20111025

माओवादी सचिव सीपी गजुरेलले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई पार्टी छोडेर जान चेतावनी

एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकमा चर्काचर्की
माओवादीका महासचिव रामबहादुर थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहालले जस्तोसुकै चुनौती दिए पनि आफू सामना गर्न तयार रहेको बताए
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षका सचिव सीपी गजुरेलले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई पार्टी छोडेर जान चेतावनी दिएका छन् । सिन्धुली सदरमुकाममा मंगलबार आयोजित एक कार्यक्रममा सचिव जगुरेलले प्रचण्ड र बाबुरामले नेपाली क्रान्तिमाथि धोका र गद्धारी गरेकाले उनीहरुलाई पार्टीमा बसिरहने नैतिक अधिकार नभएको दाबी गरे । प्रचण्ड र बाबुरामलाई कारबाही गरेर आफूहरुले पार्टीबाट बिदाई गरिदिने उनले घोषणा गरे । सचिव गजुरेलले भारतसँग प्रधानमन्त्री भट्टराईले गरेको बिपा सम्झौता राष्ट्रघाती भएको आरोप दोहोर्‍याए । प्रचण्ड बाुबरामले भारतको दलाली गर्नका लागि बिपा गरेको उनको आरोप छ । सम्झौताले भारतमा डुबेका उद्योग नेपाल भित्रने बाटो खुला गरेको उनको आरोप छ । बिपा सम्झौतामा भारतीय उद्योगले कमाएको नाफा आफ्नै देश लैजाने र घाटा भए नेपाल
सरकारले व्यहोर्ने प्रावधान रहेको जिकिर गर्दै उनले त्यसबाट मुलुक आर्थिक टाट फर्किने भएकाले सोही कारण आफूहरुले बिपाको विरोध गरेको जिकिर गरे । प्रचण्ड र बाबुरामले क्रान्तिको कुरा छोडेर एकोहोरो शान्तिको मात्र कुरा गरिरहको भन्दै गजुरेलले आपत्ति जनाए । उनले पार्टी फुट्ने या जुट्ने कुराको निधो आगामी केन्द्रीय समिति बैठकबाट हुने खुलासासमेत गरे । अर्को एक प्रसङ्गमा उनले बाबुराम भट्टराई प्रधानमन्त्री भए चमत्कार नै देखाइदिन्छन् भन्ने भ्रमबाट बुद्धिजिवीहरु विस्तारै मुक्त हुँदै गएको भन्दै खुसी व्यक्त गरे ।

एकीकृत माओवादीका महासचिव रामबहादुर थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहालले जस्तोसुकै चुनौती दिए पनि आफू सामना गर्न तयार रहेको बताएका छन्। आफू मनपरी गर्ने अनि पार्टीका महासचिवलगायतका नेतालाई चुनौती दिने ?- उनको प्रश्न छ। ' त्यसैले जस्तोसुकै चुनौती दिए पनि सामना गर्न तयार छु'- पत्रकार सम्मेलनमा उनले भने।

दसैंअघि पार्टी अध्यक्षले रका अधिकारीलाई सिलगुडीमा भेटेको र अध्यक्ष रको योजनाअनुसार अघि बढेको बताएका महासचिव थापालाई अध्यक्ष दाहालले पुष्टि गर्न चुनौती दिएका थिए। ‘रहस्यमय गतिविधि गर्दै हिँड्ने अनि सार्वजनिक भएपछि विषयवस्तुलाई अन्यत्र लगेर हुँदैन'– उनले भने। उनले पार्टी अध्यक्षले गर्ने मनपरीलाई सधैं सहेर नबस्ने बताउँदै निरन्तर सङ्घर्ष गर्दै अघि बढ्ने पनि बताए।

महासचिव थापाले पार्टी उपाध्यक्षसमेत रहेका प्रधान मन्त्री बाबुराम भट्टराई भारत भ्रमण जानु अघिल्लो दिन पार्टीले कुनै विवादास्पद सन्धि सम्झौता नगर्न निर्देशन दिए पनि उनले विवादास्पद विपा सम्झौता गरेर पार्टी निर्देशनको अवज्ञा गरेको बताए। ‘राष्ट्रघाती सम्झौता गरेका भट्टराईलाई आज बस्ने स्थायी कमिटीको बैठकले स्पष्टीकरण लिन्छ– उनले भने। एकीकृत माओवादीले मात्रै नभएर सबै दलले भारत भ्रमणका बेला कुनै पनि विवादास्पद सन्धि र सम्झौता नगर्न सुझाव दिए पनि भट्टराईले विवादास्पद विपा सम्झौता गरेको उनले बताए।

‘भट्टराईले नै जोखिम मोलेको र जुवा खेलेको बताइसकेकाले पार्टी निर्देशनको अवज्ञा भएको पुष्टि भएको छ, थप कुराको छिनोफानो बैठकबाटै हुन्छ– उनले भने। धोवीघाटको बैठकपछि उठेका विषयलाई पार्टीले निर्णय गरेर सङ्गठनलाई थप गतिशील  बनाउन खोजिएको तर अध्यक्षले निर्णय कार्यान्वयनमा ध्यान नदिएर पार्टीलाई विसर्जनतिर लैजान थालेको महासचिव थापाले आरोप लगाए।

अहिले जनताको संविधान बनाउने कि जमिनदारको, राष्ट्रिय पुँजीपति वर्गको हित गर्ने संविधान बनाउने कि विदेशी दलालको र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा भन्ने बहस चलिरहेको भन्दै माओवादी पार्टीभित्रको अन्तर्संर्घषलाई यहीरुपमा बुझ्न पनि उनले आग्रह गरे।

भारतसँग भएको द्विपक्षीय लगानी प्रबर्द्धन तथा सुरक्षणसम्बन्धी सम्झौता -बिप्पा) बारे उत्पन्न विवाद समाधानको प्रयासमा मंगलबार बसेको एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकमा चर्काचर्की भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको बैठकमा बिपा सम्झौताको पक्ष विपक्षमा संस्थापन पक्ष र मोहन बैद्य किरण पक्षबीच चर्काचर्की भएको हो । विवादपछि बैठक विना निष्कर्ष टुङ्गिएको छ । एक नेताले भने-’बिपा सम्झौताबारे पार्टीको धारणा बनाउने प्रयास सफल भएन ।’
श्रोतका अनुसार बैठकमा बैद्य पक्षका नेताहरुले बिपा सम्झौता राष्ट्रघाती भएको पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टी नेतृत्वको आलोचना गरेका छन् । बैद्य पक्षले बिपा सम्झौता गलत भएको भन्दै कार्यान्वयन गर्न नहुनेमा जोड दिएको छ ।
संस्थापन पक्षले भने सम्झौताको बचाउ गर्दै कार्यान्वयन गरेर अघि बढ्नु पर्नेमा जोड दिएको छ । ‘बैद्य जी हरुले यो सम्झौता गलत छ भन्नु पर्‍यो र कार्यान्वयन गर्नु हुँदैन भन्ने अडान लिनुभयो’ एक नेताले भने-’हामीले केही कमिकमजोरी भए छलफल गरौं तर, कार्यान्वयन गरेर अघि बढौं भनेका छौं । भोलिसम्ममा सहमति हुनसक्छ ।’
बैठकमा प्रधानमन्त्री भट्टराईले बिप सम्झौताका बारेमा सतही रुपमा टिकाटिप्पणी गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ । बैठकमा अध्ययनका लागि बिपा सम्झौताको नेपाली र अग्रेजी भाषाको प्रतिलिपी सबै नेताहरुलाई समेत वितरण गरिएको छ । बिपाबारे थप छलफल गर्न स्थायी समितिको बैठक भोलि बुधबार विहान ८ बजे बोलाइएको छ ।
बैठकमा संस्थापन पक्षका नेताहरुले भने आफ्नै पार्टीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई कालोझण्डा देखाएको तथा पार्टी अध्यक्षमाथि भारतीय गुप्तचर संस्था ‘रअ’सँग साठगाँठ रहेको जस्ता आरोप लगाएर अनुशासन उल्लंघन गरेको भन्दै बैद्य पक्षको चर्को आलोचना गरकेा छन् । यसबारे भोलिको बैठकमा थप छलफल हुने बताइएको छ ।
पछिल्लो समय बैद्य पक्ष पार्टी नेतृत्वविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै आएका छन् । बैद्य पक्षमा रहेका महासचिव रामबहादुर थापा बादलले पार्टी अध्यक्ष प्रचण्डको ‘रअ’ को निर्देशनमा चलेको गम्भीर आरोप लगाउनु भएको छ भने चिव सीपी गजुरेलले पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराईलाई पार्टीमा बस्ने अधिकार नभएको टिप्पणी गर्नु भएको छ ।
स्थायी समितिको बैठकअघि माओवादी उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । प्रचण्ड निवास नयाँ बजारमा भएको छलफल बिपा सम्झौतापछि उत्पन्न विवाद र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रीत थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक