20111229

हात हालाहाल गर्ने बाहेक सबै भैरहेकोछ माओवादीको केन्द्रीय समिति बैठकमा, विहीवार पनि संस्थापन र वैद्य पक्षबीच आरोप प्रत्यारोप !

तलब भत्ता र सुबिधा लिने बाहेक केही मतलब नभएका नालायक सभासद ! यसो भने कसो होला कुन्नी ?? उता कोरम नपुगेर बैठक स्थगित, संसदमा अहिले ५ सय ९५ जना सभासद् छन्, गणना गर्दा बैठकमा ८९ जना सभासद मात्र उपस्थित !

प्रचण्ड–बाबुरामलाई अपराधी करार गरी कारबाही गर्नुपर्छः वैद्य पक्षएकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा विहीवार पनि संस्थापन र वैद्य पक्षबीच आरोप प्रत्यारोप भएको छ । वैद्य पक्षले संस्थापन पक्षमाथि क्रान्तिकारी लाईन छोडेको आरोप लगाएको छ भने संस्थापन पक्षले वैद्य पक्षमाथि पदको बार्गेनिङ गरेको आरोप लगाएको छ । बैठकमा प्रचण्ड पक्षीय स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पार्टीमा अहिलेको विवाद कार्यदिशाको भन्दै वैद्य पक्षले मन्त्री र पदका लागि मोलतोल गर्न खोजेको टिप्पणी गर्नुभयो । वैद्यको प्रतिवेदनले क्रान्ति हुन नसक्ने भन्दै अनन्तले काम एकातिर कुरा अकोतिर गरेर क्रान्ति नहुने बताउनुभयो । वैद्य पक्षका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अनन्तले वैद्य पक्षलाई प्रश्न गर्नुभयो “हामी एउटै पार्टीमा छौं कि छैनौ ?” भट्टराई पक्षीय अर्का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पहिले प्रचण्डलाई वैद्यल पक्षले नै देवत्वकरण गरेर समस्या निम्त्याएको भन्दै आलोचना गर्नुभयो । रायमाझीको भनाई उधृत गदै स्रोतले भन्यो “पहिले सँगै
हिड्यो भनेर पनि तपाइँहहरुले कारवाही गर्नुभो, तेरो त गल्ती होईन तेरो बाउले पानी धमिलो पार्‍यो भनेर पनि तपाइँहरुले कारवाही गर्नुभयो ।” वैद्य पक्षको कडा आलोचना गरेका रायमाझीले एउटै पार्टीमा बसेर राँको बाल्ने र अराजक गतिविधि गर्नु जायज नभएकोले यसबारे अन्तिम छिनाफानो हुनु पर्ने बताउनुभयो । उहाँले अहिले वैद्य पक्षले पदको बार्गेनिङ गरेको आरोप लगाउनुभयो । वैद्य पक्षकी पोलिटब्यूरो सदस्य पम्फा भुषालले प्रचण्डको प्रतिवेदनले क्रान्ति नहुने भन्दै जनविद्रोह असफल भएको भनेर ढाँटेको आरोप लगाउनुभयो । भुषालको प्रचण्डलाई प्रश्न थियो “आम हड्ताल नै जनविद्रोहको तयारी हो भने त केही भन्नु छैन तर तयारी कहाँ भया ? वैद्य पक्षीय अर्का पोलिटब्यूरो सदस्य हरिभक्त कँडेल प्रतीकले प्रचण्डले क्रान्तिकारी लाईन छोडेर सबै सम्झौतामा टुंग्याउन खोजेको आरोप लगाउनुभयो । बैठकमा विहीवार लिलामणि पोखरेल, लेखराज भट्ट, हरिबोल गजुरेल, अग्नि सापकोटा, नवराज सुवेदी लगायतले बोल्नुभएको थियो ।

माओवादीको केन्द्रीय समिति बैठकमा नेता देव गुरुङले १५ बुँदे असहमति पेश गर्नु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा कुनै निर्णय नै नगरी संवैधानिक समितिको विवाद समाधान उपसमितिमा पार्टीको अडान छाडेको भन्दै गुरुङले १५ बुँदे असहमति पेश गर्नु भएको हो ।

नेता गुरुङले विवाद समाधान उपसमितिमा प्रचण्डले छाडेका अडानकै आधारमा असहमतिका बुँदा पेश गर्नुभएको छ । गुरुङको प्रस्तावमा संविधान निर्माणमा अध्यक्ष प्रचण्ड पार्टी निर्णय विपरित चलेको भन्दै आपत्ति जनाइएको छ । पार्टीमा निर्णय नै नगरी प्रचण्डले एक्लै सहमति गरेको गुरुङको प्रस्तावमा उल्लेख छ । ‘यसले पार्टीलाई भोली कुन बाटोमा हिडाउँछ केन्द्रीय समितिले निक्र्यौल गर्नुपर्छ’, नेता गुरुङको असहमतिको बुँदामा भनिएको छ ।

गुरुङको फरक प्रस्तावमा संविधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्नुपर्ने, मतदाताको उमेर १६ बर्ष हुनुपर्ने, निजी सम्पत्ति र जग्गामा हदबन्दी तोक्नुपर्ने, हदबन्दी भन्दा बढी जग्गामा राज्यले मुआब्जा दिन नहुने लगायतका पार्टीको बटमलाइनमा प्रचण्डले धोका दिएर एकलौटी सहमति गरेको आरोप लगाइएको छ । माओवादी केन्द्रीय समिति बैठकमा बुधबारदेखि अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव र उपाध्यक्ष मोहन वैद्य ‘किरण’को फरक मतका विषयमा छलफल शुरु भए लगत्तै गुरुङले १५ बुँदे अहसमति पेश गर्नु भएको हो ।

प्रचण्डले अहिले शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउने प्रस्ताव गर्नु भएको छ भने उपाध्यक्ष किरणले शान्ति, संविधान र सरकारबाट उपलब्धि हासिल गर्न नसकिने निष्कर्ष सहित जनविद्रोहमा जाने फरक मत पेश गर्नुभएको छ ।

एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा आज पनि अहिलेसम्म आफ्ना भनाई राख्न बाँकी स्थायी समिति सदस्यले आफ्नो कुरा राख्ने भएका छन । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै उपाध्यक्ष मोहन वैद्य किरणले राखेको फरक प्रस्तावका विषयमा हिजो बोल्न बाँकी स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थायी समिति सदस्यहरुले आफ्ना कुरा राखिसकेपछि पोलिटव्यूरो र त्यसपछि केन्द्रीय सदस्यले प्रतिवेदनका विषयमा आफ्नो धारणा राख्नेछन । हिजोको बैठकमा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, सचिव पोष्टबहादुर बोगटी दिवाकर र स्थायी समिति सदस्य कृष्णबहादुर महराले अध्यक्ष प्रचण्डको प्रस्तावको समर्थन र वैद्यको प्रस्तावको विरोधमा आफ्ना कुराहरु राखेका थिए ।

त्यस्तै वैद्यको प्रस्तावमा महासचिव रामबहादुर थापा बादल, सचिव सीपी गजुरेलले आफ्नो समर्थन गर्दै अध्यक्षको प्रस्तावको आलोचना गरेका थिए । प्रचण्डले अहिले शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउने प्रस्ताव गर्नु भएको छ भने उपाध्यक्ष किरणले शान्ति, संविधान र सरकारबाट उपलब्धि हासिल गर्न नसकिने निष्कर्ष सहित जनविद्रोहमा जाने फरक मत पेश गर्नुभएको छ । बैठक दिउँसो १२ बजे बोलाइएको छ ।
माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य पक्षका गालीगलौजले पार्टी विभाजनको औपचारिक घोषणा हुनमात्रै बाँकी रहेको झल्को दिन्छ। माओवादी केन्द्रीय समितिमा वैद्य पक्षले असहमति जनाउदै गुटउपगुट, आर्थिक अपारदर्शिता, नोकरशाही, यान्त्रिकता, संकीर्णतावादको केन्द्रबिन्दु दाहाल स्वयं भएको आरोप लगाए।


'दाहालको जनवादी क्रान्तिसम्बन्धी अवधारणा नोकरशाह तथा दलाल पुँजीवादपरस्त छ,' वैद्यले केन्द्रीय समितिमा औपचारिकरुपमै ल्याएको फरक दस्तावेजमा उल्लेख छ।
वैद्यकै प्रस्तावमा शान्ति र संविधानको 'समग्र प्रक्रियामा लिने होइन दिनेमात्र काम भएकाले आत्मसमर्पण गरिएको' र 'नयाँ जनवादी क्रान्ति र जनविद्रोहलाई तिलाञ्जलि दिइएको' उल्लेख छ। 'दाहालको राजनीतिक प्रस्ताव सारसंग्रहवादी शैलीमा आधारित तथा दक्षिणपन्थी अवसरवादोन्मुख बन्न गएको' पनि वैद्यको दावी छ। वैद्य पक्षकै नेता सिपी गजुरेलले पार्टीको सिद्धान्त दाहालले छाडिसकेकाले अध्यक्ष मान्न नसकिनेसम्मको अभिव्यक्ति दिएका छन्।

'अध्यक्ष दाहाल आइएनजिओको डाइरेक्टरमा मात्रै सीमित छन्। औपचारिकरूपमा पार्टी अध्यक्ष भए पनि पार्टीको सिद्धान्त छाडेको व्यक्तिलाई त्यो स्थानमा मान्न सकिँदैन,' गजुरेलले औपचारिक कार्यक्रममै भन्ने गरेका छन्। गजुरेलमात्रै होइन, वैद्य पक्षका अधिकांश नेताले सार्वजनिकरुपमै दाहालको आलोचना गरिरहेका छन्।

केन्द्रीय समितिको जारी बैठकमा पनि दाहाल र वैद्य पक्ष एक अर्कालाई गालीगलौजमै ब्यस्त छन्। वैद्य पक्षका नेताहरुले पार्टी विभाजन भइसकेको तर्क गर्न थालेका छन्। वैद्य पक्षका नेता तथा पार्टी महासचिव रामबहादुर थापाले अनौपचारिकरुपमा पार्टी विभाजन भइसकेको केन्द्रीय समितिमा नै घोषणा गरेका छन्।

दाहाल र वैद्य पक्षको यो टकराव र दोषारोपण हेर्ने हो भने 'गद्दार घोषणा गर्न' र 'औपचारिक हिसाबले पार्टी विभाजन'को घोषणा गर्नमात्रै बाँकी छ। कम्युनिस्ट राजनीतिमा प्रतिस्पर्धीलाई गद्दार घोषणा गरेर आफूलाई महान देखाउने प्रवृत्ति लेनिनको पालादेखि नै छ। लेनिनले प्रतिस्पर्धी नेता काउत्स्कीलाई गद्दार घोषणा गरेका थिए। चीनमा माओ त्सेतुङले ल्यु शाओची र देङ स्याओपिङलाई संशोधनवादी भन्दै एक किसिमको गद्दारकै संज्ञा दिएका थिए।

नेपालमा पनि २०२७ सालमा पुष्पलाललाई मोहनविक्रम सिंहको समूहले दस्तावेज तयार पारी 'गद्दार पुष्पलाल' प्रकाशित गर्‍यो। आनन्दबहादुर क्षेत्रीको नाममा सिंहले त्यो दस्तावेज प्रकाशन गरेका थिए। त्यसलाई २०३१ सालमा पार्टीको चौथो महाधिवेशनले पारित नै गर्‍यो। पछि २०५१ सालको बैठकमा पुष्पलाललाई गद्दार मान्ने कि नमान्ने भन्नेमा सिंह अल्पमतमा परे। उनी आफैंले पनि त्यसरी दस्तावेज प्रकाशित गर्नु गल्ती भएको महसुस गर्दै प्रकाशन सच्याए। त्यसयता उनको त्यो दस्तावेज 'क्रान्ति वा भ्रान्ति?' शीर्षकमा प्रकाशित हुँदै आएको छ।

पुष्पलालले २०२५ को तेस्रो सम्मेलनमा 'कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने' दस्तावेज प्रस्तुत गरेपछि उनी कांग्रेसपरस्त भएको भन्दै सिंह पक्षले गद्दार घोषणा गरेको हो। त्यतिमात्र होइन, पुष्पलालको निधनमा निर्मल लामाले श्रद्धाञ्जली दिएकै कारण लामालाई महामन्त्रीबाट हटाइएको थियो। र, त्यो स्थानमा भक्तबहादुर श्रेष्ठलाई ल्याइएको थियो।

यता झापा आन्दोलनमा लागेका कम्युनिस्ट नेताले पनि सिपी मैनालीको अगुवाइमा तत्कालीन कम्युनिस्ट नेताहरू पुष्पलाल, केशरजंग रायमाझी, मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायत नेतालाई यस्तै आरोप लगाए। माओवादीले कुनै बेला एमालेलाई 'प्रतिक्रियावादी' घोषणा गरेको थियो जुन एक किसिमको गद्दारकै संज्ञा हो। कम्युनिस्ट शब्दावलीअनुसार 'गद्दारी गर्नु भनेको शत्रुको क्याम्पमा पुगेर उसको स्वार्थअनुसार क्रान्तिलाई घात गर्ने' भन्ने हो।

 उता गणपुरक संख्या नपुगे पछि व्यवस्थापिका संसदको बैठक पुष २० गतेसम्मका लागि स्थगित भएको छ । बिहीबारको संसद बैठकमा ५ सय ६ सभाषद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको हो । नेपाल स्वास्थ्य सेवा चौथो संशोधन विधयेक प्रस्तुत गर्न अनुमति माग्ने बेलामा नेपाली कांग्रेसका सभाषद् जीवन प्रेम श्रेष्ठले गणपुरक संख्या नपुग्ने भन्दै विरोध गरे पछि गणना गर्दा बैठकमा ८९ जना सभासद मात्र उपस्थित भएको पाइएको हो । संसदमा अहिले ५ सय ९५ जना सभासद् छन् । यसैबीच बैठकमा पटक पटक गणपुरक संख्या  नपुग्नु दुखद भएको भन्दै सभामुख सुवास चन्द्र नेम्वाङले सरकार र संसद्को ध्यानाकर्षण गराउनु भएको छ । उहाँले महत्वपूर्ण विधयेक पेश हुने समयमा गणपुरक संख्या पनि उपस्थित नहुनु दुखद भएको बताउनुभयो । सभामुख नेम्वाङले संसद नागरिकको प्रतिनिधित्व गर्ने संस्था भएकाले अब त्यस्तो नहोस् भनेर सरकारको ध्यानाकर्षण गराउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक