धपछि आएका साथीहरूले विवेक त प्रयोग गर्न सक्नुहोला तर आन्दोलनको आवेग उहाँहरूसँग छैन र माओवादी के हो भन्ने कुरा पनि उहाँहरूले बुझ्न सक्नुहुन्न। त्यसैले प्राविधिक रूपमा जुटाइएको बहुमत कता छ भन्ने कुरामा आफूलाई चिन्ता नभएको बताएका छन्।
ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले पार्टीभित्रको विवाद सडकमा लगेर तमासा नदेखाउन पार्टीको वैद्य पक्षलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय अभिभावक सङ्घको छैटौं वार्षिक साधारणसभा तथा शैक्षिक गोष्ठीको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बोगटीले पार्टीभित्रको विवादलाई सहीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले पार्टीमा एकता, सङ्घर्ष र रुपान्तरण हुनुपर्छ भन्नेमा कुनै पनि पक्षमा विवाद नरहेको बताउँदै पार्टीलाई सहीरुपमा सञ्चालन गर्न अन्तरसङ्घर्ष आवश्यक रहेको तर त्यसलाई गलत तरिकाले सञ्चालन गरिएको भनी आपत्ति प्रकट गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक