20120821

आठ-दश जनाको नकावधारी एक समूहले आक्रमण गरी एक बालिकासहित दुई जनाको हत्या

पाँचथर जिल्लाको सराङडाँडा गाउँ विकास समितिमा लुटपाट गर्न आएको नकावधारी एक समूहले आक्रमण गरी एक बालिकासहित दुई जनाको हत्या गरेको छ। आक्रमणमा परी सात जना घाइते छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।  सोमबार राति घरेलु हतियारसहित आएको आठ-दश जनाको समूहले सराङडाँडा-१ फेवाका भक्तप्रसाद आङदेम्बे र अटलबहादुर आङदेम्बेको घरमा लुटपाट मच्चाएको हो। खुकुरीसहित आएको समूहको आक्रमणबाट भक्तबहादुरको घटनास्थलमै र चार वर्षीया यमुना आङदेम्बेको उपचारका लागि ल्याउँदै गर्दा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ। यमुना अटलबहादुरकी नातिनी हुन्।
घटनामा आठ वर्षीय सन्दीप आङ्देम्बे, अटलबहादुर आङ्देम्बे, उनकी श्रीमती देवीमाया आङ्देम्बे, इन्द्रमाया आङ्देम्बे, इन्द्रकुमारी आङ्देम्बे, भक्तमाया आङ्देम्बे र दिपासी आङ्देम्बे घाइते भएको प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए। उनका अनुसार अटलबहादुरको अवस्था गम्भीर छ। घाइतेहरुको विराटनगर र धरानका अस्पतालहरुमा उपचार भइरहेको छ। प्रहरी निरीक्षक पौडेलले भने 'मृतक र घाइतेहरुको घाँटीमा खुकुरी
प्रहार भएको छ।'
लुटेरा समूहले अटलबहादुरको घरबाट २० तोला सुन र १० लाख नगद तथा भक्तबहादुरको घरबाट १ तोला सुन र अढाई लाख नगद लुटेका छन्। प्रतिकार गर्ने क्रममा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ। यसैबीच, मंगलबार प्रहरीले घटनामा संलग्न रहेको आशंकामा झापाको दमकबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथर नवमीडाँडाका लसु तेमेहाङ र संखुवासभा जलजलेका इन्द्र लिम्बू छन्। लुटेरा समूहका अरु फरार रहेको र उनीहरुको खोजी भइरहेको पौडेलले बताए। पक्राउ परेकाहरुबाट खुकुरी र नगद बरामद गरिएको उनले जनाए। उनले भने 'हामी घटनाका अनुसन्धानका क्रममा छौं। लुटेर समूहमा अरु को छन् र कस्तो समूह हो भन्नेबारे अध्ययन भइरहेको छ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक