20121025

बलजिते, बहुलाईनी र बाबुरामहरु ! - भवानी बराल

"बौलाएरै भएपनि बलजितेले धरानमा एउटा छाप छोडे, तर हाम्रा नेताहरु सद्धे भएपनि जनतामा छाप छोड्न असमर्थ हुदैछन्, बहुलाईनी जत्तिकै नाङ्गिए ।"
उहिले नै उहिले निक्कै नै पहिले, धरानमा बलजिते नामका एक जना बहुला बिचरण गर्दथे । अहिलेको चिकित्सा विज्ञानको भाषामा त्यस्ता पात्रलाई मानसिक सन्तुलन ठीक नभएका वा मानसिक बिरामी भन्नु पर्ने हुन्छ । जे होस बोलचालको भाषामा बहुला नभनेसम्म आम पाठकलाई बुझ्न कठिन होला भन्ठानी यहि शब्द प्रयोग गर्न‘पर्ने बाध्यता छ । यहॉ कथा बलजितेको छ । त्यतिबेलाका एकाध बहुला मध्ये बल जितेको फरक विशेषता भएकोले नै यहाँ चर्चा गर्न खोजिएको हो । उनी एकजना भूपू सैनिक पनि थिए । लामो समय वेलायती सेनामा काम गरेर रिटायर्ड भएका बलजितेको पेन्सन पाउँदर पनि थियो । तर पनि उनी किन बौलाए केहि थाहा छैन । धेरै जनाको मगज आर्थिक दुराबस्थाको कारण खुस्किन्छ । या त कुनै ठूलो मानसिक आघात हँुदा ‘भेजा आउट’ हुन सक्ला । बलजितेको चैं के कारणले भएको थियो भनेर अनेक किस्सामात्र सुन्न पाईन्छ । उतिखेर मगज ठीक गर्न राँची लानु एकमात्र विकल्प थियो । राँची लाने क्रियाकर्म नहुँदा बहुला, बहुलीहरुको थातथलो सडकमा हुने गर्दथ्यो । त्यस्तै एउटा पात्र थिए बलजिते लिम्बू । प्रायः बहुला, बहुलीहरु लोकप्रिय
हुँदैनन्, तर बलजिते भने लोकप्रिय थिए, धरानेहरुका लागि । उनी कबिलाई युगका बहुला जस्ता देखिन्थे । नजिकै रहेको चारकोशे झाडीमा पाउने अनेक लहरालुहुरी, झारपात, नाङ्लो, मान्द्रो जिउमा बेरेर शरीरको अश्लिल पाटपुर्जा भरसक नदेख्ने गरी ढाकेका हुन्थे । भैंसीको सिङ्ग बोकेर हिंड्थे । त्यहि भैंसीको सिङ्ग उनको कमण्डलु थियो । चिया दोकानमा पुगेर भैसीको सिङ्ग थाप्थे । भैंसीको सिङ्गमा अटाउने जति चिया हाली दिनु पर्दथ्यो । सिङ्ग भरी चिया दिन आनाकानी गरे उसकै मुखमा तातो चिया पोखिदिएको प्रसंग पनि भुक्तभोगीहरु सुनाउँथे । तरैपनि बलजिते लोकप्रिय थिए । उनी सर्बसाधारणको विरोधमा उपद्रो गर्दैनथे । सडकमै धान नाचेर, पालाम, हाक्पारे गाएर रामरमिता देखाउँथे । खस नेपाली भाषामा आफ्नो कथा लिम्बू टोनमा सुनाउँदा अर्कै रमाइलो हुन्थ्यो । यसरी बलजितेले जिवनको अन्तिम समय धरानमा रमाईलो गर्दै गुज्रान गरे । उनी बाँकी समय बौलाए पनि आफन्तहरुले पेन्सन थाप्ने बेलामा चिरिच्याट्ट पारेर लान्थे रे । पेन्सन थापेर आफन्तले बुझिसकेपछि उनको बौलाहा दिनचर्या सुरु हुन्थ्यो । बलजिते धरानको रामरमिताका एक सडकछाप कलाकार थिए । उनको आकर्षणमा परेर उतिबेलाका युवाहरुले बलजितेको नाममा फूटबल समूह नै बनाएका थिए । बलजितेको बलिष्ठ शरीर र उनको कारनामाका अनेक किस्सा सुनेर युवाहरु आकर्षित थिए । बलजिते फूटबल क्लब सशक्त थियो । केहि युवाहरुले बलजितेको नाममा कल्चरल गु्रप पनि खोलेका थिए । जान्ने सुन्नेहरु भन्छन् नेपाली कांग्रेसकी वर्तमान केन्द्रिय सदस्य मीना सुब्बाको श्रीमान स्व.मणी सुब्बा र अर्का धरानका गायक कलाकार स्व. रमेस राईले बलजितेको सम्मानमा ‘हङ्ग्रायोले पाङ्ग्रा निल्दा .... जुरेलीले गुँढ पार्छ’ बोलको गीत बनाएका थिए । अर्थात अहिलेको चल्तीको भाषामा भन्दा उनीहरुको बलजिते कल्चरल ब्याण्ड थियो । यसरी बलजिते त्यसबखतको जिताजाग्दा ‘ट्रेड मार्क’ थियो । मगज खुस्केको एउटा बहुलाप्रतिको स्वतस्फूर्त आकर्षण सायदै हुन्छ । तर, यो सत्य हो । बलजितेको एउटा गहिरो छाप यो लेखन्दासमा पनि परेको छ । एक दिनको कुरा हो म धरान बाहिर जान बसपार्कमा बस कुरी रहेको थिए‘ । बलजिते पनि आफ्नो बौलाहारुपी भाषण छाँटी रहेका थिए । त्यतिनैखेर एउटी बहुलाई महिला बलजितेको छेउमा आईपुगि । बौलाई सर्वांङ्ग (नाङ्गै) थिई । जिउमा एकसरो धागो थिएन । नाङ्गै देखेर बहुला बलजिते पनि तीन छक्क परे । अनि अलि पर सर्दै बलजितेले लिम्बू भाषामा भने –‘नागमा ग नागमा धोती थिक चगमा ।’ अनि लिम्बू टोनमा खस नेपाली भाषामा थपे, –‘लाखे–लाखे है । कुसुम मेदरन्नो हो । थुक्क जा“... । बौलिनु त बौलिनु सुठ्ठिको सारो गतिमति छाडेर त नबौलाउनु नी हौ ।’ यतिखेर नेपालका सत्ताधारी नेताहरु हेर्दा बलजितेले बौलाइनीलाई देखेर भनेको उक्त प्रसंग उस्तै लाग्छ । दरबारलाई छक्याउँदै वा सुम्सुम्याउँदै पञ्चहरुले भ्रष्टाचार गर्दा पञ्चायतइतर नेताहरु कोकोहोलो मच्चाउँथे । पहिलो जनान्दोलन पछि सत्तासिन हुन पुगेका तिनै संसदवादी दलका नेताहरु बहुदलीयकालमा भ्रष्टाचारको पर्याय बने । सांसद खरिद विक्रि, पजोरो संस्कृति आयाराम गयाराम प्रवृत्तिले बहुदलीय संसदीय व्यवस्थाको हुर्मत काढे । आ“फैले गठन गरेको अख्तियारले डाम्दा समेत तिनले गरेको भ्रष्टाचारलाई राजनैतिक प्रतिषोधको विल्ला भिराउन खोजे । बहुदलीय व्यवस्थाको दिव्य बाह्र वर्षमा गरेको भ्रष्टाचारको न्यायिक हिसाव– कितावको अझै पुर्पक्ष भैसकेको छैन । गोविन्दराज जोशी, खुमबहादुर खड्का लगायतका नेता र अरु ‘राष्ट्रसेवक’ हरु भ्रष्टाचार गरेवापत जेल पसी ससकेका छन् । सञ्चार मन्त्री छ“दै जेपी गुप्ता संसदीयकालमा गरेको भ्रष्टाचारको मुद्धामा अभियोग कायम भई सजायको भागिदार भएका छन् । तर, उतिबेला गरेको भ्रष्टाचारमा अदालतले गरेको फैसलालाई जेपीले मधेस आन्दोलनसंग जोडेर परिपाठ लाउन खोजे । यो भन्दा नाङ्गो कुरा अरु के हुन सक्छ ? मधेस आन्दोलननै नभएको बेला गरेको भ्रष्टाचार, मधेस आन्दोलनसंग सम्बन्धित हुनु यो भन्दा उदेक लाग्दो कुरो अर्को हुन्न । सुडान घोटालाका अभियुक्त पूर्व आइजिपी हिमबहादुर गुरुङले आदीवासी जनजाति आन्दोलनसंग आफ्नो गिरफ्तारीलाई जोडे भने पनि अन्यथा मान्नु पर्ने छैन । मधेस आन्दोलनको मुद्धा त भ्रष्टाचारको अभियोगलाई अन्यत्र मोड्न सकिन्छ कि भनेर उनले गरेको राजनैतिक खेतिपाति थियो । तर, जेल जाँदाजाँदै उनले आफ्नो जसरी मुद्धा केलाईयो भने कुनैपनि नेता भ्रष्टाचारी हुनसक्ने जुन कुरा वताए, त्यो भने साँचो हो । तिनै संसदवादीलाई १२ वर्ष भ्रष्ट, राष्ट्रघाती, जनघाती भनेर नथाक्ने माओवादीका मन्त्रीहरु यतिखेर भ्रष्टाचार, राष्ट्रघात, नातावाद, कृपावाद, फरियावाद, जनघातमा चुल्र्लु‘म्म डुबेका छन् । बाबुरामले नै भ्रष्टाचारलाई अनुमोदन गरिदिएपछि संसदीय व्यवस्था छँदै भ्रष्टाचारका अभियन्ता बनेका मधेसवादी दलका सत्ताधारी नेतालाई खुदो भएको छ । शान्ति र संविधान, सुशासन र समृद्धिको नाममा बाबुरामको मन्त्री परिषद भ्रष्टाचारको आहालमा छ । महंगी, असुरक्षा, अभावले दैनिक जिवन कठिन मोडमा पुगेको छ । बाबुराम सरकारको भ्रष्टाचार, अनियमितता र कुशासनको फेहरिस्त कहेर साध्य छैन् । बाबुरामको औपचारिक बौद्धिकताको किर्ति–गाथा गाउँदै ‘बाबुरामलाई काम गर्न दिउँ’ भनेर अपिल गर्नेहरु अहिले यी सबै कुशासन देखेर लाजले भुतुक्क भएको हुनुपर्छ । राजधानीका ति कथित ब्रोईलर बुद्धिजीवीहरु बाबुराम सरकारको रफू गर्ने आ“ट गर्न सकेका छैनन् । किनकी बाबुराम सरकारको भोटो उद्रेको मात्र होइन भ्वाँङ नै परिसकेको छ । बाबुराम सरकारका अङ्ग पतन शरदसिंह भण्डारी, जेपी गुप्ता, प्रभु शाह प्रकरणले देखाएको छ । बाबुराम आँफैले भनेजस्तो यो गठबन्धन ‘आलु र घिउ मिसिएको होइन, गोबर र खरानी मिसिएको जस्तो छ । भ्रष्टाचारलाई माओवादी पार्टीको सरकारले नै अनुमोदन गरेपछि माओवादी कार्यकर्ताले त्यै कुरा सिके भने अन्यथा मान्नु पनि पर्दैन । बहिर्गमनमा परेका अयोग्य लडाकुहरुले देशव्यापी चक्काजाम गरेर त्यै कुरा खोजेका थिए । माओवादी नेताहरु नै १० वर्षे राजनीतिक जिवनको बाली भित्राउन जेसुकै गर्न तयार छन् भने बहिर्गमनमा परेका र वाईसिएलले जनही १० लाख माग्नु कुन ठूलो कुरो थियो ? भिषण राजनैतिक विद्रोहको बाली राजनैतिकरुपमा नखोजेर आर्थिक सम्पन्नतामा नगदीकरण गर्न नेताहरु नै लागि परेको बेला लडाकु र वाइसियलले यस्ता माग उठाउनुलाइ अस्वाभाविक मान्न मिल्दैन । हिजोका पञ्चहरु त बलजिते जत्तिको नाङ्गिएका थिए । तरैपनि बलजिते जस्तो मानसिक विरामीलेसम्म थुकेको नाङ्गिएकी महिला झैं सर्वाङ्ग थिएनन् । पञ्चायती नेताहरुको यहा“ समर्थन गर्न खोजिएको होइन् । उनीहरु पनि संसदीय कालखण्डमा त्यत्तिकै वदनाम फरिस्ते भए । बलजितेको सम्मानमा बनाईएको गीत ‘हङ्ग्रायोले पाङ्ग्रा निलेझैं .... आजकालका नेताहरु राष्ट्रिय सम्पत्ति बोक्रासंगै हसुर्न ब्यस्त छन् । अब भन्नुस बलजितेले बहुलाईनीलाई भनेझैं नेपाली जनताले आजका नेतालाई बहुलाईनीको कोटीमा राख्दा कसो पर्ला ? बहुला बलजिते जत्तिको विवेक नभएकाहरुले यो मुलुकलाई कहॉ पुर्याउलान ? बहुला बलजिते जत्तिको आकर्षण पनि नभएका कतिपय नेताहरु छन् । जसले नेपालको राजनीतिमा हालीमुहाली गर्छन । बलजितेको जत्ति नैतिकता, आदर्श, मूल्य र मान्यता नभएका नेताहरु जनतामाथि शासन गर्छन । यो बिडम्बना हो । मर्नु भन्दा बौलाउनु निको भन्ने नेपाली उखान छ । बौलाएरै भएपनि बलजितेले धरानलाई एउटा छाप छोडे । तर हाम्रा नेताहरु सद्धे भएपनि जनतामा छाप छोड्न असमर्थ हु“दैछन् । बहुलाईनी जत्तिकै नाङ्गिएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक