20111219

माओवादी पार्टी भित्रको नाटक बुझी नसक्नु छ बा ! प्रचण्ड–बाबुरामलाई अपराधी करार गरी कारबाही गर्नुपर्छः बैद्य पक्ष

माओवादी बैद्य पक्षको मुख पत्र लेख्छ : ०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता ‘क्रान्तिकारी इतिहासको असाध्यै दुखद् क्षण " ‘प्रचण्ड–बाबुरामलाई पार्टीबाट गलहत्याउने’
प्रचण्ड–बाबुरामलाई अपराधी करार गरी कारबाही गर्नुपर्छः वैद्य पक्ष
- दीपेन्द्र कुँवर

मोहन बैद्यसंग BBC Nepali Service

माओवादी नेताहरुले पार्टी एक भएरै छाड्ने दावी गरिरहेका छन् तर माओवादीका गतिविधि र अभिव्यक्तिले माओवादी भित्रको एकता औपचारिकता मात्रै हो र ढिलो चाँडो माओवादीमा फूटको घोषणा हुनेछ भन्ने स्पष्ट संकेत गरेको छ ।  यसको पछिल्लो उदाहरण बनेको छ, माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षको पत्रिका ‘कम्यूनिष्ट आउटलुक’को पुष महिनाको अंक । पत्रिकाको सम्पादकीय मार्फत् मोहन वैद्य पक्षले पार्टीमा एकता सम्भव नभएको घोषणा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्काशन गरी कारबाही गर्नुपर्नेमा जोड दिएको छ । पत्रिकाले प्रचण्ड–बाबुरामले साम्रज्यवादी, दलालपूँजिपति तथा किरण–बादलले सर्वहारा वर्गको प्रतिनिधित्व गरेको दावी गरेको छ । ‘दुई विपरीत वर्गबीच कहिल्यै एकता हुन सक्ने स्थिति नै छैन । अब एमाओवादीमा कसैले एकता र अन्तरसङ्घर्षको गुन्जायस देखेको छ भने त्यो दुनियाँलाई
मूर्ख बनाउनु मात्र हुन्छ । त्यो मूर्ख बनाउने काम क्रान्तिकारीहरूले गर्नुहुँदैन ।’, कम्युनिष्ट आउटलुकको सम्पादकीयमा भनिएको छ, ‘प्रचण्ड–बाबुराम मण्डली खुल्ला रूपले सामन्त, दलाल र नोकरशाही वर्गमा परिणत भइसकेपछि अब क्रान्तिकारीहरूले त्यो वर्गलाई निस्तेज पार्न नयाँ कदम चाल्नुपर्ने बेला आएको छ ।’
‘प्रचण्ड–बाबुरामलाई पार्टीबाट गलहत्याउने’
‘अन्तरसङ्घर्ष होइन अन्तर वर्गसङ्घर्ष’ शीर्षकको सम्पादकीयमा वैद्य पक्षले प्रचण्ड पक्षलाई निस्तेज पार्ने उपाय सुझाउँदै लेख्छ– ‘पहिलो, प्रचण्ड–बाबुराम मण्डलीलाई पार्टीबाट गलहत्याइदिने, दोस्रो, उनीहरू क्रान्तिका गद्दार, धोकेबाज र आत्मसमर्पणवादी हुन भन्दै जनताका बीचमा नांगेझार पार्ने, तेस्रो, उनीहरूले क्रान्तिका क्रममा गरेका अक्षम्य अपराधलाई अपराधी करार गरेर जनकठघरामा उभ्याइ निर्मम रूपले कार्बाही गर्ने ।’  
मोहन वैद्य पक्षले पार्टी दुई वटा रहेको र अब प्रचण्ड–बाबुराम एउटै पार्टीमा नरहेको उल्लेख गर्दै सत्ताका लागि प्रचण्ड–बाबुरामले साम्राज्यवादी र विस्तारवादीलाई खुसी पारेर क्रान्तिका सारा पूँजि समाप्त पारेको आरोप पनि लगाएको छ । पार्टी अध्यक्ष प्रचण्ड र बाबुरामले सामन्तवाद, साम्राज्यवादर विस्तारवादका ‘नोकर’ का रुपमा काम गरेको आरोप लगाउँदै पत्रिका आफ्नो सम्पादकीयमा लेख्छ– ‘घटना र प्रवृत्तिहरू हेर्दा के देखिन्छ भने साम्राज्यवाद र विस्तारवादले सुनियोजित रूपमा आफ्ना एजेन्टहरू एमाओवादीभित्र पठाएको छ, जुन एजेन्टका रूपमा प्रचण्ड–बाबुरामहरूले उसका कार्यसम्पादन गरिरहेका छन् । आज पार्टीमा देखापरेका कैयौं घटनाक्रमले यही स्पष्ट पार्दछ ।’ 
   
जनसेनाका नाममा भ्रष्टाचार 
कम्यूनिष्ट आउट लुक पत्रिकाले आर्थिक प्रश्न उठाएर माओवादी अध्यक्ष प्रचण्ड सहित युद्धकालका चार जना कमाण्डर माथि पनि गम्भीर आरोप लगाएको छ । ‘चिहानमाथि लालबोसहरुको रजार्इँ’ शीर्षकको टिप्पणी लेखेर पत्रिकाले प्रचण्डसँगै वर्षमान पुन ‘अनन्त’, नन्दकिशोर पुन ‘पासाङ’, जनार्दन शर्मा ‘प्रभाकर’ र चन्द्र प्रकाश खनाल ‘बलदेव’ले पनि जनसेनाका नाममा भ्रष्टाचार गरी ब्रम्हलुट गरेको उल्लेख गरेको छ । 
‘देशका २७ वटा शिविरहरूमा १९ हजार बढी जनसेना भरणपोषणका लागि सरकारले झन्डै ८ अर्ब खर्च गरेको तथ्याङ्क छ । जुन रकमको माओवादी मूल नेतृत्व र कमान्डरहरूले पारदर्शी हिसाब किताब देखाएका छैनन्’, प्रचण्ड सहितका कमाण्डरले जनसेनाका नाममा लुटेर खाएको भन्दै पत्रिका लेख्छ, ‘करिब २० हजार जनसेनामध्ये ३ हजार सदस्य पुनर्वर्गीकरणमा नदेखिएपछि ती सेनाहरूको नाममा पनि डेपुटी कमान्डरदेखि डिभिजन कमान्डरहरूले करोडौँ आर्थिक रकम लिने गरेको विरोधीहरूको आरोपलाई घटनाक्रमहरूले सत्य भएको पुष्टि गर्दछ ।’ 
६३ को विस्तृत शान्ति सम्झौता इतिहासकै दुखद् क्षण 
वैद्य पक्षले प्रचण्ड बाबुरामको आलोचना गर्ने क्रममा सिंगो शान्ति र संविधान निर्माण प्रक्रियाप्रति आफ्नो विश्वास नरहेको उजागर गरेको छ । संविधान सभा र बाहिर कतिपय सार्वजनिक कार्यक्रममा माओवादीको मोहन वैद्य पक्षले सम्मानजनक शान्ति र संविधानका पक्षमा आफूहरु रहेको बताए पनि पत्रिकाले जसरी विचारहरु सार्वजनिक गरेको छ, त्यसले शान्ति र संविधान प्रतिको प्रतिवद्धता विश्वास गर्न सकिने खालको देखिन्न । 
माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ सल्लाहकार रहेको पत्रिका लेख्छ, ‘क्रान्तिकारी इतिहासको असाध्यै दुखद् क्षण ०६३ को मंसिर ५ गते भएको कथित विस्तृत शान्ति सम्झौता हो ।’ पत्रिकाले बारम्बार १२ बुँदे सहमति, शान्ति सम्झौता र सेना समायोजन प्रति नै असहमति व्यक्त गरेको छ । 
त्यतिमात्रै होईन पार्टी बाहिरका भरत दाहालले प्रचण्ड र बाबुरामलाई विदेशीका दलाल किटान गरेको ‘स्रामाज्यवाद र विस्तारवादका अनुचरहरु’ शीर्षकको लेख प्रचण्ड र बाबुरामको फोटो सहित छापिनुले पनि मोहन वैद्य पक्ष प्रचण्ड–बाबुराम सँग एउटै पार्टीमा बस्ने मुडमा छैन भन्ने प्रष्ट हुन्छ ।


लेखनाथ न्यौपानेले भने, "म छिट्टै माओवादी पार्टी छाड्दैछु"



विराटनगर, पुस ४/अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले माओवादीभित्र विदेशीको दलाली गर्ने नेताहरू रहेको आरोप लगाउँदै सोका कारण आफूले पार्टी परित्याग गर्न लागेको बताएका छन् ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले भने, "विदेशीको दलाली गर्ने नेताहरूका कारण एमाओवादी पतनको बाटामा जान लागेकाले म छिट्टै यो पार्टी छाड्दैछु ।"

कम्युनिस्ट पार्टीभित्र दलाली प्रवृत्ति हुन्छ भन्ने थाहा पाएको भए आफू राजनीतिमै आउँदिनथेँ भन्दै नेता न्यौपानेले पार्टी अध्यक्षले पार्टीलाई पार्टीका रूपमा नराखेको आरोप लगाए ।

कम्युनिस्ट पार्टीको आफ्नै सेना हुनुपर्नेमा अध्यक्षले सेनालाई अरूको जिम्मा लगाएकाले अर्को पार्टी स्थापना गरेर जनमुक्ति सेना बनाउने तयारी भइरहेको जानकारी पनि उनले दिए ।

"पार्टीभित्र एउटाले हेलिकप्टर किन्ने र अर्कोले बस भाडा तिर्न नसक्ने अवस्था छ, त्यसैले नयाँ कम्युनिस्ट पार्टीको आवश्यकता परेको छ,"  माओवादी नेतासमेत रहेका न्यौपानेको भनाइ छ ।
 
रासस 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक