20120725

विशेष अदालतबाट पाँच वर्षअघि भ्रष्टाचार मुद्दामा सफाइ पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी सोही अदालतबाट भ्रष्टाचारी ठहर भए !

अदालतबाट भ्रष्टाचार करार भएका जोशीले आफूमाथि अन्याय भएको बताए
विशेष अदालतबाट पाँच वर्षअघि भ्रष्टाचार मुद्दामा सफाइ पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी सोही अदालतबाट भ्रष्टाचारी ठहर भएका छन् । सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद सजाय र चार करोड ३२ लाख २८ हजार बिगो तथा जरिवानाको फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले सार्वजनिक पदको दुरुपयोग गरी जोशीले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनलाई कैद र जरिवानाको फैसला सुनाएको हो । ‘पटक–पटक सांसद र मन्त्री बनेका जोशीले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन
गरेको देखिन आयो,’ आदेशमा भनिएको छ, ‘अदालतबाट ०४८ देखि ०५९ सम्म सार्वजनिक पदमा रहँदाको सम्पत्ति विवरणको हिसाब–किताब गर्दा उनी र उनको परिवारका नाममा रहेको २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपियाँको स्रोत खुल्न सकेन । उनले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३,७ (१), १५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसुर गरेको ठहर्छ ।’ फैसला हुँदा जोशी अदालतमा उपस्थित थिएनन् । उनले विशेष अदालत ऐनअनुसार तोकिएको म्यादभित्र धरौटी राखी पुनरावेदन गर्न पाउनेछन् । म्यादभित्र पुनरावेदन नगरे उनलाई हिरासतमा लिइनेछ ।
०२४ सालदेखि ०३४ सालसम्म तनहुँमा शिक्षक रहेका जोशी ०४८ मा पहिलोपटक सार्वजनिक पदमा रहेका हुन् । ०४८ देखि ०५६ सालसम्म भएका तीनवटा निर्वाचनमा तनहँुबाट सांसद बनेका जोशी २ पटक शिक्षा तथा समाजकल्याण र दुईपटक गृहमन्त्री भएका थिए । यसैगरी, उनले जलस्रोत, स्थानीय विकास, सामान्य प्रशासन मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् ।
०४८ सालदेखि ०५६ सालसम्म सांसद र मन्त्री हुँदा उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै ०५९ सालमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी जोशीले ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपियाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको जिकिर गरेको थियो । तर, तत्कालीन विशेष अदालतले सार्वजनिक पदबाट हटेको एक वर्षभित्र मुद्दा नचलाएको भन्दै

हदम्यादको कारणबाट उनलाई सफाइ दिएको थियो । विशेष अदालतको उक्त फैसला त्रुटिपूर्ण भएको भन्दै अख्तियार ०६४ सालमा उनीविरुद्ध पुन: सर्वाेच्च अदालत गयो । सर्वाेच्चले ०६८ सालमा भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने भन्दै मुद्दाको तथ्यभित्र प्रवेश गरी फैसला गर्न आदेश दिएपछि उनलाई कैद तथा जरिवानाको फैसला भएको हो ।
विशेष अदालतले उनको नाममा रहेको २ करोड, ६८ लाख ८ हजार ९ सय ९५ रुपियाँ बराबरको सम्पत्ति र परिवारजनका नाममा रहेको ५१ लाख ९४ हजार ६ सय १८ बराबरको सम्पत्तिलाई मात्र वैधानिक ठहर गरेको छ । त्योभन्दा बढी सम्पत्ति गैरकानुनी ठहर गर्दै जफत गर्न आदेश दिएको छ । विशेष अदालतले जोशी र उनका छोरा दिनेशराज जोशीको नाममा रहेको नेपाल बंैक लिमिटेड तथा नबिल बैंकको खातामा रहेको १५ लाख ५४ हजार ९ सय ३१, छोरा दिनेशराज र रक्षा भट्टराईको नाममा रहेको नारायणी प्रिन्टिङ एन्ड ट्ेरड सहकारी संस्थाको अफसेट मेसिनको ८८ लाख ६ हजार ४० तथा र सेयर खरिदको ९८ लाख ६ हजार ४० रुपियाँ जफत गर्न आदेश दिएको छ ।
त्यसैगरी, जोशीको नाममा रहेको २२ लाख २ हजार ८ सय १९ मूल्यको बा.२च ९०४१ नम्बरको टोयोटा ल्यान्डक्रुजर गाडी, गण्डकी टेक्निकल ट्ेरनिङ सेन्टरको नाममा रहेको तनहुँ कुर्लुङको कि.नं. ११५,१३४,५५९ र ६३ को लिखत मूल्य २, लाख ३६ हजार, २ सय ५० जग्गा, छोरा दिनेशराजसहित ३ जनाले संयुक्त रूपमा खरिद गरेको तनहुँ फराकचौरको कि.नं.८०१ र ८०२ को जग्गामध्ये एकतिहाइ, ताराराज पाण्डेको नाममा रहेको ललितपुर उपमहानगरपालिका कि.नं.५३०,४५१,४७४ र ४७६ समेतको जग्गा र सो जग्गामा भएको घर, जोशीको नबिल बैंकमा अमेरिकी डलरको खाता नं. ०११०२१३०४३२०१ मा रहेको अमेरिकी डलर १६ हजार ६८ जफत गर्न अदालतले आदेश दिएको छ ।
अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाएपछि उनले आºनो आम्दानीको स्रोत कृषि, मन्त्री हुँदा विदेश भ्रमण भत्ताबाट ७० प्रतिशत रकम बचाएको, घर–जग्गा कारोबार, छोराले विदेशबाट कमाएर पठाएको रकम देखाउँदै आएका थिए । तर, विशेष अदालतले यी सबैमा देखाएको आम्दानीको स्रोतलाई वैध मान्न नसकिने जनाएको छ ।

किताबको रोयल्टी मात्रै ३० लाख
सांसद र मन्त्री हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको जिकिर गर्दै अख्तियारले अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि जोशीले आफूले लेखेको मेरा अनुभूति नामक पुस्तकबाट रोयल्टीबापत ३० लाख आम्दानी भएको दाबी गरेका छन् । उनले अदालतमा पेस गरेको आम्दानीको स्रोतमा किताब बिक्रीबाट ३० लाख ८७ हजार ८ सय १५ आम्दानी भएको उल्लेख गरिएको छ । मूल्य २ सय २७ रुपियाँ भएको उक्त पुस्तक ०५५ सालमा प्रकाशन भएको थियो । उनले आºनो दोस्रो संस्करण ५ हजार प्रति बिक्री भएको जिकिर गरेका छन् । सोही किताब शब्दचित्रका रूपमा नेपाल ०५८ असारमा प्रकाशक नारायणी प्रिन्टिङ एन्ड ट्ेरडर्स सहकारी संस्था लि. नयाँ बानेश्वरबाट प्रकाशन भएको थियो । जोशीले पुस्तकको रोयल्टीबाट ३० लाखभन्दा बढी रकम आम्दानी भएको बताए पनि विशेष अदालतले उक्त आम्दानीलाई वैध मान्न नसकिने फैसला गरेको छ ।

सम्पत्ति लुकाउनेलाई पनि सजाय
विशेष अदालतले जोशीको सम्पत्ति लुकाउन छिपाउनमा सहयोग गरेको भन्दै ताराराज पाण्डेलाई ६ महिना कैद र १ लाख १४ हजार ७ सय ९५ जरिवानाको फैसला सुनाएको छ । जोशीको ललितपुर उपमहानगरपालिका वडा नं. २० (ख) जावलाखेलस्थित ३१ लाख १३ हजार २ सय मूल्य भएको कि.नं.५३०,४५१,४७४ र ४७६ को घर जग्गा लुकाउने, छिपाउने बदनियतले आºनो नाममा राखी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ क तथा २०५९ को दफा २२ अनुसार मतियार भएको अदालतले जनाएको छ ।

ममाथि अन्याय भयो : जोशी
अदालतबाट भ्रष्टाचार करार भएका जोशीले आफूमाथि अन्याय भएको बताएका छन् । फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने उनको भनाइ छ । ‘ममाथि पूर्णरूपमा अन्याय भएको छ,’ जोशीले अनलाइन खबरलाई भनेका छन्, ‘यसविरुद्ध म सर्वोच्चमा पुनरावेदन दिन्छु ।’ फैसला जे–जस्तो भए पनि आफूले कानुनको सम्मान गर्ने उनले बताए । ‘मैले सांसद भएपछि अख्तियारले समेत प्रमाणित गरेको एक सय ३६ रोपनी जग्गा बेचेको छु,’ उनले अगाडि भने, ‘त्यसपछि मैले जोडेको भनेको एउटा गाडी मात्र हो ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक