20120729

गुल्मीको थानापति-५ थोर्गास्थित घर हिँडेका एकै परिवारका १३ जनाको पाल्पाको बौघापोखराथोकमा शुक्रबार राति गाडी दुर्घटना परी मृत्यु


- टेकनारायण भट्टराई
 भारतको दिल्लीबाट गुल्मीको थानापति-५ थोर्गास्थित घर हिँडेका एकै परिवारका १३ जनाको पाल्पाको बौघापोखराथोकमा शुक्रबार राति गाडी दुर्घटना परी मृत्यु भएको छ। पाल्पा, बौघापोखराथोकको जोर्ते भन्ने ठाउँबाट सय मिटर तल खोलामा खसेको हो। भारतीय नम्बर प्लेटको डिएल१वाई ४६७८ नम्बरको सुमो गाडीमा सवार राना परिवारका १६ जनामध्ये दुईजना मात्रै बाँच्न सफल भएका छन्। दुर्घटनामा गाडी चालक भारतीय नागरिक अशोककुमार तिवारीको पनि ज्यान गएकाले मृतकको संख्या १४ पुगेको प्रहरीले जनाएको छ। मृतकमध्ये आठ महिला, चार बालबालिका र दुई पुरुष छन्। गम्भीर घाइते अवस्थाका ३० वर्षीय सत्यन्द्र राना र १० वर्षीय निलेशको लुम्बिनी मेडिकल कलेज
प्रभास तानसेनमा उपचार भइरहेको छ। मृतकमा सत्यन्द्रकी पत्नी रीता र एक छोरी, दाजु नरबहादुर, उनका दुई छोरी र एक छोरा छन्। यस्तै, सत्येन्द्रकी बहिनी विटिया र उनका दुई छोराछोरी, कान्छी आमा र उनका तीन छोरीको मृत्यु भएको छ। दिल्लीमा मृत्यु भएका सत्येन्द्रका बुबा ६० वर्षीय धनबहादुर रानाको अस्तु विसर्जन गर्न उनीहरु कलिगण्डकी घाट रिडी आउँदै थिए। धनबहादुरका तीन पत्नीमध्ये कान्छी अस्तु विसर्जन गर्न आउँदा दुर्घटनामा परेकी हुन्। मृतकको नाम सानु राना, गंगा राना, खगीसरा राना, कावेली राना, भावना राना, तिर्सना राना, स्यारली राना र नाम नखुलेका चारजना बालबालिका छन्। परिवार नै भारत बस्दै आएकाले आफन्तहरु मृतक पहिचान गर्न मुस्किल परेको छ। तीव्र गतिमा रहेको गाडी पाल्पा बौघापोखराथोक गाविस जोर्तेको ओरालोमा पिच सडक छाडेर करिब २० मिटर कच्ची सडक गुडेपछि सय मिटर तल खोलामा खसेको हो। 'पिच सडक छाडेर कच्चीमा गुड्दै ह्युमपाइपमा ठोक्किएपछि उडेर एकैचोटी खोलाको बीचमा पुगेको देखिन्छ,' डिएसपी मीरा चौधरीले भनिन्, 'हावामा उडेर खोलाबीचको ढुंगामा ठोक्किएको छ।'
शुक्रबार राति १२ बजे दुर्घटना भएको घाइतेको उद्धारमा खटिएका एम्बुलेन्स चालक पदम कँडेलले बताए। 'राति १२ बजेतिर गाडी खस्यो, म बेहोस भएँ,' घाइते सत्यन्द्रको भनाइ उद्धृत गर्दै कँडेलले भने। बिहान ६ बजे स्थानीयले देखेपछि घाइतेको उद्धार थालिएको थियो।
मृतक सबैको पोस्टमार्टमपश्चात कालीगण्डकी घाट रिडीमा शनिबार साँझ दाहसंस्कार गरिएको छ।
दाहासंस्कारका लागि गुल्मीका प्रमुख जिल्ला अधिकारीसहित मृतकका गाउँले जुटेका थिए। मृतकको शवमा धनबहादुरका बुबा ८२ वर्षीय बृद्ध अनबहादुर रानाले दागबत्ती दिए।

1 comment:

  1. 16 people in a jeep!!! I hope nepali citizens wakeup before such incidents repeats again. Don't expect any action from the lawmakers though, they haven't got time looking at such issues becaues they are too busy fighting for power.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक