20121223

‘राजनीति फोहोरी खेल रहेछ ।’ : प्रधानमन्त्री बाबुराम भट्टराई

सर्वदलीय वैठक बोलाएका राष्ट्रपतिले पुनः म्याद थपेर भारत भ्रमणमा जाने
आइतवार राष्ट्रपतिलाई भेटेर बाहिरिदै गर्दा एमाले अध्यक्ष झलनाथ खनालले सोमबार सहमतीय प्रधानमन्त्री तोकिने दावी गरे पनि अन्ततः राष्ट्रपतिले अर्को म्याद थप्नुपर्ने भएको छ । सुशीललाई प्रधानमन्त्री बनाउने प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नै गठवन्धनलाई सहमत बनाउन नसकेपछि भोली सुशीललाई सहमतिको प्रधानमन्त्री प्रस्ताव गर्ने सम्भावना लगभग टरेको नेताहरुले बताएका छन् । सोमबार सर्वदलीय वैठक बोलाएका राष्ट्रपतिले पुनः म्याद थपेर भारत भ्रमणमा जाने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताउनुभयो । भारत भ्रमणबाट फर्किएपछि जुनसुकै कदम चाले पनि ‘भारतको
इसारामा’ भन्ने सन्देश जाने भएकाले राष्ट्रपतिले त्यसअघि नै सहमतिका लागि आग्रह गर्नुभएको थियो ।
सोमबार सर्वदलीय वैठक
पाँचपटक गरी दिएकोएक महिने समयमा पनि दलहरुबीच सहमतिको सरकार गठनबारे सहमति जुट्न नसकेपछि राष्ट्रपति डा. राववरण यादवले सोमबार सर्वदलीय बैठक बोलाउनुभएको छ ।
यसअघि चार दललाई शितल निवास बोलाउँदै उनीहरुकै आग्रहका आधारमा म्याद थप्ने गर्नुभएका राष्ट्रपतिले चारदलीय घेरा तोड्दै विघठित संविधानसभामा रहेका सबै दललाई बोलाउनुभएको हो । भारत भ्रमणअघि बिहान ९ बजे शीतल निवासमा विघटित संविधानसभामा रहेका दलहरुलाई बोलाइएको राष्ट्रपतिको कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।
भित्र एउटा, बाहिर अर्कै बोले नेताहरु
सर्वदलीय बैठक बोलाएलगतै राष्ट्रपति डा. यादवले प्रमुख चारदलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएर सहमतिको प्रयासबारे जानकारी लिनुभएको छ । भेटमा नेताहरुले भने आफूहरु सहमति नजिक भएको भन्दै भोलिको सर्बदलीय बैठकअघि नै सहमतिको प्रयास गर्ने बताएका छन् ।
‘दलहरुले अन्तरिम संविधानको धारा ३८ को उपधारा १ को प्रक्रिया जारी राख्नुपर्छ । हामी सहमतिको प्रयासमा छौं भनेका छन’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अनलाइनखबरसँग भन्नुभयो-’भोलि सर्वदलीय बैठकमा पनि ३८ को १ अनुसार नै सहमति गर्न आग्रह गर्नु हुनेछ ।’ दाहालका अनुसार दलहरुको आग्रह अनुसार राष्ट्रपतिले फेरि समय थप गरेर भारत जानु हुनेछ । उहाँले भन्नुभयो-’राष्ट्रपतिले आफू भोलि भारत जाने जानकारी गराउँदै सहमतिको प्रयास निरन्तर जारी राख्न आग्रह गर्नु भएको छ ।’
राष्ट्रपतिलाई भेटेपछि कांग्रेस-एमाले नेताहरुले भने भोलिको सर्बदलीय बैठकमा सहमतीय प्रधानमन्त्री सिफारिस गर्ने गरी सहमतिको प्रयास हुने बताएका छन् । ‘भोलिसम्ममा साझा प्रधानमन्त्री आउने सम्भावना छ’ भेटपछि एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो-’मुलुकले अब साझा प्रधानमन्त्री पाउँछ । सकेसम्म भोलि नै ।’ दलहरुबीच विवादित विषय साघुरिँदै गएको भन्दै खनालले भोलि बिहानसम्म सहमतिमा पुग्ने प्रयास गरिने बताउनु भयो । कांग्रेस महामन्त्री सिटौलाले पनि सर्बदलीय बैठकमा सहमतीय प्रधानमन्त्री सिफारिस हुन सक्ने बताउनु भयो । एमाओवादी र मधेसी मोर्चाका नेताहरुले भने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिन मानेनन् ।
वैशाखमा चुनाव गर्ने गरी सहमतीय सरकार गठन गर्न दलहरु सहमत छन् । एमाओवादी अध्यक्ष प्रचण्ड कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिए पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मधेसी मोर्चाले प्याकेजमा सहमति हुनुपर्ने अडान लिएका छन् ।
राष्ट्रपति यादव भोलि सोमबार ५ दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ छोरा, बुहारी, छोरी, नातीसहितको टोली लिएर अपराहृन ३ बजे नयाँदिल्ली जाने कार्यक्रम छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लो समयममा आफ्ना बारेमा सञ्चारमाध्यमले नकारात्मक प्रचार–प्रसार गरेको भन्दै दुःख व्यक्त गरेका छन् । कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीतिसँग जोडर आफ्ना बारेमा गलत प्रचार भएको आरोप लगाए । ‘आम मानिसमा जस्तै म मापनि राजनीति प्रति घृणाको भावना बढ्दै गएको छ,’ उनले भने, ‘राजनीति फोहोरी खेल रहेछ ।’ उनले राजनीति फोहोरी खेल भएपनि आफू राजनीतिबाट डराएर नभाग्ने बताए । अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका उनले भने, ‘प्याकेजमा सहमति बने कांग्रेसलाई पनि नेतृत्व दिन सकिन्छ ।’
नेकपा-माओवादी सचिव देवप्रसाद गुरुङले विदेशीको चाहनामा संविधान सभा भंग भएको बताएका छन्। संविधान सभा जिवित रहेसम्म आफूले चाहेअनुसार नहुने देखेर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई संविधान सभा भंग गराउन लगाएको उनले बताए।

'संविधान सभा रहेसम्म जनताका प्रतिनिधि रहन्छन् भनेरै विदेशीको इशारामा त्यसलाई भंग गरियो,' वीरेन्द्रनगरमा आयोजित पार्टीको भेरी-कर्णाली राज्यसमिति अधिवेशन उद्‍घाटन गर्दै उनले भने, 'यही रिक्ततामा अहिले विदेशीले आफ्नो प्रभाव बिस्तार गरिरहेका छन्।'
नेता गुरुङले दाहाल र भट्टराईले राजा र कांग्रेसभन्दा अर्घेलो भएर विदेशीको गुलामी गरेको आरोप पनि लगाए। उनीहरुको यही व्यवहारले नेपाली राष्ट्रियता विदेशीको कब्जामा परेको उनको भनाइ छ।
'उहाँहरुको यही कार्यशैलीले नेपाल नाममात्रको स्वतन्त्र भएको छ,' उनले भने, 'त्यसैको परिणाम देशको सम्पूर्ण राजीतिक तथा प्रशासनिक निर्णय विदेशबाट हुने अवस्था आएको छ।' प्रधानमन्त्री भट्टराईले राजा वीरेन्द्रको पालादेखि थाति रहेको बिप्पा सम्झौता भारतलाई खुसि पार्नकै लागि गरेको उनले बताए।
तीन दिनसम्म चल्ने अधिवेशनमा पार्टीका करिब एक हजार पाँच सय कार्यकर्ता सहभागी छन्। तीमध्ये करिब पाँच सय पूर्वलडाकू रहेका पार्टी स्रोतले जानकारी दियो।

पाँचौं पटक दिएको समयसीमा सकिए लगत्तै राष्ट्रपति डा.रामवरण यादवले आज प्रमुख चार दलका नेताहरुसँग परामर्श गरेका छन् । डा.यादवले आफ्नै कार्यालय शीतल निवासमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुसँग सहमतीय सरकार र निर्वाचनका बारेमा परामर्श गरेका हुन् । डा.यादवले दलहरुसँग असन्तुष्टी जनाउँदै छिटो सहमतीय सरकार बनाउँन आग्रह गरे ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले भालि (सोमबार) सम्म राजनीतिक निकास आउने बताए । ‘भोलि सम्म सहमतिको प्रधानमन्त्री आउने सम्भावना छ,’ उनले भने ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि भोलि (सोमबार) सम्म सहमतीय सरकारका लागि दाबी प्रस्तुत गर्ने बताए । सहमतिमा प्रधानमन्त्री उम्मेदवार दिने विषयमा राष्ट्रपतिसँगको छलफल सकारात्मक रहेको उनले बताए ।
राष्ट्रपतिले उलब्ध गराएको झण्डै एक महिनाको समय सकिन लाग्दा समेत दलहरुले सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम पठाउन सकेका छैनन् ।
गत साउन अन्तिममा २० वटा राजनीतिक दल एवं एकजना स्वतन्त्र व्यक्तिलाई मिलाएर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन गरिएको २१ दलीय सत्तारुढ ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ यतिबेला स्वयं एमाओवादी अध्यक्ष प्रचण्डका लागि गलपासो बन्न पुगेको छ । गठबन्धन निर्माण गर्दा प्रचण्डले यसलाई दीर्घकालीन बनाउनुपर्ने र चुनावमा पनि सँगै गएर दुईतिहाइ बहुमत ल्याउनुपर्ने बताउनुभएको थियो । उहाँले यो गठबन्धनलाई संघीयता र अग्रगमनका पक्षधरहरुको मोर्चा बताउँदै यसैमार्फत दुई तिहाइ ल्याई आफू मुलुकको कार्यकारी प्रमुख बन्ने सपना पनि देख्नुभएको थियो । तर, प्रचण्डको सपना ६ महिना नपुग्दै यतिबेला तासको घरजसरी ढल्ने अवस्थामा आइपुगेको छ । अबस्था कस्तो भइदिएको छ भने काँग्रेस एमालेको वैठकमा पुगेर उहाँ सुशीललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुहुन्छ तर आफैले नेतृत्व गरेको गठवन्धन वैठकमा पुगेर त्यही कुरा खुलस्त राख्न सक्नुहुन्न । प्रचण्डले ‘निकासका लागि सरकार छाड्न तयार हुनुपर्ने’ भन्दा गठवन्धनका सहकर्मीहरुले ‘धोकेबाज’ र ‘सुशीलको कार्यकर्ता’सम्म भनेर र्‍याखर्‍याख पार्ने गरेका छन् । पछिल्लोपटक आइतबार साँझ बालुवाटारको बैठकमा पनि सुशीललाई समर्थन गर्न प्रचण्डले राखेको प्रस्ताव गठबन्धनले अस्वीकार गरिदिएपछि प्रचण्ड थप अप्ठ्यारोमा पर्नुभएको छ । बैठकमा केही दलका नेताले प्रचण्डलाई संघीयताको एजेन्डा छाडेर सुशीलसँग नजिकिएको र खुट्टा कमाएको भन्दै गठबन्धन छाडेर संघर्षमा उत्रनेसम्मको धम्की दिए । प्रचण्डलाई राष्ट्रपति बनाउन आफुहरु तयारै रहेको भएपनि कांग्रेस-एमालेले के दिएका कारण उनी एकाएक गठवन्धनलाई लात मार्ने अबस्थामा पुगे भन्दै गठवन्धनका नेताहरुले आक्रोश पोखेका छन् । बाबुरामको टेको सत्तारुढ गठबन्धनले यतिबेला बाबुरामकै नेतृत्वलाई निरन्तरता वा सत्तारुढक गठबन्धनभित्रैबाट सहमति खोजनुपर्ने बताएर डा. बाबुराम भट्टराईको लाइनलाई समर्थन गर्न पुगेपछि कांग्रेस, एमालेसँग सहमति गर्न खोजिरहनुभएका प्रचण्डलाई यसबाट अप्ठ्यारो परेको छ । सत्तारुढ गठबन्धन बाबुराम भट्टराईका लागि तागत बन्न पुगेको छ भने प्रचण्डका लागि पासो । गठबन्धनका संयोजक प्रचण्डले अब गठबन्धनलाई दीर्घकालीन रुपमा जोगाउने हो भने सुशील कोइरालाको साटो मधेसी दलका नेतालाई प्रधानमन्त्री दिने अडानमा र्फकनुपर्ने हुन्छ । तर, कांग्रेस सभापति कोइरालालाई समर्थन गर्न प्रचण्डले हिम्मत बटुल्ने हो भने गत साउनमा गठन भएको ‘दीर्घकालीन गठबन्धन’ सुशीललाई समर्थन जनाएकै दिनदेखि भत्कने निश्चित भएको आजको बालुवाटार बैठकले स्पष्टै देखाएको छ । सहकर्मीले सोधे-किन खुट्टा कमाएको ? गठवन्धनका नेताहरुले आइतबार साँझ गठवन्धनको निर्णयमा नअडिएको भन्दै प्रचण्डको चर्को आलोचना गरेका छन् । नेताहरुले गठवन्धनको निर्णयमा नअडिएको र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्न खोजेको भन्दै प्रचण्डको चर्को आलोचना गरे । सत्तारुढ नेताहरुले आगामी चुनावसम्म सहकार्य गर्ने गरी गठवन्धन बनाएर वीचमा आएपछि छाड्न खोजेको भन्दै किन खुट्टा कमाएको भनी प्रश्न गरेका छन् । मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले तीन दलले मात्र सहमति गरे स्वीकार नगर्ने चेतावनी दिनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले भने गठवन्धन बाहिर गएर भए पनि सहमतिको सरकार गठन गर्नुपर्ने बताउनुभयो । कांग्रेस-एमालेले बाबुराम भट्टराई नेतृत्व अस्वीकार गरे पनि आफूहरुले भने विकल्प खुला राख्नु पर्ने उहाँको भनाइ छ । ठूलो गठवन्धन र दलहरुको समर्थनका आधारमा आफूहरुको दावी स्वभाविक भए पनि मुलुकलाई निकास दिन गठवन्धन लचिलो हुनुपर्ने प्रचण्डले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा सहभागी दलहरु १. एनेकपा माओवादी, २. मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक०, ३. मधेशी जनअधिकार फोरम ९गणतान्त्रिक०, ४. तराई-मधेश लोकतान्त्रिक पार्टी, ५. तराई मधेश तोकतान्त्रिक पार्टी नेपाल, ६. चुरेभावर राष्ट्रिय एकता पार्टी, ७. नेपाः राष्ट्रिय पार्टी, ८. राष्ट्रिय जनमुक्ति पार्टी, ९. सङ्घीय सद्भावना पार्टी, १०. दलित जनजाति पार्टी, ११. नेपाल परिवार दल, १२. नेपाल लोकतान्त्रिक प्रजातान्त्रिक समाजवादी दल, १४. नवनेपाल निर्माण पार्टी, १५. सद्भावना पार्टी, १६. नेकपा माले समाजवादी, १७. सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, १८. समाजवादी जनता पार्टी, १९. जनता दल युनाइटेड, २०. नेपाल सद्भावना पार्टी, २१. नेपाली जनता दल २२. स्वतन्त्र पूर्वसभासद् सदरुल मियाँ हक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक