20120220

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सक्रिय राजनीतिमा ल्याउन पहल

http://ramkshrestha.files.wordpress.com/2010/10/opening-of-himani-trust_20101009092126.jpg 
पूर्व राजालाई झनै बिबादित बनाउने यस्तो बकम्फुस्से कार्य भए राष्ट्रका लागि अरु घातक हुनसक्छ ! राजतन्त्रमा मनोनित प्रधानमन्त्री, मन्त्री पद खाँदै राजतन्त्र खतरामा पर्दा धोका दिएका यि स्वार्थी बेइमान कथित राष्ट्रबादीहरुबाट पूर्व राजा सजक रहनु राम्रो होलाकी !           
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सक्रिय राजनीतिमा ल्याउन पहल गर्ने भएका छन् । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको निवासमा शुक्रबार
राति भएको तीन पार्टीका शीर्ष नेताहरुको बैठकमा ज्ञानेन्द्रलाई सक्रिय राजनीतिमा ल्याउनेबारे छलफल भएको छ । ‘अब नेपालमा राजतन्त्र फर्किदैन र फर्काउन पनि सकिँदैन’ बैठकमा सहभागी एक नेताले भने-’त्यसैले अब सक्रिय राजनीतिमा किन नल्याउने भन्नेबारेमा छलफल भएको हो ।’ बैठकमा सहभागी अधिकांश नेता पूर्व राजा ज्ञानेन्द्रलाई कुनै दलमा आवद्ध भएका वा नयाँ दल खोलेर सक्रिय राजनीतिमा आउन आग्रह गर्न सहमत भएका छन् । राजेश्वर देवकोटाले भने राजाले संधै आफ्नो पार्टीलाई फुटाउने काम मात्र गरेको भन्दै किन राजालाई बोक्ने भन्ने प्रश्न गर्नु भएको थियो । बैठकमा पूर्व राजा सक्रिय राजनीतिमा आए के होला भन्ने चर्चा समेत चलेको थियो । राजतन्त्रको ओकालत गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने सक्रिय राजनीतिमा आए पूर्व राजाले राष्ट्रपतिको चुनाव जित्ला भनेर सहभागी नेताहरुसँग प्रश्न गर्नु भएको थियो । जवाफमा विश्ववन्धु थापाले भने चूनाव जिते कुनै आश्चर्यको कुरा नहुने बताएको एक नेताले बताए ।

बैठकमा राप्रपा, राजपा र राप्रपा नेपालबीचको पार्टी एकताबारे समेत छलफल भएको छ । एक नेताका अनुसार बैठकमा नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्दै पार्टी एकता गर्न सहमत भएका छन् । पूर्व राजा भारत भ्रमणबाट फर्किए लगतै पूर्वपञ्चहरुको पार्टी एकता प्रयास फेरि सुरु भएको हो । यसअघि राप्रपा नेपालले राजतन्त्रलाई छाड्न नमानेपछि एकता प्रयास सफल हुन सकेको थिएन ।

बैठकमा आगामी चुनावलाई लक्षित गरी फागुन १५ गतेभित्र पार्टी एकतालाई अन्तिम रुप दिने प्रस्ताव पेश भएको छ । प्रस्तावमा एक वर्षभित्र पार्टी एकता गरिसक्ने गरी राजपा अध्यक्ष सूर्यबहादुर थापा संयोजक, राप्रपा अध्यक्ष पशुपति समशेर राणा सहसंयोजक र राप्रपा अध्यक्ष कमल थापा उपसंयोजक रहेको राजनीतिक निर्देशक समिति गठन गर्ने उल्लेख छ । एकतापछि पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी नेपाल रहने र पार्टी एकतापछि तीन वटा पार्टी पूर्णरुपमा भङ्ग हुने उल्लेख छ ।

यस्तै विधान तथा कार्यसञ्चालन नियमावली बनाउन राजपा सहअध्यक्ष प्रकाशचन्द्र लोहनी संयोजक र कमल थापा सहसंयोजक रहेको समिति गठन गर्ने पनि प्रस्तावमा उल्लेख छ ।

राजतन्त्र छाडेकै छौनौं: थापा

वैठकमै सहभागी राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने आफ्नो पार्टीले राजतन्त्र छाड्न तयार रहेको भन्ने हल्ला गलत भएको बताए । उनले भने-’तीन महिनाअघि हाम्रा जे असहमति थिए, आजै पनि ती कायमै छन, हामी संवैधानिक राजतन्त्र, हिन्दु राज्य र बहुदलीय प्रजातन्त्रका बिषयमा डगमगाएकै छैनौं ।’

तीन पार्टीका नेतावीच छलफल भएको स्वीकार्दै थापाले भने- ‘पार्टी एकता गर्दा सवैलाई फाइदा हुन्छ, एक भएर जाउँ भन्ने कुरा भएको हो, सवै पुरानै अडान राखेपछि चिया खायौं, छुट्यौं ।’ आफ्ना कार्यकर्ता अड्याउन अन्य दुई दलले यस्तो हल्ला गरेको आरोप लगाउँदै थापाले भने- ‘यस्तै हो भने उहाँहरुले बोलाएको छलफलमै जान्न ।’

पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणबाट फर्किएपछि आफ्नो भेट नभएको दावी गर्दै थापाले भने- ‘उहाँसँग भेट भएको छैन, हामीले उहाँलाई सक्रिय राजनीतिमा ल्याउने कुरा कल्पना पनि गर्दिन् ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक