20111008

एक्ली सन्तानको कमाइमा बाँचेका सुनखानी–२ का तामाङ दम्पतीको दसैं खर्चका लागि छिमेकी युवाबाटै हत्या !

सिन्धपाल्चोक/ वैदेशिक रोजगारीमा कुवेत रहेकी एक्ली सन्तानको कमाइमा बाँचेका सुनखानी–२ का तामाङ दम्पतीको दसैं खर्चका लागि छिमेकी युवाबाटै हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको शङ्कामा प्रहरीले पक्राउ गरेका दुई युवाले आफूहरुले हत्या गरेको स्वीकारेका हुन्। घटस्थापनाका दिन हत्या गरिएका ६५ वर्षीय मरिचमान तामाङ र उनकी पत्‍नी ठूलीमायाको शब फूलपातीका दिन घरैमा सडेको अवस्थामा फेला परेको थियो। गाउँबाट ३० मिनेटको दुरीमा एकान्तमा तामाङ दम्पतीको घर रहेकाले घटनाबारे गाउँलले समयमै थाहा पाउन सकेनन्। ठूलीमायाको भान्छामा र मरिचमानको शव पिंढीमा भेटिएपछि प्रहरीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान थालेको थियो। प्रहरीले पक्राउ गरेका स्थानीय कार्शाङ लामा र हिरालाल लामाले हत्या स्वीकारेका हुन्। 'दसैं खर्चका लागि मारिदिएका हौं,' युवकद्वयको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले बतायो। टीकाको दिन बिहीबार घरैबाट पक्राउ परेका उनीहरु इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा छन्। प्रहरीले भने पक्राउ र उनीहरुको स्वीकारोक्तिबारे केही बताउन चाहेन। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर
एकनारायण कोइरालाले तामाङ दम्पतीको हत्या नै भएको उल्लेख गर्दै घटनाको अनुसन्धान भइरहेकाले धेरै बोल्नु 'उचित' नहुने बताए। प्रहरी वास्तविकताको नजिक पुगिसकेको छ। केही दिनमै सबै सार्वजनिक गर्छौं,' उनले भने। युवाद्वयको बयान उदृत गर्दै प्रहरी स्रोतले दिएको जानकारीअनुसार दसैं खर्च जुटाउने विषयमा उनीहरुबीच घटस्थापनाका दिन असोज ११ गते दिउसो एक बजे छलफल भयो। यसका लागि उनीहरुले एकान्तमा रहेका, गाउँमा केही पैसा ऋण लगाएका र छोरी विदेश पठाएका तामाङ दम्पती रोजे। छलफलकै क्रममा उनीहरुले हत्याको योजना बनाए।

योजनाअनुरुप साँझ चार बजे उनीहरु तामाङ दम्पतीको घरमा पुगे पनि वृद्धा ठूलीमाया नजिकै खेतमा काम गरिरहेको र घरमा कुकुरसमेत देखेपछि फर्के। साँझ सात बजे पुनः पुगेका उनीहरुले भान्छाको काम गरिरहेकी ठूलीमायासँग नगद मागे। वृद्धाले आफूसँग पैसा नभएकाले दिन नसक्ने बताएपछि लौरै–लौरोले हिर्काउन थाले। भुइँमा ढलेकी वृद्धाले नमार्न अनुनय गर्दै शरीरमा लगाएको एक तोला सुन फुकालेर दिए पनि उनीहरुले हिर्काउन छोडेनन्। पत्‍नी चिच्चाएको सुनेपछि माथिल्लो तलाबाट आत्तिँदै भागेर पिंढीमा पुगेका वृद्धलाई उनीहरुले त्यहीँ हत्या गरेका थिए। हत्याको केही दिनपछि आफूहरुले सुन ४७ हजार ९ सय ६० रुपियाँमा बेचेर आधा–आधा बाँडेको प्रहरी बयानमा उनीहरुले सकारेका छन्। उनीहरुले खाडीचौर बजारमा सुन बेचेका थिए। हत्या स्वीकार्नेमध्येका हिरालाल गाउँकै भूमेश्वरी माविको १० कक्षामा अध्ययनरत् छन् भने अर्का कार्शाङ केही वर्षअघि पढाई छाडेर वेकामी बस्दै आएका थिए। गाउँलेका अनुसार दुवै २० वर्षमुनिका छन्। घरमा बुबा–आमाको हत्या भएको खवरपछि कुवेत रहेकी तामाङ दम्पतीकी ३२ वर्षीया छोरी कान्छी एक सातापछि फर्कने तयारीमा रहेको छिमेकी तथा स्थानीय शिक्षक साङ्दोर्जे लामाले जानकारी दिए। -ध्रुव दङ्गाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक