20120924

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पोखरामा, प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच हेराहेर !

विपक्षी दलहरुले मुलुकलाई निकास दिनका लागि वर्तमान कामचालउ सरकारको बहिर्गमन अनिर्वाय रहेको भन्दै सरकारसँग बार्ता नगर्ने निर्णय दोहराए

-गोविन्द सुवेदी
पोखरा, ८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष प्रचण्डबीच आइतबार पोखरामा जम्काभेट भएको छ । स्याङ्जाको धार्मिक भ्रमण सकेर पोखरा फर्किंदै गरेका पूर्वराजा शाह र पोखराबाट अनदु डाँडा शान्ति स्तुपतर्फ जाँदै गरेका प्रचण्डबीच सिद्धार्थ राजमार्गस्थित खाडेखोलानजिकै साँझ जम्काभेट भएको हो । प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच एकअर्काको गाडीबाट हेराहेर भएको थियो । सुरुमा कुन भिआइपीको सवारी हो भनी अन्योलमा रहेका शिवसेनाका कार्यकर्ता प्रचण्ड भन्ने थाहा पाएपछि राजतन्त्रको पक्षमा नाराबाजी गर्न थालेका थिए । त्यतिबेला पूर्वराजाको गाडी अगाडि हुइँकिइसकेको थियो । तर, प्रचण्डको गाडी बीचमा परेपछि उनलाई क्रस गराउन सुरक्षाकर्मीलाई हम्मे–हम्मे

पर्‍यो । उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सवारीसाधनबाट ओर्लेरै व्यवस्थापन गर्नुपरेको थियो । एमाओवादी अध्यक्ष प्रचण्ड आइतबार कास्कीको अन्तुडाँडास्थित पिस ड्रागन लजमा बसेका छन् । उनको पोखरा आगमनको उद्देश्य खुल्न सकेको छैन । यता, जिल्लास्थित सुरक्षा निकायले भने प्रचण्ड पोखरा आएको सुनेको तर सुरक्षा निकायलाई भ्रमणबारे कुनै जानकारी नभएको जनाएको छ । पोखरा विमानस्थल सम्याउने र तारवार गर्ने ठेक्का पाएको चिनीया ठेकेदार कम्पनीसंग एमाओवादीले कमिसन लिएकोबारे पोखरामा बहस चलिरहेका बेला प्रचण्डको आगमनलाई महत्वका साथ हेरीएको छ । एमाओवादीका तर्फबाट पूर्व सभासद राजकाजी गुरुङ्ले ५०लाख रुपैयाा कमिसन लिएको विषयलाई लिएर निर्णय अनुरुप नै केही रकम लिइएको भनेपछि यस क्षेत्रमा माओवादीको तीब्र आलोचना भइरहेको छ ।
प्रचण्ड पारिवारिक झमेला मिलाउन आएको हुन सक्ने पनि अनुमान गरिएको छ । उनका छोरा प्रकाशको ससुराली कास्कीको हेम्जा हो । तर एमाओवादी कास्की जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणी तिवारीले प्रचण्ड आराम गर्नको लागि आएको वताएका छन् । उनले कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी दिए । प्रचण्डको पोखरा बसाई कति समयको हुने भनेर समेत तिवारीले खुलाउन चाहेनन् ।
काठमाडौंस्थित प्रचण्डको नीजि सचिवालयले भने स्वास्थ्य समस्या भएकाले आराम गर्न मात्र पोखरा गएको बतायो । स्रोतका अनुसार प्रचण्डका साथमा उनकी पत्नी सिता र सचिवालय सदस्य मात्र छन् । ‘काठमाडौंमा बिरामी अवस्थामा पनि आराम गर्न नपाइने भएकाले (पोखरा) जानुभएको हो, अरु कुनै प्रयोजन छैन,’ सचिवालय स्रोतले भन्यो ।
माओवादी विरोधका बीच पूर्वराजाको स्याङ्जा भ्रमण 
पूर्वराजा ज्ञानेन्द्र शाहले सत्तारूढ दल एमाओवादीको विरोधका बाबजुद आइतबार स्याङ्जाको धार्मिक भ्रमण गरेका छन् । पूर्वराजाको स्याङ्जा भ्रमणलाई लक्ष्य गरी एमाओवादीका विभिन्न ६ भ्रातृसंगठनले आइतबार ६ घन्टे बन्द आह्वान गरेका थिए । एमाओवादीले बन्द निर्धारित समयभन्दा पहिल्यै फिर्ता लिएको भए पनि झडप हुने सम्भावना देखेर प्रशासनले पूर्वराजाको भ्रमण अवधिभर स्याङ्जामा कडा सुरक्षा व्यवस्था गरेको थियो ।
फिस्टेल लजमा बसेका पूर्वराजा दिउँसो १:३० बजे शिवसेना नेपाल र प्रहरीको स्कर्टिङका बीच स्याङ्जा पुगेका थिए । पूर्वराजालाई कास्कीको सिमानासम्म उनको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीका अलावा नेपाल प्रहरीले समेत स्कर्टिङ गरेर पुर्‍याएको थियो । स्याङ्जामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो । सशस्त्र प्रहरी बल वालिङका प्रहरी नायब उपरीक्षक कमल गैरेले झडप हुने अवस्था नआओस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।
पूर्वराजाले स्याङ्जाको गुणीखोलास्थित धनुषेश्वर शिवालय मन्दिरको दर्शन गर्नुका साथै स्याङ्जा बजारमा रहेको बालमन्दिरमा पुगी स्थानीय समर्थक तथा शुभेच्छुकसँग भेटघाट गरेका छन् । मन्दिरमा करिब ४० मिनेट पूजाआजा गरी उनी स्याङ्जा बजार पुगेका थिए । मन्दिर दर्शन गर्नुअघि १५ मिनेट पैदल यात्रा गरी आफ्ना समर्थक तथा शुभेच्छुकबाट उनले फूलगुच्छा लिएका थिए । सदरमुकाम स्याङ्जा बजारमा पनि उनले एक किलोमिटरभन्दा धेरै पैदल यात्रा गरेका थिए । भेटका क्रममा अधिकांशले दलहरूले देशलाई बर्बादीतर्फ धकेलेको भन्दै सक्रिय हुन उनलाई आग्रह गरेका थिए । स्याङ्जामा उनलाई स्वागत गर्न लामबद्ध समर्थकहरूले ०४७ को संविधान जारी गर, राजतन्त्रसहितको प्रजातन्त्रको व्यवस्था गर, जनताले के भन्छ, राजतन्त्र ले भन्छ र श्री ५ महाराजाधिराज सरकारको जयलगायत नारा लगाएका थिए । स्याङ्जामा गठित स्वागत समितिका केही पदाधिकारीले भिडलाई पूर्वश्री ५ भन्न आग्रह गर्दा उनीहरूले आयोजकप्रति नै आक्रोश पोख्दै महाराजाधिराज भन्दै नाराबाजी गरेका थिए । शाहले स्याङ्जाको बालमन्दिरमा केहीबेर पत्रकारको उपस्थितिमा आफ्ना समर्थकसँग छुट्टै भेटेका थिए । उनी आइतबार नै पोखरा फर्किएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई देश बचाउन तनहुँका सर्वसाधारणले गुहार गरेका छन्। एक साता लामो धार्मिक भ्रमणमा निस्किएका पूर्वराजासँग सोमबार तनहुँको दमौलीमा भेटघाटमा सहभागी सर्वसाधारणले पूर्वराजालाई देश बचाउन गुहार गरेका हुन्। एक साता लामो गण्डकी र धवलागिरी अञ्चलका धार्मिक क्षेत्रको भ्रमणमा निस्किएका उनी सोमबार शिव पाञ्चायन मन्दिर र दुर्गा भवानी मन्दिरको पूजाआजाका लागि दमौली आएका थिए। शिवपाञ्चायन मन्दिरमा पूजाआजा पश्चात पूर्वराजा शाहले अतिथी गृहमा सर्वसाधारणसँग भेटघाट गरेका थिए।
'देश सिद्धिन लागेको छ, जोगउनु पर्‍यो,' चुडामणि नागिलाले पूर्वराजा ज्ञानेन्द्रलाई भने,'नेपाली भनेर बाच्न नपाउने अवस्थामा पूग्यौ, अब देशलाई जोगाउँने जिम्मा तपाईकै हातमा छ।' पूर्वराजासंग भेटघाटमा संलग्न अधिकांश सर्वसाधारणले राजा बिनाको देश असम्भव देखिएको भन्दै देश बचाउन आग्रह गरेका थिए। पूर्वराजालाई भेट्न तनहुँको छाङबाट आएका मनकुमार श्रेष्ठले भने,'देश राजा नभएसम्म हुँदै हुँदैन्।'
दमौली बजारका शिवराम पौडेलले देश र जनता खतम अवस्थामा पूगिसकेको भन्दै पूर्वराजाले देशलाई जोगाउन आग्रह गरे। उनले भने,'देश र जनता हजुरकै भरमा छन्, जोगाउनु पर्‍यो।' लमजुङ परेवाडाँडाका हेरम्बराज सेढाईले हिन्दु राष्ट्र कायम राख्नुपर्नेमा जोड दिए। तनहुँ बेलभञ्ज्याङका अमृत कुवरले देशमा राजा नहुदाँ देश टुहुरो भएको गुनासो पोखे। 'हामी रानी बिनाको मौरी झै भयौ, आमा बाबु विनाको छोरा जस्तै भयो ' उनले भने, 'राजा सक्रिय भएर देशलाई जोगाउनु पर्‍यो।'
पूर्वराजासँग भेटघाट गरेका युवाहरुले देशमा अशान्ति र बेरोजगारी समस्या बढेको गुनासो पोखेका थिए। 'देशमा शान्ति छैन्, अधिकांश युवाहरु बेरोजगार भएर बस्नु परेको छ।' दमौलीका अजय गिरीले भने, 'युवाहरुलाई रोजगारीका लागि केही सोच्नु पर्‍यो।' पूर्वराजा ज्ञानेन्द्रले २ सय भन्दा बढि सर्वसाधारणसंग भेटघाट गरेका थिए।
सञ्चारकर्मीसितको भेटघाटका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले आफू देशको अवस्थाबारे चिन्तित रहेको बताएका थिए। 'तपाईलाई देशको कत्तिको चिन्ता छ?' सञ्चारकर्मी सोनी खनियाको प्रश्नमा पूर्व राजा शाहले उत्तर दिदै भने, 'मलाई पनि तपाईहरुलाई जस्तै देशको चिन्ता छ।' पूर्वराजाले पत्रकार सम्मेलनमा अन्य कुनै प्रश्नको उत्तर दिएनन्।
बिहानको ११ बजे पूर्वराजा दमौली आइपूग्ने कार्यक्रम तय गरिए पनि झण्डै ४ घण्टा पछि मात्र उनी दमौलीमा झरेका थिए। दमौलीको मेनचोकबाट सफासडकमा लामबद्ध सर्वसाधारणको फूल लिदै पैदलै शिव पाञ्चायन मन्दिरसम्म पूगेका उनले झण्डै २० मिनेट शिवको पूजाआजा गरेका थिए। शाहले पोखरा फर्किने क्रममा दमौली बजारकै दुर्गा भवानी मन्दिरमा समेत पूजाआजा गरेका थिए।
'हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,' 'राजा आउँ देश बचाउ' लगायतका नाराले सोमबार दिउँसो दमौली बजार गुन्जिएको थियो। उनको स्वागतका लागि तनहुँका विभिन्न भेग सहित गोरखा, लमजुङ, कास्कीबाट समेत सर्वसाधारण तनहुँ सदरमुकाम दमौली आएर घण्टौ प्रतिक्षा गरेका थिए।
पूर्वराजा निकट राजावादीले पूर्व राजाको जिल्ला भ्रमणलाई धार्मिक भ्रमणको नामाकरण दिएको भएपनि जिल्लामा क्रियाशिल ८ राजनीतिक दलहरुले भ्रमणविरुद्ध सोमबार बिहान १ घण्टा जिल्लामा चक्काजाम गरेका थिए।







सबै तस्बिर : समुन्द्र पौडेल
पूर्वराजा शाह ११ गते राजधानी फर्कने कार्यक्रम छ ।
********
विपक्षी दलहरुले मुलुकलाई निकास दिनका लागि वर्तमान कामचालउ सरकारको बहिर्गमन अनिर्वाय रहेको भन्दै सरकारसँग बार्ता नगर्ने निर्णय दोहराएका छन् ।
उनीहरुले सहज रुपमा सरकारको वहिर्गमन नभए सडक आन्दोलन चर्काउएर हटाउने निर्णय समेत गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको १३ दलको बैठकले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईको वहिर्गमन अनिर्वाय रहेको निष्कर्ष निकालेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै पौडेलेले अब सरकारसँग बार्ता नगर्ने बताए । ‘प्रचण्डसँग हामीले सत्ता मागेका होईनौं,’ उनले भने, ‘सहमतिका लागि तयार नभए सडक आन्दोलनबाट सरकारलाई हटाउँछौं ।’
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सत्ता कसैसँग नमाग्ने बताउँदै मुलुकको निकासका लागि सडक आन्दोलनबाट अधिकार लिने बताए । ‘वर्तमान सरकारसँग अब वार्ता हुँदैन,’ उनले भने, ‘सरकारको वहिर्गमन नहुँदा सम्म कुनै सहमति हुँदैन ।’
विपक्षी दलहरुले निर्णय गर्ने क्रममा सबै दललाई राखेर गर्नु पर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले केही दल मात्रै बसेर गर्ने निर्णय वा सहमति नमान्ने जनाएका छन् ।
तत्काल पद त्याग गरेर सहमतिका लागि मार्ग प्रसस्त गर्न एमाओवादी र प्रधानमन्त्री भट्टराईसँग आग्रह समेत गरेको उनले बताए ।
सहमतिका लागि एमाओवादीले आनाकानी गरेको जनाएका दलहरुले सरकारको वहिर्गन अघि कुनै पनि सहमति हुन नसक्ने उल्लेख गरे । उनीहरुले सरकार विरुद्ध आन्दोलन समेत गर्ने जनाएका छन् ।
सत्तारुढ दलहरु पहिचानसहितको संघीयता र नयाँ संविधानका लागि भन्दै चुनावी अभियानमा लागे पछि विपक्षी दलहरु परामर्शमा जुटेका हुन् । बैठकमा कांग्रेस, एमाले, नेकपा–माओवादी, राजपा, राप्रपालगायतका पार्टीका १३ दलको सहभागिता रहेको थियो ।- Sorya

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक