(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121021

खै कहाँ आयो दशैं ! त्यो दशैं यहाँ कहिल्यै नभेटिने थाहा हुँदाहुँदै पनि म यहाँ दशै खोजिरहेको छु र खोजिरहने छु

 - केतुस खतिवडा 
 यतिखेर म कम्प्युटरमा बसेको छु । अनलाइन पत्रिकाहरुले भनिरहेछन्- दसैंका लागि सुपथ मुल्यको पसल चालु, २० हजार च्यांग्रा तिब्बतबाट आयात गरियो । दसैंको लागि प्लेनको भाडामा विशेष छुट । बसको टिकट बिक्री खुल्ला, आदि आदि । म आफू आफैंलाई दसैं आएको विस्वास दिलाउन खोज्छु । हो त नि दसैं त आइसकेछ । ए साँच्चि कहिले रहेछ टीका ? जतिपटक सुने पनि, क्यालेन्डर हेरे मलाई टीकाको दिन सम्झन गाह्रो भइरहेको छ । अक्टोबर २४ कि सत्र ? हत्तपत्त म भित्तामा झुण्डिएको भित्तेपात्रो हेर्छु । २४ तारिख बुधबार टीका रहेछ, अबचाहिँ बिर्सन्न । फेरि म फेसबुक भ्रमण गर्न जान्छु । त्यहाँ पनि दशैंको निकै चहलपहल बढेको रहेछ । धेरै मित्रहरुले दसैंका रंगिबिरंगी शुभकामना कार्डहरु भित्तामा टाँस्नु भएको रहेछ । तैपनि अझै मलाई दसैं आएजस्तो लागेकै छैन । वरिपरि हेर्छु कुनै बस्तुले पनि दसैं आएको छनक दिंदैनन् । न घरका भित्ताहरु पोतिएका छन्, नयां लुगा त जहिले पनि किनिरहने भएकोले त्यसको कुनै महत्व नै थिएन । यो घर कोठा, बैठक, भान्सा, काट्ने पकाउने केहीलाई पनि दसैं आएको छैन । हुन त दसैलाई चिन्ने सामान नै यहाँ के छ र ! साँध लगाएको तरबार र खुकुरी छैन यहाँ । आमाले पोतेका घरका भित्ताहरु छैनन् यहाँ । बुबाले कमेरोले पोतेको घर छैन यहाँ । म आफैं अल्मलिएँ, के म भ्रममा त छैन ! कतै दिउँसै सपना त देखिरहेको छैन ? उठेर घरलाई एक चक्कर लगाएँ । सबै कुरा नितान्त नौला र अनौठा लागे । यी सब कसका हुन् ? मेरा हुन् जस्तो त पटक्कै लागेन । दन्त्यकथामा सुनेको थिएं, कसैलाई निदाएको बेला खाटै बोकेर अन्यत्र कहीं नितान्त नौलो
ठाउँमा लगेर राखेको र बिउँझिएपछि देखिने अन्योलजस्तै । मनमा औडाहा उम्लिएर आयो । गाउँघरका पुराना स्मृति आँखामा अँटेसमटेस भए । सम्हालिन मुस्किल पर्लाजस्तो भयो । कोठा बाहिर निस्केँ । दसैं कहीकतै कुनामा पनि देखिएन । तुलसाको मठ खोजेँ, जहाँ दश्ौं तुलसाको फूल बनेर आउँथ्यो । यहाँ त तुलसाको मठ समेत छैन । खेतका गराहरुमा भर्खर पसाएका धानका बालाहरु भएर आउँथ्यो दशैं । फल्दै गरेका सुन्तला, कागती र निबुवाको रस भएर आउँथ्यो दशैं । औशीको रातलाई चिर्दै जुनेली रात भएर आउँथ्यो दशैं । खुशी, उल्लास र उमंगका बात बनेर आउँथ्यो दशैं । धर्तीमा मगमग बसना छर्ने पारिजात बनेर आउँथ्यो दशैं । पहाडका खोंचखोंच र कन्दराहरुबाट खोलानालाहरु सफा र शान्त भएपछि आउँथ्यो दशैं । सफा गरेर खनेको मुलबाटो भएर आउँथ्यो दशैं । डाँडाको चौर र शिवालय छेउको चौरीमा रोटे र लिंगे पिङ भएर आउँथ्यो दशैं । माइती, मावली, घर ससुरालीमा गएर पर्खिरहेको हुन्थ्यो दशैं । सहरमा बिदा बनेर आउँथ्यो दशैं । बसमा दशैं, प्लेनमा दशैं, अफिस अफिसमा दशैं । लाहुर पसेकाहरुलाई पनि दशैंले घरमा बोलाएर ल्याउँथ्यो । दशैं सबैको घरमा समान खुशी लिएर आउँथ्थो मात्र देखावटी तडकभडक फरक हुन्थ्यो । यी म्यापलका र ओक जस्तै अनेक किसिमका रुखहरुलाई दशैंको के महृत्व ! साल, सिसौ, चिलाउने, उतिस, बर, पिपल भए पो थाहा हुन्थ्यो दशैं के हो भनेर ? यो बातावरण, बाटोघाटो, खोलानाला, वनजंगल, घरगाउँ मात्र हैन पृथ्वीको यो ठूलो भुखण्डलाले नै दशैं चिनेको छैन तर पनि हामी हाम्रो परम्परागत भेषभुषमा सजिएर निधारमा रातो टिका र ढाका टोपीमा जमरा सिउरेर र हाम्रो सानो उपस्थिति जनाइरहेका छौं । गाउंघरमा पर्खालको डिलमा चढीचढी बाटोमा हिंडिरहेकी बेहुली हेरेजस्तै यो समाज हामीलाई रमाइलो मानेर हेरिरहेको हुन्छ । अस्ति बेलुकी शिव दाइले फोन गरेर भन्नुभयो। “दशैं आयो हैन, खसी लिन नजाने केतुसजी ?” म फेरि अलमलमा परें, कहाँ आयो दशैं ? म कसरी विश्वास गरुँ दशैं आयो भनेर तर पनि मैले उहाँलाई केही भनिन । हिजो बिहानै हामी दुई यहाँबाट १५० किलोमिटर टाढाको खसी बजारमा पुग्यौं । त्यहाँ त निकै भिडभाड रहेछ नेपाली क्रेताहरुको । अमेरिकन खसी किन्न । बुढो गोरे व्यापारी जानी नजानी ‘खसी-खसी’ भन्दो रहेछ । खसीको बगालबाट आफूले खसी छानेपछि उसको मुखबाट जति निस्कियो, खसीको मूल्य त्यति नै हुँदोरहेछ । सुनको भाउजस्तो । त्यसपछि उसले खसी राम्ररी बनाएर नै दिंदोरहेछ, सानासाना टुक्रा पारेर । आन्द्रा भुंडी पनि सफा गरिदिँदोरहेछ । ऊसँग मोलमोलाइ गर्ने त के कुरा दोहोरो बोल्ने फुर्सद पनि थिएन । यो भिडले भने मलाई कताकता टुकुचाको खसी बजारको याद दिलाइरहेको थियो । मेरो काममा र्फकनुपर्ने भएकोले हामी खसी नलिई रित्तै फर्कियौं । यी हरफहरुले तपाइर्ंहरुलाईै लाग्ला म खुब राष्ट्रवादी भएको स्वाङ रचिरहेको छु, आफैं बिदेश तिर पलायन भएर । हो म स्वीकार गर्दछु, हो म पलायनबादि हो । बिडम्बना जुन माटो मेरो हो तर त्यो मनको मात्र मेरो भयो र जुन माटो मेरो भन्छु त्यो मरो हुदै होइन । कति गहिरो नाता छ मेरो त्यो माटो जहां म हुर्कें बढें । पानीमा चिनी घुले जस्तै म र मेरो मन भित्र त्यो माटो, त्यो बाटो, भिर पाखा, बनजंगल, खोलानाला, उकाली ओराली मात्र हैन दशै लगायत अरु धरै चाडबाडहरु पनि एक साथ मिसिएर रहेका छन् । हुन त म फर्केर गए पनि अबत त्यो माटोमा मेरा पदचिन्हहरुको अवशेष पनि बाकि छैन होला । मेरो उपस्थिति त्यस महान कर्मक्षेत्रको लागी अब अर्थहिन हुनेछ । सायद दशैंलाई पनि मेरो उपस्थितिले कुनै फरक पार्ने छैन । म यहाँ त्यही दशैं खोजिरहेछु । दशैंको एक महिना अघिदेखि नै म विभिन्न इष्टमित्र तथा साथीभाइहरुकोमा आयोजना गरिएका भोजहरुमा व्यस्त छु खान्छु, पिउँछु, खेल्छु र नाच्छु अनि गाउँछु पनि । तैपनि म स्पस्ट छैन, किन हामी यो गरिरहेछौं ? दशैं आएको सम्झन या पुरानो याद बिर्सन ? पानी नभएको सुख्खा खेतमा धान रोपेजस्तो हामी मरुभुमिमा रुख रोपिरहेछौं । हामीले रोपेको दशैंरुपि रुख यस मरुमुमिमा एक दिनदेखि दुई दिन बाँचेको देखेको छैन । त्यो दशैं यहाँ कहिल्यै नभेटिने थाहा हुँदाहुँदै पनि म यहाँ दशै खोजिरहेको छु र खोजिरहने छु । सायद राति सपनामा पनि ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक