20120326

बाबुराम निकट मानिने माओवादी पोलिटव्यूरो सदस्य लिलबहादुर थापा भन्छन - 'सरकारबाट बाहिरिएको भोलिपल्ट बाबुरामको साथमा हिसिला यमी बाहेक अरु एकाध नेता कार्यकर्ताहरुमात्र बाँकी रहने अवस्था देखिन्छ'

हिसिला यमीले हरेक मन्त्रालय हेर्ने अलग्गै टिम खडा गरेकी छिन्।
प्रधानमन्त्री बाबुराम भट्टराई बालुवाटार छाडेर बाहिरिएको भोलिपल्ट कहाँ बस्लान् ? यसअघि सानेपामा डेरा लिएर बसेका बाबुरामका लागि एउटा घर नै पनि कुनै शुभचिन्तकले नामसारी गरिदेलान् तर बाबुरामको किचेन क्याबिनेटका सदस्यहरुलाई बालुवाटार छाडेपछि गाँसबासको समस्या नभए पनि नेता कार्यकर्ताको साथ नपाइने चिन्ताले सताउन थालेको छ। बालुवाटारका एक भित्रीया सदस्यका अनुसार प्रधानमन्त्री बनेपछि बाबुरामको संगठनमा पकड बढ्नुपर्नेमा चिन्ताजनक ढंगले झन् पो घटिरहेको छ। पालुङटार बिस्तारित बैठकमा फरक बिचार लगेपछि देशव्यापी रुपमा बढेको बाबुरामको सन्जाल उनी प्रधानमन्त्री बनेपछि क्रमशः खुम्चिदै गएको छ। बाबुरामले आफ्नो बिचार समूहका कार्यकर्ताको संरक्षण गर्न नसक्नु, बाबुराम पक्षधर मन्त्रीहरुले बिचार
समूहका कार्यकर्ताको काम गर्नुभन्दा, कसरी हुन्छ तीन पुस्तालाई पुग्नेगरि कमाउनेतिर ध्यान दिनु र संकटमा साथ दिने नेताहरुलाई बाबुराम रणनीतिक बैठक तथा छलफलहरुमा सहभागी नगराउनुले पनि उनको अवस्था धरासायी भएको हो। 'सरकारबाट बाहिरिएको भोलिपल्ट बाबुरामको साथमा हिसिला यमी बाहेक अरु एकाध नेता कार्यकर्ताहरुमात्र बाँकी रहने अवस्था देखिन्छ' बाबुराम निकट मानिने पोलिटव्यूरो सदस्य लिलबहादुर थापाको यो भनाइले पनि बाबुरामको बिचार समूह छिन्नभिन्न भइरहेको स्पष्ट हुन्छ। बाबुरामलाई संकटमा साथ दिएका र संगठनमा पकड भएका नेताहरु अहिले बाबुरामलाई राम राम भन्दै किनारामा हेरेर बसेका छन्। राम कार्की, नवराज सुवेदी, प्रभु साह, खगराज भट्ट, हेमराज भण्डारी लगायतको क्रिम टिम अहिले बाबुरामको अन्तिम दुर्गति हेर्न ठिक्क परेर बसेको चर्चा बाबुराम बृत्तमै चल्ने गरेको छ। किचेन क्याबिनेटमै भए पनि प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल स्वयं सन्तुष्ट छैनन्। हिसिला यमीको अनावश्यक हस्तक्षेप, गंगा श्रेष्ठको एकलकाँटे स्वभाव र मुख्यतः वर्षमान पुनको सल्लाहमा निर्भर हुने बाबुरामको शैलीबाट टोपबहादुर रायमाझीदेखि देवेन्द्र पौडेलसम्मका सहयोगीहरु भित्रदेखि खुसी छैनन्। त्यसो त टोपबहादुरको ध्यान पैसा बाहेक अन्यत्र नगएको र प्रधानमन्त्री तथा हिसिलाले भनेको काम समेत नगरेको भन्दै बालुवाटार पनि उनीसँग सन्तुष्ट छैन। 'मनोगत कमजोरी, प्रक्रियागत त्रुटी र ठूलो समूहमा छलफल नगर्ने स्वभावका कारण पनि बेला बेलामा प्रधानमन्त्रीका निर्णयहरु विवादमा परेका हुन सक्छन्' पौडेल भन्छन् 'प्रकाश दाहालको टोलीलाई २ करोड रुपैयाँ दिने निर्णयमा पनि मेरो रिजर्भेशन थियो'। बाबुरामले आफ्नो संरक्षण नगरेको भन्दै यसअघि नै केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेले उनको साथ छाडिसकेका छन्। बन्जाडे अहिले प्रचण्डको पक्षमा लागेका छन्। सरकारमा बाबुरामको कोटाबाट विकासे मन्त्रालय तथा कार्यकर्ताको काम पर्ने मुख्यतः दुई मन्त्रालय छन्। स्थानीय विकास मन्त्री टोपवहादुर रायमाझीले आफ्नो बिचार समूहका कार्यकर्ताले भनेको कुनै पनि काम नगरेको आरोप लागेको छ। भूमिसुधार मन्त्री भीमप्रसाद गौतममाथि त पैसा जम्मा गर्ने अभियानमा लागेको आरोप पहिले नै लागेको हेा। 'बिचार समूहका कार्यकर्ताको सामान्य काम पनि नभएपछि बाबुरामलाई अब केका लागि साथ दिने। न त उनले देशका लागि गतिलो नेतृत्व दिन सके न त आफ्नो बिचार समूहको संरक्षण नै गर्न सके' एक केन्द्रीय सदस्यले भने 'सरकारमा हालीमुहाली भएका बेलामा कार्यकर्ता संरक्षण गर्न नसक्ने नेताले अब पछि हामीलाई जोगाउँछन् भन्ने आधार छैन'। बाबुरामकै किचेन क्याबिनेटमा पनि प्रेस सल्लाहकार रामरिझन यादव आफ्नै असन्तुष्टि पोखिरहेका छन्। प्रमुख सल्लाहकार देवेन्द्र पौडेललाई वास्तै गर्न छाडिएको छ। हिसिला यमीले हरेक मन्त्रालय हेर्ने अलग्गै टिम खडा गरेकी छिन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक