20111221

अझै भन "बाबुरामलाई काम गर्न देउ" : आफुले आफैलाइ सफल प्रधानमन्त्री भन्दै डिस्टिङ्सन नम्बर दिने ४९ मन्त्रीका प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका निर्णयले यसरी देशमा आगो सल्किदै छ !

दैनिक ‍औसत १० घण्टाको लोडसेडिङको मार खेप्दै आएका उपभोक्ताले अर्को महिनादेखि २० प्रतिशत बढी महसूल तिर्नुपर्ने भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी माघ १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत वृद्धि गर्न आज सैद्धान्तिक सहमति
दिएका हुन्। विद्युत् महसुल निर्धारण आयोगका अध्यक्ष गणेशप्रसाद सुब्बाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री भट्टराईलाई आज भेट गर्ने क्रममा प्रधानमन्त्रीले महसूल बढाउन सहमति जनाएका थिए। भेटपछि पत्रकारसँग कुरा गर्दै आयोगका अध्यक्ष सुब्बाले आयोगको सुझावमा प्रधानमन्त्री भट्टराईले सैद्धान्तिक सहमति जनाएकाले आगामी माघ १ गतेदेखि विद्युत् महसुल २० प्रतिशत बढ्ने जानकारी दिए। राससका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल ३० प्रतिशत बढाउन प्रस्ताव राखे पनि आयोगले हाललाई विद्युतको मूल्य २० प्रतिशतले बढाउने सुझाव अघि सारेको छ।

मन्त्रिपरिषदले मङ्गलबार पारित गरेको नेपाली सेनालाई समावेशी बनाउनेसम्बन्धी नीतिपत्र १५ दिनभित्र खारेज नगरे तराईका आदिबासी थारु समुदायले राज्यविरुद्ध विद्रोह गर्ने अल्टिमेटम दिएका छन्। सरकारले यसअन्तर्गत ३ हजार मधेसीलाई सेनामा भर्ना लिने निर्णय गरेको थियो। थारु तराई पार्टी नेपालसहितका ६ वटा थारु जातीय सङ्घ/सङ्गठनले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तराईका आदिवासी थारुलाई मधेसी बनाउने षडयन्त्र भएको भन्दै नीतिपत्र खारेजीको माग गरेका हुन। कार्यक्रममा थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले १५ दिनभित्र नीतिपत्र खारेज नभए राज्यविरुद्ध सशक्त विद्रोह गर्ने चेतावनी दिँदै भने– नीतिपत्र खारेज नगरे हामी केही जान्दैनौं। कहाँ मधेसी र मधेस छ ? तराईलाई कुनै पनि हालतमा मधेस बन्न दिँदैनौं। उनले तराईको अखण्डताका लागि आफूहरु जे गर्न पनि तयार रहेको स्पष्ट पार्दै मधेसवादी दलहरु, सरकार र थारुको नाममा गद्दारी गर्ने उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारविरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिए। उनले आन्दोलनको तयारीकै लागि पुस २३ र २४ गते नेपालगन्जमा थारु युवाहरुको राष्ट्रिय सम्मेलन गरेर निर्णायक आन्दोलन सुरु गर्ने जानकारी दिए। थारुले थारुलाई हुँदै नभएको मधेसी बनाएर पहिचान खोस्ने षडयन्त्र भएको भन्दै त्यसलाई कुनै पनि हालतमा नसहने चेतावनी पनि उनले दिए। उनले मधेसमा विदेशीलाई बसाउन नागरिकता विधेयक संशोधन गर्ने तयारी भएको भन्दै कुनै पनि हालतमा त्यस्ते विधेयक ल्याउन नदिनेसमेत स्पष्ट पारे।

 नेपाल मुस्लिम इत्तेहाद संगठनले मुस्लिम जातीको पनि छुट्टै सेनामा व्यवस्था गर्नु पर्ने माग गरेको छ। मधेशीलाई जातीय ढंगले सेनामा प्रवेश गराएर बटालिएन बनाउने योजनासँगै सो सगठनले यो माग गरेको हो।  हालै वीरगंजमा सम्पन्न संगठनको पांचौ महाधिवेशनबाट निर्वाचित  नयाू कार्य समितिले मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो। मधेशमा बसोबास गर्ने दोस्रो ठूलो जाती र करिब ४० लाख जनसंख्या भएको मुस्लिम जातीको संविधानको धारा ३३ को उपधारा १ को घ अनुसार छुट्टै पहिचान हुनु पर्ने संगठनका अध्यक्ष महमुद आलमले बताए। उनले मुस्लिमलाई मधेशीमा राखिएको भन्दै मुस्लिम मधेशी नभएको पनि दावी गरे। मुस्लिमलाई छुट्टै जातिको पहिचानको रुपमा संबिधानमा नअटाउने र मधेसीको लागि जातीय ढंगले सेनामा बटालियन बनाउने हो भने आफूहरुको माग पनि संबोधन हुनुपर्ने आलमले माग गरे। जातीय र क्षेत्रीय सवालमा मधेशीको छुट्टै सेना बनाइने हो भने मुस्लिमको अवस्था के हुने भन्दै संगठनले सरकारसँग प्रतिप्रश्न पनि गरेको छ। 


नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले नेपाली सेनामा तीन हजार मधेसी भर्ना गर्ने सरकारको निर्णय मान्य नहुने बताएका छन्। उनले तराईको नाममा मधेसवादी दलले सधैं अन्याय गरेको बताउँदै सेनामा भर्ना प्रक्रिया नथाल्न सरकारलाई चेतावनी दिएका छन्। पाल्पामा बुधबार बिहान आदिवासी जनजाति पत्रकार सङ्घ (अनिज) पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जहानिया राणा शासनकालदेखि मधेसीहरुको राज्यका अङ्गमा प्रर्याप्त प्रतिनिधित्व रहेको तर तराईका बहुसङ्ख्यक अन्य आदिवासी उपेक्षित रहेको तर्क गर्दै मधेसी मात्रलाई सेनामा भर्ना गर्ने निर्णय राष्ट्रघाती र समग्र तराई विरोधी निर्णय भएको बताए। उनले यो निर्णयविरुद्ध आन्दोलन गर्ने र सरकारको ध्यानाकर्षण गर्ने पनि बताए। 'अहिलेसम्म तराईबाट लाभको पदमा कसैले प्रतिनिधित्व गरेको छ भने त्यो मात्रै मधेसी समुदायले गरेको छ,’ उनले भने– तर तराईका थारुलगायत् अन्य समुदाय सधैं वञ्चित नै रहे। पुनः टाठाबाठा मधेसी नेताको बहकाउमा आएर सरकारले गरेको निर्णय हामी मान्ने छैनौं। दाबी गरिएअनुसार १४ प्रतिशत मधेसी समुदाय तराईमा नरहेको भन्दै कुनकुन जाति मधेसी हुन भन्ने सरकारले सूचीकृत नै नगरेको बताए। 'सूचीकृत गर्ने हो भने तराईमा मधेसी समुदाय ९ प्रतिशत पनि छैनन्’- उनले भने। उनले सेनामा भर्ना प्रक्रिया सुरु गरे कस्तोखालको विरोध हुन्छ भन्ने सञ्चारकर्मीको जवाफमा त्यो तय नभइसकेको बताए। हालै गठन गरिएको राज्य पुनः संरचना आयोगको औचित्य नभएको पनि लेखीले बताए। 'तीन वर्षपहिले गठन गर्नुपर्ने आयोग अहिले गठन भएको छ, यस्तो आयोगले सरकार प्रमुख बाबुरामजीलाई त सुझाव दिन सक्छ तर संविधान सभालाई सुझाव दिन मिल्दैन, हामी आयोगले दिने सुझावलाई कुल्चेर अघि बढ्ने छौं, त्यो मान्य हुने छैन’- उनले चेतावनी दिए।
नेकपा एकीकृतले सेनामा मधेसी युवाहरुलाई सामूहिक प्रवेशले राष्ट्रिय एकतामा आँच पुर्‍याउने भन्दै त्यसो नगर्न सरकारलाई चेतावनी दिएको छ। धरानमा सम्पन्न चार दिने केन्द्रीय समिति बैठकले पारित गरेको प्रस्तावहरु सार्वजनिक गर्ने क्रममा एकीकृतले यस्तो चेतावनी दिएको हो।

‘सेनामा समानुपातिक रुपमा प्रवेश गराउनु न्यायोचित हुनसक्छ, तर कुनै एउटा समुदायको छुट्टै रेजिमेन्ट बनाउने कुराले राष्टिय एकतामै आँच पुग्छ भन्ने हाम्रो ठहर हो'-नेकपा एकीकृतका केन्द्रीय सचिव सीताराम तामाङले भने-‘त्यसैले सेना जस्तो राज्यको प्रमुख अंगमा संस्थागत, जातिगत वा समूहगत प्रवेश गराउने नीतिको सबैले विरोध गर्नुपर्छ।'
उनले जनतामा आधारित सुरक्षा प्रणाली स्थापित गराउँदै सेनाको संख्या पनि घटाउनुपर्ने पार्टीले ठहर गरेको प्रष्ट पारे। ‘जनतालाई नै सुरक्षाको तालिम दिलाउनुपर्छ र मुलुकलाई ठुलो आर्थिक भार नपर्ने गरि सेनाको संख्या घटाउनुपर्छ'-तामाङले भने।

पार्टी यतिबेला जनसंघर्षको चरणमा रहेको बताउदै सचिव तामाङले मार्क्सवाद, लेलिनवाद, माओवाद र नौलो जनवादी क्रान्तिमा विश्वास गर्ने पार्टी भएकोले वर्ग संघर्षको चरणमा भूमिगत भएर क्रान्ति गर्ने प्रष्ट पारे। ‘सशस्त्र क्रान्तिबिना देश र जनताले मुक्ति पाउनसक्दैन'-उनले भने-‘त्यसैले, अहिले नै नभनौं, सत्ता कब्जा गर्नको लागि कुनै न कुनै बेला क्रान्ति अनिवार्य छ।'

एकीकृत माओवादीभित्रको वैद्य समूहले पार्टीमा विद्रोह गरेर स्पष्ट विचारसहित आएमा भविष्यमा मोर्चा बनाएर क्रान्तिमा होमिनसक्ने उनले बताए। ‘कुरा मिल्यो भने वैद्य जीहरुसँग मिलेर क्रान्तिको बाटोमा हिड्छौं'-उनले भने -‘तर, उहाँहरुमा स्पष्ट हुनुपर्छ।' तथापी उनले किरण वैद्यलाई पार्टी नफुटाई मिलेर जान उनले सुझाव दिए। एकीकृत माओवादी सभ्रान्त, दलाल, नोकरशाहीको पार्टी बनेर सत्तामा पुगेकोले कांग्रेस र एमालेकै हाराहारीमा पुगेको आरोप लगाए। माओवादी संविधान बनाउनु भन्दा पनि प्रधानमन्त्रीको कुर्सीको खेलमा लागेकोले शान्ति र संविधान बन्ने आशा नरहेको उनले बताए।

भारतसँग भएको विपा सम्झौता राष्ट्रहित विपरीत भएकोले यथास्थितिमा अनुमोदन नगर्न नेकपा एकीकृतले व्यवस्थापिका संसदको ध्यानाकर्षण समेत गराएको छ। मंसिर २८ गतेदेखि पुस ४ गतेसम्म धरानमा सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनले पारित गरेको ११ वटा दस्तावेजहरु सम्बन्धी कार्यशाला सम्पन्न गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। यसका साथै, सचिव तामाङको नेतृत्वमा १५ सदस्यीय पोलिटब्युरो र ४ सदस्यीय सचिवालय गठन गरेको एकीकृतले जानकारी दिएको छ।

शित लहर र चिसोले दर्जनौ को ज्यान जाँदा सरकार बेखबर भएपछी .... 

एक सातादेखिको निरन्तर शीतलहरले बढेको चिसोका कारण महोत्तरीमा एकै रात ९ जनाको मृत्यु भएको छ। आइतबार रातिदेखि सोमबार साँझसम्म एउटै गाउँ सिङ्याहीका ६ र अन्य गाउँका ३ जनाको मृत्यु भएको हो। योसहित महोत्तरीमा साताभित्रै चिसोले मृत्यु हुनेको संख्या १४ पुगेको छ। धनुषामा १ जनाले ज्यान गुमाएका छन् भने रौतहटमा ६ र पर्सामा १ जनाको मृत्यु भइसकेको छ। स्थानीयका अनुसार महोत्तरीमा अत्यधिक चिसोले मृत्यु हुनेमा सिङ्याही गाविसका ६५ वर्षीय महेन्द्र राउत, ६२ वर्षीया सोनिया पासवान, ६२ वर्षीय भवारी पासवान, ७५ वर्षीय माउजे ठाकुर, इलिया मण्डल, सोनाबती बटार छन्। स्थानीय प्रहरीले भने राउत र पासवानको मृत्यु मात्र पुष्टि गरेको छ। प्रहरीका अनुसार नैन्ही गाविसका रामनारायण पाण्डे, बथनहा गाविसका पप्पु झा र मनरा गाविसका बनारसीदेवी साहको पनि मृत्यु भएको छ। चिसोले मृत्यु हुने सबैजसो वृद्धवृद्धा छन्। महोत्तरीमै यसअघि चिसोले ५ जनाको मृत्यु भइसकेको छ। महोत्तरी मटिहानीस्थित लक्ष्मीनारायण मठका साधु ९० वर्षीय लक्ष्मणदास वैष्णव, हरिणमरी-९ का ७० वर्षीय उत्तिम सरदार, सोनौल -२ का ५२ वर्षीया शान्तिदेवी, सुगा -५ का १३ वर्षीय लाल मोहम्मद धोबी र जाउखका ६५ वर्षीय अघनु मण्डलले साताभित्रै चिसोका कारण ज्यान गुमाएका हुन्। धनुषा रघुनाथपुर-२ किरकपुरका ६३ वर्षीया बुधनीदेवी यादवको अत्यधिक चिसोले आइतबार मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। चिसो बढेपछि स्थानीय प्रश्ाासनले जनकपुरका डेढ दर्जन चोकमा धुनी बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ। जिल्ला रेडक्रस, जनस्वास्थ्य कार्यालय, जिल्ला विकास समिति, वन र महिला विकास कार्यालयका प्रमुखहरूको बैठकले चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको धनुषा प्रशासनका अधिकृत श्रवण साहले जानकारी दिए। हुस्सुले 'भिजिबिलिटी' नपुगेर मंगलबारदेखि जनकपुर विमानस्थलमा उडान बन्द भएको छ। बुद्ध र यति एयरलायन्सले जनकपुर-काठमाडौंमा दैनिक चार उडान भर्दै आएका छन्। चिसोले सडकमा सवारी साधनको संख्या घटेको छ। जनकपुरस्थित बाबा आयलका सञ्चालक विष्णुदेव साहका अनुसार केही दिनयता पेट्रोल भर्न आउने मोटरसाइकल र जिपको संख्या आधा घटेको छ। शीतलहरले पशुपंक्षी र बालीनालीमा पनि असर पारेको विशेषज्ञ बताउँछन्। ‘शीतलहरले गहुँ, टमाटर, आलु, प्याज र लसुनलगायत तरकारीमा असर पारेको छ,' धनुषा कृषि विकास कार्यालयका प्रमुख विष्णुदेव यादवले भने। अहिले धान काटेर गहुँ लगाउने याम हो। चिसोमा गहुँ छर्दा राम्ररी उम्रन नसक्नेे भएकाले किसान मर्कामा परेका छन्। शीतलहरले आलु, टमाटर र प्याजमा डढुवा लागेको उनले बताए। तराईमा अत्यधिक चिसो बढेकाले वीरगन्जको एक निजी कलेजका विद्यार्थीले सोमबार वीरगन्ज-१८ पिपरामठका विपन्न बालबालिकालाई पुराना कपडा वितरण गरे।
तराई क्षेत्रमा वर्षेनी हुने शीतलहरका कारण स्थानीय बासिन्दाको मृत्यु हुने क्रम बढ्दै जाँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आज सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। चिसोबाट पीडित नागरिकको जीवन रक्षार्थ कारण देखाउ आदेश जारी हुने दिनमै विशेष आदेश जारी गर्न रिटमा माग गरिएको छ। अधिवक्ता माधव बस्नेतले दायर गरेको रिटमा हरेक वर्ष शीतलहरको क्रम बढिरहँदा पनि सरकारले कुनै नीति नबनाएको, मृत्यु हुनेको सही तथ्याङ्क सङ्कलन नगरिएको, प्रधानमन्त्रीको मातहतमा राहत कोष तथा गृहमन्त्रालयमा विपद् व्यवस्थापन महाशाखा स्थापना नभएको तथा आर्थिक सहयोग, चन्दा र पुरस्कारका नाममा करोडौँको रकमको व्यवस्था गरिए पनि त्यसको सही सदुपयोग नभएको जनाइएको छ। सातदिनभित्रै यो रिटको सुनुवाइको पेशी तोकी लिखित जवाफ पेस गर्न लगाउन, उल्लेखित कोष वा अन्य स्रोतबाट रकम खर्च गरी पीडितको जीवन रक्षार्थ तत्काल परमादेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक