(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20111206

काग्रेस इतिहासको अर्को पाटो : बीपीको थिचोमिचो !

 नेपालको प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पुर्‍याएको योगदान
कांग्रेसमा 'चाणक्य' उपमा पाएका सूर्यप्रसाद उपाध्यायबारे प्रकाशित एउटा कृतीले नेपाली कांग्रेसको इतिहास, यसका नेताहरूको भूमिका र नेपालको प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पुर्‍याएको योगदानलाई मसिनोसँग केलाउने काम गरेको छ। ८० बढी लेखकहरूले उपाध्यायको वौद्धिक, शैक्षिक, राजनीतिक, प्रशासनिक र कूटनीतिक व्यक्तित्वबारे प्रशस्त चर्चा गरेका छन्। उनी प्रजातान्त्रिक आन्दोलनका एक मसिहा हुन भन्ने दाबीहरू छँदैछन्, त्यस बाहेक उनको राजनीतिक व्यक्तित्वलाई बिपी कोइरालाले कसरी थिचोमिचो गरे भन्ने प्रशस्त दलिलहरू छन्। 'प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय' स्मृती ग्रन्थमा काग्रेस घर भित्रकै धेरै सदस्यहरूले उनको योगदानको चर्चा गरेको छन्। उता कांग्रेस छोडेर पंचायत पसेका, पंचहरू, वामपन्थी र प्रशासन, परराष्ट्र मामलामा विज्ञ लगायतका धेरै खाले व्यक्तिव्यले सूर्यप्रसादबारे विचारहरू व्यक्त गरेका छन्। विभिन्न लेखहरूबाट अढाई दशक अघि निधन भएका एक शीर्ष राजनीतिकज्ञबारे धेरै जानकारी पाइन्छ, छरपष्ट रुपमा। धेरै जसो लेखकहरूले काग्रेसका 'चार महान' बिपी , सूवर्ण, सूर्यप्रसाद र गणेशमान मध्ये एक महान अगुवालाई कांग्रेसले चटक्क बिर्सिएको आक्ष्ेाप लगाएका छन्। लेखकहरूको अर्को निचोड हो, सूर्य प्रसादले चाहे अनुसार मुलुकको राजनीति अगाडी बढेको थियो भने सात साल अधिनै नेपाल प्रजातान्त्रिक मार्गमा प्रवेश गर्ने थियो र सत्र सालमा अवरुद्ध नेपालको
प्रजातान्त्रिक यात्रा केही वर्ष भित्रै लिकमा आउँने थियो। सत्रसालको 'कू' पछि अन्य शीर्ष नेताहरू जस्तै जेल परेर ९ महिनामै रिहा हुन पुगेका उपाध्यायले राजालाई संझाएर पंचायत भित्रबाटै प्रजातान्त्रिकरण गर्दे लग्ने मिसन अपनाएका थिए। उनको त्यही मिसन अर्न्तगत सशस्त्र क्रान्तिमा होमिएका सुवर्णले हतियारको राजनीति बिसाए भने जेलमा रहेका बिपी , गणेशमानलाई रिहा भए। तर त्यसैकै सेरोफेरोमा राजा महेन्द्रको निधन हुनपुग्यो। महेन्द्रको निधनसँगै उनको योजना भताभुङ्ग भएको चर्चा पुस्तकमा छ।

सूर्य प्रसादसँग तीन दशकसम्म नजिककको सम्बन्ध राखेका पूर्व सांसद श्रीकान्त अधिकारीले पुस्तकको पाक्कथमा 'ढिलो भएको छ, ढिलै किन नहोस प्रकाशित हुन लागेको यस स्मृती ग्रन्थका लागि लेखहरू प्रदान गरिदिनुहुने विद्धानहरूले केही बादल हटाई दिनु भएको छ ' भने जस्तै नेपाली राजनीतिक इतिहासमा प्रजातान्त्रिक आन्दोलनका अगुुवा सूर्य प्रसाद र प्रजातान्त्रिक आन्दोलन भित्र लुकेका कतिपय तथ्यहरू पस्किएर बादलहरू हटाइ दिएको अनुभव हुन्छ। ग्रन्थको अध्ययनले सूर्यप्रसाद र उनको राजनीतिक इतिहासलाई अहिलेसम्म खासै चर्चामा ल्याइएको रहेनछ र कतिपय योगदानलाई गलत किसिसमले प्रचारमा ल्याइएको रहेछ भन्ने कुराको सन्देश दिन्छ। उनलाई अहिलेसम्म गलत किसिमले प्रस्तुत गरिएको र बुझिएको छ भन्ने प्रशस्त उदाहरण र तर्कहरू पेश गरिएका छन् पुस्तकमा। सत्रसालको 'कू' पछि बिपी हरू जेलमै रहेको, सुवर्णले निर्वासनबाट हतियार उठाएको समयमा मुलुकभित्रै बसेर मेलमिलाप नीतिको वकालत गर्ने सूर्यप्रसाद त्यसबेला राजनीति र व्यवहारमा पनि काग्रेसजनको अभिभावक बनेको कुरा धेरै लेखकहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन्।

पूर्व सभामुख दमननाथ ढुंगाना लेख्छन् '२०१९ सालबाट सूर्यप्रबाबुले थालनी गरेको मेलमिलाप नीतिको जगमै सुवर्णजीको वक्तव्य आएको र बिपी र गणेशमानको रिहाई भएको थियो। सुवर्णजीको वक्तव्य मेलमिलापको नीतिको दोश्रो चरण थियो। त्यो बेला मेलमिलापको नीति यति सबल बन्दै आएको थियो कि बिपी को रिहाई विदेशी शक्तिको हात बिना र जानकारी बिना नै देशभित्रकै प्रयासबाट गनै राजा लगायत सबैको एकमत थियो। यद्धपी त्यो बाहिर गयो। बिपी जब जेलमुक्त हुनुभयो उहाँको पहिलो वक्तव्य राष्ट्रिय मेलमिलापको पक्षमै थियो। मैले सूर्यबाबुलाई जीवनमा सबैभन्दा खुशी बिपी को रिहाईको दिन देखेको थिएँ। त्यो दिन उहाँको फूर्तिनै बेग्लै थियो। तर, त्यही खुशीबाट उहाँको सबै भन्दा चिन्ता र आंशकाका दिनको सुरुवात भयो। सूर्यबाबु नेपालमै बसेर प्रजातान्त्रिकरणतर्फ लाग्नुभयो भने बिपी ले हतियार उठाउनुभयो। हतियारको राजनीतिले बिपी लाई झन् अप्ठेरो पार्‍यो। अन्ततः उहाँ २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो। त्यो मेलमिलापको जग पनि सूर्यबाबुको २०१९ सालको मेलमिलाप नीतिमै उभिएको थियो।'

सात सालको क्रान्ति बाहेक काग्रेसको करिव ७ दशकको राजनीतिक आरोह, अवरोहमा हतियार नउठाउने, देशभित्रबाटै प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्ने तर राजाले दिएको कुनै पद पनि नखाने नीति सूर्यप्रसादले अख्तियार गरेका थिए। पंचायतकालमा उनलाई प्रधानमन्त्री पद सहजै दिन सकिने कुरा कतिपय लेखकले उल्लेख गरेका छन्। त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले तत्कालिक राजनीतिकका कतिपय पाटाहरू खोतल्दै लेख्छन ' पंचायतका सूर्यबाबुले चाहेको भए जुनसुकै ठूलो पद पाउँन सक्नुहुन्थ्यो भन्ने मलाई विश्वास थियो। उहाँले पद नलिनु भएकै हो।' त्यस्तै थापा भन्छन् ' काग्रेसमा मैले के देखे भने , सूर्य प्रसादलाई इतिहासबाट हटाउन बढी खोजिएको छ र बेवास्ता गरिएको छ। सुवर्णजी पनि खेदिनु भएको छ। सुवर्णजीको नेपाली काग्रेसलाई ठूलो योगदान छ। सूर्य बाबुको झन कुरै गर्नुपरेन उहाँले काग्रेलाई मात्र होइन, नेपाललाई जोगाउन ठूलो योगदान दिनुभएको छ। त्यो एकदिन इतिहासले भन्ने छ।'


पंच सूर्य बहादुरको यो कथन जस्तै सूर्यप्रसाद योगदानलाई धुमिल पार्ने काम भएको विवेचना अरू लेखकहरूले पनि गरेका छन्। नेपालको राजनीतिमा आफ्नो पकड स्थापित गर्न बिपी कोइरालाले उनलाई २०१५ सालको आम निर्वाचनमा अर्न्तधात गरेको प्रसंग कोट्एर लेखकहरूले कोइरालाहरूको पुरानो रोगको चर्चा गरेका छन्।सूर्यप्रसादलाई रामेछापबाट पराजित गर्ने तत्कालिन गोरखा परिषदका सांसदि बेनिबहादुर कार्कीले पनि घुमाउरो पारामा कोइरालाहरूले आफूलाई जिताएको भेद खोलेका छन्।


बिपीको मृत्यु भएको करिव डेढ दशक पछि वरिष्ट अधिवक्ता गणेशराज शर्मा लेखेर जगदम्बा प्रकाशनले सार्वजनिक गरेको बिपी को आत्मवृतान्तको विश्वसनियता माथी प्रश्न चिन्ह उठाएको छ पुस्तकले। बिपी ले सूर्यसादबारे लेखेका कुराहरूको सत्यता माथी प्रश्न गर्दे कतिपय लेखकहरूले त्यसको प्रतिवाद गरेका छन्। यस अर्थमा पुस्तकले काग्रेस राजनीतिको अर्को पाटो बहसमा ल्याउने संकेत गरेको छ।


वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद घिमिरे आत्मवृतान्तबारे लेख्छन् 'यहाँ एउटा प्रश्न खडा हुन्छ, बिपी ले सूर्यबाबुलाई आत्मवृतान्तमार्फत अलि गिराइएको देखिन्छ। यसलाई नियालेर हेनर्ेे हो भने त्यो लेखिँदाको काल र परिस्थितिलाई पनि विचार गर्नुपर्छ। त्यहाँको अधिकांश वयान अप्रत्यक्ष अवस्था र अरूको भनाईबाट सुनिएको आधारबाट बनाइएको पाइन्छ। त्यहाँ आफैं प्रत्यक्ष नभएका अथवा नजरबन्दमा छँदा वा प्रवासमा छँदा जोसँग प्रत्यक्ष व्यवहार नभएर अनुमान र सुनाइएका आधारका कुरा देखिन्छन्। त्यसमा खासगरी भन्नु पर्दा २०१७ सालपछी जसको बारेमा लेखियो ती व्यक्तिसँगको प्रत्यक्षत संवाद र व्यवहार थिएन भन्ने देखिन्छ। त्यस आत्म्ावृतान्तमा छट्टु, पट्ट सचिव भनेर कृष्ण प्रसाद नाम आएको मेरो हो अरूको छैन मलाई पनि भनिएको छ।, तर त्यो बिपी ले मेरो आनिबानी भोगेर जानेर भनेको होकी अरूको भनाईमा यो विचारणिय कुरा हुन्छ। अथवा सम्पादनका क्रममा मिलाइएको पनि हुनसक्छ।'

प्राध्यापक लोकराज बरालले आत्मवृतान्तबारे प्रश्न गरेका छन्। उनले लेखेको छन् ' आत्मवृतान्तमा खासै उल्लेख नगरे पनि सूर्यबाबुले निकै मद्धत गर्नुभएको हो। आत्मवृतान्तका सबै कुरा सत्य छैनन् भन्न्ने कताकता सुन्नमा आउँदछ।...बिपी लाई जेलबाट छुटाउने काममा गिरिजाबबाुको भूमिका बढी भएको कुरा गर्नुभएको छ। यहाँ सूर्यप्रसादको भन्दा गिरिजाबाबुको बढी भूमिका हुनमा मलाई पनि त्यस्तै लाग्छ।'
आत्मवृतान्तकै बारे अच्यूतराज रेग्मी लेख्छन् ' बिपी ले आफ्नो आत्मवृतान्तमा सूर्यबाबुबारे केही असान्दर्भिक कुराहरू बोल्नु भएछ। मलाई आश्चर्य लाग्यो। उहाँले सूर्यबाबुबाट धेरै फाइदा लिनु भएको छ। हरेक समय सूर्यबाबुले बिपी लाई सहयोग गर्नुभयो। उहाँले सबैलाई सहयोग गर्नुहुन्थ्यो। मैले पनि पटक पटक आर्थिक सहयोग लिएको छु। ...त्यो गुन धेरैले भूलेका छन्। बिपी ले पनि भुल्नुभयो।'


आफू जेलबाट रिहा भएपछि गिरिजा प्रसादलाई जेल मुक्त गराउने, जेल परेकालाई खर्च, औषधी मुलो र उनका परिवारको रासन पानी, पढाईमा सूर्यप्रसादले सहयोग गरेको चर्चा जताततै पढ्न पाइन्छ। बिपी लाई बिपी बनाउन सूर्यप्रसादले ठूलो लगानी गरेको कुरा जत्रतत्र भेटिन्छन्, पुस्तकमा। निर्वाचनमा पराजित सूर्य प्रसादलाई गृहमन्त्री बनाउनै पर्ने वाध्यता बिपी लाई के थियो? यस्ता प्रश्नका उत्तरहरू छन् पुस्तकमा। त्यसो त २०३६ सालको जनमतस्रगहमा काग्रेसका बिपी कोइराला र उपाध्याय फरक फरक किसिमले बहुदलको प्रचारमा लाग्न्नुनै पंचायतको जीतको एक कारण हो भनेर दाबी गर्नेहरू पनि छन्। सूर्य प्रसाद दूरदर्शी राजनीतिक, मिहिन कूटनीतिज्ञ, शिक्षाविद र कूशल प्रशासक जस्ता उच्च विशिष्ठताका धनी थिए भन्ने कुरा लेखकहरूले उदारमनले व्यक्त गरेका छन्। शैलेन्द्रकुमार उपाध्याय लेख्छन ' बिपी विद्धान हुनुहुन्थ्यो, सर्वमान्य हुनुहुन्थ्यो। तर भित्रि विश्लेषणमा कमजोर हुनुहुन्थ्यो र भित्रि कुरामा सूर्यबाबु बेजोड हुनुहुन्थ्यो। सूर्य बाबु र बिपी लाई मिल्न नरोकिएको भए जनमत संग्रहमा राम्रो परिणाम आउँन सक्दथ्यो।'


बिपी को राजनीतिक दूरदर्शिता र विश्लेषणबारे विश्वेश्वर प्रसाद रिमालले एउटा रोचक घटना प्रस्तुत गरेका छन्। रिमाल लेख्छन् ' प्रजातन्त्र जाने बेला २०१७ पुष १ गतेको अघिल्लो दिनको घटना छ। बिपी ले राजालाई भेटुनु भएछ , राम्रो कुराकानी भएछ, एकै टेबल र प्लेटमा खानेकुरा खाएछन। दुबै जनाले मन खोलेर कुरा पनि गरेछन्। बिपी को महेन्द्रले खुब प्रशंसा गरेछन्। छलफलपछि दरबारबाट प्रधानमन्त्री क्वाटर नगई राती सरासर सूर्यबाबुको घरमा आउनुभयो। उहाँको मध्यरात , विहान, जहिले पनि सूर्यबाबुकहाँ आउने, बस्ने खाने बहस गर्ने चलन थियो। खुइय गर्दे, भर्‍याङबाट माथिल्लो तलामा जाँदै गर्दा बाटोबाटै भन्नुभयो। सूर्यबाबु, मैले सारा दरबारसँगका समस्या मिलाईदिएको छु। तपाईहरू अनावश्यक शंका गर्नुहुन्छ। दरबारसँग हाम्रो कुनै मतभेद छैन। कोठा भित्र पसेपछि सूर्यबाबुले ढोका लगाउनुभयो। त्यसपछी दुईको चर्के भनाभन भयो। सूर्यबाबु र बिपी बाहिर दुबैले अत्यन्त श्रद्धा गरे पनि कोठा भित्र बसेपछि चर्काचर्की, तँ तँ, म,म हुने गर्दथ्यो। कुनै औपचारिकता थिएन। त्यो कोठा भित्रै सिमित थियो। चर्काचर्कीमा सूर्यबाबुले भन्नुभएछ बिपी बाबु अब हामी गयौं, तपाई झक्किनुभयो, राजा धेरै बाठा र षडयन्त्रकारी छन्। अन्ततः त्यही भयो भोलिपल्ट सबै नेताहरू जेल पर्नुभयो। त्यो घटना हामीले बाहिरबाट सुनिरहेका थियौं।' रिमाल, सूर्य प्रसादका छोरी ज्वाई हुन्। ठूलो संख्याका लेखकहरूको आत्मपरक प्रस्तुतीमा यस्ता धेरै खाले रोचक कुराहरू छन्।


बिपी कोइरालको आत्मवृतान्तको प्रकासन पछि उनको योगदानको नकारात्मक तस्बीर प्रस्तुत भएको अवस्था छ। प्रस्तुत पुस्तकले आत्मवृतान्तले बनाएको छवी पखाल्ने प्रशस्त तर्क र विचारहरू पेश गरेको छ। पुस्तकमा उनको समन्वयकारी भूमिकाकै कारण दरबार र भारत जस्ता नेपालको राजनीतिमा गहिरो अर्थ राख्नेहरूबीच पनि बेलाबेलामा सन्तुलन राख्न भूमिका खेलेको चर्चाहरू छन्। बिपी को समाववादी नेता जयप्रकाश नारायणहरूसँगको सम्बन्ध र सूर्य प्रसादको नेहरू परिवारसँगको गहिरो पारिवारिक सम्बन्धका कारण पनि सूयप्रसादबारे गलत धारणा बन्न पुगेको लेखकहरूले औंल्याएका छन्। नेहरू भारतको राजनीतिमा प्रभावकारी भैरहनु र जयप्रकाशहरू प्रतिपक्षीमा हुनुले पनि बिपी र सूर्यप्रसाद एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टीमा भिन्नता आएको धारणाहरू पुस्तकमा पढ्न पाइन्छ।


पुस्तकले सूर्य प्रसादको राजनीतिक शान्तिपुर्ण र समन्वयकारी भएको सन्देश दिन्छ, नकी बिपी र कतिपय काग्रेसले आक्षेप लगाए जस्तो दरवारिया र भारतीय भनेजस्तो। तत्कालिन समाजमा दुई विषयमा एमए, बिएल र बिटी जस्ता उच्च शिक्षा प्राप्त गरेका उपाध्याय नेपालको पहिलो शिक्षा इन्सपेक्टर पनि हुन।दरबारसँग जोडिएको कूलिन परिवारका सदस्य सूर्यप्रसादले पद्म शम्सेरकै पालामा मुलुकको शासन व्यवस्थालाई प्रजातान्त्रिकरण गर्ने भित्रि प्रयास गरेका थिए। उनको यो रणनीति मोहन शम्सेरहरूले रुचाएनन्, उनी रातारात भारत निर्वासमा पसेर त्यहीबाट राणा शासन विरुद्ध हतियार उठाउने राजनीतिमा होमिए।

पुस्तकमा प्रदीप गिरीको '...सूर्य प्रसाद कांग्रेस राजनीतिका निम्ति त विशेष अर्थ राख्नु हुन्छ, दुर्भाग्यवश आजका मितिसम्म काग्रेसको विस्तुत र प्रमाणिक इतिहास लेखिएको छैन। इतिहासको नाममा जे लेखिएका छन्, ती कथाकुथुड्ग्री जस्ता छन् ' भन्ने टिप्पणी छ। महामुनिश्वर आचार्यले धेरै जनाबाट लेखहरू संकलन र सम्पादन गरेको स्मृतीग्रन्थमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सूर्य प्रसाद उपाध्यायको केन्द्रिय भूमिकाको उत्खनन् गरिएको छ। सूर्यप्रसाद उपाध्याय, उनको राजनीतिक यात्रा र प्रजातान्त्रिक आन्दोलनबारे जानकारी राख्न खोज्नेहरूका लागि पुस्तक स्रगहनीय सामाग्रि बन्नसक्छ।महामुनिश्वरले सूर्यप्रसादको पाटोबाट काग्रेस इतिहासको उत्खनन् गरेका छन्। यसले काग्रेसको इतिहासबारे थप अध्ययन,अनुसनधानको खाँचो औल्याएको छ।

                                       
नेपाली कांग्रेसको गत १२ औं महाधिवेशनको सिलसिलामा महाधिवेशन प्रतिनिधि चुनिएका केही नयाँ अनुहारका युवाहरूले बीपीलाई समेत चिनेनन् । सार्वजनिक कार्यक्रममा 'यो दाह्री पालेका बूढा को हुन् ?' भनेर बीपीको तस्बिर देखाउँदै गरेका ती युवा प्रतिनिधिले सम्भवतः कांग्रेसका पुराना चार 'खम्बा'मध्येका सूर्यप्रसाद उपाध्याय अर्थात् 'सूर्यबाबु' लाई त झन् चिन्ने कुरै भएन । नेपाली कांग्रेसको इतिहासमा नै सूर्यबाबु 'सेप'मा परेका पात्र हुन् । सम्भवतः केन्द्रीय कार्यालयलाई छाडेर अन्य जिल्ला कार्यसमितिमा हेर्ने हो भने अहिले उनको तस्बिरसम्म देख्न सकिँदैन ।

इतिहास आफैं बन्दैन । त्यसलाई बनाउने मानिसले नै हो । सूर्यप्रसाद इतिहासमा ठगिएका एउटा पात्र हुन्, जसलाई कांग्रेसले कहिल्यै सम्झने चेष्टा गरेन । नेपाली कांग्रेसको राजनीतिको मूलप्रवाहबाट मातृकाप्रसाद कोइराला अस्ताएपछि कांग्रेसभित्र विकसित चार खम्बाको एउटा खम्बा थिए-सूर्यप्रसाद । २००७ सालको क्रान्तिको निणर्ायक पुस्ताको रूपमा रहेको पहिलो पुस्ताका नेतामा उनको गणना गरिन्छ । 

अहिले कांग्रेसभित्र देखिएको गुट, उपगुट, घात प्रतिघातको राजनीति उति बेला पनि झांगिएको थियो । त्यसैले कतिपय विश्लेषक कांग्रेसभित्र अहिलेको विवादलाई 'संस्थागत रोग' पनि भन्छन् । यस्तै आरोह र अवरोहका घटनाक्रम र  मन नमिल्दाको परिणाम टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, मातृकाप्रसाद कोइराला, डाक्टर केआई सिंह कांग्रेसमा अटाउन सकेनन् । पूर्वसांसद श्रीकान्त अधिकारीको भनाइमा मातृकाप्रसादको बहिर्गमनपछि नै बीपी, सुवर्णशमशेर, गणेशमान र सूर्यबाबुको सामूहिक नेतृत्व स्थापित भयो, जसलाई चार पिलरको रूपमा चित्रण गर्न थालियो । यी चार नेतालाई 'चार तारा' को संज्ञा पनि दिइन्थ्यो । 

त्यति बेला बीपीलाई कांग्रेसको मुख भनिन्थ्यो भने सूर्यप्रसादलाई मस्तिष्क । गणेशमानलाई मुटु र सुवर्णशमशेरलाई प्राणवायुको संज्ञा दिइन्थ्यो । सूर्यप्रसादलाई मस्तिष्क किन भनिएको थियो त ? उनको जीवनी र आन्दोलनमा पुर्‍याएको योगदानलाई समेटर महामुनिश्वर आचार्यले हालै प्रकाशित गरेको 'प्रजातान्त्रिक आन्दोलनका बहुआयमिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय' पुस्तकले उजागर गरेको छ ।  

पुस्तक केवल सूर्यप्रसादको बहुआयमिक व्यक्तित्वबारेको चर्चामा मात्रै सीमित छैन । सिंगो नेपाली कांग्रेसको दर्शन र इतिहाससमेत त्यसभित्र जोडिएको छ । पुस्तकमा सूर्यप्रसादलाई नजिकबाट चिन्ने तत्कालीन शासक, राजनीतिज्ञ, पार्टीका नेता, साहित्यकार, चिकित्सक लगायत ८५ जनाले तत्कालीन राजनीतिक परिवेशमा सूर्यप्रसादको भूमिकाको उल्लेख गरेका छन् । अच्युतराज रेग्मी, अर्जुननरसिंह केसी, आमोदप्रसाद उपाध्याय, श्रीकान्त अधिकारी, डा. केशरजंग रायमाझी, कृष्णप्रसाद भण्डारी, श्रीभद्र शर्मा, कीर्तिनिधि विष्ट, गोविन्दबहादुर मल्ल, 'गोठाले', प्रदीप गिरि, रामहरि जोशी, प्रा. लोकराज बराल, लक्ष्मणप्रसाद घिमिरे, सूर्यबहादुर थापा, विश्वबन्धु थापा, लगायतकाको अनुभूति पुस्तकमा छन् । ४ सय १४ पेजको पुस्तकमा इतिहासको एउटा मोडबाट हराएका सूर्यप्रसादलाई लेखकले  बाहिर ल्याउने जमर्को गरेका छन् । 

जीवनभर प्रजातन्त्रका लागि संघर्षरत रहे पनि पञ्चायतसँग नजिकिएको आरोप सूर्यप्रसादलाई जीवनको आखिरी मोडतिर लाग्यो । यही विषयलाई लिएर २०१७ सालको काण्डपछि बिस्तारै सूर्यप्रसाद र बीपीबीच मनमुटाव सुरु भयो । सूर्यप्रसाद सन्तुलनवादी नेता थिए । सायदै त्यही विशेषताका कारण उनको दरबार र भारतसँग सम्बन्ध राम्रो थियो । बीपी र सूर्यबाबुका बीच राजनीतिक विषयमा छलफलदेखि व्यक्तिगत सम्बन्ध पनि निकट रहेको पुस्तक पढ्दा थाहा हुन्छ । विश्वेश्वरप्रसाद रिमालका अनुसार 'सूर्यबाबु' कोमा बीपी सबैभन्दा बढी जाने, खाने र बस्ने गर्दथे । सुवर्णशमशेरकोमा सरासर जाने चलन थिएन । बीपी 'सूर्यबाबु'को कोठामा सरासर जाने र बेडमै सुत्ने गर्दथे । 

चार खम्बामा बीपी र गणेशमान एउटा पक्षमा र सुवर्णशमशेर र सूर्यप्रसाद अर्को पक्षमा थिए । २०१५ सालको निर्वाचनपछि राजा सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन चाहन्थे । पार्टीबाट गणेशमानले विरोध गरे । बीपीले प्रधानमन्त्री हुने इच्छा देखाएका थिए । गणेशमान बीपीलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने पक्षमा उभिए भने सूर्यप्रसाद सुवर्णशमशेरको पक्षमा थिए । 'विवाद देखिएपछि सुशीला भाउजूले -बीपीको श्रीमती) बीपीलाई प्रधानमन्त्री नबन्न आग्रह गरिन् । 'बीपीको हठपछि सुशीला भाउजू, म र बीपी भएको ठाउँमा एउटा सर्त भयो । उहाँ एक वर्षका लागि मात्रै प्रधानमन्त्री बन्ने र त्यसपछि सुवर्णशमशेरलाई बनाउने कुरा भएको थियो,' रिमालले भनेका छन् ।   

भारतको संस्थापन पक्षसँग बीपीको सूर्यबाबुको जति राम्रो सम्बन्ध थिएन । सूर्यप्रसादले भारत र दरबारसँग सन्तुलनकारी भूमिकामा आफूलाई राखेर राजनीति गरेका थिए भने बीपी, गणेशमान लगायतले त्यसविपरीत आफूलाई जोखिममा राखेर प्रजातन्त्रका लागि लडेका थिए । उनको सन्तुलनकारी भूमिकालाई पूर्वसांसद रेग्मीले यसरी चित्रण गरेका छन्, 'राजा महेन्द्र भारतसँग चिढिएर चीनसँग नजिकिएको बेला सूर्यबाबुले राजालाई भारत र नेहरूलाई चीन देखाएर यहाँको भूराजनीतिक सन्तुलन ल्याउन ठूलो सहयोग पुर्‍याउनुभएको थियो ।' 

कांग्रेस नेता अर्जुननरसिंह केसीको अनुभवमा २०१७ सालको घटनापछि 'सूर्यबाबु'मा केही सम्झौतापूर्ण विचार तथा दृष्टिकोण पलाएको थियो । त्यही दृष्टिकोणबाट नेपाली कांग्रेसलाई समन्वय गराएर लैजाने विचार उनमा आयो । पञ्चायतलाई प्रजातन्त्रीकरण गर्ने कल्पना सूर्यप्रसादको थियो । बीपी त्यो विचारसँग सहमत थिएनन् । केसीले भनेका छन्, 'निर्णय जनताबाट हुनुपर्दछ भन्ने साहसिक पक्षका लागि म बीपीबाट प्रभावित छु । तर यो आन्तरिक सम्बन्ध, सन्तुलन, आफूसँग असहमतहरूसँग पनि सहमति खोज्ने र विवादका बीचमा उभिएर मिलाइदिनेजस्ता मिहिन काममा चाहिँ सूर्यबाबुसँग प्रभावित छु ।' 

केसीले कांग्रेसको मूलधारमा गएर आन्दोलन हाँक्न नसक्ने सूर्यप्रसादको कमजोरी रहेको औंल्याएका छन् । केसीले पुस्तकको एउटा प्रसंगमा भनेका छन्, 'सूर्यप्रसाद जनसमूहबीच जानु भएन । त्यो ठाउँ बीपीले लिनुभयो । सूर्यबाबु एक कुशल राजनीतिज्ञ हुनुभयो, तर सफल नेता भने बन्नु भएन । सबैलाई मिलाएर जाने भन्दाभन्दै उहाँ आफैं जानुभयो ।' सूर्यप्रसाद र बीपीबीच कटुता बढ्नुमा पञ्चायतले दिएको किसान संगठनको सदस्यता पनि प्रमुख रहेको पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले उल्लेख गरेका छन् । त्यसपछि सूर्यप्रसाद नेपाली कांग्रेसको मूल प्रवाहबाट नै अलग्गिन पुगे । दरबारसँगको राजनीतिक सन्तुलन मिलाउनका लागि त्यो पद लिएका भए पनि सूर्यप्रसादले पञ्चायतसँग कुनै पद नमागेको थापाले उल्लेख गरेका छन् । 

पुस्तकमा पत्रकार इन्द्रकान्त मिश्रले कांग्रेसको अहिलेको नियति सुवर्णशमशेर र सूर्यप्रसादलाई 'माइनस' गरेकाले भएको तितो पोखेका छन् । 'कोइराला परिवारले सामन्जस्यता र समानताको राजनीति गरेन । आज पनि त्यही भइरहेको छ । खालि कोइराला परिवारको मात्रै हालिमुहाली छ,' उनले भनेका छन् ।

2 comments:

  1. This is fact of nepali politics . Alwars comes true

    ReplyDelete
  2. Thank you Nepal Mother for publishing all the articles of Surya Babu.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक