20120702

'बाबुरामले देशलाई लुट्ने र विदेशीलाई लुट्न मैदान तयार गरिदिइरहेका छन्, देशमारा जनतामारा प्रधानमन्त्रीलाई हटाउन जति ढिलो हुन्छ उत्तिनै देश बर्बाद हुन्छ' : वामदेव

प्रधानमन्त्री बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्न संयुक्त मोर्चाबन्दी सहित संघर्ष : नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल

आपराधिक घटना बढेको आयोगको ठहर


नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधान मन्त्री बाबुराम भट्टराई देशलाई लुट्न र लुटाउन सक्रिय रहेको आरोप लगाएका छन्। उनले जतिसक्दो छिटो भट्टराईलाई सत्ताबाट हटाउन सडक आन्दोलनमा उत्रिने बताए। संयुक्त किसान आन्दोलन समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले भट्टराईले नैतिकताका आधारमा राजीनामा नदिए घेराबन्दी गरेर हटाइछाड्ने चेतावनी दिए। 'बाबुरामले देशलाई लुट्ने र विदेशीलाई लुट्न मैदान तयार गरिदिइरहेका छन्,' उनले भने, 'देशमारा जनतामारा प्रधानमन्त्रीलाई हटाउन जति ढिलो हुन्छ उत्तिनै देश बर्बाद हुन्छ।' प्रधानमन्त्रीलाई इतिहासकै कलंकित र निर्लज्ज आरोप लगाउँदै दलहरु एकजुट भएर घेराबन्दी गर्ने बताए। बाबुराम भट्टराईका कारण विदेशीहरुले खेल्ने सजिलो मैदान भेटेको भन्दै त्यसको भण्डाफोर हुने उनको भनाई थियो। अखिल नेपाल किसान संघका अध्यक्ष गौतमले वर्तमान सरकारलाई पापीहरुको गुटबन्दी रहेको बताए। भत्काउने र बिगार्नेमा बाबुराम सरकार अग्रपंक्तिमा रहेको भन्दै संविधानसभा बिघटन यसैको निरन्तरता रहेको बताए। किसानहरुलाई अत्याचार गरेर सरकारले आफ्नो हैसियत पुष्टि गरेको आरोप लगाउँदै देशभरका किसानहरु एकजुट भएर बालुवाटार घेर्ने चेतावनी दिए। असारको तेश्रो हप्ता भइसक्दा पनि मल उपलब्ध गराउन नसक्नुका पछाडि 'मुलुकमारा' र 'जनतामारा' नीति रहेको आरोप लगाए। बदनाम र अनियमितताको आरोप खेपेको
भारतीय कम्पनी इन्डियन पोटासियम लिमिटेडलाई पुनः मल ल्याउने जिम्मेवारी दिनुभित्र करोडौंको खेल रहेको उनको भनाई थियो। उनले भने,'कम तौलको बोरा राखेर मल भित्राएपछि अख्तियारले दोषी ठहर्‍याएको कम्पनिलाई पुनः जिम्मेवारी दिनु देशलाई ठाडै लुटाउनु हो।' आफूहरु किसान ठगिएको चुपचाप सहन नसक्ने भन्दै देश नै ठप्प पार्नेगरी आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए।

नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्न संयुक्त मोर्चाबन्दी सहित संघर्ष गर्नुको विकल्प नभएको बताएका छन्। सरकार ढाल्न कांग्रेस, एमालेले थालेको आन्दोलनमा आफूहरु पनि मिसिने उनले जानकारी दिए।

'बाबुरामले सितिमिति राजीनामा दिँदैनन्,' रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने- 'घेराबन्दीमा पारेर जनबलबाटै बर्खास्त गर्न सशक्त आन्दोलनको आवश्यकता छ। त्यसका लागि बालुवाटारभित्रै निरन्तर घेराबन्दीमा राख्नुपर्छ।'
गजुरेलले आफू सत्तामा टिकिरहन प्रधानमन्त्रीले संविधानसभा बिघटन गरेको बताए। गजुरेलले प्रधानमन्त्री भट्टराई विदेशीबाट संचालित भएको आरोप लगाउँदै उनले भने 'भट्टराई कहाँबाट संचालित छन्, कसले कुन षड्यन्त्रबाट उनलाई टिकाइरहेको छ सबैलाई थाहा छ।'

सर्वोच्च अदालतको आइबारको फैसला अनुसार पूर्ण बजेट ल्याउन बाटो खोलिदिएको ठान्नु भ्रम मात्र भएको जिकिर गरे। अदालतले राजनीतिक विषयमा बोल्न नमिल्ने जिकिर गर्दै जर्बजस्ती पूर्ण बजेट ल्याउन खोजे घातक परिणाम भोग्नुपर्ने चेतावनी उनले दिए। गजुरेलले संविधानसभाको निर्वाचन मंसीर ७ गते कुनै हालतमा हुन नसक्ने पनि ठोकुवा गरे।


आपराधिक घटना बढेको आयोगको ठहर, राजनीतिक अस्थिरता समाधान गर्न आग्रह

 राष्ट्रिय मानव अधिकार आयोगले देशमा भइरहेका हत्या–हिंसा र अपहरणका अपराधिक घट्नाहरु तत्कालन नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरेर नागरिकको स्वतन्त्रतापूर्वक एवम् निर्भयतापूर्वक बाँच्न पाउने हकको सम्मान गर्न सरकारसँग आग्रह गरेको हो । ‘देशमा देखापरेको हत्या–हिंसा, अपरहरण, बढ्दो महंगी, मलको अभाव, राजनीतिक भैm–झगडा, राजनीतिक असहिष्णुता, त्रिभुवन विश्वविद्यालयमा भएको आगजनी, सडक दुर्घटना एवम् प्राकृतिक विपत्तिका घट्नाप्रति आयोगको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आकाशिंदो किसिमले महंगी बढिरहेको भन्दै आयोगले अप्राकृतिक रुपमा बढेको महंगीको कारण पत्ता लगाई रोक्न समेत भनेको छ ।
‘मलको अभाव देखापरेको छ,’ विज्ञप्तिमा आयोगले भनेको छ, ‘सर्वसाधारण किसानको जीविकामा मात्रै होइन, अन्न उत्पादनमा समेत असर पर्ने देखिन्छ ।’
रोगको रुपमा रहेको दण्डहीनतालाई अन्त्य गर्न, राज्यको पुनःसंरचना तथा संघीयतालगायत थाँती रहेका राजनीतिक विवादलाई यथाशक्य छिटो अन्त्य गर्न पनि आयोगले भनेको छ । राजनीतिक अस्थिरतालाई छलफल र सहमतिबाट तार्किक निष्कर्षमा पुराउन सवै सरोकारवाला पक्षहरुसंग आयोगले आग्रह गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक