20121116

पदम कुँवरको एक थप्पडले हल्लिने देश !!!

* एमाओवादीको आकस्मिक बैठक 
* हाम्रो पार्टी संलग्न छैन-वैद्य माओवादी
* गृहमन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिति गठन 
* हातपात गलत संस्कार : काँग्रेस/एमाले
एकीकृत नेकपा (माओवादी)को शीर्ष नेताहरूको आकस्मिक बैठकले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि भएको आक्रमण नियोजित र षड्यन्त्रमूलक भएको ठहर गरेको छ। बैठकले अध्यक्ष दाहालमाथि भएको आक्रमण शान्ति र संविधानविरुद्धको षड्यन्त्रको रूपमा भएको पनि ठहर गरेको छ। एमाओवादीका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले आफूलाई जनस्वयम्सेवकको जिल्ला सदस्य बताउने पदम कुँवरलाई नियोजितरूपमा परिचालन गरिएको हुनसक्ने निष्कर्ष निकालिएको एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। जनस्वयंसेवक वैद्य नेतृत्वको माओवादीको भ्रातृ संस्था हो। कुँवरलाई कोही कसैले नियोजितरूपमा परिचालन गरेको हुनसक्ने र यस्ता खालका घटनाक्रमले शान्ति र संविधानलाई धरापमा पार्न खोजिएको प्रवक्ता सापकोटाले बताए। प्रवक्ता सापकोटाले भने, "अध्यक्ष दाहालमाथि भएको आक्रमणबाट
हामीलाई गम्भीर बनाएको छ, यसको हामीले गम्भीर छानबिन गर्छौ र आवश्यक छानबिनका लागि सरकारको तर्फबाट पनि विशेष पहल गर्ने भएको छ।" बैठकमा आक्रमणकारी कुँवरको बारेमा बाग्लुङबाट प्राप्त जानकारीको बारेमा पनि छलफल भएको थियो। अध्यक्षमाथि भएको आक्रमणलाई गम्भीररूपमा लिँदै पार्टीले आवश्यक छानबिन गर्ने र सरकारले पनि आफ्नोतर्फबाट विशेष छानबिन गर्ने निर्णय भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिए।

दाहालमाथि भएको हातपातमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको नेकपा-माओवादीले जनाएको छ।
पार्टीको मुख्यालय बुद्धनगरमा बसेको बैठकपछि माओवादी सचिव नेत्रविक्रम चन्दले एमाओवादी अध्यक्ष दाहालमाथि भएको हातपात दुःखद् भएको बताउँदै घटनामा आफ्नो पार्टीको संलग्नता भएको भनी आएका अभिव्यक्ति आवेगात्मक र पूर्वाग्रही भएको बताए। उनले भने, "हामीले त्यस्ता गतिविधि गर्न आवश्यक नै छैन। नियोजितरूपमा एकथरि मान्छेले त्यस्तो हल्ला फैलाएर वातावरण धुमिल गर्ने प्रयास गरेका हुन्।"
उनले जनताबीच भिडन्त गराउने उद्देश्यले यस्ता हल्ला फैलाइएको बताउँदै घटनामा आफू ईञ्चार्ज रहेको युवा जनस्वयमसेवक ब्यूरोको सदस्यको संलग्नता रहेको भनी एमाओवादी पक्षबाट आएको अभिव्यक्ति निन्दनीय छ भने।

घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिका सदस्यहरूमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान ब्युरोका प्रहरी नायव महानिरीक्षक केशवबहादुर खत्री र महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदी रहेका छन्। समितिले घटनाको वास्तविकता छानबिन गरी सत्यतथ्य पत्ता लगाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ। यसैगरी चियापान कार्यक्रममा अध्यक्ष दाहालमाथि भएको अनपेक्षित घटनाप्रति गृहमन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।

नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरूले एनेकपा (माओवादी)द्वारा आज भृकुटीमण्डमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालमाथि भएको हातपातको घटनाको निन्दा गर्दै यसलाई गलत संस्कारको संज्ञा दिएका छन्। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अध्यक्ष दाहालमाथि भएको हातपातले राजनीतिक संस्कृतिलाई विकृत गराउने बताउँदै यस्ता घटनाहरूलाई सबैले निरुत्साहित गरी छानबिन गर्न माग गरे। यसैगरी, सो हातपातको घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले असन्तुष्टी व्यक्त गर्ने सभ्य, शीष्ट, वैधानिक र लोकतान्त्रिकजस्ता अनेक बाटाहरू हुँदाहुँदै नेताहरूमाथि शृङ्खलाबद्ध आक्रमण हुनु निन्दनीय भएको बताए। उनले यस्ता घटना व्यक्तिगत आक्रमण वा स्वस्फूर्त जस्तोसुकै हुन सक्ने भए पनि घटनाहरूको गम्भीर समीक्षा गरी नेताहरूको सुरक्षामा विशेष ध्यान आग्रह गरे। रासस





WITHOUT COMMENT
बसुन्धरामा शनिबार बिहान मर्निंगवाकमा सुनिएको एउटा कुराकानी

-- हैन, थप्पडको पछाडी त देशी-बिदेशी षड्यन्त्रकारीको ठूलो हात छ रे नि!
# ए! थप्पडको पछाडी त देशी-बिदेशी षड्यन्त्रकारीको त्यस्तो ठूलो हात हुँदो'रैछ भने बन्दुकको पछाडी झन् कत्रो ठूलो हात थियो होला हगि, १७ वर्ष अगाडी!
-- धत् त्यस्तो शान्ति र संविधान विरोधी प्रतिगामी कुरा गर्न हुन्छ!
# लौ, हज्जारौंको प्राणनै झार्ने बन्दुकको कुरा उठाउँदा शान्ति र संविधान विरोधी रे, तर जाबो एउटा चस्मा झार्ने झापडको कुरामा चाहीं देशी-बिदेशी षड्यन्त्रकारीको ठूलो हात रे! खै के, खै के !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक