20121010

वरिष्ठ राजनीतिज्ञ तथा 'जिउँदा सहिद' रामहरि शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि

- रासस
वरिष्ठ राजनीतिज्ञ तथा 'जिउँदा सहिद' रामहरि शर्माको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो। ललितपुरको किटिनीमा विसं १९७३ कात्तिक पूर्णिमाका दिन जन्मेका शर्माको आज बिहान ९ बजे ९६ वर्षको उमेरमा त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको पार्थिव शरीरमा छोराहरु अजय र रञ्जन नेपालले दागबत्ती दिएका थिए। शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्न पूर्वसभामुख तारानाथ रानाभाट, नेताहरु नीलाम्बर आचार्य, सिपी मैनाली, गणेश साह, नरहरि आचार्य, राजेश्वर देवकोटालगायत आर्यघाटमा पुगेका थिए। सो अवसरमा नेपाल प्रजा परिषद्का नेताहरु महेश्वर शर्मा, शैलेन्द्र भारद्वाज र विष्णु नेपालले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। नेपालको जेठो राजनीतिक दल नेपाल प्रजा परिषद्का संस्थापक शर्मा र महासचिव टङ्कप्रसाद आचार्यलगायत तन्नेरीहरूले राणाशासनविरुद्ध पर्चा छरेर जनचेतना जगाउने कामको थालनी गरेका थिए। सोही क्रममा पक्राउ परेका क्रान्तिकारीमध्ये शर्मा र आचार्यलगायतलाई भने ब्राह्मण जातिका भएकाले
मृत्युदण्ड नदिई चारपाटा मुडिएको थियो भने सोही आरोपमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको थियो। दरबार हाइस्कुलबाट मेटि्रक गर्नुभएका शर्माले संस्कृत विषयमा मध्यमा पास गरेका थिए। २० वर्षको कलिलो उमेरमा सहिद धर्मभक्त माथेमा र दशरथ चन्दको प्रेरणाबाट भिमफेदीमा उनले विसं १९९३ मा राजनीतिमा प्रवेश गरेका थिए। उनी विसं १९९३ देखि १९९७ सम्म भूमिगत भएर राणाविरोधी आन्दोलनमा लागेका थिए। विसं १९९७ मा पक्राउ परेका उनलाई सर्वश्वहरणसहित आजीवन कारावासको सजाय दिइएको थियो। प्रजातन्त्र प्राप्तिपछि विसं २००७ मा उनी जेलमुक्त भएका थिए। विसं २०१७ पछि उनले पञ्चायती शासन व्यवस्थालाई स्वीकार गरेका थिए। विसं २०२४ मा उनी राष्ट्रिय पञ्चायतको सदस्य चुनिएका थिए। उनी विसं २०३७ देखि ०४१ सम्म जर्मनीका लागि राजदूत नियुक्त भएका थिए। उनी विसं २०५० मा राजपरिषद् सदस्य थिए। स्वर्गीय शर्मा गोर्खा दक्षिणवाहु दोस्रो, बालचन्द्र पुरस्कारबाट सम्मानित थिए। आफ्नो आमा सीतादेवी, पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्य, विपी कोइरालालाई आफ्नो प्रेरणाको स्रोत ठान्ने स्व शर्मा प्रजातान्त्रिक मूल्य र मान्यतामा अन्तिम समयसम्म अडिग रहेका थिए। स्व शर्माको दुई छोरा र पाँच छोरी छन्। रासस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक