20111107

प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्दै, मन्त्रिमण्डलमा माओवादीका ६ र साना दलका तर्फबाट सदभावना पार्टीकी सरिता गिरी सहभागी हुने

तीन बर्षअघि नै सुल्झीइसकेको शान्ति प्रक्रियालाई माओवादीबाट लडाकुको पैसाको थैली कुम्ल्याउन लम्ब्याए : नेता केपी शर्मा ओली
सात बुँदे सहमतिलाई संविधानसभाको म्याद थपका लागिमात्रै प्रयोग गर्न नहुने: एमाले अध्यक्ष झलनाथ खनाल
प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उपाध्यक्ष मोहन वैद्य पक्षधरले सरकारमा नजाने निर्णय गरेपछि प्रधानमन्त्रीले सरकार विस्तार गर्न लागेका हुन् । विस्तारित मन्त्रिमण्डलमा माओवादीका ६ र साना दलका तर्फबाट सदभावना पार्टीकी सरिता गिरी सहभागी हुने माओवादी पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार माओवादी प्रवक्ता दीनानाथ शर्माले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । यसैगरी लोकेन्द्र विष्ट मगरलाई पर्यटन, भीमप्रसाद गौतमलाई भूमिसुधार, सत्या पहाडीलाई शान्ति तथा पुर्ननिर्माण, कल्पना धमलालाई विज्ञान तथा प्रविधि र रामकुमार यादवले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइनेछ । सदभावनाकी गिरीले कुन मन्त्रालय पाउने टुंगो लागेको छैन । मधेसी मोर्चासँग भएको चार बुँदे सम्झौता, भारतसँग भएको बीपा सम्झौता र सात बुँदे सहमतिप्रति विरोध गर्दै आएको वैद्य समूह
सरकारमा नजाने निष्कर्षमा पुगेपछि प्रधानमन्त्रीले सरकार विस्तार गर्न लागेका हुन् । वैद्य पक्षका लागि चार मन्त्रालय राखिएको थियो । प्रधानमन्त्रीले मधेसी मोर्चाका केही घटकले राज्यमन्त्रीका लागि सूचि पठाए पनि सपथ गराएका छैनन् । वैद्य पक्षले मन्त्रिपरिषद् विस्तारलाई 'हर्ष न विस्मात्' भनी टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष झलनाथ खनालले बाबुराम भट्टराई नेतृत्वको सरकार राष्ट्रिय सहमतिको हुन नसक्ने जिकिर गरेका छन् । भट्टराई सरकारलाई नै निरन्तरता दिए मुलुकका लागि गम्भीर भूल हुने उनको भनाइ थियो ।
  द हेडलाइनसमा सोमबार बिहान कुरा गर्दै खनालले प्रधानमन्त्रीले यही सरकारलाई राष्ट्रिय सहमतिको भनी प्रचार गरेकोमा पनि आपत्ति जनाए । 'राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे हामीसँग सहमति भएको छ । सात बुँदे सहमतिले पनि छर्लंग पारेको नै छ । तर त्यसको बारेमा विस्तृत छलफल हुन बाँकी छ । छिट्टै छलफल गरेर हामी निष्कर्षमा पुग्नुपर्छ,' खनालले भने, 'त्यस्तो गर्न र हुन सकेन भने र हैन यहि सरकार नै राष्ट्रिय सहमतिको सरकार बन्छ भन्ने ढंगका अढंगा पिट्दै हिंड्ने हो भने यसले फेरि समस्या खडा गर्न सक्दैन भन्न सकिन्न ।'
पूर्वप्रधानमन्त्री खनालले सात बुँदे सहमतिलाई संविधानसभाको म्याद थपका लागिमात्रै प्रयोग गर्न नहुने बताए । उनले सहमति कार्यान्वयनलेमात्रै संविधानसभाको म्याद थप सुनिश्चित हुने बताए ।
'यो सहमतिले सामान्य दिशाबोध गराएको छ, कयौं कुराको छिनोफानो गर्न बाँकी नै छ,' उनले भने, 'हामीहरु के गर्ने भनेर टुंगोमा पुग्यौं भनेमात्रै जेठ १४ को मितिमा के गर्ने भन्ने निष्कर्षमा पुग्छौं ।'
सात बुँदे सहमतिले सहमतिको मार्गचित्रमात्र कोरेको भन्दै अध्यक्ष खनालले यसको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले कुनै पनि दललाई बाइपास गरेर अन्य दललाई गौण नठान्न आग्रह गर्दै प्रधानमन्त्री भट्टराईलाई अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरे ।
'तीन दलभित्र कहिलेकाँहि के देखिन्छ भने हामी पो निर्णायक हौं भनेर कहिले हाम्रै प्रधानमन्त्रीले बोल्नुहुन्छ, कांग्रेस र माओवादी भए टुंगिहाल्छ नि भनिन्छ, यो वाइयात कुरा हुन्,' उनले भने, 'यो संकिर्णतावादी र जढसुत्रवादी दृष्टिकोण हो, यस्ता कुराबाट प्रधानमन्त्री मुक्त हुन सकेन भने मुलुकलाई अगाडि बढाउन कठीन हुन्छ ।'
खनालले आफूले जहिले पनि शान्ति र संविधानमा अर्जुनदृष्टि राख्ने गरेको र ढिलै भए पनि आफ्नो प्रस्तावअनुरुप सात बुँदे सहमति भएको दाबी गरे । आफू नेतृत्वको सरकार हुँदा सत्ता सहयात्री माओवादी र प्रतिपक्षी कांग्रेसबाट धोका भएकाले नै आफ्नो प्रस्ताव असफल भएको उनको भनाइ थियो ।
खनालले सरकारमा रहँदाजस्तो अहिले एमालेभित्र विवाद नभएको दाबी गरे
कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले शान्ति प्रक्रियाको टुङ्गोका लागि अहिले माओवादीको भुमिकामा सबैभन्दा महत्वपूर्ण रहेको टिप्पणी गरेका छन् । महतले भने, 'बल अब माओवादी कोर्टमा छ ।'
आप्रवासी नेपालीहरुको एक कार्यक्रमलाई न्यूयोर्कमा सम्बोधन गर्दै पूर्व अर्थमन्त्री महतले शान्ति प्रक्रियाका लागि प्रमुख दलहरु बीचको सहमति स्वागतयोग्य भए पनि यसको औचित्यपूर्ण टुङ्गोका लागि माओवादीको आफनो ईमान्दारिता देखाउने समय आएको बताए ।
'कांग्रेस, एमालेलगायतले अहिले विपक्षी पार्टी भूमिकाबाट सरकारलाई सकारात्मक सहयोग गरेका छन् । यसप्रति माओवादी संवेदशील हुनुपर्ने जरुरी छ,' उनले भने । सेना समायोजन विशेष समितिका सदस्य सदस्य समेत रहेका महतले माओवादी सेना पुर्नस्थापना अन्र्तगत स्वेच्छिक अवकाशका लागि प्रस्ताव गरिएको  रकम  ठूलो भएको उल्लेख गर्दै असन्तुष्टि ब्यक्त गरे । 'यो रकम ठुलो हो । प्रजातन्त्रका लागि लडेका सेनानीहरु समेत उपेक्षित भएको पृष्ठभूमिमा माओवादी लडाकुहरु धेरै पाउने भएका छन् ,' उनले भने ।
कांग्रेसको प्रवास संगठन, जनसम्पर्क समितीको न्युयोर्क च्याप्टर, युनाईटेड नेपलिज डेमोक्रयाट फोरम (युएनडिएफ) एवं तराईवासीहरुको अमेरिकी सञ्चाल (एन्टा)को  संयुक्त कार्यक्रममा नेता महतले प्रजातन्त्र, आर्थिक समुन्नत समाज र खुला अर्थतन्त्रमा कसैसँगै पनि सम्झौता हुन नसक्ने बताए ।
सुरक्षा सम्बन्धी अमेरिकी सरकारको एक कार्यक्रमका लागि महतसँगै हाल अमेरिकामा रहेका एमाले महासचिव ईश्वर पोख्रेलले माओवादी पार्टीको भुमिकामा शान्ति प्रक्रियाको अडिएको बताए । उनले भने, 'कांग्रेस र एमालले माओवादी सेनाको रेखदेख, पुर्नस्थापना र समायोजन मुद्वामा धेरै त्याग गरेका छन् । यो माओवादी पक्षले मनन गर्न अत्यावश्यक छ ।'
च्याप्टरका अध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षतामा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष आनन्द बिष्टले राजनीतिक पार्टीको एकता र समझदारीले मातृभुमिमा प्रगतीको आशा पलाएको बताउँदै सुखद परिणामका लागि आप्रवासी नेपालीहरु प्रतिक्षारत रहेको उल्लेख गरे । (युएनडिएफ) की अध्यक्ष सीता खरेलले परदेशमा पनि स्वदेश प्रतिको आस्था अजम्बरी रहेको उल्लेख गर्दै भनिन्, 'यो भावनालाई २१ औं शताब्दीमा राजनितीक पार्टीहरु आत्मसाथ गर्नु समयको माग हो ।'
त्यसैगरि कानुनविद् खगेन्द्र जिसी, कृष्ण पोख्रेल र (युएनडिएफ) का सन्जय थापाले वर्तमानको राजनितीक अवस्थाको बारेमा आ आफ्ना विचार राखेका थिए । कार्यक्रममा बोलाइएका सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ता भने उपस्थित भएनन् ।
एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले शान्ति प्रक्रियाप्रति इमान्दार नभए माओवादी समाप्त हुने बताएका छन् । विनासको बाटोमा जाने वा शान्ति प्रक्रियामा इमान्दार हुने दुई बिकल्प रहेको उल्लेख गर्दै उनले समाप्त हुनबाट जोगिनका लागि शान्ति प्रक्रियालाई सफल बनाउनुको बिकल्प नरहेको बताए । धेरै देशमा उग्रवामपन्थीहरु नसच्चिदा समाप्त भएको दाबी गर्दै तर, माओवादी सच्चिने बाटो लिएर शान्ति प्रक्रियामा आएको उनले बताए ।
कार्यकर्तालाई लामो समय भ्रममा राखेकाले माओवादीभित्र बिरोध र विद्रोहको स्वर उठेको बताउँदै एमाले नेता ओलीले भने,-'सरस्वती पुजा गर्न बनाएको मुर्तिझै माओवादीले जनयुद्धलाई सेलाईसकेको छ ।' तीन बर्षअघि नै सुल्भिसकेको शान्ति प्रक्रियालाई माओवादीबाट लडाकुको पैसाको थैली कुम्ल्याउन लम्ब्याएको उनले आरोप लगाए । जनयुद्धको तयारी भन्दै लडाकुका नाममा पार्टीले पैसा कुम्ल्याएकाले आफैले खनेको खाल्डोमा पर्ने डरले प्रक्रियालाई लम्ब्याएको उनको भनाई छ ।
माओवादी अहिले विचार शून्य रहेको दाबी गर्दै उनले भने,- 'जनयुद्ध सेलायो । प्रचण्डपथ घाममा बरफ झै पग्लियो । बैचारिक रुपमा माओवादी जथाभावी हुर्‍याइएको ढुंगाझै भएको छ । जहाँ खस्छ, त्यही निशाना हुनेछ ।' पार्टी काममा जुम्ला जान लागेका एमाले स्थायी कमिटी सदस्य ओलीले सोमवार बिहान नेपालगन्जमा कार्यकर्ता भेटमा जनताको बहुदलिय जनवाद नेपालका लागि सर्वोत्कृष्ट विचार भएको बताए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक