20120416

ब्रेकफास्ट, लन्च, डिनर खाने र जनताको कर बाट उठाएको ढुकुटी रित्याउँने बाहेक केही भएन रे हात्तीबन रिसोर्टमा पनि !

४ दलका २८ जना शीर्ष नेताले आइतबार दिउँसोदेखि २४ घण्टासम्म बसेको बैठकमा असहमति सांघुरो बनाउने भन्दापनि आ-आफ्ना पार्टीका पुरानै निर्णय पेश गर्दै त्योभन्दा तल र्झन नसकिने अडान लिए !
संविधानका विवादित विषयहरुमा सहमति गरेरमात्र फर्किने भन्दै काठमाडौंको हात्तीवन रिसोर्टमा दुई दिनसम्म चलेको चार मुख्य दलको वैठक ‘हात्ति आयो हात्ति आयो फुस्सा’ भएको छ । हात्तीवन रिसोर्ट पुगेका मुख्य तीन दल र संयुक्त मधेसी मोर्चाका शीर्ष नेताहरु लामो अवधिसम्म एकै ठाउँमा रहँदा छलफल मात्रै भएको छैन, हाँसो ठट्टा र किस्सा कहानी पनि उत्तिकै चलिरहेको छ ।

४ दलका २८ जना शीर्ष नेताले आइतबार दिउँसोदेखि २४ घण्टासम्म बसेको बैठकमा असहमति सांघुरो बनाउने भन्दापनि आ-आफ्ना पार्टीका पुरानै निर्णय पेश गर्दै त्योभन्दा तल र्झन नसकिने अडान लिए । सोमबार साँझसम्म भएको छलफलमा कतिपय यसअघि नै सहमति भइसकेका सहमति समेत उल्टिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार २ दिनको बैठकको अधिकांश समय आन्तरिक तथा दुई पक्षीय छलफलमा बित्यो, दुई दिन केहीछिनमात्र सवै दलका नेताहरु एउटै टेवलमा वसे । जहाँ संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताका बिषय छलफलका लागि प्रधानमन्त्रीले पेश गरेका थिए ।
पहिचानमा अड्कीयो संघीयता
बैठकमा संविधानको मुख्य विवादित मानिएको राज्य पुनःसंरचनाबारे गम्भीर छलफल भएपनि कुनै सहमति हुन सकेन । श्रोतका अनुसार राज्य पुनः संरचनाको आधारमा नै दलहरुबीच विवाद देखिएको छ । बैठकमा माओवादी र मधेसी मोर्चाले राज्य पुनःसंरचना गर्दा पहिचानलाई आधार बनाउनु पर्ने अडान राखेका छन् । ‘हाम्रो र मधेसी मार्चाका साथीहरुले भने संघीयतामा जाँदा पहिचान र उत्पिडीत वर्गलाई ध्यान दिनु पर्ने भन्नेमा जोड रहृयो- बैठकमा सहभागी माओवादी नेता हितमान शाक्यले अनलाइनखबरसँग भन्नुभयो ।
कांग्रेस र एमालेले भने पहिचानलाई नभई सामथ्र्य, भूगोल इतिहासिकता लगायतलाई आधार बनाउनु पर्ने अडान लिएको छ । पहिचानका नाममा जातीयतालाई केन्द्रबिन्दुमा राख्दा राष्ट्रियतामाथि खतरा आउँछ’ बैठकमा सहभागी कांग्रेस नेता अजुर्ननरसिंह केसीले भन्नुभयो । कांग्रेस सामथ्र्य र पहिचानलाई सन्तुलनमा राखेर राज्य पुनः संरचनाको पक्षमा रहेको उहाँको भनाई छ । बैठकमा यसअघि १४ प्रदेशको वकालत गर्दै आएको माओवादीले संख्यामा भने लचकता अपनाउन सकिने बताएको छ । कांग्रेसले ६ तथा एमालेले ६ देखि ७ प्रदेशको प्रस्ताव गरेको छ । कांग्रेस नेता केसी ६ देखि ८ प्रदेशहरु निर्माण गर्न दलहरु सहमति नजिक पुगेको बताए ।
बैठकमा कांग्रेसले संसदीय प्रणाली पार्टीको बटम लाइन भएको बताएपछि शाशकीय स्वरुपबारेको छलफल भने लम्बिन सकेन । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र दुबै ंससदबाट निर्वाचित भन्ने विकल्पमा छलफल भएको थियो’ एक नेताले भने-’कांग्रेसले संसदीय प्रणाली आफूहरुको अहिलेको आधिकारिक निर्णय भएको र त्यसलाई क्रस गर्न नसक्ने बताएपछि कुरा मिलेन ।’
संवैधानिक अदालत बिबादको चुरो
शीर्ष नेताहरुको बैठकमा न्याय प्रणाली र निर्वाचन प्रणालीबारे पनि छलफल भएको छ । माओवादी र मधेसी मोर्चाले संवैधानिक अदालत गठन हुनु पर्ने र न्यायाधीशहरुको पुनःनियुक्ति संसद अन्तरगतको समितिले गर्नु पर्ने अडान राखेका छन् भने कांग्रेस र एमालेले त्यसलाई अस्वीकार गरेका छन् । ‘कांग्रेस संधै स्वतन्त्र न्याय पालिकाको पक्षमा छ, संवैधानिक अदालत गठन गर्दा झन जटिलता आउँछ’ नेता केसीले भन्नुभयो-’सर्वोच्च अन्तरगत संवैधानिक बेन्च बनाउनु पर्छ ।’ यस्तै मिश्रति निर्वाचन प्रणाली अबलम्बन गर्न सहमत दलहरुबीच समानुपातिक र मिश्रति कति-कति प्रतिशत भन्नेमा विवाद छ ।
नागरिकताः सहमति नजिक
प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा नागरिकतबारे भएको छलफल भने सहमति नजिक पुगेको छ । विदेशी नागरिक महिला र पुरुष दुबैलाई समान समय राख्नेबारे मोटामोटी सहमति भएको छ । विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरे लगतै नेपाली नागरिकता पाउने तथा विदेशी पुरुषले नेपाली नागरिकसँग विवाह गर्दा १० वर्ष लाग्ने प्रस्ताव गरिएको छ ।
बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी भित्रको अन्तरविरोधका बावजुद माओवादीले लचिलो भएको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याएको भन्दै अब अन्य दललाई संविधान निर्माणमा लचिलो हुन आग्रह गर्नु भएको थियो । ‘तपाईहरुको बाध्यता बुझ्दै हाम्रो पुत्ला जल्दा पनि हामी लचिलो भएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍यायौं’ भट्टराईले भन्नुभयो-’अब तपाईहरुले पनि हाम्रो पार्टीभित्रको अन्तरविरोधलाई बुझ्दै संविधान निर्माणमा सकरारात्मक भूमिका खेल्नुहोस् ।’
आइतबारबाट सुरु भएको शीर्ष नेताहरुको बैठकमा माओवादी, कांग्रेस, एमाले र संयुक्तलोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन एकान्त खोज्दै हात्तीवन रिसोर्ट पुगेका मुख्य तीन दल र संयुक्त मधेसी मोर्चाका शीर्ष नेताहरु लामो अवधिसम्म एकै ठाउँमा रहँदा छलफल मात्रै भएको छैन, हाँसो ठट्टा र किस्सा कहानी पनि उत्तिकै चलिरहेको छ । आइतबार गम्भीर छलफल शुरु हुनुअघि केहीबेर हाँसो ठट्टा नै चलेको छ ।
हलमा रहेको चारपाटे आकारको बसाईमा एकातिर हारमा कांग्रेस र एमाले तथा अर्कातिर माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरु लहरै बसे । यसरी बस्दा माओवादीका रामबहादुर थापा बादल र एमालेका बामदेव गौतम ठ्याक्कै आमनेसामने भए । रसिक स्वभावका गौतमले गफ झिकिहाले ।
‘तपाईं र म पार्टीमा ठ्याक्कै उस्तै पोजिसनमा । म पनि पहिले तपाईं जस्तै बिद्रोही स्वभावको थिएँ, मैले त पार्टी फुटाएरै देखाईदिएँ’ गौतमले बादलतिर फर्केर यसो भनिरहँदा सबै गलल्ल हाँसे ।
‘हामीले त पार्टी फुटाउनको लागि होइन, विचारको बहस हो’ बादलले भने ।
‘हाम्रो पनि पहिले त बिचारकै बहस थियो नि, तर पछि पार्टी फुट्यो’ गौतमले जवाफ फर्काए ।
‘तर हाम्रो त पार्टी फुट्दैन’ बादलले फेरि भने ।
‘यसरी फुटेजसरी बहस गर्नुभन्दा त फुटेरै हिंड्नु जाति हो काम्रेड’ बामदेवले फेरि ठट्टा गरे ।
बामदेव र बादलको हाँसीमजाक बहस अरुले मात्रै होइन, माओवादी नेताहरुले पनि रमाइलो मानेर सुने । त्यसपछि संविधान निर्माणका विवादित विषयमा छलफल शुरु भयो ।
खाने बेला बाबुराम र बामदेव
एकसरो छलफल सकेर आइतबार मध्यान्न खाना खाने बेला प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार र एमाले नेता वामदेव गौतम एउटै टेबलमा परे । गच्छदारले मापसे अभियानको कुरो झिके । अनि बामदेवले गफ अगाडि बढाईहाले ।
‘म गृहमन्त्री भएको बेला त रात्रीकालिन व्यवसायलाई निश्चित समय तोकेको थिएँ, तर तपाईंले त मापसे अभियान चलाएर रेष्टुरेन्ट व्यवसाय चौपट बनाउनुभयो’ प्रधानमन्त्रीलाई गौतमले व्यंग्य कसे । प्रधानमन्त्री भट्टराईले मापसे अभियान शुरु भएपछि धेरै सुधार भएको र आफूले चलाएका अरु अभियानको पनि प्रसँग जोडे । बामदेवले फेरि व्यंग्य कस्दै भने -’तपाईंले चर्चा कमाउने धेरै काम गर्नुभयो । अब एकपटक मापसे सवारीको शुरुवात गर्नुहोस, जसमा मादकपदार्थ सेवन गरेका मात्रै चढून्, यसो भएमा झन् चर्चा पाउनुहुन्छ ।’ बामदेवको व्यंग्यात्मक ठट्यौली सुने बाबुराम मुस्कुराए मात्र ।
संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन एकान्त खोज्दै हात्तीवन पुगेका नेताहरुबीच बेलाबेला यस्तै ठट्टा र हाँसो भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक