20111128

१५ वर्षभन्दा माथि उमेर समूहका पुरुष १७ लाख ३८ हजार ६४३ जना र महिला ३४ लाख ३५ हजार ३३६ जना गरि कूल ५१ लाख ७३ हजार ९ सय ७९ जना निरक्षर !

अनौपचारिक शिक्षा केन्द्र सानोथिमीले मुलुकको ७५ वटै जिल्ला शिक्षा कार्यालयबाट संकलित १५ वर्ष भन्दा बढी उमेर समूहका पढ्न नजान्नेहरुको संख्या सार्वजनिक गरेको छ । केन्द्रका उप—निर्देशक केशवप्रसाद दाहालले देशभर हाल १५ वर्षभन्दा माथि उमेर समूहका पुरुष १७ लाख ३८ हजार ६४३ जना र महिला ३४ लाख ३५ हजार ३३६ जना गरि कूल ५१ लाख ७३ हजार ९ सय ७९ जना निरक्षर रहेको बताउनुभयो । मुलुकको ७५ जिल्ला मध्ये सबभन्दा बढी निरक्षर सर्लाहीमा महिला एकलाख ३२ हजार ७ सय ९८ जना र पुरुष ८८ हजार ८ सय ९७ जना निरक्षर छन् । सवैभन्दा कम मनाङ्गमा ९ सय ७ जना महिला र ४ सय ९९ जना पुरुष निरक्षर छन् ।
केन्द्रले यसवर्षको कात्तिक महिना देखि संचालन गरेको साक्षरता कक्षामा निरक्षरको यही संख्यालाई आधार मानेर साक्षरता कक्षालाई प्रभावकारी रुपमा संचालन गर्न आग्रह गरेको छ । यसवर्ष केन्द्रले देशका १५ देखि ६० वर्ष उमेर समूहका कुल १० लाख ३५ हजार १५० निरक्षरलाई साक्षर बनाउने लक्ष्य राखेर गत कात्तिक १ गते देखि तीन चरणमा सम्पन्न गर्नेगरि मुलुकभर साक्षरता अभियान सञ्चालन गरेको केन्द्रका उपसचिव माधवप्रसाद दाहालले बताउनुभयो । पहिलो चरणको तीन महिना कात्तिक, मंसिर र पुसमा तीन लाख ५० हजार निरक्षर नागरिकलाई साक्षर बनाउने जानकारी दिदै उहाँले दोस्रो चरणमा माघदेखि चैतसम्म र तेस्रो चरणमा वैशाखदेखि असारसम्ममा लक्ष्य अनुसारको संख्यामा साक्षर बनाईने उल्लेख गर्नुभयो । केन्द्रले निरक्षरको सङ्ख्या बढी भएका जिल्लामा प्राथमिकतासहित यो अभियान सञ्चालन गरेको छ भने १५ हजारभन्दा कम निरक्षर भएका नौ जिल्ला मनाङ, मुस्ताङ, सोलुखुम्बु, रसुवा, मुगु, हुम्ला, डोल्पा, कञ्चनपुर र तेह्रथुम
जिल्लालाई पूर्णरूपमा निरक्षर उन्मुलन गरि सबैलाई साक्षर बनाउने लक्ष्य राखिएको उपसचिव दाहालले बताउनुभयो ।
यसवर्ष साक्षरता अभियान सफल पार्न नेपाली बाहेक, नेवारी, मैथली, भोजपुरी, लिम्बु, डोटेल, थारू, मगर, गुरुङ, वान्तवालगायतका विभित्र मातृभाषाको समेत प्रयोग गर्ने गरी सहयोगी कार्यकर्ता तयार पारेको छ ।
केन्द्रले कक्षा सञ्चालन गर्ने सहयोगी कार्यकर्तालाई प्रशिक्षक तालिम समेत सञ्चालन गरेको छ भने हिमाली क्षेत्रमा २० जना बराबर एक र पहाड तथा तराई क्षेत्रमा ३० जना बराबर एक सहयोगी कार्यकर्ता रहने व्यवस्था गरेको छ । अभियानका लागि करिब ७० करोड रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।
केन्द्रले विगतमा सञ्चालन गरेको अभियानअन्तर्गत २०६५ सालमा २६ लाख, २०६७ सालमा १२ लाख ५० हजार, र गतवर्ष ६ लाख नागरिकलाई साक्षर बनाएको दावी गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक