20120727

माओवादीका दुई गुटबिच झडप, एक नेता सख्त घाइते, दुबैले दुबैको प्रतिकार गर्ने अरे, हेर्नुछ अझै कती अस्पताल पुग्ने हुन !

शुक्रबार बिहान अखिल क्रान्तिकारी कार्यकर्ताको आक्रमणबाट नवगठित नेकपा-माओवादीनिकट विद्यार्थी संगठनका एक विद्यार्थी नेता घाइते भएका छन्।  सुर्खेत क्याम्पस (शिक्षा)मा नेकपा-माओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक भिष्म शाहीमाथि आक्रमण भएको हो। 'संगठन विस्तार' गर्ने विषयमा भएको झडपमा एकीकृत माओवादीनिकट क्रान्तिकारीका जिल्ला संयोजक अजित बौडेलले आफूमाथि आक्रमण गरेका घाइते शाहीको भनाइ छ। 'म क्याम्पसको गेटबाट बाहिर निस्किँदै थिएँ, दुईजना अपरिचितसहित आएका बौडेलले एक्कासी इट्टाले हाने,' अस्पतालको बेडमा रहेका उनले भने, 'बौडेलले खुकुरीसमेत बोकेकाले मार्ने उद्देश्यले आक्रमण भएको हो।' टाउकोमा पाँच वटा टाँका लगाइएका शाहीको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। शाहीले बौडेलसँगै उनको संगठनका क्याम्पस इकाइ अध्यक्ष देवीचन्द्र उपाध्याय र केही वाइसिएल कार्यकर्ता पनि रहेका बताए। उनका अनुसार सुरुमा
अपरिचित दुईजनाले 'पार्टी कार्यालयमा राखिएको साइनबोर्ड किन फालेको?' भन्दै आक्रमण गरेका थिए। प्रतिकार गर्ने क्रममा उनीहरु भागेपछि बौडेलले इट्टाले हानेका शाहीले बताए।
आरोपित बौडेलले भने शाहीमाथि आफूले आक्रमण नगरेको दावी गरेका छन्। एकीकृत माओवादीनिकट क्रान्तिकारीका विद्यार्थीलाई शाहीले आफ्नो संगठनमा बस्न दवाव दिएपछि विवादले झगडाको रुप लिएको उनले बताए। 'म झगडा छुट्याउन गएको हुँ, आक्रमण गरेको होइन,' उनले भने।
अस्पतालमा घाइते शाहीलाई भेट्न गएका नेकपा-माओवादीका भेरीकर्णाली राज्य समिति सहसेक्रेटरी कृष्णप्रसाद धमलाले एकीकृत माओवादीका कार्यकर्ताहरु बैचारिक रुपमा हारेपछि गुण्डागर्दीमा उत्रिएका आरोप लगाए। 'शाहीमाथिको आक्रमण गुण्डागर्दीको एक नमूना हो' उनले भने, 'कानून हातमा लिनेलाई तत्काल कारवाही हुनुपर्छ।' घटनाको आधारमा बौडेललगायत विद्यार्थीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गर्ने उनले बताए।
प्रहरीले घटनाबारे आधिकारिक जानकारी नभएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी आनन्दप्रसाद मराठाले विवाद भएको सुने पनि त्यसबारे विस्तृत थाहा नभएको बताए।
एकीकृत माओवादी विभाजन भएपछि सुर्खेतमा पार्टी कार्यालय भवन विवादको जड बनेको छ। केही दिनअघि नेकपा-माओवादीले पार्टी कार्यालयमा आफ्नो साइनबोर्ड राख्‍ने क्रममा शाहीले एकीकृत माओवादीका कार्यालय सचिव नरेन्द्र कार्कीमाथि आक्रमण गरेको आरोप छ। पार्टी कार्यालयमा भित्रबाट ताल्चा लगाएर बसेका कार्कीसँग शाहीले ढोका खोल्न नमान्दा हातपात गरेका थिए। भूमिगत कालमा समेत विद्यार्थी राजनीति गरेका कार्कीमाथि आक्रमण भएपछि एकीकृत माओवादीनिकट विद्यार्थीहरु शाहीप्रति त्रु्कद्ध थिए। 'अहिले कारण जे भने पनि विवादको जड त्यही हो,' अखिल क्रान्तिकारीका एक कार्यकर्ताले भने, 'समयमै समस्या समाधान नभए भोलि विवादले चर्को रुप लिन बेर छैन।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक