20120923

माओवादीले लडाकु शिविरमा लुकाएर राखिएका अत्याधुनिक हतियार सुटुक्क नेपाली सेनालाई बुझाएको छ !

अमेरिकाले आतंककारी सूचीबाट हटाएलगत्तै एकीकृत नेकपा माओवादीले लडाकु शिविरमा लुकाएर राखिएका अत्याधुनिक हतियार सुटुक्क नेपाली सेनालाई बुझाएको छ ।
शान्ति प्रक्रियाको अनुगमन गर्न आएको संयुक्त राष्ट्रसंघीय नियोग अनमिनलाई थाहै नदिई ठूलो मात्रामा अत्याधुनिक हतियार लुकाएको थियो । तर, शान्तिप्रक्रिया निर्णायक चरणमा पुगेको र पुनः हिंसात्मक आन्दोलनमा फर्कने सम्भावना पनि टरेको भन्दै ती हतियार सेनाको जिम्मा लगाइएको माओवादी उच्च स्रोतले जनाएको छ ।
चितवनको शक्तिखोरस्थित पूर्वलडाकुको तेस्रो डिभिजनसहित देशभरका सातवटै डिभिजन मुख्यालयमा लुकाएर राखिएका हतियार गत भदौ २६ गते साँझ नेपाली सेनाका अधिकारीलाई बुझाइएको स्रोतले जनाएको छ । माओवादीले शान्तिप्रक्रिया सुरु भएको झण्डै ६ वर्षपछि हतियार फिर्ता गर्नुको कारणमध्ये आफूमाथि अमेरिकाले लगाएको आतंककारी आरोप फिर्ता हुनु पनि एक रहेको बताइएको छ । माओवादीलाई सन् २००४ देखि इमिग्रेसन एन्ड नेसनालिटी एक्ट -आइएनए) अनुसार बाहृय आतंककारी सूची र एक्जुकेटिभ अर्डर १३२२४ अनुसार विश्व
आतंककारी सूचीमा राखिएकामा अमेरिकी विदेश मन्त्रालयले गत भदौ २१ गते विज्ञप्ति निकालेर त्यसबाट हटाइएको जनाएको थियो ।
उच्च स्रोतका अनुसार शक्तिखोरस्थित शिविरका बि्रगेड कमाण्डर गोविन्दबहादुर बटालाले शिविर सुरक्षार्थ तैनाथ नेपाली सेनाका अधिकारीलाई हतियार बुझाएका थिए । बटालाले विगतमा नेपाली सेनाबाट खोसिएका अत्याधुनिक एलएमजी, एसएमजी, एम-१६, इन्सास र केही पेस्तोलसहित करिब ५० थान हतियार सेनालाई बुझाएका हुन् । एक कम्पनी कमाण्डरका अनुसार अनमिनले प्रमाणीकरण गर्नुअघि नै शिविरमा भएकामध्ये सबैभन्दा राम्रो ‘कन्डिसन’का ६५थान हतियार बाहिरै राखिएको थियो । तर १५ थान हतियार तेस्रो डिभिजनका तत्कालीन सहायक कमाण्डर उदयबहादुर चलाउनेको गायव बनाएको स्रोतको दावी छ । पहिलो चरणकै वर्गीकरणमा पुनस्र्थापना रोजेर बाहिरिएका चलाउने पार्टी विभाजनपछि मोहन वैद्य नेतृत्वको नवगठित नेकपा-माओवादीमा छन् ।
बटालाले हतियार जिम्मा लगाएको देखेका एक लडाकुले अनलाइनखबरसँग भने ‘साँझको करिव ७ बजेको थियो । हामी हतियार राखिएको कन्टेनरको बाटो भएर क्याम्प जाँदै थियौँ । बटालाले हतियार नेपाली सेनाका कमाण्डरलाई हस्तान्तरण गरेको देख्यौं ।’ उनले सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानले आफूहरूलाई छिटो जान भनेको बताए ।
कहाँ राखिएका थिए हतियार ?
ती लडाकुका अनुसार सबै हतियार गोरखा घर भएका बि्रगेड कमाण्डर रामजी थापामगर ‘अर्जुन’को कोठामा राखिएको थियो । त्यसअघि सो कोठामा उदयबहादुर चलाउने बस्ने गरेका थिए । अर्का बटालियन कमाण्डरका अनुसार थापामगर सुत्ने कोठाको भित्रपट्टकिो हतियार भण्डारण गरिएको कोठामा सधैं ताल्चा लगाइएको हुन्थ्यो । उनका अनुसार थापामगरसहित केही उच्च कमाण्डरले बेलाबेलामा हतियार निरीक्षण र सफाई गर्ने गरेका थिए । उनले औपचारिक रुपमा आफूहरुलाई हतियार राखिएको बारेमा जानकारी नभएपनि दुई वर्षअघि शक्तिखोरमै भएको कमाण्डरहरुको भेलामा तत्कालीन डेपुटी कमाण्डर चन्द्रप्रकाश खनालले सरकारलाई जानकारी गराएरै आत्मसुरक्षाका लागि केही हतियार बाहिर राखिएको स्वीकार गरेका थिए । तर शिविर सुरक्षार्थ अनमिनले प्रमाणीकरण गरेकै हतियार राखिएका थिए । ती हतियार चेकपेष्टहरूमा सुरक्षार्थ ड्युटी बस्नेले बोक्ने गरेका थिए ।
‘दुई वर्षअघि भएको एउटा भेलामा चन्द्र खनालले आत्म सुरक्षाका लागि बाहिर पनि हतियार राखिएको जानकारी गराउनुभएको थियो’, उनले भने, ‘तर औपचारिक रुपमा कति र कस्ताकस्ता हतियार राखिएको भन्नेबारे हाम्रो तहसम्मलाई पनि जानकारी थिएन ।’ खनालले तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्ण सिटौलालाई जानकारी दिएरै हतियार बाहिर राखेको बताएको ती कमाण्डरले उल्लेख गरे । २०६३ मंसिर ४ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार माओवादी सेनाका ३ हजार ४ सय हतियार अनमिनको ट्याग लगाएर कन्टेनरमा राखिएका थिए । सरकार र माओवादीले गत २८ वैशाखका एक पक्षीय निर्णयबाट हतियारसहितका कन्टेनर, अस्थायी शिविर र लडाकु औपचारिक रुपमा नेपाली सेनाको मातहतमा आएको घोषणा गरेको थियो । त्यसलगत्तै सातवटै मुख्य र सहायक शिविरहरुमा नेपाली सेना तैनाथ गरिएको थियो ।
कसरी थाहा भयो ?
नेपाली सेनामातहत आइसेकका लडाकुले अहिलेसम्म पनि लुकाइएका हतियार आफ्नै नियन्त्रणमा राख्न सक्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । यद्यपि नेपाली सेनाले शिविरमा छुट्टै हतियार रहेको सुइँको पाएर उपल्लो निकायमा कुरा पुर्‍याएपछि सैनिक नेतृत्वले त्यसबारे माओवादी शीर्ष नेता र प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको स्रोतको भनाइ छ । रमाइलो कुरा त केछ भने जुन दिन लडाकु कमाण्डरले नेपाली सेनालाई हतियार बुझाए सोही दिन गौरवशमशेर राणाले प्रधानसेनापतिको फुली लगाएका थिए । यसलाई तुलनात्मक रुपले आफूप्रति अनुदार ठानिएका राणालाई विश्वासमा लिने माओवादी रणनीतिका रूपमा समेत हेरिएको छ ।
स्वीकार्दैनन् बटाला
यसैबीच बटालाले भने आफूले हतियार बुझाएको कुरा सत्य नभएको दाबी गर्नुभयो । ‘हामीले भएका सबै हतियार वैशाख २८ गते नै बुझाइसकेका हौ’, बटालाले अनलाइनखबरसँग भन्नुभयो,’ नेताका सुरक्षाका लागि राखिएकामध्ये मोहन वैद्य पक्षमा रहेका नेताका हतियार मात्र बुझाउन बाँकी छ ।’ यही बीचमा शिविरका केही उच्च कमाण्डरको मिलिभगतमा शिविरबाट हतियारका गोलीहरु बेचिएका छन् । ‘गोलीहरु बेचिएको हल्ला शिविरभरि छ’, एक कम्पनी कमाण्डरले भने, ‘तस्कर समूहलाई बेचेको आशंका गरिएको छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक