(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120202

संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिब कुलचन्द्र गौतम लाई पनि प्रचन्डले मुखै खोल्ने बनाएछन हेर्नुस गौतमको लेख जस्ताको तस्तै !


प्रचण्डको ‘शान्ति र संविधान’ तथा ‘जनविद्रोहबाट सत्ता कब्जा’ जस्ता अन्तर्विरोधपूर्ण नीति - कुलचन्द्र गौतम
सायद संसारभर असफल र बदनाम भइसककाले एक्काइसौँ शताब्दीमा धेरैलाई प्रेरणादायी नहुने सिद्धान्त बोकेको भएर हो कि माओवादीलाई आफ्ना कार्यकर्ता र समर्थकहरूलाई उत्प्रेरित गर्न वास्तविक वा काल्पनिक जस्तो भए पनि शत्रुको खाँचो पर्नेगरेको देखिएको छ। त्यसैले उनीहरु सधैँ आफ्ना क्रान्तिकारी एजेन्डाविरुद्ध गोप्य षड्यन्त्र गर्नेहरु भन्दै ‘सामन्ती, पुँजीवादी, राजतन्त्रवादी, साम्राज्यवादी, विस्तारवादी वा तिनका दलाल’को लामो सूची बनाउने गर्छन्। खरिपाटी वा पालुङटारजस्ता प्रत्येक विवादग्रस्त पार्टी सम्मेलनहरूपछि माओवादीले पार्टीमा एकता कायम गर्न कुनै न कुनै शत्रु वा षड्यन्त्रकारीको आधिकारिकरुपमै खोजी गर्ने गरेको पाइन्छ। त्यही क्रममा एकताका उनीहरुले भारत आफ्नो प्रमुख बाहिरी शत्रु र नेपाली कांग्रेस राष्ट्रिय शत्रु भनेर घोषणा गरेका थिए। यसबाहेक, आफ्ना विफलता ढाकछोप गर्न वा वास्तविक समस्याबाट ध्यान अन्यत्र लैजान वा पहिलेका प्रतिबद्धता उल्लंघन गर्ने बहाना बनाउनका लागि उनीहरुले जताततै थुप्रै सानाठुला शत्रुहरु खोज्ने र भेट्टाउने गरेको देखिन्छ। माओवादी केन्द्रीय
समितिको हालै पुस-माघ, २०६८मा भएको विवादग्रस्त र अन्तर्विरोधपूर्ण बैठकपछि एनेकपा (माओवादी) र विशेषगरी यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत केही महिनामा शान्ति प्रक्रिया र संविधान लेखनमा अरु राजनीतिक दलहरुसँग भएका सहमतिबाट विमुख हुने बहाना बनाउन कस्ता शत्रुको आविष्कार गर्लान् भन्ने धेरैले अडकल गरेका थिए। त्यसैले दाहालले चेतावनीको स्वरमा विपक्षी कांग्रेस र नेकपा (एमाले)ले माओवादी पार्टी फुटाउन साना पार्टीहरुसँग मोर्चाबन्दी गरेर माओवादीलाई घेर्न खोजेको आरोप लगाउनु खासै आश्चर्यजनक थिएन।

खन्ना गार्मेन्टमा यही माघ ४ र ५ गते भएको माओवादी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दाहालले काठमाडौंको बबरमहल रिभिजिटेडको एउटा रेस्टुराँमा ‘माओवादीलाई फुटाएर सखाप पार्न’ षड्यन्त्र गरिएको भनेर दिएको उदाहरण भने मलाई निकै रोचक लाग्यो। दाहालले कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, संवैधानिक समितिका अध्यक्ष नीलाम्बर आचार्य, पत्रकार कनकमणि दीक्षित र म कुलचन्द्र गौतम त्यस ‘गोप्य बैठक’मा उपस्थित षड्यन्त्रकारीहरु मध्येमा थियौँ भन्ने बताएको सुन्दा म झन् आश्चर्यचकित भएँ।

मलाई आश्चर्य लाग्नुको कारण के थियो भने दाहालले भनेजस्तो बैठकका बारेमा न त मैले कहिल्यै सुनेको थिएँ न कहिल्यै उपस्थितै भएको थिएँ। त्यसैले मलाई दाहाललाई कसैले गलत सूचना दिएछ वा दाहालको सूचनाको स्रोत नै अक्षम र अविश्वसनीय रहेछ भन्ने लागेको थियो।
केही नेपाली सञ्चार माध्यममा आएअनुसार खन्ना गार्मेन्टमा त्यसो भनेको भोलिपल्टै दाहाललाई कांग्रेस नेता पौडेलले अरु नेताहरुकै सामु त्यस्तो हुँदै नभएको षड्यन्त्रको काल्पनिक आरोप लगाएको भनेर हप्काए रे। बबरमहल रिभिजिटेडमा केही मित्रहरुको अनौपचारिक भेला भएको तर कुलचन्द्र गौतम त्यहाँ नभएको पनि पौडेलले भनेछन्। पौडेलले दाहाललाई गौतमसँग आफ्नो भेट नभएकै झन्डै छ महिना भइसकेको पनि बताएछन्।

केही सञ्चार माध्यमले दिएका समाचारअनुसार दाहालले एमाले नेता माधवकुमार नेपालसँग पनि माथि चर्चा गरिएको कथित ‘बबरमहल षड्यन्त्र’ को प्रसंग उठाएर ‘माओवादीलाई घेराबन्दी गरेर सखाप पार्न’ खोजिएको गुनासो गरेका रहेछन्। नेपालले आफू पनि त्यस अनौपचारिक चियापानमा सहभागी भएको तर त्यहाँ दाहालले कल्पनागरेजस्तो कुनै ‘षड्यन्त्रकारी’ नियत नभएको भनेपछि दाहाल अलि आश्चर्यचकित भएर झस्किएका थिए रे। नेपालले पनि कुलचन्द्र गौतम त्यहाँ सहभागी नभएको दाहाललाई भनेछन्।

यी सबै घटनाक्रम सुनेपछि मलाई पक्कै पनि माओवादीको कुनै शुभेच्छुक सुराकीले गलत सूचना दिएको हुनुपर्छ र दाहालले कार्यकर्तालाई आफूले ‘शान्ति र संविधान’ तथा ‘जनविद्रोहबाट सत्ता कब्जा’ जस्ता अन्तर्विरोधपूर्ण नीति एकैसाथ अपनाउने क्रममा आफ्ना कार्यकर्तालाई अलमल्याउन त्यस्तो अतिरञ्जित ‘षड्यन्त्रको सिद्धान्त’को रहस्योद्घाटन गरेको हुनुपर्छ भन्ने लाग्यो।

सञ्चारमाध्यममा म त्यो कथित ‘षड्यन्त्रात्मक’ बैठकमा उपस्थित नभएको जानकारी पौडेल र नेपालले दिइसकेको सार्वजनिक भइसकेका सन्दर्भमा मैले यो घटिया राजनीतिक नाटकलाई बेवस्ता गर्नु नै ठिक हो भन्ने ठाने। त्यस खबरको असत्यता पुष्टि भइसकेपछि दाहाल स्वयंले उत्तेजकरुपमा रहस्योद्घाटन गरेर पछि लाजमर्दो भएको यस प्रकरणलाई अब अगाडि बढाउँदैनन् होला भन्ने मैले अनुमान गरेको थिएँ।

किन्तु, त्यस खबरको असत्यताबारे प्रत्यक्ष जानकारी पाइसकेपछि पनि दाहालले पश्चिम नेपालको चिसापानीमा गत माघ १३ गते भएको माओवादी कार्यकर्ताको वृहत् प्रशिक्षण भेलामा कथित ‘बबरमहल षड्यन्त्र’ प्रकरणमा सहभागी भनेर मेरो नाम लिएको थाहा पाउँदा म झन् बढी चकित भएँ।

दाहालको हैसियतको उच्च जिम्मेवार नेताले जानीजानी झुटो कुरा किन दोहोर्‍याएका होलान्? बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भन्ने नेपाली उखानमा जस्तै दाहाल पनि कुनै कारणवश मनको बाघसँग तर्सेकाले यसो भएको हो कि? नेपाली समाजमा आफूलाई अत्यन्तै असुरक्षित महसुस गर्दा वा कुनै अप्रिय सत्य लुकाउनु पर्दा यस्तो मनको बाघलाई देखाउने चलन भएको सर्वविदितै छ। खबरमा आएअनुसार उक्त बबरमहल बैठकमा माओवादीले चाहेजस्तो राष्ट्रपतीय शैलीको शासन व्यवस्था आउन नदिने र संसदीय व्यवस्थामै सहमति जुटाउने भन्ने विषयमा चर्चा भएको थियो रे। सम्भवतः त्यसैले अध्यक्ष दाहाललाई क्षुब्ध बनाएको हुनसक्छ। म आफु यी दुवै प्रणालीप्रति खुला र तटस्था भावना राख्छु। बरु, पर्याप्त नियन्त्रण र सन्तुलनको व्यवस्था भएमा राष्ट्रपतीय पद्धति नै बढी उपयुक्त हुन्छ भन्ने पक्षमा छु। अतः मेरो सोचाइ राजनीतिक नेता रामचन्द्र पौडेल र टिप्पणीकार कनकमणि दीक्षितले आआफ्नैरूपमा लिएको सार्वजनिक अडानभन्दा फरक छ। तर, म उनीहरूको दृष्टिकोणको सम्मान गर्छु र लोकतान्त्रिक सिद्धान्तअनुरूप भएमा अरू प्रस्तावित विकल्पहरूको पनि सम्मान गर्छु।
कुनै राजनीतिक दल विशेषमा आफु सम्बद्ध नभएको र दलगत स्वार्थमा नलागेको व्यक्तिका रूपमा म कुनै षड्यन्त्रमा सहभागी हुने कारण पनि छैन। लोकतान्त्रिक सिद्धान्त र अहिंसात्मक राजनीतिमा विश्वास गर्ने व्यक्तिका रुपमा मैले सधैँ नै खुला र स्पष्टसँग माओवादीले राजनीतिक परिवर्तनका लागि अब हिंसाको माध्यम सधैँका लागि त्याग गर्नुपर्छ र विश्वव्यापी रूपमा मान्य लोकतन्त्र, बहुलवाद र मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्नुपर्छ भन्दै आएको छु। यी मूल्यमान्यता अन्तर्गत रहेरै हामीले सामाजिक न्याय सुनिश्चित गर्न सकारात्मक विभेदका उपायसमेत अपनाउन सक्छौँ भन्ने मेरो धारणा छ।

माओवादीले यी मूलभूत विषयहरुमा द्वैध चरित्र देखाएको वा शान्ति प्रक्रियामा भएका सहमतिलाई एकतर्फीरूपमा बदल्न खोजेका अवस्थामा मैले उनीहरूको सार्वजनिकरूपमै आलोचना गरेको छु। यसरी नै मैले अरु राजनीतिक दलहरु वा राजा ज्ञानेन्द्रको शासनको पनि आलोचना गरेको थिएँ र अब पनि आवश्यकताअनुसार गरिरहने छु। अहिंसात्मक लोकतन्त्रवादीका रूपमा म अलोकतान्त्रिक धारणा भएका व्यक्ति वा दललाई शान्तिपूर्ण रूपले ‘रूपान्तरण’ गर्नमा सहयोग पुर्‍याउनुपर्छ भन्नेमा विश्वास राख्छु। आफ्नोभन्दा फरक दृष्टिकोण राखेकै भरमा कुनै व्यक्ति वा दललाई निर्मूल पार्ने वा सफाया गर्ने’ जस्ता अमानवीय व्यवहार गर्ने प्रवृत्ति त अधिनायकवादीहरूको चारित्रिक विशेषता हो।
एडोल्फ हिटलरका प्रचारमन्त्री जोसेफ गेबल्स भन्ने गर्थे – ‘कुनै झुटलाई धेरै पटक दोहोर्‍याइरहने हो भने मानिसहरुले त्यसलाई पत्याउन थाल्छन्।’ मलाई ‘बबरमहल षड्यन्त्र’मा संलग्न भन्ने झुट दोहोर्‍याइरहिएको सुन्दा कतै जनसाधारण र सिधासाधा माओवादी कार्यकर्तामा साँच्चै पो हो कि भन्ने भ्रम नपरोस् भनेर मैले यो स्पष्टीकरण सार्वजनिक गर्ने निधो गरेको हुँ।

किन्तु, यस्ता दुष्प्रचारले स्वतन्त्र नेपाली नागरिकका हैसियतले सबैका लागि समता र सामाजिक न्यायपूर्ण समाजको निर्माणमा सहयोग पुर्‍याउन, हिंसा र आतंकको राजनीतिविरुद्ध स्पष्ट र दह्रोसँग बोल्न तथा लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई बिनासर्त स्वीकार गर्नुपर्छ भन्ने पैरवी गर्न मलाई पटक्कै निरुत्साहित गर्ने छैनन्। म माओवादी नेताहरुलाई शान्ति प्रक्रिया र संविधान निर्माणलाई गति दिनमा केन्द्रित हुन विनम्र आह्वान गर्छु। काल्पनिक शत्रु र षड्यन्त्रविरुद्धको संघर्षका नाममा समय खेर फाल्नुको साटो हामी सबै राष्ट्रिय पुनःनिर्माण र विकासको कार्यमा संलग्न हुनुमै यो देश र सबै दलको चिरकालीन कल्याण हुनेछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक