20120905

विश्वका हरेक क्रान्ति हतियारवाटै सफल भएको भन्दै शान्तिपूर्ण रुपमा सत्ता नपाए हतियार उठाउने नेकपा-माओवादीको चेतावनी, नेपाल बन्द गर्ने घोषणा

नेकपा-माओवादीले शान्तिपूर्ण रुपमा सत्ता प्राप्त नभए हतियार उठाउने चेतावनी दिएको छ । केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न बुधबार पार्टी कार्यालय वुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्य किरणले विश्वका हरेक क्रान्ति हतियारवाटै सफल भएको भन्दै शान्तिपूर्ण रुपमा सत्ता नपाए हतियार उठाउने चेतावनी दिनु भयो । ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान भएन भने जनता आन्दोलन जाने निश्चित छ’ उहाँले भन्नुभयो-’शान्तिपूर्ण आन्दोलनबाट माग सम्वाधेन भएन भने सशस्त्र संघर्षमा जान सक्छौं । जहाँ पनि सत्ता प्राप्तिका लागि जहाँ पनि बन्दुक उठे । आवश्यक पर्‍यो भने हामी पनि संघर्षमा जानसक्छौं ।’ अध्यक्ष बैद्यले प्रमुख तीन दलका शीर्ष नेताले लोकतन्त्र कब्जा गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले एमाओवादीसँग एकता हुन नसक्ने बताउनु भयो । ‘प्रचण्डहरु सकिँदै गएकाले उनीहरुसँग एकता महाधिवेशन
हुने हल्ला मात्र हो’ उहाँले भन्नुभयो-’प्रचण्ड-बाबुराम दक्षिणपन्थी नवसंशोधनवादी भइसकेका छन् ।’ नेकपा-माओवादीले अग्रगामी राजनीतिक निकासका लागि सर्वपक्षीय गोलमेच सभा गर्ने प्रस्ताव गरेको छ । ‘गोलमेच सभामा राष्ट्रघाती तथा जनविरोधी सरकारलाई अपदस्थ गरी देशभक्त, गणतन्त्रवादी, संघीयता पक्षधर तथा वामपंथीहरु संमिलित राष्ट्रिय संयुक्त सरकारको निर्माण र सामन्तवाद एवम् वैदेशिक उत्पीडन विरोधी सारतत्व भएको संविधान निर्माणका लागि सहमति गर्ने’ बैठकको निर्णयमा भनिएको छ । गोलमेच सम्मेलनबाट निकास खोजिए संविधानसभाको पुनःस्थापना वा ताजा निर्वाचनमा जान सकिने उसले बताएको छ । गोलमेचसभाबाट निकास खोज्नु पर्ने आफ्नो माग पूरा नहुने देखेको नेकपा-माओवादीले जनसरकारको अभ्यास गर्ने तयारी समेत गरेको छ । ‘हाम्रा माग पूरा भएन भने हामी जनसरकार बनाएर आफै संविधान घोषणासम्म जान तयार छौं’-एक नेताले भने , त्यसको तयारी स्वरुप जनताको पक्षमा नयाँ संविधानको निर्माणका लागि जनआधार तयार पार्न र राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्याहरुलाई लिई जनआन्दोलन विकसित तुल्याउनका लागि देशभक्त, गणतन्त्रवादी, संघीयता पक्षधर तथा वामपन्थी शक्तिहरुलाई समावेश गरी केन्द्रमा संघीय जनसमिति र राज्य तथा स्थानीय स्तरमा स्वायत्त जनसमितिहरुको गठन गरिने उसले बताएको छ । ‘संविधानसभाको ११ वटा विषयगत समिति अथवा राज्य पुनःसंरचना आयोगले तयार गरेको मस्यौदामा आवश्यक परिमार्जन एवम् विषयलाई थप गर्दै चौध वा दस स्वायत्त प्रदेशहरु मार्फत् नयाँ संविधान घोषणा गर्न समेत तयारीका साथ अगाडि बढ्नु पर्दछ’ बैठकको निर्णयमा भनिएको छ ।
नेकपा-माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यालाई समेटेर तयार पारिएको ७० बुँदे माग पत्र सार्वजनिक गरेको छ । जनयुक्त सुरु गर्नु अघि तत्कालन नेकपा माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे मागमा थपेर नेकपा-माओवादीले ७० बुँदे माग पत्र तयार पारेको हो । माग पत्र ५ दिनभित्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाइने र आश्विन १ गते सबै जिल्ला सदरमुकामहरुमा सार्वजनिक गर्ने उसले बताएको छ । नेकपा माओवादीले आसोज, कार्तिक र मंसीर महिनामा हरेक जिल्लाहरुमा भ्रष्ट तथा दलालहरुका विरुद्ध भण्डाफोर कार्यक्रम सञ्चालन बताएको छ । असोजमा मुख्य ६ सहरमा जनसभा गर्ने र मंसिर १० गते नेपाल बन्द गर्ने घोषणा समेत गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक