20120902

माओवादीले फेरि पनि झुक्याउन नयाँ प्रस्ताव, कांग्रेस र एमाले दाहालको प्रस्तावमा सकारात्मक देखिए !

संविधानसभा पुन:स्थापना गरी तत्काल सहमति हुने विषयहरू समावेश गरेर संविधान जारी गर्ने नयाँ प्रस्ताव एकीकृत माओवादीले अघि सारेको छ । सहमति हुन नसकेका विषय अब बन्ने संसद्बाट टुंगो लगाउने उसको प्रस्ताव छ । शनिबार एमाले मुख्यालय बल्खुमा छोटो समय बसेको प्रमुख तीन दलको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यस्तो प्रस्ताव गरेका हुन् । उनी काठमाडौंबाहिर जाने भएकाले प्रस्तावमाथि गम्भीर छलफल भने हुन सकेन । तर, कांग्रेस र एमाले दाहालको प्रस्तावमा सकारात्मक देखिएका छन् । अर्को बैठकमा यसबारे थप छलफल हुनेछ । यसअघि अहिलेको राजनीतिक समस्या समाधानका लागि संविधानसभा पुन:स्थापना वा नयाँ निर्वाचनमा जाने भन्ने विषयमा विवाद गरिरहेका दलहरू शुक्रबारदेखि संविधानका विवादित विषयमा सहमति खोज्नतिर लागेका थिए । स्रोतका अनुसार शनिबारको बैठकमा एमाओवादी अध्यक्ष दाहालले संविधानसभा पुन:स्थापना गरी तत्काल सहमति हुने विषयहरू राखेर नयाँ संविधानको मस्यौदा तयार गर्न प्रस्ताव गरेका थिए । सहमति हुन बाँकी विषय अब बन्ने संसद्बाट टुंगो लगाउने र त्यसबाट पनि सहमति हुन नसकेका विषयलाई जनमतसंग्रहमा लैजाने दाहालको प्रस्ताव थियो । दाहालको प्रस्तावमा कांग्रेस र एमाले सकारात्मक छन् । तर, एमाओवादीले फेरि पनि झुक्याउन यस्तो प्रस्ताव गरेको हो कि भन्ने उनीहरूको आशंका छ । उनीहरूले त्यस्तो सहमति लिखित रूपमै गर्न चाहेका छन् । ‘एमाओवादीको भर हुँदैन, लिखित रूपमा
प्रचण्डले सहमति गर्छन् भने उनको प्रस्ताव ठिकै छ,’ एक एमाले नेताले भने । उनका अनुसार कांग्रेस पनि यो प्रस्तावमा सहमत हुन्छ ।
छलफलमा सहभागी एक नेताका अनुसार दाहालले त्यस्तो प्रस्ताव गरेपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले ‘तपाईंले साँच्चै भनेको हो कि फेरि अल्झाउन भन्नुभएको हो’ भनेर दाहाललाई सोधेका थिए । जवाफमा दाहालले ‘साँच्चिकै हो, सहमति गरौँ’ भनेका थिए । दाहाल जनकपुर जानुपर्ने भएकाले छलफल धेरैबेर हुन सकेन ।
कांग्रेस महामन्त्री सिटौलाले संविधानका विवादित मुद्दामा सहमति खोज्ने विषयमा एमाओवादी इमानदार छ भन्नेमा दलहरूबीच शंका रहेको बताए । ‘आज कुरा त मीठो गर्नुभएको छ । तर, उहाँहरूले इमानदारीसाथ गर्नुभएको हो कि होइन भन्ने टुंगो छैन,’ उनले भने । एमाओवादीका तर्फबाट नयाँ प्रस्ताव आए पनि त्यसमाथि पूर्ण छलफल भइनसकेको बताए । ‘उहाँ(दाहाल)ले प्रस्ताव गर्नुभएको छ, आज बाहिर जानुपर्ने भएकाले धेरै छलफल भएको छैन, अर्को बैठकमा हुन्छ,’ उनले भने ।
स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहालले गरेको प्रस्तावबारे कांग्रेस र एमाले नेताहरूले अनौपचारिक छलफल गरेका छन् । लिखित सहमति गर्न एमाओवादी तयार भए त्यसमा सहमति हुने सम्भावना छ । बैठकपछि एमाओवादी प्रवक्ता अग्नि सापकोटाले दलहरूबीच सहमतिको विकल्प नभएको बताए । ‘संविधानसभा पुन:स्थापना वा निर्वाचन जुन बाटो गए पनि सहमतिको विकल्प छैन, त्यसका लागि घनीभूत छलफल भइरहेको छ,’ उनले भने । यसअघि संविधानसभा विघटन हुनुअघि पनि दलहरूबीच सहमति भएका विषय समावेश गरेर संविधान जारी गर्ने र सहमति हुन बाँकी विषय रूपान्तरित संसद्बाट टुंगो लगाउने ‘जेन्टलम्यान’ सहमति भएको थियो । तर, पछि एमाओवादी त्यसबाट पछि हटेको आरोप कांग्रेस–एमालेको छ । ‘अहिले आएका कुरामा पहिला पनि सहमति भएकै हो, तर पछि आएर उहाँहरू(एमाओवादी नेता) त्यसबाट हट्नुभएको हो,’ महामन्त्री सिटौलाले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक