20120712

पूर्वराजाको अभिव्यक्ति आएकै भोलिपल्ट एमाओवादी, कांग्रेस, एमालेलगायतका दलहरु एकै ठाउँ भेला हुनुले अगुल्टाले हानेको कुकुर विजुली चम्कँदा तर्सन्छ भन्ने उखान सिद्ध हुन पुगेको छ

- कृष्ण अविरल
 पूर्वराजा ज्ञानेन्द्र शाहको ‘नारायणहिटीमा र्फकनका लागि उपयुक्त मौकाको पर्खाइमा रहेको’ भन्ने आसयको अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक दलका टाउके नेताहरु झस्किएका छन् । घुमाउरो भाषामा नेताहरु नालायक सावित भइसकेको भन्ने उनको भनाइ नेताहरुलाई ऐना सावित भएको छ । यसबाट उनीहरुलाई आफ्नो नालायकी र अदूरदर्शी व्यवहारको बोध पहिलोपटक भएको देखिएको छ । जेठ १४ को संविधानसभा विगठनपछि एकअर्कालाई आरोप-प्रत्यारोप लगाउँदै वार्ता र छलफलमा समेत नबसेका दलहरुलाई आगामि बजेटकै निहुँमा भए पनि एकै ठाउँमा बस्न बाध्य बनाएको छ । पूर्वराजाको अभिव्यक्ति आएकै भोलिपल्ट एमाओवादी, कांग्रेस, एमालेलगायतका दलहरु एकै ठाउँ भेला हुनुले अगुल्टाले हानेको कुकुर विजुली चम्कँदा तर्सन्छ भन्ने उखान सिद्ध हुन पुगेको छ । ज्ञानेन्द्रको अभिव्यक्तिबाट नेताहरु झस्किएको अर्को प्रमाण हो, प्रतिउत्तरमा आएको अभिव्यक्ति । प्रधानमन्त्री डा. बाबुराम भट्राईले ‘पूर्वराजाले जथाभावी बोल्दै हिँडे राज्यका तर्फबाट उनलाई दिइएको सुविधा खोसिने’ चेतावनी दिएका छन् भने एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले ‘पूर्वराजालाई थुन्न सकिने ।’ उता कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पूर्वराजालाई दलहरुसँग भएको भनिएको सहमतिको दस्तावेज देखाउन चुनौती दिएका छन् । जे होस्, ज्ञानेन्द्रले आफ्नो आकांक्षा ओकलेर अवरुद्ध राजनीतिक गतिविधिमा नयाँ छाल ल्याइदिएका छन् । नेताहरुलाई आफ्नो कार्यशैलीका बारेमा सोच्न
बाध्य बनाइदिएका छन् । गतिरोधको गाँठो बेलैमा नफुकाए विकल्पका लागि आफू तयार रहेको सन्देश दिएर नेताहरु सुधि्रएको हेर्न चाहने आम नेपालीजनलाई ठूलो गुन लगाइदिएका छन् ।
नयाँ चुनावका लागि सरकारले मितिको घोषणा गरे पनि संविधान संशोधनविना चुनाव असम्भव रहेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । संविधान संशोधन गर्नका लागि संविधानसभा विगठन भइसकेको अवस्था छ । संविधानसभा एक दिनका लागि व्युँताएर समस्या समाधान गर्ने छिटो र छोटो बाटो रोज्ने हो भने पनि विवादित विषयमा पहिल्यै समाधान खोज्न प्रमुख राजनीतिक दलहरु आ-आफ्ना बालहठ छाडेर एकैठाउँ भेला हुन जरुरी छ ।
सबैलाई थाहा भएको कुरा हो, देश अनिश्चय र अन्योलको भूमरीमा फँस्नु र ज्ञानेन्द्र र्फकने वातावरण बन्दै जानुका पछाडि प्रत्येक राजनीतिक दल जिम्मेवार छन् । विगतको संविधानसभा भित्रको हैसियतअनुसार नै प्रत्येक दल अपजसका भागीदार छन् । कमजोरी र चुकाइबाट कोही मुक्त छैनन् । यस्तो बेलामा दलका नेताहरुले अर्कोलाई खुइल्याएँ भनेर आत्मरतिमा रमाउनु भनेको आफ्नै आङको भैंसी नदेख्नु मात्रै हो । आफ्नो गालीबाट आफैँ पनि नाङ्गिरहेको छु भन्ने चेत नभएको सन्देश जनतामा दिनु हो ।
त्यसैले एमाओवादी र कांग्रेस-एमालेका नेताहरुले अब मेरै गोरुको बाह्रै टक्का भन्ने खालको लिंडे अडान छाड्नु पर्छ । कमजोरी विरोधीमा होइन, अब आफूभित्र खोज्नु पर्छ । नेताहरुको व्यवहारबाट वाक्कदिक्क र निराश भएको आम जनताको ठाउँमा आफूलाई उभ्याएर देशका बारेमा सोच्नु पर्छ । अमेरिकामा एउटा भनाई नै छ, ‘आफूलाई अर्को व्यक्तिको स्थानमा उभ्याएर उसको दृष्टिकोणबाट परिस्थितिलाई हेर्नसक्ने मानिसले आफ्नो भविष्यका बारेमा चिन्ता लिइरहनु पर्दैन ।’
सुनिन्छ, नेताहरु अनौपचारिक भेटघाटमा आफ्ना गल्ती कमजोरी स्वीकार्ने गरेका छन् । तर अहिलेको परिस्थितिमा त्यतिले मात्रै पुग्दैन । अब यिनीहरुले एकअर्काको उछित्तो काढ्न छाडेर एकै ठाउँ भेला भइ सार्वजनिक रुपमा आत्मसमीक्षा गर्न जरुरी छ । आफ्नो कमजोरी आफैँले स्वीकारेर पुनः त्यस्तो गल्ती नदोहर्‍याउने बाचा गर्न जरुरी छ । यसो भयो भने मात्र यिनको गिर्दो शाख पुर्नस्थापित हुनसक्छ । वर्तमान राजनीतिक समस्याको गाँठो फुस्किन सक्छ । नेताहरुले बुझन् के जरुरी छ भने आफ्नो गल्ती सार्वजनिक रुपमा स्वीकारेर कोही सानो हुँदैन । बरु उसको उचाइ बढ्छ ।
मानवीय स्वभाव हो- हामीले कोही कसैको कमजोरी समातेर गाली गर्छौँ भने निश्चित छ, ऊ आफ्नो प्रतिरक्षाका लागि तयार हुन्छ । बदलामा उसले गाली गर्नेका कमी कमजोरी पहिल्याएर थप चर्का गाली गर्छ । धर्म-दर्शनहरुमै भनिएको छ, गालीले गाली जन्माउँछ, प्रेमले प्रेम । त्यसैले पनि अहिलेको अवस्थामा प्रमुख दलका नेताहरुले आफू मात्र राम्रो, आफू मात्र असल र आफू मात्र जान्ने हुँ भन्ने बालहठलाई केही कालका लागि थाती राख्नु पर्छ । विरोधीका सकारात्मक पक्षहरु खोजेर आफू सम्बद्ध दललाई त्योभन्दा राम्रो काम गर्ने स्थितिमा कसरी पुर्‍याउने भन्ने बारेमा सोच्नु पर्छ । यसो भयो भने मात्र हामीले वर्तमान अन्यौलको गाँठो फुकाउन सक्छौं र नौलो मान्यता र संस्कारको जग बसाउन सक्छौं भन्ने कुरा बुझ्नु पर्छ ।
विरोधी दलको कमजोरी उधिनेर, सार्वजनिक रुपमा अरुलाई खुइल्याएर आत्मरतिमा रमाउने नेताहरुको प्रवृत्तिबाट यो देशको धेरै वर्ष नोक्सानी भइसकेको छ । देशमा राजनीतिक संस्कारको विकास हुन नसक्नु र देश पछाडि पर्नुको प्रमुख कारण नै आफूहरु नै हौँ भन्ने कुरा अब नेताहरुले बुझ्न जरुरी छ । नत्र युगका कलंकित पात्रहरुको रुपमा इतिहासका पानामा नेताहरुको नाम लेखिनबाट कसैले रोक्न सक्तैन । इतिहासले मलाई चोख्याउँछ भनेर कुनै नेताले अझै पनि सपना देख्छ् भने त्यो तिनको मूर्खताबाहेक केही होइन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक