20121011

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या र चिनियाँ व्यापारीको अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका कालीबहादुर खामलाई माओवादीले पूर्वजनमुक्ति सेना संघको नेवाः तथा ताम्सालिङ राज्य समितिको इन्चार्जको जिम्मेवारी दिए

नागरिक दैनिक का अनुसार एकीकृत माओवादीले हत्या र अपहरणको आरोप लागेका नेता कालीबहादुर खामलाई पूर्वजनमुक्ति सेना संघको नेवाः तथा ताम्सालिङ राज्य समितिको इन्चार्जको जिम्मेवारी दिएको खुलेको छ। कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या र चिनियाँ व्यापारीको अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका खामलाई माओवादीले उक्त जिम्मेवारी दिएको हो। युवा विभागका इन्चार्ज तथा पूर्वजनमुक्ति सेना संघका प्रमुख नन्दकिशोर पुनले खामलाई पूर्वलडाकुको संगठनको जिम्मेवारी दिइएको बताए। 'खामजीलाई पूर्वजनमुक्ति सेना संघको नेवाः तथा ताम्सालिङ राज्य समितिको इन्चार्जको जिम्मेवारी दिइएको हो,' पुनले नागरिकसँग भने, 'पार्टीले उहाँमाथि गरेको कारबाही फुकुवा गरेपछि जिम्मेवारी दिएका हौं।' उनका अनुसार पछिल्लो केन्द्रीय समिति बैठकले खाममाथिकोे निलम्बन फुकुवा गरेपछि पूर्वलडाकु संघको
दुई राज्य समितिको इन्चार्ज बनाइएको हो।  श्रेष्ठको हत्या र चिनियाँ व्यापारी अपहरण र फिरौती असुलीमा खामको संलग्नता पुष्टि भएपछि एकीकृत माओवादीले दुई वर्षअघि उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गरी छानबिनमा राखेको जनाएको थियो। आर्थिक अनियमिततामा मुछिएका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेसँगै निलम्बनमा परेका खाम श्रेष्ठको हत्यामा संलग्नता खुलेपछि फरार छन्। श्रेष्ठको २०६४ चैतमा अपहरणपछि हत्या गरिएको थियो। त्यसपछि 'फरार' रहेकै बेलामा चिनियाँ व्यापारीको अपहरणमा खामको संलग्नता खुलेपछि पार्टीले उनलाई साधारण-सदस्य मात्र रहने गरी निलम्बन गरेको थियो। पाँच वर्षदेखि 'फरार' भनिएका खामलाई माओवादीले कारबाही फुकुवा गरी लडाकु संगठनकै महत्वपूर्ण जिम्मेवारी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं, भक्तपुर, ललितपुर, आसपासका ९ जिल्लासहित १२ जिल्लाका पूर्वमाओवादी लडाकु संघको जिम्मेवारी पाएलगत्तैे उनले गतिविधि बढाएका छन्। 'अपहरण, फिरौती र हत्यामा संलग्न खामजीलाई दुईवटा राज्य समितिको इन्चार्ज बनाएकाले स्वाभिमानी जनमुक्ति सेनाको अपमान भएको छ,' एक असन्तुष्ट पूर्वलडाकु कमान्डरले नागरिकसँग भने। शिविरभित्रको आर्थिक अनियमितता छानबिन गर्नुसट्टा विवादास्पद कमान्डरलाई जिम्मेवारी दिएर पार्टीले पूर्वलडाकुको घाउमा नुन छर्कने काम गरेको उनको आरोप छ। श्रेष्ठ हत्यामा संलग्नता देखिएको भन्दै माओवादीले तेस्रो डिभिजन, चितवनको कमान्डरबाट निलम्बनमा परेका खामलाई केही समयपछि पुनः पाँचौ डिभिजन, रोल्पा सरुवा गरेको थियो। तर, त्यहाँ रहँदा पनि चिनियाँ व्यापारीको अपहरण र फिरौती असुलीमा संलग्नता भेटिएपछि उनको जिम्मेवारी खोसिएको थियो।
नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई 'नयाँ दलाल' भएको बताएका छन्। राजधानीमा हिजो पार्टी लडाकु दस्ता राष्ट्रिय जनस्वयंसेवकको पहिलो राष्ट्रिय सम्मेलनमा वैद्यले त्यस्तो आरोप लगाएका हुन।'जनयुद्ध'का उपलब्धिलाई आघात पुर्‍याएर नयाँ दलालल बनेको वैद्यले आरोप लगाए। 'जनयुद्धका उपलब्धि, जनमुक्ति सेना विघटन गरेर रूपान्तरणप्रति गम्भिर विश्वासघात भयो', वैद्यले भने, 'हामीले क्रान्तिको झण्डा उठाएका छौं।'

राष्ट्रियता, जनजिविकाका लागि लडेका नेताहरू अहिले सामान्ति कित्तामा पुगेको उनले बताए। वैद्यले भने, 'शान्तिपूर्ण रूपमा धर्नामा बसेकालाई लाठी चार्ज गरेर क्रान्तिलाई दमन गर्ने काम भयो। बालुवाटारमा पसेपछि सत्ताको मात लागेको छ।'

'हिजो हामी पुराना दलालहरूसँग लडऔं। अब नयाँ दलालहरूसँग लडछौं' उनले भने, 'संविधानसभाको पुनर्स्थापना, चुनावबाट मुलुकले निकास पाउँदैन। देशभक्तहरूको सहमतिमा गोलमेच सम्मेलनबाट नयाँ सरकार गठन आजको आवश्यकता हो।'

राष्ट्रिय सहमतिका लागि जन संविधान निर्माण गर्न विषय बस्तुमा दलहरू केन्द्रित नभएको आरोप वैद्यले लगाए। 'संविधानको विषय वस्तुमाथि छलफल गर्दैनन्। सत्ताका लागि कांग्रेस र एमाले लुछाचुँडी गरेका छन्', वैद्यले भने।

सचिव नेत्रविक्रम चन्द इन्चार्ज रहेका राष्ट्रिय जन स्वय सेवक केन्द्रको सम्मेलनमा देशभरबाट ७ सय ५० प्रतिनिधि सहभागी छन्। दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ। केन्द्रलाई पार्टी संरचना अनुसार राज्य, जिल्ला, क्षेत्र, एरिया समिति प्रणालीमा जाने तयारी भएको छ।

पार्टी विभाजन अघि गठित जन स्वयं सेवकको नेतृत्व चन्दले नै गरेका थिए। पार्टी निकट वाईसिएलको सट्टा जन स्वयं सेवक गठन गरिएको हो। फौजी कार्यदिशाको दस्तावेज तयार गर्दै गरेका चन्दले यसको नेतृत्व पुनः पाउने एक सहभागीले बताए।

जन स्वयं सेवकमा पुराना वाइसिएल, वर्हिगमनमा परेका लडाकु, स्वच्छिक अवकास पाएका लडाकु सम्मेलित छन्। उत्पादन, जन सेवा, विकासका कार्यमा सहभागी गराउने उद्देश्य संगठन राखेको छ। बारम्बार विद्रोहको भाषा बोलने वैद्य माओवादीले त्यही फोर्सलाई विद्रोहको लडाकु दस्ता बनाउने स्रोतले बताएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक