20120619

अरु पार्टी भित्र लडाउने, भिडाउने, फुटाउने नेपालका कुख्यात अपराधी सरदार का नाममा प्रसिद्धी कमाएका कमरेड पुष्पकमल दाहालको माओवादी पार्टी फुटेरै छाड्यो

अब पुष्प कमल दाहाल र मोहन बैद्य पक्ष आफु आफुमा लडदै भिडदै, यिनिहरु मिल्दा पनि जनतालाई दु:ख, फुट्दा पनि जनतालाई नै दु:ख हुने निश्चित !
माओवादी औपचारिक रूपमा विभाजन भएको छ । उपाध्यक्ष मोहन वैद्यले आइतबार कार्यकर्ताको राष्ट्रिय भेलामा गरेको नयाँ पार्टी गठनको प्रस्तावलाई सर्वसम्मतले पारित गरेपछि माओवादी फुटेको हो । प्रस्ताव पारित भएपछि वैद्यले माओवादीको संस्थापन पक्षसँग सम्बन्ध विच्छेद भएको घोषणासमेत गरेका थिए । भेलामा सहभागी भए नेताका अनुसार पार्टीको नाम नेकपा, माओवादी राखिएको छ भने पार्टीको नेतृत्व वैद्यले नै गर्ने बताइएको छ । पार्टीको स्वरूप तथा कमिटी गठनका लागि थप छलफल भइरहेको नेताहरूले बताएका छन् । यद्यपि वैद्य पक्षले संस्थापन पक्षसँग एक पटक फेरि छलफल गर्ने बताएका छन् । वैद्यले केन्द्रीय समिति ७५ हुने प्रस्ताव गरेको भए पनि त्यसलाई भेलाले परिमार्जन गर्न सक्ने उल्लेख गरिएको छ । करिब पाँच वर्षदेखि नै दुई चिरामा रहेर फरक विचार समूहका रूपमा क्रियाशील रहेको माओवादीका उपाध्यक्ष वैद्य पक्षले माओवादी संस्थापन पक्षले पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको आरोप लगाएको छ । साथै शान्ति र संविधानको बाटो असफल भएको उल्लेख गर्दै क्रान्तिको तयारी गर्नुपर्ने धारणा राख्दै आएको छ । यसैबीच पार्टी नेतृत्वका लागि स्वयम् मोहन वैद्य अध्यक्ष रहने छन् भने महासचिवमा रामबहादुर थापा, सचिवमा सीपी गजुरेल, स्थायी समिति सदस्यमा नेत्रविक्रम र देव गुरुङ
रहने व्यवस्थासहित ४४ सदस्यीय कमिटि गठन गरिएको छ ।
तीन वर्षदेखि अन्तरसंघर्षमा गुज्रिएको 'एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी' अन्ततः औपचारिक रूपमै विभाजन भएको छ । उपाध्यक्ष मोहन वैद्य पक्षको राष्ट्रिय भेलाले संस्थापनबाट छुटेर नयाँ नाम 'नेपाल कम्युनिस्ट पार्टी, माओवादी' घोषणाको निर्णय गरेपछि औपचारिक विभाजन भएको हो । राजधानीको बौद्धस्थित शेर्पा सेवा केन्द्रको हलमा भएको भेलामा वैद्यले पार्टी औपचारिक रूपमा विभाजन भएको घोषणा गरेका हुन् । 'संस्थापनसँग औपचारिक रूपमा विच्छेद भएको छ,' वैद्यले करिब दुई हजार पाँच सय कार्यकर्ताको भेलामा भने, 'अब नयाँ ढंगको क्रान्तिकारी पार्टी बनेको छ ।' यसअघि भेलामा पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) प्रस्ताव गरिएको थियो । भेलाले पार्टीको नाम नेकपा, माओवादी राख्ने सुझाव दिएपछि त्यसलाई अनुमोदन गरिएको थियो ।
भेलाले पार्टीको नेतृत्व वैद्यले गर्ने गरी ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । महासचिवमा रामबहादुर थापा, सचिवमा सीपी गजुरेल र स्थायी समितिमा देव गुरुङ र नेत्रविक्रम चन्द छन् । वैद्य, थापा र गजुरेल रहेको केन्द्रीय पदाधिकारी बनाइएको छ । पोलिटब्युरोमा हितमान शाक्य, हरिभक्त कँडेल, पम्फा भुसाल, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल छन् । पार्टी गठन भए पनि पोलिटब्युरोसम्मका नेताहरूको पद भने पहिलेकै तय गरिएको छ । विधानमा ७५ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिए पनि आन्तरिक जिम्मेवारी मिलाउने भन्दै हाल पुरानै पदमा रहने निर्णय भएको थियो ।
पार्टी फुटेको औपचारिक घोषणा भने मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको छ ।
अब बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विस्तार गर्नेछ । भेलाले 'जनयुद्ध' को थालनी गरेको दिन फागुन पहिलो साता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । पार्टी फुटे पनि क्रान्तिकारी कार्यदिशा लिएर आएमा संस्थापनसँग पुनः एकता गर्न सकिने वैद्यले भेलामा बताएका थिए ।
उनले अध्यक्ष दाहालले पार्टी नफुटाउन आग्रह गरेको जानकारी दिँदै आफूले ठाडै अस्वीकार गरेको भेलामा सुनाएका थिए ।  दाहालले आइतबार राति वैद्यलाई फोन गरी सकेसम्म पार्टी नफुटाउन आग्रह गरेका थिए । सोमबार बिहान दसवर्षे सशस्त्र युद्धको आधारमा टेकेर जनविद्रोह गर्ने दाबी वैद्यले भेलामा ३राखेका थिए । उनले छापामार युद्ध गर्ने प्रचार गलत भएको दाबी गरेका थिए । 'अब फेरि छापामार युद्ध गर्ने भन्ने प्रचार गलत हो,' उनको भनाइ थियो, 'हामी जनयुद्धको बलमा जनविद्रोहमा अघि बढ्नुपर्छ ।'
बौद्धस्थित शेर्पा सेवा समितिको हलमा भएको बन्दसत्रमा २१ समूहमध्ये अधिकांश टोली नेताले नयाँ पार्टी घोषणा गर्नुपर्ने माग गरेका थिए ।
भेलाले अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई 'दक्षिणपन्थी र नवसंशोधनवादी समूह' नामकरण गर्ने निर्णय पनि गरेको छ । संविधानसभा विघटन भएकामा खेद व्यक्त गर्दै सरकारले मंसिरमा घोषणा गरेको संविधानसभाको निर्वाचनको पनि भेलाले भत्र्सना गरेको छ ।
केन्द्रीय सदस्य महेन्द्र पासवानले पार्टीले 'नयाँ जनवादी क्रान्ति' गर्ने बताए । 'यो नयाँ  जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा हो,' उनले भेलापछि भने, 'त्योमध्ये जनविद्रोहको बाटो पनि एक हो ।'
भेलाको समापनमा 'साम्राज्यवाद विस्तारवाद मुर्दावाद, मालेमावाद जिन्दावाद' नारा लगाइएको थियो ।
कस्ता छन् नयाँ पार्टीका नेता अध्यक्ष वैद्य माक्र्सवादी दर्शनमा दख्खल भएका नेता हुन् । महासचिव रामबहादुर थापा सशस्त्र युद्ध सुरु गर्ने बेलादेखि रुकुम, रोल्पामा संगठन गरेका लामो अनुभव छ । सचिव सीपी गजुरेलले पार्टीको अन्तर्राष्ट्रिय विभागमा काम गरेका थिए । स्थायी समिति सदस्यद्वय देव गुरुङ र नेत्रविक्रम चन्द पार्टीमा बलियो छवि बनाएका नेतामा पर्छन् । पोलिटब्युरो सदस्यहरू हितमान शाक्य, पम्फा भुसाल, नारायण शर्मा, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला यसअघि पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाइसकेका नेता हुन् ।
त्यस्तै जनवर्गीय संगठनहरू महिला अध्यक्ष जयपुरी घर्ती, शिक्षक अध्यक्ष गुणराज लोहनी, विद्यार्थीका लेखनाथ न्यौपाने, दलित अध्यक्ष तिलक परियार, बेपत्ता परिवार समाजका अध्यक्ष एकराज भण्डारी, उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेल, कर्मचारी संगठनका अध्यक्ष रुक्म लामिछाने नवगठित पार्टीमा लागेका छन् ।
पेरिसडाँडा पार्टी कार्यालय कसको ?
हाल कोटेश्वर पेरिसडाँडामा रहेको माओवादीको केन्द्रीय कार्यालय वैद्य पक्षमा लागेका उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेलको नाममा छ । पार्टी कार्यालय किन्दा एक सहकारीबाट लिएको एक करोडभन्दा बढी ऋण पनि कट्टेलकै नाममा छ । वैद्य पक्षको भेलामा यो पार्टी कार्यालयबारे पनि कुरा उठेको थियो । हाल वैद्य पक्षले सम्पर्क कार्यालय ललितपुरको कुपन्डोलमा सञ्चालन गर्दै आएको छ ।
वैद्य पक्षमा कुन-कुन नेता ?
मोहन वैद्य, रामबहादुर थापा, चन्द्रप्रसाद गजुरेल, देवप्रसाद गुरुङ, नेत्रविक्रम चन्द, हितमान शाक्य, नारायण शर्मा, हरिभक्त कँडेल, पम्फा भुसाल, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, हर्कबहादुर शाही, सन्तोष बुढामगर, पूर्ण घर्ती, श्रीराम ढकाल, सूर्यप्रकाश सुवेदी, ईश्वरी दाहाल, जयपुरी घर्ती, यशोदा सुवेदी, अमृता थापा मगर, मायाप्रसाद शर्मा, सरला रेग्मी, उमा भुजेल, सुरेश आले मगर, श्रीनाथ अधिकारी, चन्द्रहरि सुवेदी, पवनमान श्रेष्ठ, दिलीप प्रजापती, अनिल शर्मा, कुमार दाहाल, महेन्द्र पासवान, कृष्णदेव सिंह, पदम राई, सावित्रीकुमार काफ्ले, दिनेश शर्मा, भरत बम, कृष्णध्वज खड्का, रेखा शर्मा, महेश्वर दाहाल, राम आचार्य, ओमप्रकाश पुन, बाबुराम नेपाली, कृष्ण राई । -माओवादीका १४९ केन्द्रीय सदस्यमध्ये भेलामा यी ४५ जना उपस्थित थिए ।)
किन भयो विभाजन ?
माओवादी शान्ति प्रक्रियामा आएदेखि नै वैद्य पक्ष असन्तुष्ट रहँदै आएको थियो । २०६२ सालमा भएको चुनबाङ बैठकले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाप्रति भित्री रूपमा असहमत थियो । त्यसबेला वैद्य भारतको सिलगुढी जेलमा रहेकाले उनले त्यो बैठकमा भाग लिन पाएनन् र खास विरोध हुन पाएन ।
जनआन्दोलन-२ पछि पनि उपाध्यक्ष मोहन वैद्य र सचिव सीपी गजुरेल भारतको जेलमै रहे । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराईलगायत नेता राजधानी आएर कांग्रेस-एमालेसँग धेरै सहमति गरिसकेका थिए । २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता गरेपछि वैद्य पक्ष झनै बिच्कियो । किनभने त्यही सम्झौताले सशस्त्र युद्धलाई औपचारिक रूपमा समाप्त गरेको थियो । केन्द्रीय समितिबाट उक्त सम्झौता पारित नगराई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेको भन्दै वैद्य पक्षले विरोध गर्दै आएको थियो । २०६५ मंसिरको खरिपाटी बैठकमा वैद्यले दाहालविरुद्ध जनविद्रोहको कार्यदिशा ल्याएपछि अन्तरसंघर्षले चर्को रूप लिएको थियो । त्यसबेला दाहालले वैद्यका जनविद्रोहलगायत विषय समेटेर एकीकृत दस्तावेज बनाएपछि विवाद केही साम्य भएको थियो । २०६७ मंसिरमा गोरखाको पालुङटार बैठकमा वैद्यले पुनः अर्को दस्तावेज राखे, जनविद्रोहकै कार्यदिशा लिएर । धेरै विषयमा दाहाल र वैद्यको एकरूपता देखियो भने अर्का उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानको पक्षमा फरक दस्तावेज राखे । त्यसपछि केही समय दाहाल र वैद्य सँगै रहे । गत भदौमा भट्टराई प्रधानमन्त्री बनेपछि संस्थापन र वैद्य पक्षबीच दूरी बढेको हो । भट्टराई सरकारमा गएर शान्ति प्रक्रियाका काम अघि बढाएपछि वैद्य पक्ष झनै बिच्कियो । उसले संस्थापनले सेना समायोजनका विषयमा आत्मसमर्पण गरेको, जनविद्रोहको कार्यदिशा त्यागेको भन्दै खुला रूपमा विरोध गर्न थालेको थियो ।
गत चैतमा लडाकु, हतियार र शिविर नेपाली सेनालाई जिम्मा लगाएपछि वैद्य पक्ष एउटै पार्टीमा बस्न नसक्ने निष्कर्षमा पुगेको हो । त्यसबेलादेखि नै उसले छुट्टै समानान्तर संरचना बनाउन थालिसकेको थियो । 'जनयुद्धको जगमा जनविद्रोह' हुन सक्ने वैद्य पक्षको निष्कर्ष छ । संस्थापनमा भारतीय प्रभाव बढी परेको भन्दै वैद्य पक्षले छुट्टै पार्टी खोलेर नयाँ बाटो रोजेको हो । कट्टरवादी कम्युनिस्ट विचारको वैद्य पक्ष र अन्य दलसँग सहकार्य गरी अघि बढ्ने संस्थापन पक्षबीच कार्यदिशामा कुरा नमिल्दा पार्टी विभाजन हुन पुगेको हो ।
पतनको बाटो: संस्थापन
काठमाडौं (कास)- वैद्य पक्षले नयाँ पार्टी घोषणा गरेपछि संस्थापनले पतनको बाटो सुरु भइसकेको टिप्पणी गरेको छ । वैद्य पक्षसँग स्पष्ट कार्यदिशा नभएको दाबी गर्दै संस्थापनले आफू लचक हुँदाहुँदै पनि पार्टी फुटाएको आरोप लगाएको छ ।
स्थायी समिति सदस्य वर्षमान पुनले फुटले खासै असर नगर्ने दाबी गरे । 'राजनीतिक र संगठनात्मक असर गर्दैन । उहाँहरू पहिले आफ््नै संगठन गरेर हिँड्नु भएको थियो,' उनले  भने, 'पहिचान सहितको संघीयता र संघीयतासहितको संविधान हामीले भनेका
छौं । उहाँहरूले पनि त्यही भन्नुभएको छ । नयाँपन केही छैन । उहाँहरूको कार्यदिशा स्पष्ट छैन । उहाँहरू अकर्मण्यतामा फस्नु भएको छ ।' पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले अध्यक्षले पद छाड्न तयार भए पनि भिन्न मतले नमानेको बताए । 'अध्यक्षले जिम्मेवारीपूर्वक पद छाड्छु भनेको इतिहास छैन,' उनले भने, 'अब उहाँहरूको पतनको दिशा सुरु भइसकेको छ । यसले संस्थापनलाई केही असर गर्दैन ।' संस्थापनले सातौं विस्तारित बैठक असार १५ गतेदेखि राजधानीमा गर्दैछ ।


काठमाण्डौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले माओवादी औपचारिकरुपमा बिभाजन भई बैद्य समूहले नेकपा माओवादी नामको नयाँ पार्टी गठन गरेको समाचारलाई प्राथमिकताा साथ छापेका छन् ।
यस्तै बिरोधका बिच प्रधानमन्त्री ब्राजिल प्रस्थान गरेको र राष्ट्रपतिले सुपुर्दगी र सम्पत्ति सुद्धिकरण सम्बन्धी अध्यादेश जारी गरेको समाचारलाई पनि सवैजसो दैनिक पत्रिकाले प्राथमिकताका साथ छापेका छन् । नागरिक दैनिकले धेरैजसो भीआईपीका सुरक्षाकर्मी क्षमताका आधारमा भन्दा पनि भनसुनका आधारमा राखिने गरिएको समाचार छापेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक