20111023

पुष्पकमल दाहालको भारतीय गुप्तचर संस्था 'रअ'सित सम्बन्ध रहेको माओवादीका महासचिव रामबहादुर थापाको खुलासा

बाबुरामलाई माओवादीलेनै एयरपोर्टमै कालो झण्डा !
यो सम्झौताले मुलुकको अर्थतन्त्र भारतको चंगुलमा : बैद्य 
 प्रधानमन्त्री बावुरामले भारतसँग गरेको बिपा सम्झौता राष्ट्र हित विरोधी : माधवकुमार नेपाल
माओवादीका महासचिव रामबहादुर थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारतीय गुप्तचर संस्था 'रअ'सित सम्बन्ध रहेको खुलासा गरेका छन् । उसकै निर्देशन बमोजिम सेनामा समायोजन हुने लडाकुको संख्या घटाएको आरोप उनले लगाए । भरपतुरस्थित पार्टी कार्यालयमा आइतबार बिहान सञ्चारकर्मीसित कुरा गर्दै महासचिव थापाले २/३ महिना अघि पारिवारिक कामले भन्दै बिराटनगर हुँदै सिलिगुडी पुगेर अध्यक्ष दाहालले भारतीय गुप्तचर संस्था 'रअ'का मान्छेसँग भेटघाट गरेको र उनीहरुकै निर्देशनमा १० हजारको साटो ५ हजार लडाुक समायोजनमा सहमति जनाएको आरोप लगाए । प्रधानमन्त्री
बाबुराम भट्टराईले जनताको चाहना, पार्टीको निर्णय एवं दलहरुको सहमति विपरीत भारतमा द्विपक्षीय लगानी प्रवर्द्धन एवं संरक्षण (बिपा) सम्झौता गरेको बताउँदै उनले विरोध गरे । पार्टीले यो भ्रमणलाई सदभावना भ्रमण रुपमा लिँदै कुनै पनि विवादास्पद निर्णय नगर्न भने पनि प्रधानमन्त्रीले विवादास्पद निर्णय गरेको उनको भनाइ थियो । सम्झौताबाट भारतले डबल फाइदा लिने उनले ठोकुवा गरे । महासचिव थापाले लडाकु कन्टेनरको साँचो बुझाएको विवाद सानो नभइ यो लडाकुको भविष्यसँग जोडिएको र उनीहरुलाई निःशस्त्रीकरण गर्ने तर्फ उन्मुख रहेकोले विवाद बढेको उल्लेख गरे । सेना समायोजन अन्र्तगत १० हजार लडाकुको समायोजन र समूहगत प्रवेश पार्टीको 'बटमलाइन' उनले दाबी गरे ।
प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसंग दिल्लीमा लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा) गरी स्वदेश नफर्कंदै उनको पार्टीभित्र चर्को बिवाद सुरु भएको छ । मधेशी मोर्चासंग भएको चार बुँदे सहमति र हतियारका कन्टेनरको साँचो बुझाउने बिवाद नसेलाउँदै माओवादीमा बिपा बिवाद थपिएको हो ।
प्रधानमन्त्री भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा उक्त सम्झौता गरे पनि अर्को उपाध्यक्ष मोहन बैद्य र महासचिब रामबहादुर थापा आक्रोशित भएका छन् । बैद्य पक्षले सम्झौताले भारतीय हस्तक्षेपको आधार तयार पारेको आरोप लगाउँदै भट्टराईले पार्टी निर्णय बिपरित गरेको समेत दाबी गरेको छ ।  भट्टराई स्वयंले जोखिम मोलेर गरेको सम्झौता राष्ट्रघाती नभई भारतसंगको आथिर्क सम्बन्धमा ठूलो ढोका खोलेको’ दाबी गरिरहेका बेला बैद्यले ‘आश्चर्यजनक’ भएको बताएका छन् । आर्थिक उन्नति नभई राष्ट्रियता बलियो नहुने तर्क गर्दै आएका भट्टराईले आफू प्रधानमन्त्री भएको मौकामा बिपा सम्झौता गरेका हुन् ।
बैद्यले शनिबार यो सम्झौताले मुलुकको अर्थतन्त्र भारतको चंगुलमा फसेको बताए । ‘यो सम्झौताले भारतका लागि हस्तक्षेपको पुरै आधार बन्यो’ उनले भने– ‘यसले देश र जनताको लागि हित गर्दैन ।’ उनले यसले तेश्रो मुलुकका लागि प्रतिकुल असर गर्ने उल्लेख गर्दै मुलुकमा भारतको एकाधिकार बढाउने बताए । ‘अब नेपालको लगानीमा भारतको एकाधिकार हुने छ’ उनको भनाइ छ– ‘यस्तो सम्झौता गर्न उहाँलाई म्यान्डेट थिएन । उहाँले किन सम्झौता गर्नुभयो, हामी आश्चर्यमा परेका छौ ।’ मुलुक संक्रमणकालीन अवस्थामा उद्योगधन्दामा हड्ताल हुने र त्यस्तो उद्योगको पुरै संरक्षणको जिम्मा लिन सक्ने अवस्था नभएको बताए । ‘संक्रमणकालीन अवस्थमा उद्योगहरु बन्द भइहाल्छन्’ उनले भने– ‘यो बिवादास्पद मात्र होइन, एकदम गलत सम्झौता हो ।’ माओवादी स्थायी समिति बैठकले भ्रमण सद्भावना बनाउन निर्देशन दिए पनि भट्टराईले उल्लंघन गरेको बैद्य पक्षको भनाइ छ । उक्त पक्षले भारतप्रति भट्टराई नरम भएको आरोप गर्दै बिपा सम्झौता गरेको निष्कर्ष निकालेका छन् । बिपा सम्झौताबारे छलफल गर्न बैद्य पक्षको शनिबार बैठक बसेको थियो । बैठकले सम्झौता राष्ट्रघाती भएको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि मधेशी मोर्चासंग भएको चार बुँदे सम्झौतालाई राष्ट्रघाती भएको भन्दै आन्दोलन गरेको थियो ।
बैद्यले यसरबारे आगामी केन्द्रीय समिति बैठकमा छलफल गर्ने जनाए । ‘यो पार्टी निर्णय बिपरित भएको छ’ उनले भने– ‘यसबारे पार्टीभित्र छलफल नहुने कुरै आएन ।’ संस्थापन पक्षले भने सम्झौता पार्टीको सहमतिमा   दाबी गरेको छ । सम्झौता गर्नुअघि र त्यसपछि उत्पन्न प्रतिक्रियाबारे भट्टराईले अध्यक्ष दाहालसंग टेलिफोनमा कुराकानी गरेका थिए । भट्टराईले शनिबार बिहान दाहालसंग टेलिफोनमा कुरा गर्दै बीपाबारे स्पष्ट पारेका थिए ।
दाहाल निकट पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले बिपा सम्झौता पार्टीको सहमतिमा भएको जनाए । ‘यो सम्झौता पार्टीको सहमतिमा भएको छ’ उनले भने– ‘यसबारे अध्यक्षसंग कुराकानी भएको छ ।’ उनले ‘मुलभूत रुपमा’ सम्झौता ठिक भएको बताएका छन् । ‘दोहोरो कर तिर्नु नपर्ने सम्झौता गरेको भए राम्रो हुन्थ्यो’ उनले कान्तिपुरसंग भने– ‘जुन सम्झौता भयो, यो मूलभूत रुपमा सही छ ।’ उनले आफ्नो कुरा मनाउन भारतका पनि केही चासो मानिदिन यो सम्झौता गरेको हुन सक्ने जनाए ।

पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बावुरामले भारतसँग गरेको बिपा सम्झौता राष्ट्र हित विरोधी भएको आरोप लगाएका छन्। सम्झौतालाई महाभारतको कथासँग जोड्दै पूर्वप्रधानमन्त्री नेपालले भने- 'सम्झौतालाई कौडा सम्झेर देशहित विपरित प्रधानमन्त्रीले आँखा चिम्लेर जुवा खेलेका छन्।'
सम्झौताबाट राष्ट्रलाइ के कति हित हुन्छ भनि विना कुनै अध्यन र विचार नगरी पाण्डबहरुले द्रौपदीलाई जुवाको खालमा हाले जसरी नै अहिले प्रधानमन्त्रीले भारतसँग सम्झौता गरेको उनले आरोप लगाए।

पूर्वप्रधानमन्त्री नेपालले भट्टराईप्रति अब विश्वास गुम्दै गएको उल्लेख गरे। 'प्रधानमन्त्री हुनु अघि जति विश्वास थियो पछिलो समयमा उहाँको गतिविधिले बिश्वास गुम्दै गएको छ।' बावुराम प्रति जति जनताले बिश्वास गरेका थिए सबै पार्टीले पनि बिस्तारै बिश्वास गर्न थालेको बताउँदै उनले प्रधानमन्त्री हुनुअघि र पछि बाबुराम भट्टराईमा धेरै परिवर्तन भएको उल्लेख गरे।

चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री बाबुराम भट्टराईले द्विपक्षीय लगानी प्रवर्द्धन एवं संरक्षण (बिपा) सम्झौता राष्ट्र हितमा भएको  दाबी गरेका छन्। काठमाडौं विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्झौतासँगै नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपिएको उल्लेख गरे।
आफ्नो भ्रमण सफल रहेको भन्दै प्रधानमन्त्रीले भने-'नेपाल-भारत सम्बन्ध विस्तारमा नयाँ आयामको पूर्वाधार तयार भएको छ। त्यसैले यो भ्रमण महत्त्वपूर्ण र सफल भएको छ।' भ्रमण दुई देशबीच रहेका संशय घटाइ विश्वासको वातारण तयार पार्न महत्वपूर्ण सावित रहेको उनले बताए। भने-  'दुई देशका प्रधानमन्त्री बसेर खुलेरै कुरा गरेका छौं। यसले हाम्रो सम्बन्धमा विश्वासिलो आधार तयार भयो। यो महत्त्वपूर्ण छ। यसले नयाँ उचाई प्राप्त हुन्छ भन्ने विश्वास लिएको छु।'

भारतसँग भएको बिपा सम्झौता बारे नेपालमा उठेका विरोधको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले भारत भ्रमणकाक्रममा भएको सो सम्झौता राष्ट्रहितमै भएकाले शंका नगर्न आग्रह गरे । 'राष्ट्रिय हितलाई ध्यान राखेर नै सम्झौता गरिएको हो। यसलाई अन्यथा लिनु हुँदैन।'

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल उत्रिए लगत्तै भट्टराईले पत्रकार सम्मेलन गरेका थिए। बिपा सम्झौताको विरोधमा उनलाई मोहन वैद्य पक्षले विमानस्थलको मुख्य द्वारमा कालो झन्डा देखाएर प्रधानमन्त्रीको राजिनामा मागेको छ।

त्रिभुवन विमानस्थलबाट निस्कने क्रममा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन वैद्य पक्ष समर्थित १५ जनवर्गीय संगठनका कार्यकर्ता मुख्यद्वार नजिकै जम्मा भएका थिए। यसअघि बसेको १५ बटा जनबर्गिय संगठनका बैद्य पक्षीय नेताहरुको बैठकले बिपा राष्ट्रघाती भएको ठहर गर्दै प्रधानमन्त्री भट्टराईलाई कालो झन्डा देखाउने निर्णय गरेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक