20111031

झलनाथ गुट र माधव-ओली गुटको, देउवा गुट र सुशील गुटको, वैद्य गुट र प्रचण्ड गुटको लोकतन्त्रका मापन स्केल !

झलनाथ गुट र माधव-ओली गुटको, देउवा गुट र सुशील गुटको, वैद्य गुट र प्रचण्ड गुटको लोकतन्त्रका मापन स्केल आ-आफ्नै कम्पनी तथा ँब्रान्डेड’ छाप चलाएर जनता झुक्याएका छन् । यतिवेला नेपालको लोकतन्त्र उन्नाइसौँ शताब्दीको पूर्वार्द्धमा युरोपभरिको साहित्यिक साम्राज्यमा अड्डा जमाएका उपन्यासकार मारी सेलीको साइन्स फिक्सन जस्तै भइसकेको छ, जहाँ सिर्जितले सिर्जनाकारको ध्वंस गर्ने प्रयास हुन्छ । जरोसमेत उखेलेर निमिट्यान्नै पार्ने प्रयास हुन्छ । सिर्जितले सिर्जनाकारको घर, परिवार, नातागोता, साखा-सन्तान र छरछिमेक समाज पनि भंग गरिदिने प्रयास हुन्छ । लोकतन्त्रले त्यही विरोधाभास मार्ग अवलम्बन गर्दै गएको देखिन्छ । बाटो बिराएको बटुवाजस्तो र जलेरीको जालमा परेको माछाजस्तो मेसोमेलो हराएको अवस्थामा छ लोकतन्त्र । जसले लोकतन्त्रका बीउ रोप्न एकाधिकारवादी, सामन्ती र अत्याचारी राज्य व्यवस्थाले जमेको पहरा फोरेर कठिन राजनीतिक परिक्षम गर्‍यो उनै माथि प्रहार भइरहेको छ । लोकतन्त्रले उनै सिर्जनाकारहरूलाई खिसी गरिरहेको छ । चामलमा बिँया मिसिएझैँ सराबरी छ अलोकतान्त्रिक
गतिविधिहरू लोकतन्त्रभित्र !
लोकतन्त्र त सीप गायकको गीतमात्र बनिरहेको छ, जहाँ क्षणिक मनोरञ्जनका लागि वास्तविक विषयवस्तुलाई लुकाएर कला हावी गराइन्छ । राणाहरूकै अन्त्यको नाममा राणालाई नै सँगै अँगालोमा लिँदै यात्रा गरेको कांग्रेसको प्रजातन्त्र पञ्चायतको अन्त्यको घोषणासँगै पञ्चहरूलाई नै साथ लिएर अगाडि बढेको बहुदलीय प्रजातन्त्र राजतन्त्र र सामन्ती एकाधिकारवादी शासन व्यवस्थाको तथा र संघीय लोकतान्त्रिक गणतन्त्रको उदयको घोषणापछि पनि उनै यथास्थितिवादी, सामन्ती तथा आत्मगत राजावादीको सहयात्रामा अगाडि बढिरहँदा निरीह बन्नुबाहेक कुनै उपाय लोकतन्त्रसँग देखिएको छैन ।

लोकतन्त्र अहिले विज्ञापन मात्र बनिरहेको छ । त्यस्तो विज्ञापन जहाँ पाँच प्रतिशत सत्यमाथि पञ्चानब्बे प्रतिशत झुटको खेती गरिन्छ । आशैआशमा ग्राहकलाई पछि लगाइन्छ । भाषा र शब्दावलीमा सर्वत्र लोकतन्त्र तर खोक्रो व्यवहार । लोकतन्त्र वर्गीय हो कि वर्गहीन ? लोकतन्त्रको स्रोत र मुहान कहाँ, को हुन् ? यसको ठेकेदार, पेटी ठेकदार कोे हो बडो मुश्किल छ बुझ्न । लोकतन्त्र शक्तिशाली भान्सेले पस्केर शक्तिहीन निमुखलाई दिने पेवा हो कि सीधासाधा, निमुखाकै पक्षपाती अधिकार हो ? नेपाली जनताको कडा परिश्रमले आर्जित हो कि फेरि पनि शासक वर्गहरूकै आशीर्वाद हो लोकतन्त्र ?

स्वतन्त्रताको रक्षा, व्यक्तिको अधिकतम कल्याण र बहुसंख्यक श्रमजीवी जनताको सत्तामा हुने पहुँचजस्ता लोकतन्त्रको व्यक्तिवादी र कम्युनिस्ट दृष्टान्तलाई ढाँट, छल गर्दै अराजकता, भक्षकता, हिंसा, हत्या, गुट, उपगुट, टुट र फुटका लागि न्वरानदेखिको बल खेर फालिँदै छ । कुनै वर्ग विशेषको शासन नभई जनताको शासन हुनुपर्ने लोकतन्त्रको मान्यतालाई ठाडै उपहास गर्दै लोकतन्त्रकै नाम लिएर र यसैको खोल ओडेर पेन्सन पाकिसकेको शासकहरू फेरि यसैमा लालयित हुँदै छन् । यसर्थ नत शान्तिप्रक्रियालाई टुंग्याउन चाहन्छन् न त जनताको संविधान लेख्न चाहन्छन् । फाइदा र बेफाइदाको तराजु लिएर लोकतन्त्रको ढक समातेर बस्नेहरू ठूलो स्वरले लोकतन्त्र, लोकतन्त्र भनेर चिच्याइरहेछन् ! फेरि पनि शक्ति केन्द्रमै कैद छ लोकतन्त्र । शक्तिमा रहनेको पैतृक सम्पत्ति भएको छ लोकतन्त्र । उनैले चाहे अड्कलेर दिने हो जनतालाई नचाहे उनैको मनोमानी तन्त्रलाई निरीह सर्वसाधारणले लोकतन्त्र जिन्दावाद भनेर बाध्यताको नारा घन्काउनुपरेको छ । जुन वर्ग लोकतन्त्रको आधारभूत वर्ग हो अथवा लोकतन्त्रको सार्थकता जुन तह र वर्गका जनतामा अडिन्छ त्यही तह र तत्काका जुन समुदाय फेरि मुकदर्शक भएर लोकतन्त्रको साक्षी किनारा बस्नुपरिरहेको छ । वेदना र रोदनलाई दबाएर हाँसी मृत्युका जिन्दगीहरू बाँचिरहेका छन् । फगत लोकतन्त्रको स्विकार्यमा थपडी हान्दै खाली पेटहरूले यसको स्वाद मान्नुपरिरहेको छ । अस्पतालको बेडहरूबाट घिटिघिटीमा थुप्रै नेपालीहरू सम्भिmरहेछन् लोकतन्त्राई !

लोकतन्त्र एकैनासे छैन यहाँ । कतै बलियो, सीमित पहुँचमा छ । कतै सारै कमजोर र पहुँचबाहिर छ । कसैको रहर छ लोकतन्त्र, कसैको बाध्यता ! कणर्ालीको भोकमरीसँग कुस्ती खेल्न नसकेर निरीह बनिरहेको छ लोकतन्त्र ! विकट गाउँ बस्तीहरूमा संक्रमित रोगहरूसँग लड्ने इम्युनिटी पावरविना छटपटाइरहेको मात्रै होइन बारा, पर्सा, रौतहट, चितवन, बाँके, बर्दियालगायत तमाम ठाउँका आपराधिक घटनाहरूसँग झन आफैं

नतमस्तक छ यो ! विश्वमै नयाँ मोडलको लोकतन्त्र नेपालमा कसरी भयो ? जो विकास हुनुपथ्र्यो त्यो विनास भइरहेको र जो विनास हुनुपथ्र्यो त्यो विकास भइरहेछ ? विधिप्रति अटेरी, विधानप्रति हेपुवा, नीति प्रति बेहोसी र व्यवहारप्रति लापरबाही छ लोकतन्त्र ! राजनीति प्रशिक्षणहरू गुन्डागर्दी प्रशिक्षणमा परिणत भइसकेछ । एउटै दलभित्र 'मार्‍यो र बचाउका' हारगुहार छ । बल्खु दरबार, सानेपा बंगाला र पेरिस डाँडामा विभिन्न गाईजात्रे झाँकीहरूमा लोकतन्त्र प्रस्तुत हुँदै आएको छ । लोकतन्त्रकै नाममा लोकतन्त्रकै दमन गरिएको दृश्य एकातिर छ भने लोकतन्त्रकै नाममा लोकतन्त्रकै माग गरिएको अर्को दृश्य भेटिन्छन् । सानेपामा कोइराला -संस्थापन) र देउवा पक्षबीचको एउटै पार्टीको एउटै कार्यालयमा भिन्न विपरीत माग -पार्टीभित्र लोकतन्त्र) सहिद भ्रातृसंगठनहरूको सवालमा भएको अनसनको नाट्य प्रदर्शनले यही बताउँछ । केही पहिले सत्ता-कुर्चीकै कारण बल्खु दरबारमा एमाले दुई गुटबीच भएको कुटाकुटले त्यही बोध गराउँछ । अहिले एमाओवादीले सत्ता नेतृत्वको अवसर पाएपछि प्रचण्ड-भट्टराई भर्सेज मोहन वैद्य पक्षबीच द्वन्द्व झन् घनिभूत ढंगले अगाडि बढ्नुले यही अनुभूत गराउँछ । सबै

स्वतन्त्र हुने कुरालाई लोकतन्त्र नमानेर एक गुटको घाँटी अर्को गुटले निमोठ्नुलाई खाँटी लोकतन्त्र मानिन्छ । झलनाथ गुट र माधव-ओली गुटको, देउवा गुट र सुशील गुटको, वैद्य गुट र प्रचण्ड गुटको लोकतन्त्रमा मापन स्केल आ-आपनै कम्पनी तथा ब्रान्डेड छापका भेटिन्छ ।

लोकतन्त्रको मञ्चित नाटकका पर्दा अझै खोल्दै जाने हो भने झन् कन्तविजोग दृश्यात्मक झाँकीहरू अवलोकन प्राप्य हुन्छन् । आपनै दलको नेतृत्व सरकार अपदस्त गर्न आप\mनै दलभित्रको ठाडो आदेश चल्छ । गुट-गुटको वारेन्ट जारी गरिन्छ । भ्रष्टाचारी तथा अपराधी कारबाहीको माध्यम प्रहरीको उच्च नेतृत्व नै सुडान घोटालाका नम्बर वान भ्रष्टाचारी बन्छन् । सभासद्हरू नै रातो पासपोर्ट, होटल रेस्टुराँमा जाँडभाँड काण्ड, केटी काण्ड, घुसखोरी, कमिसनतन्त्रको बिज्नेमा तल्लीन भेटिन्छन् । बिरामी बोक्न छोडेर एम्बुलेन्सले रक्तचन्दन बोक्न रुचाउँछ । भ्रष्टाचारको मुद्दा सर्वोच्चमै चलेको व्यक्ति सर्वोच्चमा मुद्दा चलेकै व्यक्ति सूचना तथा सञ्चारमन्त्री हुँदा छात्तीमा मुड्कीले हानेर हस्ताक्षर गर्दै अगाडि बढ्छ निरीह लोकतन्त्र ! विजोग लोकतन्त्र ! यद्यपि घाँटी निचोरिएको लोकतन्त्र प्याकप्याक गर्दै 'शान्ति र संविधान' भने भन्न छोडेको छैन । लोकतन्त्रको छहारीमा मञ्चित विभिन्न यस्ता बिजोग झाँकीहरूको दर्शक बन्न बाध्य छ नेपाल !!!
- एचके श्रेष्ठ 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक