(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120801

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा


 हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ। तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, यो दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वाराऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णीमा भन्ने गरिएको हो। जनैपूर्णिमाका तीनपक्ष रहेका छन्– यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी। हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा,
विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरू पुरोहितकहाँ जाने गर्दछन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस् दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ |ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ। स्वाध्याय, अतिथि सत्कार, पितृ तर्पण, भूतबली, होम जस्ता दैनिक गर्नुपर्ने पञ्च महायज्ञको कर्मलाई स्मरण गराउने दिनको रूपमा पनि ताकाधारीहरू यो पर्व मनाउने गर्छन। ब्रतमन्ध गरि बैधिक परम्पराले दिएको शिक्षा दिक्षा पालना गरि सर्त्कर्ममा लाग्न समेत यस यज्ञोपवितले स्मरण गराइरहन्छ।

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।

तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।

अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ- भनी डोरो बँाधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ। जनैमा प्रयोग्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। दानवी शक्तिबाट रक्षीत हुनका लागि आजै रक्षा बन्धन वा हाते डोरो बांध्ने गरिन्छ। जनैपूणिर्माको दिन बांधिएको रक्षाबन्धन गाइतिहारका दिन गाइको पुच्छरमा बांधि दिएमा मृत्युपछि वैतरणी नदी पार हुने जन विश्वास छ।

सिर्द्दार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गइ मेला भर्ने गर्दछन्। आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ।

परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ। नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ। विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ।तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ। यो दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु त्रिवेणी आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्छ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक