20120920

पूर्वराजा ज्ञानेन्द्र शाहको पश्चिम क्षेत्रमा बिहीबारबाट हुन लागेको धार्मिक भ्रमणको तयारी अन्तिम चरणमा पुगेका बेला सत्तारुढ एनेकपा माओवादीले भने त्यसलाई अवरोध गर्ने तयारी

एमालेको कार्यालयमा बुधबार बसेको १० दलको बैठकले धार्मिक भ्रमणका नाममा पूर्वराजा ज्ञानेन्द्रले संक्रमणकालको फाइदा उठाएर गणतन्त्रमाथि धावा बोल्न खोजेको निष्कर्ष निकाल्दै भ्रमणबिरुद्ध आन्दोलन गर्ने निर्णय !
 पूर्वराजा ज्ञानेन्द्र शाहको पश्चिम क्षेत्रमा बिहीबारबाट हुन लागेको धार्मिक भ्रमणको तयारी अन्तिम चरणमा पुगेका बेला सत्तारुढ एनेकपा माओवादीले भने त्यसलाई अवरोध गर्ने तयारी गरेको छ। संविधानले हरेक नागरिकलाई हिँडडुल गर्न पाउने अधिकार दिए पनि प्रधानमन्त्रीको दल उल्लंघन गर्न अग्रसर भएको हो। पूर्वराजा ज्ञानेन्द्र बिहीबार पोखरा आउने तय भएपछि माओवादीले बुधबार साँझ नै पोखराका विभिन्न ठाउँमा विरोधस्वरुप कोणसभा गर्न लागेको छ। साँझ ५ बजे लेखनाथको तालचोक, पोखराको अमरसिंहचोक, पृथ्वीचोक र बगरको हरिचोकमा कोणसभा गरिने
माओवादी कास्कीका ईन्जार्च झलकपाणी तिवारीले जानकारी दिए। उनकाअनुसार ती कोणसभामा पार्टीका जिल्लास्तरका नेताहरुले सम्बोधन गर्नेछन्। ‘राजाबाट नागरिक बनेका व्यक्तिले आमजनतालाई भ्रमित पार्ने गरी पुरानै शैलीमा भ्रमणको चाँजोपाँजो मिलाएपछि जनताका एक किसिमको आक्रोश देखिएको छ’ तिवारीले
भने,’जनताले हामीलाई ज्ञानेन्द्र सक्रिय हुन खोजेको छ तिमीहरु के हेरेर बसेका छौं भन्न थालेका छन्।’ उनले आजको कोणसभापछि ज्ञानेन्द्रको भ्रमण लक्षित थप विरोधका कार्यक्रमबारे छलफलमा जुट्ने जानकारी दिए। तिवारीले ज्ञानेन्द्रको भ्रमण नै बिथोल्ने गरी विरोधका कार्यक्रम आउन सक्ने उल्लेख गरे। यसका लागि अन्य दलहरुसँग पनि आजै छलफलको तयारी भएको तिवारीले बताए। अन्य दलहरुले भने अहिले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्। ज्ञानेन्द्रले अब सक्रिय भएर केही गर्न नसक्ने दावी गर्दै उनले जनतालाई भ्रमित पार्न खोजेकाले विरोधमा उत्रनु परेको बताए।
‘भलाद्मी भएर बस्नुपर्ने व्यक्तिले यसरी सक्रिय हुन खोज्नु सकारात्मक काम होइन’ माओवादी इन्जार्च तिवारीले भने,’जनता भ्रमित पार्ने यस्ता काम गरे उनलाई जेल हाल्नुपर्ने हुन सक्छ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबारबाट पश्चिमाञ्चलका ६ जिल्लाको धार्मिक भ्रमण गर्न यहाँ शिक्षाविद् एवं राजपरिषद्का पूर्वसदस्य गणेशबहादुर गुरुङको अध्यक्षतामा १२ सय ८० सदस्यीय स्वागत समिति गठन भएको छ। गुरुङलाई विभिन्न व्यक्ति र समूहले संयोजकबाट हट्न दवाव दिंदै अन्यथा जेसुकै गर्न सक्ने धम्की दिएका छन्। उनलाई पूर्वराजाको समर्थनमा स्वागत गरेर संघीयता, तमुवान र धर्म निरपेक्षताको विरुद्वमा उत्रन खोजेको आरोप लागेको छ।
गुरुङ भने व्यक्तिगत स्वतन्त्रतामा अवरोध गर्ने कसैलाई अधिकार नहुने भन्दै आफ्नो अडानमा कायम छन्। उनले आफु अवसरवादी र छेपारे प्रवृत्तिको मान्छे नभएकाले जोकोहीबाट धाकधम्की आए पनि राजसंस्थासंगको पुरानो भावनाअनुरुप प्राप्त दायित्वबाट नपन्छिने प्रष्ट पारेका छन्।
यस क्षेत्रको साता लामो धार्मिक भ्रमणका क्रममा ज्ञानेन्द्र पाँच दिन पोखरास्थित फिस्टेल लजमा बस्ने छन्। भ्रमण तालिकाअनुसार असोज ४ गते पोखरा आएर फिस्टेल लजमा बस्ने, ५ गते म्याग्दीको महादेव मन्दिर र गलेश्वरको दर्शन गर्ने र त्यही बस्ने, ६ गते बाग्लुङको कालिका र पर्वतको गायत्री मन्दिर दर्शनपछि पोखरा फर्केर बास बस्ने कार्यक्रम छ।
यस्तै ७ गते स्याङ्जाको बुढीखोलास्थित धनेश्वर महादेव मन्दिरको दर्शन गरेर पोखरा फर्कने, ८ गते तनहुँको पञ्चदेवी मन्दिर पुगेर पोखरै फर्कने र ९ गते पोखराकै विन्ध्यबासिनी मन्दिर दर्शन गर्ने स्वागत समितिका संयोजक गुरुङले जानकारी दिए। ज्ञानेन्द्रलाई पोखरामा नालाको मुखदेखि विन्ध्याबासिनी मन्दिरसम्म नागरिक अभिनन्दनसहित लगिने स्वागत समितिका संयोजक गुरुङले जानकारी दिए।
यस्तै अन्तिम दिन १० गते फेवातालपारीको शान्ति स्तुप भ्रमणपछि ताल किनारको बसुन्धरा पार्कमा शुभेच्छुकसँग भेटघाटको कार्यक्रम तय भएको छ।
ज्ञानेन्द्रको भ्रमणका लागि राजाबादीले भव्य स्वागत गर्ने तयारी गरेका छन् भने विभिन्न १० राजनीतिक दलले भने भ्रमण बहिस्कार गर्ने र त्यसबिरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
नेकपा एमाले पर्वतको कार्यालयमा बुधबार बसेको १० दलको बैठकले धार्मिक भ्रमणका नाममा पूर्वराजा ज्ञानेन्द्रले संक्रमणकालको फाइदा उठाएर गणतन्त्रमाथि धावा बोल्न खोजेको निष्कर्ष निकाल्दै भ्रमणबिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
बैठकमा एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी, राप्रपा, माले लगायतका १० दल सहभागी थिए । पूर्व राजा ज्ञानेन्द्रले बिहीबारदेखि पश्चिमका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ । उहाँ शनिबार पर्वत आउने कार्यक्रम तय भएको छ ।
बैठकले भ्रमण कार्यक्रमा सहभागी नहुन र सक्रियता पूर्वक वहिस्कार गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । ज्ञानेन्द्रको भ्रमणविरुद्ध बिहीबार कोणसभा गर्ने निर्णय भएको नेकपा एमाले पर्वतका अध्यक्ष बिकास लम्सालले जानकारी दिनुभयो । बैठकले पूर्वराजा ज्ञानेन्द्रको भ्रमणमा सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिन प्रमुख जिल्ला अधिकारी र सरकारी कार्यालयलाई ध्यानाकर्षण गराएको छ । जिल्लाका क्रियाशिल सामाजिक संघसंस्था र धार्मिक संस्थालाई समेत भ्रमणको बिरोध गर्न बैठकले अपिल गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले पर्वतको सदरमुकाम कुस्माबजारमा रहेको गुप्तेश्वर गुफा, गायत्री मन्दिर र निर्माणाधिन यान्त्रिक पुल अवलोकन र दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक