20121005

राजधानीमा एमालेको विशाल जनप्रदर्शन : "एकीकृत माओवादी र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ता कब्जाको बाटोमा अघि वढे"



नेकपा एमालेका भ्रातृ संगठनहरुको साझा मोर्चाले आज देशभर सरकारको विरोधमा प्रदर्शन गरेको छ । राजधानीमा पनि एमालेले विशाल जनप्रदर्शन गरेको छ । रत्नपार्कबाट शुरु भएको विरोध ¥याली बागबजार, पुतलीसडक, भद्रकाली, शहीदगेट, बसन्तपुर, नरदेवी, असन हुँदै पुनः रत्नपार्कमै पुगेर आमसभामा परिणत
भएको थियो ।
त्यसअघि रत्नपार्कबाट शुरु हुन लागेको -यालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ता कब्जाको बाटोमा अघि वढेको आरोप लगाए ।

अहिलेको सरकार रहेसम्म राजनीतिक गतिरोधको निकास खोज्न सम्भव नहुने भन्दै उनले तत्काल पद छाडेर सहमतिका लागि बाटो खोल्न प्रधानमन्त्री भट्टराइलाई आग्रह गरे । प्रधानमन्त्रीले सत्ता नत्यागे आन्दोलनको आँधीबेहरी सृजना गर्ने उनको भनाई थियो ।

खनालले जनमतका हिसावले एमाले नै पहिलो पार्टी भएको दाबी पनि दोहो¥याए । उपाध्यक्ष अशोक राई लगायतका केही नेताहरुले पार्टी परित्याग गरेको सन्दर्भप्रति संकेत गर्दै उनले हात्तिको जीउमा लागेको धुलो र बाँसको पट्याससँग तुलना गरे । बाँस बढ्दै जाँदा पट्याँस र हात्ति लम्कँदै गर्दा धुलो खसे जस्तै केही नेताले पार्टी छाड्दैमा एमालेलाई फरक नपर्ने उद्घोष गरे ।

¥यालीपछि भएको विरोधसभामा एमाले नेता केपी ओलीले अशोक राई लगायतका जनजाति नेताहरु देशी विदेशी शक्तिको भकुण्डो बनेर उफ्रेको आरोप लगाए ।

त्यस्तै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारलाई आर्यघाट पु-याएर मात्र आन्दोलनको अन्त्य हुने बताए ।

सभामा एमाले भ्रातृ संगठनहरुको साझा मोर्चाका संयोजक तथा एमाले सचिव शंकर पोखरेलले एकीकृत माओवादीले वार्ताको नाममा काँग्रेस एमालेलाई अल्मल्याउन खोजेको जिकिर गरे । प्रधानमन्त्री भट्टराई राजनीतिक गतिरोध लम्ब्याएर सत्ता कब्जा गर्न सकिन्छ भन्ने सोच लिएर अघि बढेको उनको आरोप थियो ।

सभामा बोल्ने अधिकाँश एमाले नेताहरुले पार्टी छोडेर जाने जनजाति नेताहरुलाई विचारका भगौडा, पार्टीभित्रको पीलो र मयुरका नक्कली प्वाँखको संज्ञा दिंदै उनीहरुको भड्काउमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

त्यस्तै सिन्धुलीमा एमाले कार्यकर्ताले कुकुर र बोकाको जुलुस निकालेर विरोध कार्यक्रम गरेका छन् । प्रतिकात्मक रुपमा सरकारको विरोधमा कुकुर र बोकालाई नगर परिक्रमा गराइएको एमाले सिन्धुलीले जनाएको छ । पोखरामा पनि एमालेले विरोध प्रदर्शन गरेको छ । पृथ्वीचोकबाट शुरु भएको विरोध प्रदर्शन नयाँबजार हुँदै चिप्लेढुंगामा पुगेर बिरोधसभामा परिणत भएको थियो । लमजुङमा पनि एमालेले प्रदर्शन गरेको छ ।
पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आउँने क्रममा आज मोटरसाईकल दुर्घटनामा परेर एमाले दाङ क्षेत्र नम्बर ३ का अध्यक्ष घनश्याम बुढाथोकीको मृत्यु भएको छ ।
सौडियार गाविस वडा नम्वर चार फचकपुर स्थाई घर भएका ४५ बर्षीय बुढाथोकी लु ६ प ७८१७ नम्बरको मोटर साईकलबाट दुर्घटनामा परेका हुन् । मोटर साईकलको पछाडि बसेर घोराही बजार तर्फ आउँदै गर्दा विपरित दिसाबाट आउँदै गरेको लु १० प ९४७१ नम्बरको मोटर साईकलले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते उनको थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो ।
प्युठानमा पनि दुर्घटना
यता, प्युठानको भिङगृ–२ मा दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
रा १ त १०१२ नम्वरको ट्याक्टर खेतमा पल्टिदा बिजयनगर–३ निवासी ३८ वर्षीय नमबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते चालक कुमाललाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक