20120825

कांग्रेस र एमालेले सत्तारुढ दलहरुको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’सँग बार्ता नगर्ने निर्णय गरे

  एमाओवादी राज्य बिखण्डनकारीहरुको मतियार : बामदेव
 कांग्रेस र एमालेले सत्तारुढ दलहरुको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’सँग बार्ता नगर्ने निर्णय गरेका छन् । लामो समय पछि आज काठमाडौंमा बसेको बैठकले १२ बुँदे सहमति विथोल्ने गरेर बनेको गठबन्धसँग बार्ता नगर्ने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । ‘१२ बुँदेका सहयात्रीलाई माईनस गर्ने गरेर एमाओवादीले गठबन्धन बनाएको छ,’ उनले भने, ‘एमाओवादीले सहयात्री दलहरुलाई संघीयता विरोधी देखाउन गठबन्धन बनाएको हो ।’ अन्य दलहरुसँग बार्ता गरिने बताएका पौडेलले सरकार र गठबन्धनसँग कुनैपनि प्रकारको बार्ता नहुने उल्लेख गरे । उनले सरकारलाई बहिष्कार गरेपनि विशेष समितिमा भने सहभागी हुने बताए । एमाले नेता भीम रावलले माओवादी लडाकुको रेखदेख समयोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिको बैठकमा सहभागी हुने बताए । उनले भने, ‘पछिल्लो पटक बसेको विशेष समिति बैठकका निर्णय कार्यान्वनय भए नभएका बारेमा सरकारसँग धारणा माग गर्ने छौं ।’ सरकारले मनपरि रुपमा विशेष समितिबाट समायोजनका बारेमा निर्णय गर्ने गरेको बताएका उनले सोमबार बस्ने बैठकमा सबै विषयमा छलफल गरिने उल्लेख गरे । विशेष समितिको पछिल्लो बैठक बैशाख २ गते बसेको थियो । बैठकमा कांग्रेस
सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।
एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले मुलुकमा पछिल्लो पटक देखिएका समस्या समाधानका लागि पहल भईरहेको बताएका छन् ।
पार्टी कार्यालय कोटेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति र सरकारबीचको विवादको अन्त्य दलहरुबीचको सहमतिबाटै हुने बताए । उनले सहमतिका लागि पहल भईरहेको बताए । ‘एमाओवादी सहमति कायम गर्न लागि रहेको छ,’ उनले भने ।
अध्यादेश जारी गर्न पनि राजनीतिक सहमति गरिने उनको भनाई थियो । उनले भने, ‘सहमतिबाट अध्यादेश ल्याउने तयारी भएको छ ।’
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रपति र प्रधानमन्त्रीवीच क्षेत्रधिकारलाई लिएर भएको द्वन्द्वले मुलुक समस्या तर्फ धकेलिएको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले भने, ‘राष्ट्रपतिले के गर्ने र सरकारले के गर्ने भन्ने अन्तरद्वन्द्वले मुलुकलाई अन्यौलतातर्फ धकेलेको छ । उनले मुलुक अहिले राजनीतिक र संवैधानिक शून्यतातर्फ प्रवेश गरेको पनि बताए ।
यथास्थितिमा संविधानसभा पुनःस्थापना वा चुनाव दुवैले संकटको समाधान निकाल्न असंम्भव भएको बताउँदै उनले सर्वपक्षीय गोलमेच सभाबाट निकास निस्कने दाबी गरे ।
उनले विदेशी शक्तिहरुले नेपथ्यबाट संसदको चुनाव गर्न दबाव दिईरहेको बताए । विदेशीको दबावबाट हुने निर्वाचनमा आफूहले भाग नलिने बैद्यले बताए ।
एमाले उपाध्यक्ष बामदेव गातमले एमाओवादी राज्य बिखण्डनकारीहरुको मतियार भएको आरोप लगाएका छन् ।
एमाले जिल्ला कमिटी चितवनको पार्टी कार्यालय भरतपुरमा आज आयोजित कायक्रममा गौतमले ‘एक मधेश एक प्रदेश’को माग गर्ने मधेसवादी दलहरुसँग एमाओवादीले घाँटी जोड्नुलाई संकास्पद गतिविधिको संज्ञा दिए ।
एकल जातीय राज्य बनाएर जातीय भिडन्त गराउन एमाओवादी सक्रिय रहेको भन्दै उनले राज्य बिखण्डनकारीको मतियारका रुपमा अघि बढेको आरोप लगाए ।
‘एमाओवादी नेपालमा पुनः राजतन्त्र जस्तै शासन सत्ता ल्याउन खोजेको छ,’ उपाध्यक्ष गौतमले भने, ‘उसको दिवास्वप्ना कुनै पनि हालतमा पुरा हुँन दिदैनौं ।’
जनतालाई झुक्काएर झुठो आश्वासन बाँडेर आफ्नो स्वार्थ पूर्ति गर्न लागेको कुरा एमाओवादीका कार्यकर्ताले बुझ्न थालेको उनको भनाई थियो ।
उपाध्यक्ष गौतमले एमाओवादी संस्थागत भ्रष्टाचार गर्ने पार्टीका रुपमा उदाएको आरोप लगाए ।
‘एमाओवादीले नेपालमा जनयुद्ध गर्न भारतमा बिन्तीपत्र हालेर १५ हजार नेपालीको कत्लेआम गरेको छ,’ उनले भने, ‘एमाओवादीको राष्ट्रवादको खोक्रो आडम्बरको प्रदा च्यातिएको छ ।’
उनले एकल तानाशाही व्यबस्थाको परिकल्पना एमाओवादीले गरेर अरुलाई समाप्त गर्ने सपना देखेको आरोप पनि लगाए ।
कार्यक्रममा एमाओवादीको तस्रो डिभिजन जुटपानीका केही लडाकु र कांग्रेसका कार्यकर्ता सहित दर्जनौं युवाहरु पार्टीमा प्रवेश गरेको एमाले चितवनले दाबी गरेको छ ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले कामचलाउ सरकारका प्रधानमन्त्री बाबराम भट्टराईलाई पद त्याग्न दिएको दबाब राष्ट्रिय सहमतिका लागि रहेको दाबी गरेका छन् ।
भक्तपुरको कटुञ्जेमा आज गणेशमान सिंह स्मृति बाटीकाको तेस्रो साधारणसभाको उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिका लागि भट्टराईले पद त्याग गर्नै पर्ने बताए ।
‘कांग्रेसले प्रधानमन्त्रीलाई पद त्याग गर्न दबाब दिनुको उदेश्य राष्ट्रिय सहमतिका लागि हो,’ उनले भने, ‘व्यक्ति विशेषलाई अर्को प्रधानमन्त्री बनाउनलाई गरिएको होइन ।’ सिंहले प्रधानमन्त्रीले पद त्याग गरे राजनीतिक सहमति निकाल्न सहज हुने उल्लेख गरे ।
राष्ट्रपति डा.रामवरण यादवले अध्यादेश अस्वीकृत गरेर मुलुकलाई एमाओवादीको सर्वसत्तावादबाट जोगाएको उनले बताए ।
अध्यादेश रोक्ने राष्ट्रपतिको कार्यलाई विरोध गर्नेहरु एमाओवादीको सर्वसत्तावादलाई समर्थन गर्नेहरु मात्रै रहेको आरोप लगाउँदै महामन्त्री सिंहले भने, ‘संविधानको रक्षक र पालकका रुपमा राष्ट्रपतिले लिएको निर्णय ठीक छ ।’
सिंहले मुलुकमा सरकार रहेको अनुभूति जनताबाट हटिसकेको बताए । उनले भने, ‘भ्रष्टाचारमा लिप्त सरकारले महँगी र कालोवजारी हटाउन सक्दैन ।’
भ्रष्टाचारमा लिप्त सरकारले कालोवजारी गर्ने व्यापारीलाई कारबाही गरेर जनतालाई मूल्य बृद्धिको राहत दिन नसक्ने उनले दाबी गरे । उनले भने, ‘सरकारका मन्त्रीहरुको भ्रष्ट चरित्रका कारण मूल्य बृद्धिको मार खेप्नु परेको छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक