20111007

लामो समयसम्म दसैँ मान्न छाडेका खोटाङका किरात, राई समुदायले यस वर्ष फेरि दसैँ मनाउन थाले

लामो समयसम्म दसैँ मान्न छाडेका खोटाङका किरात, राई समुदायले यस वर्ष फेरि दसैँ मनाउन थालेका छन्। परम्परालाई मेट्न नहुने भन्दै उनीहरुले पुनः दसैँ मनाउन थालेका हुन्। जिल्लाका धेरैजसो गाविसमा दसैँ मनाउन छाडेको लामो समयपछि पुनः मनाउन थालिएको छ। खार्मी–५ का भीमबहादुर राईले संस्कृति भन्दा पनि परम्परा महत्वपूर्ण हुने भएकाले दसैँ मनाउन थालेको बताउनुभयो। त्यस्तै जिल्लाका पाथेका, जालपा, बाक्सिला, सप्तेश्वर, च्यास्मिटार, दुर्छिम, मङ्गलटारलगायतका गाविसका किरात राईले पनि दसैँं मनाउन थालेका छन्। वैदेशिक रोजगारमा विदेश
गएकाका साथै जिल्ला बाहिरबाट पनि मानिसहरु दसैँ मनाउन आएकाले विगतका वर्षमा भन्दा यो वर्ष तुलनात्मकरुपमा रमाइलो भएको बाम्राङका ललितकुमार राईले बताउनुभयो। किरात, राई समुदायको नयाँ ज्वाइँ अर्थात भरखर विहे गरेकी छोरीचेली दसैँमा नै आउने भएकाले पनि दसँै मनाउनुपर्ने अवस्था आएको लफ्याङका बबि चाम्लिङले बताउनुभयो। दसैँका बारे विभिन्न परिभाषा लगाइए पनि साम्प्रदायिक सहिष्णुताका लागि सबै चाड उत्तिकै महत्वपूर्ण रहेको राईको भनाइ छ। कतिपय किरात राई समुदायले टीको नलगाए पनि अन्य खानपान भने दसैँकै जस्तो गर्ने गरेका छन्। उनीहरु घरघरमा मार हान्छन् भने आफन्तजन पनि भेला हुने चलन छ। कतिपय गाविसमा भने पूर्णरूपमा दसैँ मनाउन छाडिसकेको छ। यद्यपि, उनीहरुले दसैँमा नयाँ ज्वाइँलाई भने बोलाउने गरेका छन्। परम्पराअनुसार दसैँ नमनाए पनि नयाँ ज्वाइँलाई दसैँमा नै बोलाउनुपर्ने परम्परागत चलन रहेको खार्मी–५ का हर्कराज राईले बताउनुभयो। किरात परम्पराअनुसार उधौली र उभौलीमा आफन्तजन एकआपसमा भेटघाट हुने चलन भए पनि नयाँ ज्वाइँलाई भने दसैँमा नै बोलाउने गरिएको खार्मी–९ का पर्शुराम राईले बताउनुहुन्छ। उभौलीमा बाली लगाउने कामको हतार र उधौलीमा अन्नबाली उठाउने चटारो हुने भएकाले दसैँ नमनाए पनि फुर्सदको समय दसैँको आसपास भएकाले यतिखेरै बोलाउने चलन रहेको उहाँको भनाइ छ।
खार्मीको तुर्खा, कुम्देल, बोहोरिबोटलगायतका गाउँमा यस वर्षबाट पुनः दसैँ मनाउन थालिएको छ। दसैँ नमनाउँदा नरमाइलो हुने भएकाले मनाउन थालिएको स्थानीय रेडियोकर्मी रामधन राईले बताउनुभयो।
दिक्तेल, नेर्पा, याम्खा, चिसापानी, बोपुङ, वाप्लुखा, बास्पानी, राखा, ऐँसेलुखर्क, माक्पा, बतासेलगायतका गाविसमा पनि धेरैजसोले यस वर्षदेखि दसैँ मनाउन थालेको स्थानीयवासीको भनाइ छ।
जालपा, रतन्छालगायतका केही गाविसमा भने दसँै मनाउनमा प्रतिबन्ध नै लगाइएको छ। दसैँ नमनाउने ठाउँहरूमा धार्मिक वा सांस्कृतिक कारण नभई अव्यवस्थित खानपान, अनावश्यक खर्च र झैझगडाका कारण दसैँ छाडेको उनीहरुले बताउँदै आएका छन्।
मुलुकमा धर्मनिरपेक्षता घोषित भएको भन्दै विभिन्न किरात राई समुदायमा दसैँ मनाउने, नमनाउने भन्ने बारे चर्चा सुरु भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक