20120720

एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टरामाथि नै आक्रमण

दुई पक्षबीच तनाव हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार !
हजारौं हजारको आलो रगत पिएर, हतियारको बलमा, नालायक अन्यनेता हरुको कमजोरी को फाईदा उठाउंदै उनिहरुको बुइ चढेर सत्तासीन हुनुभएका प्रचन्ड र बाबुराम कमरेड महाशयहरु, तपाईंहरुलाई अरु कसैले समाप्त पार्नु पर्ने छैन यसै गरी तपाईंहरु तपाईंहरुकै बिचबाट समाप्त हुनुहुने छ । भन्छन रगत ले पोल्छ, पोल्न शुरु भैसकेको छ । तपाईंहरुले मारेका ति मानिसहरुको आत्माले, अपहरण, कुटपिट, चन्दा आतंक, डर धम्की त्रास बाट प्रताडित हरुको श्राप ले तपाईंहरुले कहिलै छाड्ने छैन, हेर्दै जानुस यो त केबल शुरुवात हो । अझ धेरै देख्न बाँकी छ नेपाली जनताले र संसार साराले । तपाईंहरुले बिजारोपण गरेको गलत संस्कार, नेपाली नेपाली लाई लडाउने भिडाउने खेलले देश लाई त पचासौं बर्ष पछाडि धकेल्यो तर तपाईंहरुले पनि यसको फल पाउनुहुने नै छ महासय हरु । भनिन्छ " भगवान के घरमे देर होसक्ता हे लेकिन अन्धेर नही । "

एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा दुई पक्षबीच तनाव हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार भएको छ । पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि प्रचण्ड पक्षधरका जनार्दन शर्भा प्रभाकरले हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षका कार्यकर्ताले प्रचण्डलाई कुर्सीले हिर्काएका हुन् । प्रत्यक्षदर्शी एक नेताका अनुसार प्रभाकर र लोकेन्द्र विष्ट मगरले भट्टराईलाई समातेर मञ्चबाट नउठ्न दबाब दिएका थिए । पहिले कुट्न खोज्ने र पछि समातेरै अंठ्याएको भन्दै भट्टराई पक्षधर नेताहरु आक्रोशित भए । बैठक स्थगित भनेर नेताहरु बाहिरिन लाग्दा बझाङतिरका भट्टराई पक्षका एक प्रतिनिधिले प्रचण्डलाई पछाडिबाट कुर्सीले बजाए । प्रचण्डको ढाडमा कुर्सीले लागेको प्रत्यक्षदर्शी ती नेताको भनाई छ । अध्यक्षमाथि कुर्सी हान्नेलाई वाईसीएलका कार्यकर्ताले कुटपीट र लछारपछार गरेका थिए । वाईसीएलको कुटाईबाट घाइते भएका उनलाई एम्बुलेन्समा हालेर उपचारको लागि अस्पताल लगिएको छ । नेतामाथि हातपातको प्रयास भएपछि कार्यकर्ताहरुबीच कुर्सी र हात हालाहाल भएको थियो । हूलमूलमा कसले कसलाई हिर्कायो, पत्तो नभएको ती नेताले बताए । अहिले स्थिति साम्य भएपनि बैठकमा भाग लिन गएका प्रतिनिधि रनभूल्लमा परेका छन् । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टरामाथि नै आक्रमण भएको छ । प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समहूतगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्नबारे सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक-अर्का पक्षका शीर्ष नेताहरुमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्युरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका थिए । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए । आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार प्रसार उपसमिति संयोजक बिश्वभक्त दुलालले अनलाइनखबरसँग भन्नुभयो- ‘सामान्य बिषयमा सुरु भएको बिबाद, तानातान र हानाहानको स्थीतिमा पुगेको हो ।’
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरुभयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्नेबित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्नथालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिईन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए । तनाव बढेपछि प्रभाकरलाई झ्याईकुटी पार्दै स्वयंसेवक वाईसिएलले उनलाई मञ्चबाट तल झारेका थिए ।
उपाध्यक्षमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिङ गरे । त्यो बेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । त्यसपछि बाहिरिने क्रममा प्रचण्ड पक्षमा पूर्व लडाकूहरुले हतियार बुझाएको तथा भारतसँग विप्पा सम्झौता गरेको भन्दै बाबुरामलाई घेर्न खोजेका थिए । कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहा पाएपछि प्रहरी र बाईसीएलले हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।
सुरक्षाकर्मीको स्कर्टिङको सहरा लिएर बैठकस्थलबाट बाहिरिएका नेताहरु छेवैमा रहेको नेपाल पर्यटन बोर्डको सभाकक्षमा भेला भए । त्यही पोलिटब्युरो वैठक बस्यो । वैठक हलभित्रको अबस्था देखेर जिल खाएका अध्यक्ष प्रचण्डले सुरुमै नेताहरुलाई थामथुम पार्न खोजे । ‘दस्तावेजमा भट्टराईजी र मबीच कुनै असहमति छैन, दुवै जना सल्लाह गरेरै डकुमेन्ट ल्याएका हौं’- प्रचण्डको भनाई उदृत गर्दै एक पोलिटब्युरो सदस्यले  भने-’तपाईहरु धेरै जान्ने हुनुपर्दैन, हामीवीच कुनै असहति छैन, चुप लागेर वस्नुस् ।’ प्रचण्डले यसो भनेपछि पहिले हात हालाहालको अबस्थामा पुगेका प्रभाकर र देवेन्द्र पौडेलहरु पनि चुप लागेका थिए ।
प्रचण्डले नै लागेका बिषयमा सवैले बोल्न पाउँछन, अरुलाई पनि बोल्न दिउँ भन्दै प्रस्ताव राखेपछि वैठक सहमतिमा टुंगिएको थियो । त्यसपछि सुचारु भएको वैठकमा असन्तुष्ट भट्टराई र श्रेष्ठ पक्षका कार्यकर्ताले आ-आफनो मत राखे ।
 पार्टीमा सँगै छँदा मोहन वैद्य किरण पक्षधरले प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई कहिल्यै पनि राम्रो नजरले हेरेन । प्रधानमन्त्री भएदेखि नै भट्टराईको खेदो खन्न थालेको बैद्य पक्षधरले छुट्टएिर हिंड्ने बेलासम्म उसैगरी खोइरो खनिरहृयो । विपक्षी दलहरुबाट भन्दा पनि वैद्य पक्षबाट भट्टराईले चर्को आलोचना सहनु पर्यो ।
भारतसँग भएको बिप्पा सम्झौता तथा सेना समायोजन, हतियार हस्तान्तरण लगायत शान्ति प्रकृयासँग जोडिएका मुद्दामा भट्टराईले पार्टी र राष्ट्रहित विपरीत कदम चालेको उसको आरोप थियो । छुट्टएिर हिंडेपछि पनि बैद्य पक्षले भट्टराईलाई यो आरोप लगाइरहेको छ ।
बैद्य पक्ष हिंडेपछि यतिबेला भट्टराईले पार्टीभित्रबाट आउने यस्तो आरोपबाट मुक्त हुनुपर्ने हो । तर भएको छैन । राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने क्रममा नेताहरुले बिप्पाको कुरा पनि उठाउने गरेका छन् । प्रदिवेदनमा बिप्पाबारे प्रष्ट कुरा उल्लेख नभएको भन्दै प्रतिनिधिहरुले असन्तुष्टी जनाएका छन् । पार्टी नेतृत्ससँग छलफल नै नगरी भट्टराई बिप्पा सम्झौता गरेको कुरा बाहिर चर्चामा रहेपनि अध्यक्षको प्रतिवेदनमा यसबारे केही उल्लेख छैन । सम्झौता ठीक छ भने ठीक हो भन्नुपर्ने र ठीक होइन भने ठीक छैन भन्नुपर्नेमा नेतृत्व अस्पष्ट भएको भन्दै उनीहरुले आलोचना गरेका छन् ।
विस्तारित बैठकमा विप्पाको कुरा उठाएर भट्टराईको आलोचना हुन थालेपछि प्रधानमन्त्री पत्नी हिसिलाले बिप्पा सम्झौताको पुस्तिका नै बोकेर हिंडेकी छिन् । शुक्रबार उनले बैठक स्थलमा पुस्तिका लगेर बाँडेकी हुन् । उनले छोरीको रातो झिल्को नाम गरेको जर्नल र विप्पाको पुस्तिका सँगै लगेर कार्यकर्तालाई बाँडेको बैठकमा सहभागी एक नेताले बताए । बिप्पा बारेको भ्रम हटाउन भन्दै उनले यसो गरेकी हुन् ।
यस्तै विस्तारित बैठकमा सहभागी प्रचण्ड पक्षधर नेताहरुले गृहकार्य नै नगरी समायोजन प्रकृया थालेको भनेर पनि भट्टराईको आलोचना गरेका छन् । पूर्व लडाकुलाई सेनामा समायोजन गर्ने विषयमा पहिल्यै उमेर र शिक्षाबारे प्रष्ट अडान नलिँदा अहिले प्रकृया अवरुद्ध भएको उनीहरुको भनाई छ । पहिले प्रचण्डकै सहमतिमा हतियार बुझाउने निर्णय भएपनि यसमा बाबुरामको हात रहेको भन्दै प्रचण्ड पक्षधरले पनि वैद्य पक्षले जस्तै आरोप लगाउने गरेका छन् ।
बैद्य पक्ष छोडेर हिंडेपछि प्रचण्ड पक्षधर झनै निरंकुश बन्दै गएको भट्टराई पक्षधरको बुझाई छ । शक्तिशाली प्रचण्डको अघिल्तिर प्रतिवाद गर्न सक्ने हालतमा नरहेकाले भट्टराई पक्ष निरीह बन्दै गएको प्रष्टै देखिन्छ ।

गुटबन्दी मास्ने घोषणा गरेको तीन दिन नपुग्दै माओवादीमा गुटबन्दीकै कारण भीडन्त भयो, त्यो पनि देशभरका पाँच हजार कार्यकर्ता सहभागी विस्तारित बैठकमा ।
राजधानीको भृकुटीमण्डमा साउन २ गतेदेखि जारी विस्तारित बैठकमा संस्थापन कि उपाध्यक्ष बाबुराम भट्टराई पक्षधरले अगाडि बोल्ने विषयमा विवाद हुँदा भीडन्त भएको हो । विस्तारित बैठकमा विवाद बढेपछि बन्द सत्रमा सहभागीबीच कुर्सी हानाहान भएको छ । फ्लोरबाट दाहाल र भट्टराईलाई समेत लक्षित गरेर मञ्चपट्टी कुर्सी हानिएपछि बताइएको छ । तर माओवादी प्रवक्ता दीनानाथ शर्माले त्यस्तो भनाइको खण्डन गरे । 'त्यो नितान्त राज्यसमितिभित्रको विवाद थियो,' उनले शुक्रबार साँझ भने, 'यसमा गुटको कुनै कुरा छैन ।'
अनुसार भोजपुरा राज्य समितिको टोली नेताले बोल्ने क्रममा विवाद भएको हो । भोजपुरा राज्य समितिको टोली नेताका विषयमा विवाद चल्दै आएको थियो ।
उपाध्यक्ष बाबुराम भट्टराई पक्षका बलिराम साहले भोजपुरको तर्फबाट बोलिरहेको बेला हलमा दाहाल पक्षले हुटिङ सुरु गरेपछि भट्टराई पक्षले  प्रतिवाद गरेको थियो । दुई पक्षबीच हात हालाहाल समेत भयो । स्थिति तनावपूर्ण भएपछि मञ्चबाट उठ्न खोजेका भट्टराईलाई दाहाल पक्षका लोकेन्द्र विष्ट र जनार्दन शर्मा लगायतले उठ्नबाट रोकेका थिए ।
बैठक नछाड्न आग्रह गर्दा नमानेपछि शर्माले भट्टराईको हातमा समातेर रोकेपछि 'हाम्रा नेतामाथि हातपात गर्ने' भन्दै हुटिङ भएको थियो । 'त्यसपछि प्रचण्ड र बाबुराम पक्षका प्रतिनिधिबीच हुटिङ भयो,' माओवादी नेता भक्ति पाण्डेले भने, 'तर नेताहरुमाथि आक्रमण भएको थिएन ।'
भट्टराईमाथि हातपात भएको भन्दै कार्यकर्ता जोसिएपछि उनीपक्षधर प्रभू साह, नवराज सुवेदी पनि शर्मामाथि जाइलागेका थिए । त्यसपछि झन् स्थिति तनावपूर्ण भयो ।
स्थिति तनावपूर्ण भएपछि दाहालको निर्देशनमा विस्तारित बैठक केहीबेरका लागि स्थगित भयो । भृकुटीमण्डपस्थित विस्तारित बैठकस्थलसँगै जोडिएको पर्यटन बोर्डमा आकस्मिक बैठक बस्यो । बैठकमा मध्यमार्गी नेताहरुले अहिले गुटबन्दीतिर लाग्दा नकारात्मक सन्देश जाने भन्दै बैठक रोक्न नहुने भनाइ राखे । दाहाल र भट्टराईले स्वीकारे । यस विषयमा पार्टीको शीर्ष नेतृत्वमा पुनः छलफल भने हुनेछ ।
पत्रकार खेदियो
२ साउनदेखि चलेको विस्तारित बैठकमा सहज पहुँच दिएका पत्रकार पनि माओवादी भीडन्तपछि लखेटिए । उनीहरुले समाचार खिचिरहेका टेलिभिजनका क्यामेरामेनलाई धम्कीमात्रै दिएनन्, हात लगेर क्यामेरामा बुझो लगाए ।
समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई शुक्रबार बैठक स्थल भृकुटी मण्डपको गेटमै रोकियो । पार्टी भित्रको आन्तरिक विवाद मिडियामा धेरै आएकोले सञ्चारकर्मीलाई गेटमै रोकिएको माओवादी स्रोतले जनाएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक