20111024

गजुरेलले उपप्रधान तथा परराष्ट्र र गुरुङले अर्थमन्त्री बन्न नपाएर विरोध गरेको माओवादी अध्यक्ष प्रचण्डले तथ्य सार्वजनिक गरे

पार्टीमा आफ्नो वर्चश्व कायमै राख्न डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री
माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा आफ्नो वर्चश्व कायमै राख्न डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएको रहस्य खोलेका छन्। गत साउनमा पार्टीका तीनै उपाध्यक्ष र महासचिवले धोबीघाटमा बैठक गरी पार्टीभित्र अध्यक्ष प्रचण्डको प्राधिकार अन्त्य गर्ने सहमति गरेका थिए। तर, भट्टराईलाई प्रधानमन्त्री बनाएर त्यो प्राधिकार जोगाउन सफल भएकोमा आफू आनन्दित भएको प्रचण्डले खुलासा गरेका छन्। उनको यो खुलासाले भट्टराईको नेतृत्वमा शान्ति प्रक्रिया टुंगिने र संविधान लेखिने उनको दाबी 'देखाउने दाँत' सावित भएको छ। पार्टीनिकट एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा धोबीघाट गठबन्धन तोड्न भट्टराईलाई प्रधानमन्त्री बनाएको प्रचण्डले घुमाउरो पाराले
बताएका छन्। अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, 'धोबीघाट गठबन्धन समाप्त भएपछि आनन्द महसुस भएको छ, उक्त गठबन्धनको निरन्तरताले पार्टीको नैतिकता, चरित्र र कम्युनिस्ट विचारधारामाथि जनताको आस्था नै समाप्त हुने हुँदा जसरी पनि भंग गर्नु जरुरी थियो।' तीन उपाध्यक्ष र महासचिवबीच धोबीघाटमा भएको गठबन्धनबाट अध्यक्ष प्रचण्ड पार्टीभित्र संकटमा परेका थिए। गठबन्धन कायम रहेको अवस्थामा उनको पार्टी अध्यक्ष र संसदीय दलको नेताको पद गुम्ने अवस्था आइसकेको थियो। गठबन्धनलगायत प्रचण्डलाई संसदीय दलको नेताबाट हटाउनका लागि माओवादीका २ सय ३७ सभासद्मध्ये १ सय ५९ जनाले हस्ताक्षर गरेका थिए। आफ्नो विरुद्ध पार्टीको बहुमत पुर्याउन नेता तथा सभासद्हरू सक्रिय भएपछि प्रचण्ड गठबन्धन तोड्ने रणनीतिमा सक्रिय भएका थिए। संसदीय दलको नेतामा आफू टिकिरहन उनले भावी प्रधानमन्त्रीमा डा. भट्टराईलाई अघि सारेका थिए। र, उनलाई प्रधानमन्त्री बनाएर गठबन्धन तोड्ने रणनीतिमा प्रचण्ड क्रियाशील रहे। प्रधानमन्त्री बनाउने सहमति गरे पनि अवसर आए कुनै पनि हालतमा प्रचण्ड आफैं प्रधानमन्त्री बन्ने र पार्टी नेतृत्व आफूहरूको हातमा आउने वैद्य समूहको आँकलनलाई प्रचण्डले तुहाइदिएपछि त्यो समूह यतिबेला चिढिएको छ। माओवादी पार्टी स्रोतका अनुसार वैद्य समूहको पार्टी कब्जा गर्ने रणनीतिलाई जे–जसरी भए पनि विफल बनाउने, जति दिनका लागि भए पनि भट्टराईलाई प्रधानमन्त्री बनाउने रणनीतिअनुसार प्रचण्डले मधेसवादी दलहरूसँग चारबुँदे सहमति गरी भट्टराईलाई प्रधानमन्त्री बनाएका हुन्। प्रचण्डले भट्टराईलाई शान्ति र संविधानका लागि भन्दा पनि पार्टीभित्र आफ्नो वर्चश्व कायम राख्न प्रधानमन्त्री बनाएको स्पष्ट भएको छ। भट्टराईलाई प्रधानमन्त्री बनाएप्छि पार्टीभित्र प्रचण्ड बहुमतमा पुगेका छन्। उनले वैद्य पक्षलाई पेल्ने रणनीति अख्तियार गरेका छन्। उक्त अन्तर्वार्तामा वैद्य समूहभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको तथा स्वार्थी र पदलोलुपता रहेको आरोप लगाएका छन्। सीपी गजुरेलले उपप्रधान तथा परराष्ट्र र देव गुरुङले अर्थमन्त्री बन्न नपाएर विरोध गरेको तथ्य सार्वजनिक गरेका छन्।

1 comment:

  1. यो देश तिमीहरुको बाउको बिर्ता त होइन अनि एक आपसको दुश्मनी साध्न देश र जनताको अस्तित्व नै धरापमा पारी बन्धकी राख्न किन जनता र देशको नाममा राजनीतिक खेल खेलेको ? हुतिहारा भातमारा हो सक्तैनौ भने जसरि शक्ति लिएका थियौ तेसैगरी छोडिदेउ, एक आपसमा मिलेर बसेका जनताहरुलाई विभिन्न बहानामा फुटाएर लडाउने, मर्ने र मार्ने काम नगर, गुलामी नै गर्छ्यौ भने नेपाली कै गुलामी गर,सोझा नेपाली जनताहरुको अगाडि सत्तो सराप गरेको झुटो नौटंकी गर्दै दक्षिण तिरको तिमीहरुको प्रभुको गुलामी किन गर्छ्यौ ? बेलैमा तिमीहरुको बिर्को लागेको बुद्धिको भाडोको बिर्को खुलोस. पशुपतिनाथले तिमीहरुलाई बेलैमा सदबुद्धि दिदै रक्षा गरुन, जय देश !

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक