20120920

पूर्वराजा ज्ञानेन्द्र शाह साता लामो धार्मिक भ्रमणका लागि पोखरा, पूर्वराजालाई राजमार्गमा स्वागतको ओइरो

पूर्व राजा ज्ञानेन्द्र शाहको भ्रमणबाट त्रसिएका म्याग्दी जिल्लाका विभिन्न राजनीतिक दलहरुले विरोधमा जिल्ला बन्दको घोषणा ! धार्मिक भ्रमणका नाममा संक्रमणकालको फाईदा उठाएर गणतन्त्र माथि शाहले धावा बोलेको उनीहरुको आरोप


पूर्वराजा ज्ञानेन्द्र शाह साता लामो धार्मिक भ्रमणका लागि पोखरा आइपुगेका छन्। पृथ्वीराजमार्ग हुँदै निजी मोटरमा आएका उनी बैदामस्थित फेवाताल पारीको फिस्टेल लजमा बसेका छन्। उनी आउँदा पोखरेलीले झरीको वास्ता नगरी सडकमा लामबद्व भएर स्वागत गरेका थिए। त्यस क्रममा उनीहरुले पूर्वराजाको पक्षमा नाराबाजीसमेत गरे। दिनभरको टन्टलापूर घाम ज्ञानेन्द्र आइपुग्ने बेला मुसलधारे वर्षामा परिणत भइसकेको
थियो। शाहले आफ्नो प्रतिक्षामा घन्टौंदेखि मुस्ताङ चोकमा कुरेर बसेका नगरबासीलाई गाडीबाट ओर्लेर पैदल यात्रामै साथ दिए। उनले करिब एक किलोमिटर दूरीको फिस्टेल लजसम्म झण्डै एक घण्टा हिँडेरै यात्रा तय गरे। ज्ञानेन्द्र फेवातालमा फेरि चढेर उनी फिस्टेल लज पुगेपछि उनका समर्थकहरु फर्किएका थिए। पूर्वराजालाई लेखनाथको राधाकृष्ण मन्दिरमा भेला भएका सयौं पोखरेली युवाहरुले मोटरसाइकलबाट स्कर्टिङ गर्दै पोखरासम्म लाइएका थिए। स्वागत समिति अन्तर्गतको प्रचार उपसमितिका संयोजक अर्जुन बस्नेतले पूर्वराजालाई पाँच सयभन्दा बढी मोटरसाइकलले स्कर्टिङ गरेका थिए। नगरबासीले पञ्चेबाजासहित नाचगान गर्दै स्वागत गरेका थिए। सत्तारुढ एनेकपा माओवादी कास्कीले धार्मिक भ्रमणका नाममा राजनीति गर्न खोजेको भन्दै शाहको भ्रमण बिथोल्ने चेतावनी दिए पनि कतै अवरोध पुर्‍याएन। पूर्वराजा शाहले शुक्रबारबाट एक सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँका विभिन्न मठमन्दिर पुगेर देवीदेवताको दर्शन गर्ने कार्यक्रम छ।
पूर्वराजाको र उनको टोलीका लागि फेवाताल पारीको फिस्टेल लजका अति विशिष्ट ७ कोठा ५ दिनका लागि बुकिङ भएका छन्। जयन्ती ट्रष्टअन्तर्गत सञ्चालित उक्त होटललाई त्यसका लागि ५ लाख रुपैयाँ अग्रिम भुक्तानी भइसकेको होटल स्रोतले जानकारी दिएको छ। उक्त होटलमा एक कोठाको प्रतिरात १८० देखि २ सय डलर मूल्य पर्छ। '५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेर ७ कोठा ५ दिनका लागि बुकिङ भएको छ' होटलका एक अधिकारीले भने।

पूर्वराजालाई राजमार्गमा स्वागतको ओइरो

गण्डकी र धवलागिरी अञ्चलका विभिन्न धार्मिक स्थलको एक साता लामो भ्रमणका लागि बिहीबार काठमाडौंबाट गाडीमा पोखरा आएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई पृथ्वी राजमार्गका मुख्य-मुख्य स्थानमा समर्थकले स्वागत गरे। शाहले धादिङको मलेखुस्थित भद्रकाली मन्दिरमा पूजाआजासमेत गरे। उनको स्वागतका लागि बिहीबार बिहानैदेखि भद्रकाली मन्दिर आसपासमा बसेका समर्थकले उनलाई फूलमालाले स्वागत गरे। 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ' भन्दै उनीहरुले राजाको जयजयकार गर्दै नारावाजीसमेत गरे।
चितवनको कुरिनटारस्थित रिभर साइड रिर्सोटमा खाना खाएर पोखरातर्फ लागेका पूर्व राजा ज्ञानेन्द्रको टोलीलाई चितवनको मुग्लिन, तनहुँको आबुँखैरेनी, दमौली बजारमा समर्थकले जयजयकार गर्दै फूलमालाले स्वागत गरे। उनको सुरक्षार्थ सादा पोसाकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
करिब आधा दर्जन चिल्ला गाडीसहित सयभन्दा बढी मोटरसाइकलको स्कटिङमा आएका पूर्व राजा धादिङको मलेखु र तनहुँको दमौलीमा गाडीबाटै झरेर समर्थकबाट फूलमाला ग्रहण गरेका थिए। राजावादीको जयजयकारसँगै केहीबेर दमौली बजारमा पैदल हिँडेका शाहले ८ गते दमौली आउने भन्दै गाडी चढेर गएका थिए। उनको स्वागतका लागि वृद्धदेखि च्चा बोकेका महिलासमेत स्वागतका लागि फूलमाला लिएर सहभागी भएका थिए। पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा जाने क्रममा दमौली बजारमा नागरिककर्मी समुन्द्र पौडेलले खिचेका तस्बिर : Source : Nagarik
पूर्व राजा ज्ञानेन्द्र शाहको भ्रमणबाट त्रसिएका म्याग्दी जिल्लाका विभिन्न राजनीतिक दलहरुले विरोधमा जिल्ला बन्दको घोषणा गरेका छन् । उनले राजाकै हैसियतामा भ्रमण गर्न खोजेको भन्दै एकीकृत माओवादी, कांग्रेस, एमालेलगायतका ७ दलले भोली शुक्रबार म्याग्दी बन्द आह्वान गरेका हुन् । बन्दको स्थानीयद्वारा विरोध समेत भएको छ । म्याग्दी कांग्रेसको कार्यालयमा आज पत्रकार सम्मेलन गरेर पूर्व राजाको भ्रमणलाई बिथोल्न बन्द आव्हान गरेको जानकारी दिईयो । एमाओवादीका सह–इन्चार्ज गोविन्द पौडेलले अन्त्य भइसकेको राजतन्त्र र राजाकै हैसियतमा शाहले जिल्ला भ्रमण गर्न खोजेको आरोप लगाए । उनले भने, ‘पूर्व राजा शाहलाई चुनौति दिन बन्द आव्हान गरेका हौं ।’ भ्रमण आयोजक समितिले श्री ५ बडामहाराजधिराज सरकार भन्दै प्रचार प्रसार गरेपछि प्रमुख दलहरु प्रदर्शनमा उत्रिएका हुन् ।
पूर्व राजा शाह भोली शुक्रबार म्याग्दी जाने कार्यक्रम छ । साताव्यापी पश्चिमाञ्चल भ्रमणका क्रममा उनी आज पोखरा पुगेका छन् ।

पर्वतमा विभिन्न दलहरुले पूर्व राजा शाहले आज देखि शुरु गरेको गण्डकी र धौलागिरि अञ्चलको भ्रमणको बिरोधमा प्रर्दशन समेत गरेका छन् । विरोधमा उनीहरुले कुस्माबजारको शिवालय चोकमा कोणसभा गरेका छन् । नेताहरुले पूर्व राजालाई भ्रमण रोक्न आग्रह गरे । पर्वतका धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्व राजा शाह शनिबार पर्वत आउने कार्यक्रम छ । पूर्व राजा शाहले पर्वतको सदरमुकाम कुस्माबजारस्थित गुप्तेश्वर गुफा, गायत्री मन्दिरमा दर्शन गर्ने कार्यक्रम पनि छ । पूर्व राजा शाहको भ्रमणबाट त्रसिएका दलहरुले भ्रमण कार्यक्रमा सरिक नहुन आफ्ना कार्यकर्तालाई आब्हान गरेका छन् । यता, राप्रपा नेपाल पर्वतले पूर्व राजाको भ्रमणमा सक्रिय हुन आफ्ना कार्यकर्तालाई आब्हान गरेको छ । राप्रपा पर्वतका अध्यक्ष ठाकुर भुषाल र सचिव प्रकाश पौडेलले विज्ञप्ति जारी गरेर भ्रमणमा सहभागी हुन आग्रह गरेका छन् । उनीहरुले भ्रमणबाट नत्रसिन सबैलाई आग्रह गरे ।
बाग्लुङमा विभिन्न राजनीतिक दलले पूर्व राजा शाहको धौलागिरि भ्रमणप्रति कामचलाउ सरकारको ध्यानाकर्षण गराएका छन् ।
धार्मिक भ्रमणका नाममा संक्रमणकालको फाईदा उठाएर गणतन्त्र माथि शाहले धावा बोलेको उनीहरुको आरोप छ ।
 




Editorial from Sourya:
पूर्वराजाको भ्रमणबाट तर्सिएको राजनीति 
 पाँच वर्षअघि शासनसत्ता गुमाएका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि उपत्यकाबाहिर जाँदैछन् । भ्रमणको उद्देश्य धार्मिक भनिए पनि उनी आफ्नो हैसियतको आँकलन गर्न जनतामाझ जान चाहेको अर्थ लगाइँदै छ । संविधानसभा विघटनपछि आमजनतामा दलहरूप्रति एक खालको वितृष्णा पैदा हुँदै गएको छ । राजनीतिले ल्याएको व्यवस्था परिवर्तनले जनतालाई अनुभूति हुने गरी केही दिन सकेन । ‘जुन जोगी आए पनि कानै चिरेका, चिम्टै भिरेका’ भन्ने भनाइ अहिलेसम्म नेपाली जनताका लागि चरितार्थ भएको छ । मुलुकलाई राजनीतिक र संवैधानिक संकटको भुमरीमा पारेर दलहरूले लक्षित गन्तव्य नै भुलेको अवस्था छ । यो सम्पूर्ण वस्तुस्थितिको मूल्यांकन गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले आफूलाई जनताका माझमा पुर्‍याउन खोज्नु अस्वाभाविक होइन । जबसम्म दलहरूले लक्ष्य प्राप्तिका लागि ठोस नीति निर्धारण गरेर अगाडि बढ्दै जनताको मन जित्न सक्तैनन् तबसम्म अर्को पक्षले आफूलाई सक्षम ठान्नु स्वाभाविक हुन्छ । पूर्वराजा ज्ञानेन्द्रको देशभ्रमणले जनतामाझ खासै अर्थ नराखे पनि दलहरूको असक्षमताबाट फाइदा उठाउने कोसिस गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ । यस्तो अवस्था आउन नदिने एउटै मात्र उपाय छ, त्यो हो– दलहरूले जनताको विश्वास जित्न सक्नु । जनताको विश्वास जित्न जनतालाई परिवर्तनको अनुभूति गराउन सक्नुपर्छ । अन्यथा, पूर्वराजा मात्र होइन, अन्य तत्त्व पनि सक्रिय हुनेछन् । पूर्वराजाले धार्मिक भ्रमणको निहुँ बनाएर राजनीतिक अवस्था र जनताको मन बुझ्ने अवसर पाउँछन् । यसमा दुईमत छैन । साथै, एक खालको धार्मिक समूहलाई जनताको मागविना नै ‘हिन्दू अधिराज्य’ कसले हटाउन लगायो र त्यो व्यक्ति को हो भनेर प्रश्न गरिरहेका छन् । नेताहरूसँग यसको स्पष्ट उत्तर छैन । त्यो हिन्दूधर्मप्रति आस्था राख्ने समूहलाई पूर्वराजा ज्ञानेन्द्रको धार्मिक भ्रमणले राहतको अनुभूति दिलाउनेछ । यसतर्फ पनि नेताहरूले सोच्नुपर्छ । वास्तवमा दलहरू आ–आफ्नो स्वार्थमा निर्लिप्त भएर संविधानसभा विघटन गर्दै सत्ताकब्जाको घृणित अभ्यासमा लागे । जसले गर्दा दलका नेताहरूप्रति जनताको विश्वास गुम्दै गइरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिअनुसार शासनव्यवस्था चलेन । सभासद्हरूले थाहा नै नपाई प्रधानमन्त्रीले संविधानसभा विघटन गरिदिए । विकास निर्माणका कार्य ठप्प छन् । बेरोजगारीका कारण युवावर्ग विदेश पलायन हुँदै छ । भ्रष्टाचार, कालोबजारी, मूल्यवृद्धि र अराजक अवस्थाले जनतालाई आक्रान्त बनाएको छ । वास्तवमा दलहरूले प्राप्त उपलब्धि रक्षा गर्नसमेत सकिरहेको अवस्था छैन । यही कारणले गर्दा पूर्वराजा ज्ञानेन्द्र भ्रमणमा निष्कँदा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले भाषण गर्दा दलका नेताहरू थर्कमान हुनुपर्ने अवस्था आएको हो । राष्ट्रको आवश्यकता र जनचाहनाअनुसार काम नगर्ने हो भने दलका नेताहरूको नक्कली भाषणकै विश्वास गरेर जनताले लामो समयसम्म साथ दिने अवस्था रहँदैन । तसर्थ, नेताहरूले कसैबाट डराउनुपर्ने अवस्थाबाट मुक्त हुन आपैँm सच्चिनुपर्छ । व्यवस्था परिवर्तनपछि नेपाली जनताले आमूल परिवर्तनको अपेक्षा गरेका थिए । दलका नेताहरूले छिट्टै केही गर्नेछन् भन्ने जनता अहिले निरास भएका छन् । यसैले गर्दा गणतन्त्र विरोधीले भन्ने र खेल्ने मौका पाएका हुन् । यो मौका दलका नेताहरूले नै उपलब्ध गराएका हुन् । अहिले पूर्वराजा ज्ञानेन्द्र धार्मिक भ्रमणमा जाँदा डराउनुपर्ने अवस्था सिर्जना भएको छ, कतै जनता पूर्वराजाकै पक्षमा लाग्ने हुन् कि भन्ने शंका पनि उत्पन्न हुन थालेको छ । तर, अहिले त्यो सोच्नु आवश्यक छैन । किनभने, नेपाली जनताले गणतन्त्रलाई आत्मसात् गरिसकेका छन् । जनता लोकतान्त्रिक पद्धतिअनुसारको समुन्नत गणतान्त्रिक नेपाल भोग्न पाइयोस् भन्ने चाहन्छन् । यसो भन्दाभन्दै पनि नेताहरूले बिर्सिनु हुँदैन कि लामो समयसम्म जनताले प्रतीक्षा गर्नेछैनन् । तसर्थ, पूर्वराजाको भ्रमणसँग भन्दा पनि दलका नेताहरू आफ्नै कुकार्यसँग डराउनुपर्छ । पाँच वर्ष लामो समय कसरी खेर गयो भन्नेबारे सोच्नैपर्ने बेला आएको छ । जनतालाई अनुभूति हुने खालको परिवर्तन गरिदिए जनतालाई कसैले बराल्न सक्तैन । तसर्थ, नेताहरू आपैँm सजक हुन जरुरी छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक